बेलायतको रोयल बरो अफ ग्रीनवीचमा ‘तीज सेलेब्रेसन’ हुँदै, गायिका सुशीलाको प्रस्तुति रहने

लन्डन । नेपाली हिन्दू नारीहरुको सांस्कृतिक पर्व तीजका अवसरमा बेलायतको रोयल बरो अफ ग्रीनवीचमा ‘तीज सेलेब्रेसन’ हुँदैछ ।

वुल्लीच टाउन हलमा यही अगस्ट ३१ तारिख २०२४ शनिबार साँझ ‘तीज सेलेब्रेसन’ हुने बरोकी मेयरेस (मेयरपत्नी) गौमाया गुरुङ रानाभाटले जानकारी दिनुभएको हो । ग्रीनवीच बरोको आयोजनामा हुने कार्यक्रममा कार्यक्रममा तीज नाचगान, डिजे डान्सका साथ स्वादिष्ट नेपाली परिकारहरु समावेश तीजको दर पनि सर्भ गरिनेछ । त्यस अवसरमा नेपालबाट आएकी चर्चित लोकदोहोरी गायिका सुशीला गौतमले पनि प्रस्तुति दिनुहुनेछ ।

तीज कार्यक्रमबाट मेयर च्यारिटीका लागि कोष संकलन गर्ने लक्ष्यसमेत राखिएको गौमायाले जानकारी दिनुभयो । मेयर च्यारिटीअन्तर्गत ग्रीनवीच बरोका वर्तमान मेयर जीत रानाभाटले वुल्लीचकै कमनवेल्थ एण्ड गोर्खा गार्डेन र बावेल क्यान्सर यूकेलाई सहयोग गर्ने लक्ष्य बनाउनुभएको छ । उहाँका अनुसार कार्यक्रमको सम्पूर्ण खर्च व्यवस्थापन आयोजक ग्रीनवीच बरोले नै गर्नेछ ।

ग्रीनवीच बरोकी मेयरेस गौमाया गुरुङ रानाभाटले बरोले पहिलोपटक आयोजना गर्न लागेको तीज इभेन्टमा सहभागी हुन स्थानीय सबै नेपाली दिदीबहिनीलाई आह्वान गर्नुभएको छ । मेयर रानाभाटले पनि कार्यक्रममा सहभागी भएर सहयोग गर्न तथा उपस्थित हुन नसक्नेहरुले पनि स्वेच्छिक रुपमा च्यारिटीमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री