भारतीय पर्यटक सवार बस नेपालमा दुर्घटना : मृतकको संख्या २७ पुग्यो

काठमाडौँ । भारत पर्यटक सवार बस नेपालको तनहुँ आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा शुक्रबार भएको दुर्घटनामा मृत्यु हुनेकोसंख्या २७ पुगेको छ ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन् । घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए ।

पन्ध्र महिला र ११ पुरुष गरी २६ जनाको आँबुखैरेनी अस्पतालमा र एक बालकको चितवनस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

दुर्घटनामा परी मृत्यु भएकाहरुको पोष्टमार्टम पोखरामा हुने भएको छ । शवहरु पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइने आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभएको छ । उहाँका अनुसार पोष्टमार्टमपछि दूतावासमार्फत् शव आफन्तलाई जिम्मा लगाइने छ । बसले भारतको गोरखपुरबाट पर्यटक लिएर आएको खुलेको छ । दुर्घटनामा परेको केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बसका सञ्चालक अतुल केशरवाणी रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार उक्त बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । पर्यटकलाई भैरहवाबाट पोखरा पुर्‍याएर काठमाडौं ल्याउँदै गर्दा बस सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री