केवाईसी ग्रेटर लन्डन सिनियर शाखाको अध्यक्षमा कुलकेशर सर्वसम्मत चयन

लन्डन । किरात याक्थुङ चुम्लुङ (केवाईसी) युकेको ग्रेटर लन्डन सिनियर शाखाको अध्यक्षमा कुलकेशर लिम्बु सर्वसम्मत चयन हुनुभएको छ ।

फेल्थामस्थित स्प्रिङवेस्ट एकेडेमीको सभाहलमा गत आइतबार सम्पन्न शाखाको छैटौं अधिवेशनले कुलकेशरको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कुलकेशर यसअघि उपाध्यक्ष पदमा हुनुहुन्थ्यो ।

कार्यसमितिका उपाध्यक्षहरुमा हेम तुम्वापो र दिपेन्द्र लक्सम, महिला उपाध्यक्ष सुष्मिता कन्दङ्वा, सचिव पदमबहादुर चोङबाङ, सहसचिव विश्वराज सेनेहाङ, कोषाध्यक्ष दिपेन्द्र लिम्बु र सहकोषाध्यक्ष प्रभात याङहिङवा चयन हुनुभएको छ ।

सदस्यहरुमा प्रभा खापुङ, रेखा लिम्बु, युवराज फागु चोङबाङ, सुमिना फालेच्छा, राजेश पायल लिम्बु, खगेन्द्र चोङबाङ, सोमिया जेबेगु, शिखा फियाक र सिता राई आङदेम्बे चयन हुनुभएको छ ।

विभागीय प्रमुखको रुपमा दुर्गा बोखिम (प्रोपर्टी विभाग), कृष्णप्रसाद लिङ्देन (जनसम्पर्क विभाग), कला चेम्जोङ र प्रज्ञा लाबुङ (कला तथा संस्कृति विभाग) मा चुनिनुभएको छ ।

शाखाका अध्यक्ष चन्द्र लिङ्देनको अध्यक्षतामा भएको पहिलो सत्रको कार्यक्रममा उपाध्यक्ष कुलकेशर लिम्बुले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव दिपेन्द्र लक्समले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएका केन्द्रीय सल्लाहकार ईश्वर आङ्बोहाङले कार्यक्रम उद्धघाटन गर्दै अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा शाखालाई विशेष सहयोग पुर्‍याएबापद सदस्य सिल्लीमाया एभेङलाई विशेष सम्मान गरिएको थियो ।

अधिवेशनको दोस्रो सत्रमा सहसचिव दिपेन्द्र लक्समले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष मणि एभेङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । छत्र सिं तेयुङ संयोजक रहेको निर्वाचन समितिमा सदस्यसचिव पूर्ण फाल्लेच्छा र सदस्यमा बिना इङ्नाम रहनुभएको थियो ।

बेलायतमा रहनुभएका लिम्बु (याक्थुङ) जातिहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ युकेको स्थापना सन् २००३ मा भएको हो । यसको हालसम्म १६ वटा शाखाहरु क्रियाशील रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री