बेलायतको थरकमा गोरखा स्मारक अनावरण

Photos: Kishor Limbu

लण्डन । बेलायतको थरकमा गोरखा स्मारकको अनावरण गरिएको छ ।
आइतबार (अगष्ट १८) मा आयोजित एक समारोहबीच पफ्लिट अन थेम्स, एसेक्समा सो स्मारकको अनावरण गरिएको हो ।
थरक काउन्सिलकी मेयर किरन रिपरको प्रमुख आतिथ्यतामा भएको सो अनावरणमा थरक गोरखा नेपलिज कम्युनिटीका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष तथा स्मारक परियोजनाका संयोजक किशोर लिम्बुले सो स्मारकको अनावरण गर्नुभएको थियो ।
शालिक अनावरणका अवसरमा कम्युनिटी र पफ्लिट हेरिटेज एण्ड मिलिटरी सेन्टरले गोरखा मेलाको आयोजना गरेको थियो ।
कार्यक्रममा कम्युनिटीका अध्यक्ष मानबहादुर राईले अतिथिहरु, सहभागीहरु, स्मारक परियोजनामा सहयोग गर्नेहरु र कार्यक्रम आयोजना गर्ने सबैलाई आभार प्रकट गर्नुभएको थियो ।
परियोजनाका संयोजक किशोर लिम्बुले स्मारकको महत्व, इतिहास तथा नेपाल र बेलायतबीचको विशेष सम्बन्धको चर्चा गर्नुभएको थियो । मिलिटरी सेन्टरका अध्यक्ष डेभ बेल्चर र मानार्थ अध्यक्ष अलान गोस्लिङले स्मारक परियोजना सम्पन्न भएकोमा हर्ष व्यक्त गर्नुभएको थियो ।


स्मारक अनावरण कार्यक्रमको सञ्चालन कम्युनिटीका सचिव सुन्दर लिम्बुले गर्नुभएको थियो । समारोहमा करिब ३५० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।
कार्यक्रमको पहिलो भागमा अनावरणपछि माल्यार्पण गरिएको थियो भने नेपालका विभिन्न जातजातिका नृत्यहरु प्रस्तुत गरिनुका साथै च्यारिटी भोजन पनि गरिएको थियो । स्मारक अनावरणका क्रममा हिन्दु, बौद्ध, किरात धर्मका धर्मगुरुहरुले धार्मिक विधि गर्नुभएको थियो । सो अवसरमा सैनिक जीवनमा आधारिक नाटक ‘द लाष्ट पोष्ट’ पनि मञ्चन गरिएको थियो भने एक मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मेयर किरन रिपरले एसेक्समा पहिलोपटक गोरखा स्मारक बनाउन पाउँदा गर्व महसुस भएको बताउनुभयो ।
गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहामगर र सेकेण्ड गोरखा राइफल्सका मेजर दिलकुमार राईले पनि स्मारक परियोजनाको सराहना गर्नुभएको थियो ।
कार्यक्रममा डेपुटी मेयर सु सिनिक, काउन्सिलहरु ली वाटसन, आरोन ग्रीन, भ्यालेरी मोरिस कुक, लिन वोराल, निल स्पेइट, पूर्व मेयरहरु सु लिटल, स्टिभ लिडियार्ड, कार्ल मोरिस, पूर्व सांसद डेम ज्याकी डोयल प्राइस, रोयल ब्रिटिश लिजन ग्रेस शाखाका रोड ओकले, थरकका स्काउट लिडर ग्राहक मन्कलगायतको उपस्थिति रहेको थियो ।


काउन्सिलर कैजर अब्बासले थरक नेपाली गोरखा कम्युनिटीको कार्यको प्रसंशा गर्नुभएको थियो ।
स्मारक अनावरण समारोहले ९० वर्षीया गोरखा सैनिककी विधवा रनमाया राईलाई भावुक बनायो । समाजकी सबैभन्दा ज्येष्ठ सदस्य राईले सो अवसरमा आफ्ना श्रीमान डम्बरसिंह राईको स्मरण गर्नुभयो । दशाँै गोरखा राइफल्सका ७६ वर्षीय पूर्व क्याप्टेन ढुण्डीराज राईले समस्त गोरखाहरुको प्रतिनिधित्व गर्दै स्मारक अनावरण समारोहमा भाग लिन पाएकोमा हर्ष र गौरव प्रकट गर्नुभयो ।
थरक नेपलिज वुमन कम्युनिटीका अध्यक्ष राधा आङदेम्बेले कार्यक्रममा महिलाहरुको प्रतिनिधित्व गर्न पाएको र स्मारक निर्माणमा महिलाहरुलाई सहभागी गराएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
स्मारक अनावरण समारोहमा रोयल एयर फोर्स, थरक सि क्याडेट, रोयल ब्रिटिश लिजन, गोर्खा ब्यागपाइपर, ग्रेस ब्याण्डका डेभ हनिवेललगायतको सहभागिता थियो । नेपाली रैथाने नृत्य, खुकरी नाच, तामाङ, गुरुङ, राई, लिम्बू जातिका नृत्य पनि देखाइएको थियो ।


स्मारकमा क्रस खुकुरी कुँदिएको छ भने मध्यभागमा गोरखा टोपी राखिएको छ । स्मारकका उचाइ ८ हजार ८४८ फिट राखिएको छ । सगरमाथाको उचाइको प्रतीकका रुपमा सो उचाइ राखिएको हो । स्मारकको शिर परियोजनाका संयोजक किशोर लिम्बुले डिजाइन गर्नुभएको हो । नेपालमा पञ्चधातुको मिश्रणबाट सो शिर बनाइएको हो ।
स्मारकका बेलायत र नेपालबाट भिक्टोरिया क्रस पाउने २६ जनाको नाम कुँदिएको छ । स्मारकमा राखिएको पारदर्शी बाकसमा भिक्टोरिया क्रस विजेता गोरखाहरुको जन्मस्थलबाट ल्याइएको ढुंगा र माटोका साथै गोरखा रेजिमेण्टको स्थापना भएको भारतको साबाथुबाट पनि माटो ल्याइएको छ ।
निजी स्रोतबाट बनाइएको सो स्मारक बनाउन करिब ४० हजार पाउण्ड लागेको बताइएको छ । स्मारकका कोषाध्यक्ष विनोद राईले दाताहरुको विश्वास जित्न मुख्य चुनौती रहेको अनुभव बताउनुभयो ।
कम्युनिटी र पफ्लिट हेरिटेज एण्ड मिलिटरी सेन्टरबीच भएको सम्झौताअनुसार सो स्मारकको सुरक्षा र मर्मतका बारेमा सम्झौता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री