तमु धीं युकेको आयोजनामा बेलायतमा आज १५ औं नेपाली मेला, ५ हजार सहभागी हुने अपेक्षा

लन्डन । तमु धीं युकेको आयोजनामा आज (आइतबार) बेलायतमा १५ औं संस्करणको नेपाली हुँदैछ ।

लन्डनमा हरेक वर्ष आयोजना हुने नेपाली मेलामा यसवर्ष करिब ५ हजारले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको जनाएका छन् । तमु धीं युकेका अध्यक्ष हरि गुरुङले गत वर्ष करिब ४ हजार २०० जनाले टिकट काटेर नेपाली मेला भरेकोले यस वर्ष सो संख्या ५ हजार नाघ्ने आशा व्यक्त गर्नुभएको छ । मेलास्थल केम्प्टन पार्क रेसकोर्समा आयोजक तमु धीं युके र आमा समूहले शनिबारदेखि नै तयारीमा जुट्नु भएको थियो ।

मेलामा बेलायतमा रहेका नेपाली संघसंस्थाहरूले नेपाली परम्परा र सँस्कृति झल्काउने झाँकी तथा नृत्य प्रस्तुत गर्ने छन् । मेलाका संयोजक तथा तमु धीं युकेका उपाध्यक्ष परशु गुरुङले ४२ वटा संस्थाले सहभागिताका लागि निश्चित गरेको जानकारी दिनुभयो । यस्तै मेलामा व्यापारिक तथा व्यावसायिक स्टलहरू राख्नका लागि ५० वटाभन्दा बढी व्यापारिक तथा सामाजिक प्रतिष्ठानहरूले स्टल बुकिङ गरेको पनि जानकारी यसअघि नै दिइसक्नुभएको छ ।

तमु धीं युकेले नेपाली राजदुताबास लन्डनसितको सहकार्यमा विगत १५ वर्षदेखि नेपाली मेला आयोजना गर्दै आएको छ । सन् २०२० मा कोभिड महामारीका कारण सो मेला हुन सकेको थिएन । त्यसबाहेकका हरेक वर्ष सो मेला हुँदै आएको छ ।

मेलाका संयोजक परशुका अनुसार मेला सम्पन्न गर्नका लागि करिब ३९ हजार पाउण्ड खर्च लाग्ने छ भने करिब साढे ४२ हजार विभिन्न स्रोतबाट आम्दानी हुने छ । नेपाली मेलामा झाँकी र नृत्यतर्फ प्रथम हुनेलाई क्रमश ५००, ३०० र २०० पाउण्ड नगद पुरस्कार, मेडल र प्रमाणपत्र दिइने छ भने दुवै तर्फको अंक जोडेर प्रथम हुनेलाई एम्बासेडर कपसहित ११०० पाउण्ड तथा एनआरएन कपसहित ३०० पाउण्ड प्रदान गरिनेछ । मेलामा राफल ड्र पनि राखिएको छ जसमा प्रथम,द्वितीय र तृतीय पुरस्कार क्रमश ३००, २०० र १०० पाउण्ड नगद दिइनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री