मध्यरातमा सूर्य अस्ताउने देश-१

नियात्रा

कैयन बिजुलीका खम्बाहरु, डेमाका रुखका झ्याङहरु, हरिया फाँटहरुमा चरिरहेका तर आफ्नो जिउभरि ऊन बोक्न नसक्ने लाम्काने भेडाका बथानहरु । अनि तिनै भेडाका हुलसँगसँगै चरिरहेका ह्यारफोर्डसायर गाईहरु र दम्साइलो जमिनमा पहेँलपुर पाकिरहेका गहुँका खेतिपातीहरु छिचोल्दै छिचोल्दै बेलायती रेलवे कम्पनी क्रस कन्ट्रीको एउटा रेल म्यानचेस्टर पिकाडेलीदेखि एकसुरमा ओरालै ओरालो लागेर अङ्ग्रेजी दक्षिणी सहर बर्नमाउथ जाँदै गरेको छ ।

रेलभित्र असङ्ख्य यात्रीहरु छन् र सोही रेलमा हामी पनि छौं । अझै खाट्टी कुरो गर्ने हो भने म र मेरी अर्धाङ्गिनी तारासँग छौं । अनि तिनै बिजुलीबाट चल्ने रेललाई हामीले बानबरी टाउनदेखि ग्रिनवीच समय ९ बजेर ५९ मिनेट जाँदा पक्रेर अक्सफोर्ड, रेडिङ, बेडजिङस्टोक, विन्चेस्टर सहरहरु पार गर्दै गर्दै साउथाम्पटन केन्द्र अड्डा (सेन्ट्रल स्टेसन) आइपुगेका छौं ।

रेल यहाँ आएपछि पहिले चुइइ गर्दै आवाज निकाल्छ अनि घरर गर्दै रोकिन्छ । रेल रोकिएपछि हामी सहयात्रीहरुलाई होहल्ला हुन्छ भनेर आसन गरिरहेको स्थानदेखि बिरालो चालमा लुसुक्कै उठ्छौं । अहँ,  एक आपसमा चुइक्कै बोल्दै बोल्दैनौं । तर बसिरहेको ढाउँदेखि उठिसकेपछि सुस्तरी अगाडी बढेर ढोकाको छेउमा पुग्छौं । ढोकाको नजिकै बायाँ कुनामा सुटकेसहरु राख्ने स-साना कोठाहरु छुट्याइएर राखिएको छ । हो, तिनै बायाँतिरको कोठामा चाहिँ हाम्रो सुटकेसहरु अरुको सुटकेसहरुसँग मिसिएर मज्जाले आराम गरिरहेको देख्न सकिन्छ । म त्यहाँ पुगेपछि सबैभन्दा पहिले ताराको सुटकेस तानेर रेलभित्र मानिसहरु हिँड्ने सानो बाटोमा उचालेर थपक्कै राख्छु अनि मेरो सुटकेस निकालेर तान्दैतान्दै ढोका छेउमा पुग्छु ।  

ढोकाको छेउमा पुगेर एकचोटी मुन्टो पछाडी फर्काउँछु र तारा आएकी छन् वा छैनन् भनेर निश्चित गर्छु । तर सोही बेला, “जानु भो कि छुट्टी ?” अनायासै ताराको मुख खोलिन्छ ।  

“किन र ?” भन्छु ।

“यसरी घरिघरि सुटकेस तानि हिँड्नु पर्छ नि त,” फेरि दोश्रोचोटी बोल्छिन् ।

उनको कुरो सुनेपछि मलाई एक शब्द बोल्न मन लाग्दैन । तर सोही समयमा मभन्दा अलिकति अगाडि उभिरहेकी एक जना अङ्ग्रेजी महिलाले टक्क स्विच दबाएर रेलको ढोका खोल्छिन् । ढोका खोलिएपछि उनी मेरो अगाडी अगाडि रेलदेखि निस्किन्छन् र म उनकी पछिपछि बाहिर जमिनमा निस्कन्छु ।

बाहिर जमिनमा निस्केपछि हामी आ-आफ्ना सुटकेसहरु गुडाउँदै गुडाउँदै केही अगाडी बढ्छौं । तर दुई/चार कदम हिँडेपछि, “खै खै ! कति बजे छ ?” भनेर मलाई जान्ने उत्सुक्त्ता लागेर हुन्छ । त्यसपछि हातमा बाँधिरहेको घडीको मुहारलाई एक पटक राम्ररी हेर्छु । आक्कलझुक्कल लगाउने मेरो त्यो घडी बिल्कुलै नयाँ हो भन्दा खास्सै फरक पर्दैन । हुनत जापानमा किनेको भएतापनि स्वीटजरल्याण्डमा बनेको उक्त्त घडी ठ्याक्कै कुन मितिमा बनेको हो मलाई यकिन त भएन । तर त्यसको आधिकारिक रजिष्टर चाहिँ ठीक चार महिना अगाडी जापानमा गरिएको थियो भन्ने प्रमाणपत्र मसँग साक्षी छ । तिनै घडीलाई एक महिना अगाडी मात्र छोराले, “तपाइँको जन्मदिनको उपहार हो र जिन्दगीभरि बाँधिरहनु है,” भनेर टोकियोदेखि मायाको चिनो ल्याइदिएको थियो ।

मेरो बायाँ नाडीमा बाधिएको तिनै रोलेक्स (सवमरिनर) ले बिहानीको समय ठीक ११ बजेर ४५ मिनेट गएको देखाइरहेको छ । मैले घडीमा समय हेरिसकेपछि यो बेलायती रेलको समयलाई पनि मान्नै पर्छ जस्तो लाग्छ । किनभने रेलले एक मिनेट पनि तलमाथि नगरी हामीलाई यहाँ ल्याइ पुर्याएको रहेछ ।  

त्यहाँदेखि क्रमशः अगाडी बढ्दै जाँदा म ताराभन्दा थोरै अगाडी अगाडी हुँदै जान्छु र हाम्रो बिचमा दुरी बढ्दै जान्छ । हुनत हामी यसरी हिँड्ने क्रममा फरक फरक दुरीमा हिँड्ने चलन निक्कै पुरानो नै हो । जहिले पनि ऊ मभन्दा पाँच दश गज पछाडी परि हाल्छिन् । उनीसँग यसरी छुट्टिएर थोरै टाढा पुगेपछि म यसो दायाँ बायाँ नजर मार्दै हिँड्छु । यतिबेला आ-आफ्ना गन्तब्य पथमा क्रमशः लम्किरहेका अनगिन्ती अङ्ग्रेजी मानिसहरुको ग्वारग्वार्ती हुललाई मज्जाले देख्न सकिन्छ । तर कुनै समय मभन्दा अघि र कुनै समय मभन्दा पछि हिँड्ने अङग्रेजी स्वास्नीमान्छेहरुको ताँती देख्दा झन मलाई रमाइलो लाग्छ ।  

६ जुलाई २०२४ को दिन छ । अझै बेलायती जुलाई महिना भनेपछि मौसम एकदम सफा र सुन्दर हुन्छ । निलो आकाश हरियो जमिन । अझ यसो भनौ – यतिबेला साउथाम्पटन सहरको छातीभरी मध्यान्हको घाम निस्फिक्रीसँग खुलेरै लागिरहेको छ । यति राम्रो मौसम भएको समयमा उमेर पाकेर केस सेताम्मे भइसकेको मान्छे भएपनि अङ्ग्रेजी युवतीहरुको अर्धनग्न वस्त्रलाई देख्दा कस्तो कस्तो अनुभूति हुन्छ । हुन त मेरो पूर्णतय वैंश ढलिसकेको हुनाले इन्द्रियहरु थाकेर लखतरान परिसकेका छन् । तैपनि कुनै कुनै समय बीस बाइसे ठिटाहरुका रहर जस्तै शरिरभित्रदेखि नै उखरमाउलो हुँदै रहर पलाएर आउने गर्छ ।

यति धेरै अङ्ग्रेजी युवतीहरुको रमाईलो दृश्य देखेपछि चाउरी परेको मेरो गाला झन् धेरै चाउरी पार्छु र एक झमट पछाडी फर्केर तारालाई हेर्छु । बिचरी तारा एक हातमा हाते झोला र अर्को हातले मरिमरि आफ्नो सुटकेस तानेर फत्रक्कै गलेकी जस्ती देखिन्छिन् । तैपनि उनी छुट्टी मनाउन बिदेश हिँडेकी हुनाले मनभरिदेखि नै एक मुरी खुसी छिन् ।

हुनत उनको खुसी तौलिने मापन अहिलेसम्म केही बनेको छ जस्तो लाग्दैन । तैपनि म कुनै बेला मुरी र कुनै बेला मनले मापन गरिदिन्छु । तर छुट्टी मनाउन जाँदा खुसी नभएर पनि के गरोस् र बिचरी ? नत्रभने बेलायतमा बसिन्जेलसम्म चेन होटल प्रिमियर इनको शौचालयहरुले उनलाई कहिले छाड्ने होइन । आखिर जिन्दगीको परिभाषा भनेको पनि उही कुहिरेले शौचालयमा दिसा पिसाव गरेर पानी नतानेको तातातो मानव मलमुत्रको दृश्य मात्र हेर्ने पनि त होइन भन्ने लाग्छ ।   

अ….उनलाई एकाध हेर्न छाडेपछि मेरो पापी आँखाहरु तिनै अर्धनग्न बेलायती षोड्शीहरुको शरीरहरुमा पुगेर ठोकिन्छन् । अनि उनीहरुलाई दोश्रोचोटी त्यसरी हेरेपछि म कल्पनाको सागरमा चुर्लुम्मै डुब्छु र ती आइमाईहरुले किन त्यस्तो लुगा नलाओस् त आफैले आफूलाई प्रश्न गर्छु । तर मेरो अर्को मनले भन्छ – यहाँ सधैँभरि जाडो सिबाय अरु केही हुँदैन । अनि त्यस्तो लुगा पहिरन गर्न उनीहरुले वर्षौ वर्षौ कुर्नु पर्छ । त्यसैले अवसर मिलेको बेला देखाई हाल्छन् नि भन्छु । तर यतिबेला त्यति लामो समयसम्म मेरो ध्यान उनीहरुसँग मात्र केन्द्रित गर्न सक्त्तै सक्त्तिन बीचैमा भङ्ग गर्छु र पतलुङ्को दाहिने गोजीदेखि हत्तपत्त मोबाइल निकाल्छु अनि यादुलाई फोन गर्छु, –  

“यादु ! हामी रेल अड्डादेखि ठीक बाहिर निस्कने स्थान (एक्जिट पोइन्ट) मा तिमीहरुलाई पर्खेर बसेको हुन्छौँ है,” सानो स्वरमा त्यति भन्छु । प्रति उत्तरमा उनले, “हुन्छ, हुन्छ,” भन्छ ।

यादु मेरो अति परम मित्र हो । हाम्रो प्रथम भेट सन् १९८४ मा हङकङमा भएको थियो । हुन पनि लगभग पैतीस /चालिस वर्ष अगाडीको कुरो हो । त्यसबेला दुवैजना अल्लारे ठिट्टाहरु थियौं । हरेक सप्ताहन्तमा हङकङको सर्वाधिक लोकप्रिय घर चुङकिङ मेन्सन नजिकै रहेको बेलायती भट्टी पसल बहुला कुकुर (म्याड डग) को एक कुनामा बसेर धित मरिन्जेल बियर पिउथ्यौं । बियरले रमरम भएपछि सरर पानीमा ओठिएको चामलको तिर्सना लाग्थ्यो । त्यसैले त्यहाँदेखि खुत्रुक्क निस्केर खुट्टा बाङ्गो टिङ्गो बनाउँदै बनाउँदै खानाको खोजीमा नाथन रोडको पेटी पेटी हिडेर टेम्पल स्ट्रिटभित्र छिर्थ्यौ ।

काउलुनमा अवस्थित उक्त्त टेम्पल स्ट्रिट एउटा विचित्रको रात्रीकालिन बजार थियो । त्यहाँ कसैकसैले लुगाफाटा त कसैले जुत्ता चप्पल अनि कसैले बिजुलीको सरसमान र गरगहना बेचिरहेको दृश्यवलोकन गर्न मिल्थ्यो । त्यो बजारमा मलाई सबैभन्दा अचम्म त अधवैंसे चिनियाँ आइमाई मान्छेहरु दुई फिटे मूढामा आरामले बसेर क्वाङकी क्वाङकी भन्दै आफ्नो शरीरको ब्यापार गरिरहेको दृश्य देख्दा अचम्म लाग्थ्यो । हुनत हामीलाई कसैको शरीर खपत गर्नु सर्नु थिएन । बरु तिनै सडक पेटीमा प्लास्टिकको टुक्रुके कुर्सीमा बसेर भुलभुल उम्लिरहेको गाईगोरुको आन्द्राभूँडी र मज्जाले पिसिएको लसुनको झोल मिसिएको गार्लिक चोइसाम सब्जीसँग सिन्काले घोच्दै घोच्दै भात (सिफान) खान्थ्यौँ । समयले कोल्टे फेरेर जब मध्य रात हुन्थ्यो तब स्टारफेरिको एउटा थोत्रो पानीजहाज (फेरि) चढेर लोखार्ट रोडको सेभेन इलेभेनमा पुगेर दोश्रो चरण बिसाउने गर्थ्यौ ।  

तिनै हङकङ टापुमा जब जब रात ढल्कदै जान्थ्यो तब तब हुलका हुल वैँशालु फिलिपिनो युवतीहरुको उदय हुन्थ्यो । भैरे – यस्तो अवसर घरिघरि आउँदैन भन्थ्यौं र हाम्रो नजिक नजिक देखा परेका तरुनीहरुसँग भाँचिएको अङ्ग्रेजीमा परिचय सुरु गर्थ्यौं । त्यसपछि एकअर्कामा थोरै आत्मा साटिएपछि अङ्गालो मार्दै मार्दै पुसिक्याट डिस्कोथेकमा छिर्थ्यौ र अन्धो गायक स्टेभी ओन्डरको (पार्ट टाइम लभर) गीतमा कोमल छातीहरु र ओष्ठहरु जोडेर नाँचेपछि मात्र दिल खुसी हुन्थ्यो ।

त्यसरि रातभरि डिस्को नाँचेर लखतरान भएको शरीर लिएर डिस्कोथेक बाहिर निस्कँदा बिहानी पखको मिरमिरे उज्यालो हङकङ हार्बरमा खस्दै गरेको सुन्दर दृश्य देखिन्थ्यो । तर हामी चाहिँ लानक्वाइ फोङ्को ओरालो गल्लीमा रातभरिको अनिँदो, भोक, प्यास र जाडको धङधङ्गीसँग आफ्नो हरेक पाइतालाहरुले बनाएका डोबहरु गनिरहेका हुन्थ्यौं । लाग्छ – स्वर्णिम समय थियो र जिन्दगी पनि स्वर्णिम । तर अहिले त्यो समयलाई स्मरण गर्दा कताकता सपना हो कि वा बिपना हो जस्तो मात्र लाग्छ ।  

खैर बितेको समय भनेको बितेको नै हो । केवल त्यसबाट पाठमात्र सिक्न सकिन्छ । यादुसँग चिनजान भएको पनि धेरै भइसकेको छ । अझै हामी दुईजना वर्षौ वर्ष एउटै पल्टनमा काम गरेको इतिहासहरु पनि जिउँदै छन् । जस्ले गर्दा दुःखमा वा सुखमा भातृत्वको प्रेम भयो । एकदम मिल्ने साथी भइयो । त्यसपछि हाम्रो समय नदीको पानीझै अविरल बहँदै गयो । तर जिन्दगीभरि जतासुकै जे गरेको भएता पनि उनको लगनगाँठो मेरी कान्छी सालीसँग बाँधिएपछि हाम्रो त्यो सम्बन्ध झन् प्रगाढ बनेर गयो ।  

वास्तवमा भन्ने हो भने मेरो घर खोटाङ र उनको इलाम हो । भौगोलिक दुरी टाढा भएकोले खोटाङ र इलामको मानिसहरुका जीवन पद्दति अलिक फरक फरक प्रकारका छन् । खोटाङको पानीले अलिक बढी नै गायक वा गायिकाहरुको जन्म दिन्छ भने उता इलाममा मिहिनेती हातहरुको जन्म दिन्छ । लाग्छ – इलाम छ र पो चिया छ । नत्रभने हरेक बिहान उठ्ने बितिक्कै बुईपा खोटाङबाट सगरमाथाको दृश्य हेर्दै हेर्दै कन्यामको तीनपाते चिया पिउन के पाइन्थ्यो होला र ? तर कसोकसो इलामभन्दा झापा झन् सुबिधाजनक लागेर अहिले उनीहरुको सपरिवार झापा बसाइँ सरेका छन् । उनीहरु झापा झरेपछि म उनको नयाँ घर बिर्तामोड, झापा एकपटक पुगेको छु ।

तर अहिलेको कुरा गर्दा चाहिँ उनीहरु लगभग अठार /बीस वर्ष यता दक्षिणी वेल्सको एउटा सानो गाउँ क्लेनेथ्लीमा बस्दै आएका छन् । अनि तिनै गाउँ क्लेनेथ्लीदेखि आज बिहान सबेरै एउटा रेल समातेर उनीहरु रेडिङ सहर आएका थिए । त्यसपछि उनीहरु पनि हामीले यात्रा गरिरहेका रेलमा नै चढेका थिए । तर रेलमा निक्कै धेरै डिब्बाहरु भएको हुनाले र फरक फरक डिब्बामा बसेका हुनाले हामी एक आपसमा भेट हुन सकेका थिएनौ ।    

केहीबेर अगाडीदेखि रेल अड्डाको ठीक बाहिर निस्कने मुख्य ढोका (एक्जिट) मा तारा र म उभिइरहेका छौं । नभन्दै एकछिनपछि यादु र उनकी जीवनसँगिनी ढलक्क ढलक्क ढल्किदै हाम्रो सामु आइपुग्छन् । मधुर मुस्कानसहित उपस्थित भएकी उनको जीवन सङ्गिनी अथवा मेरी कान्छी सालीको नाम चाहिँ दया हो । साँच्चै साँच्चै भन्ने हो भने ती जोडीको नाम पनि साह्रै मज्जाले मिलेका छन् – यादु अनि दया । यदि नेपालमा हुँदो हो त उनीहरुको नाम सुनेर भगवानले मिलाइ दिएको होला है भनेर मानिसहरु भन्थे होलान् ? तर अहिले हामी नेपालभन्दा ठीक बाहिर छौं । त्यसैले यहाँ कसैले केही भनेका छैनन् । खैर जे सुकै होस् । उनीहरु हाम्रो सामु आएपछि हाम्रो दिल खोलेर नै भलाकुसारी हुन्छ । किनभने हामी निक्कै लामो समयपछि यसरी स-शरीर भेटघाट गरेका थियौं ।

भलाकुसारी भएको एकछिनपछि, “अब ! जाऊँ है,” सबैले सुन्ने गरी भन्छु ।

मेरो कुरो सुनेर उनीहरु आ-आफना सुटकेस गुडाउन थाल्छन् र मेरो पछिपछि आउँछन् । त्यहाँदेखि थोरै अगाडी बढ्छौ र रेलदेखि बाहिर निस्कने ढोका पार गरेर बाहिर निस्कन्छौं । त्यहाँदेखि बाहिर निस्केपछि एक/दुई अखेटा तल ओर्लेर जमिनको सतहमा झर्छौं । जहाँ मानिसहरुले पालैपालो ट्याक्सी समात्दै आफ्नो गन्तब्यतर्फ लागिरहेको दृश्य देख्न सकिन्छ । अलिक अगाडी हिँडेपछि मध्यान्हको सूर्यको प्रकाशले साउथाम्पटन सहर टलक्कै टल्कदा हृदयदेखि नै स्फूर्ति जागेर आइरहेको महसुस हुन्छ । यतिबेला यस्तो लाग्छ । यो प्रकृतिको नियमलाई पनि जानेर वा नजानेर मान्नै पर्छ । हेर ! यस्तो टण्टलापुर घामको सट्टा अध्यारो हुँदै हावाहुरीको साथमा कोदे पानी परेको भए कति नरमाईलो दिन हुन्थ्यो होला भनेर म मनमनै कल्पना गर्छु । 

हुन त प्रकृतिले जतिसुकै साथ दिए पनि वा नदिए पनि मानव जीवन कहिलै सन्तुष्टी हुँदै हुँदैनन् । किनभने स्वभावैले मानिस लोभी, पापी र इर्ष्यालु हुन्छ । जस्तै यतिबेला सूर्यको प्रकाशले धर्तीलाई ओथारो बसेको कुखुरीले झैँ मज्जाले कोरली रहँदा मेरो आँखा तिरिमिरी तिरिमिरी भएको आभाष हुन्छ । त्यसै त भेरिफोकल चश्मा लगाउने मान्छे, म । कुनै पनि चिजलाई हेर्दा बिस्तारै हेर्नु पर्छ नत्रभने स्पष्ट देख्न सक्त्तै सक्त्तिनँ । अहिले पनि टण्टलापुर घामको प्रकाशले मेरो आँखाको थिर राम्रोसँग जान सकिरहेको छैन । त्यसैले आँखामा सिउरिरहेको चश्मा एकचोटी निकाल्छु र रुमालले सर्लक्कै पुस्छु ।

चश्मा अलिकति सफा भएको महसुस भएपछि ट्याक्सीहरुको पङ्क्तिलाई राम्ररी नियाल्न थाल्छु । तर पङ्क्तिदेखि थोरै टाढा एक्लै पार्क गरेर राखिरहेको एउटा ठूलो ट्याक्सीमा पुगेर मेरो नजर रोकिन्छ । त्यसलाई देखेपछि सबैले सुन्नेगरी, “एकछिन है,” भन्छु र मेरो सुटकेसलाई त्यहीँ छाडेर त्यो ट्याक्सीको नजिक जान्छु । त्यहाँ पुगेर चालकलाई, – “हामी जम्मा चारजना छौं र हामीसँग चारवटा सुटकेसहरु पनि छन् । त्यसैले जुन पायो त्यो ट्याक्सीमा हाम्रो समानहरु अटाउँदै अटाउँदैनन् । अझै हेर्नोस् न सबैभन्दा अगाडी लागिरहेको ट्याक्सी अलिक सानो पनि रहेछ । के तपाइँ हामीसँग जान मिल्छ होला ?” उनलाई विनम्रतापूर्वक सोध्छु ।

प्रतिउत्तरमा, “कहाँ मिल्छ र ? त्यस्तो मिल्दै मिल्दैन । सबैभन्दा अगाडीको चालकलाई गएर भन्नोस् । यदि उनको ट्याक्सीमा समान अटेन भने मात्र म लगिदिन्छु । नत्रभने त्यो नै चलाउनु पर्छ,” साउथाम्पटन हार्बरदेखि आएको मन्दमन्द हावाले पाकिस्तानी चालकको कुर्ता सलवार मात्र होइन । यतिबेला दाह्री हल्लिन्छ, जुङ्गा चल्छ र त्यस्तो जवाफ फर्किन्छ ।

उनको जवाफ सुनेर, “ल ल ! ठीकछ । भै हाल्यो,” भन्छु । खासमा खास भन्ने हो भने अलिक महङ्गो हुन्छ भनेर मलाई दुईवटा फरक फरक ट्याक्सीहरु लिएर बन्दरगाह जान पटक्कै मन परिरहेको थिएन । एउटा ट्याक्सीमा खाँदखुँद गरेर गइयो भने दश पाउण्ड जति बचत हुन्थ्यो भन्ने मेरो विचार थियो । त्यसैले उनको कुरो सुनेपछि एकछिन भएपनि मेरो मन खिन्न भएर आउँछ ।  

त्यहाँदेखि सरासर फर्केर ताराको नजिकै पुग्छु । तर त्यहाँ पुग्ने बितिक्कै, – ‘के भो ! महाराज ? अनुहार त तीन चाउरी पार्दै आउनु भो त ? तपाइँले भनेको ट्याक्सीले मानेन कि कसो ?” टाढैबाट मेरो बिग्रेको अनुहार देखेर उनले मलाई खिसिटिउँरी गर्छिन् ।

नभन्दै हाम्रो बिहे गरेकै सैतीस वर्ष भइसकेको छ । त्यसैले मलाई उनको आनीबानी सबै कण्ठस्थ छन् । तैपनि यादु र उसको धर्म पत्नी साथैमा थियो जस्ले गर्दा थोरै शर्मिन्दासहित, “जाबो ! पठानले मान्दै मानेन हौ,” संक्षिप्तमा तर अलिक रुखो जवाफ फर्काउँछु । त्यति भनिसकेपछि हामी सबैजना सुस्तरी हिड्दैँ हिँड्दै सबैभन्दा अगाडीको ट्याक्सीमा पुग्छौं । त्यहाँ पुगेर ट्याक्सीभित्र बसिरहेको चालकलाई, “अरे हौ जिउँ । यतिका धेरै सुटकेसहरु तपाइँको गाडीमा अटाउन सक्छ के होला ?” मेरो कुरो सुनेर चालक ट्याक्सीदेखि फुत्त बाहिर निस्कन्छ । बाहिर निस्केर सरर एक झलक हाम्रो समानहरु हेर्छ । अनि मेरो आँखामा आँखा जुधाउँदै, “किन नअटनु मान्छे ! सजिलै अटाउँछ,” भन्छ । यसो हेर्दा मान्छे एकदम अग्लो रहेछ तर भकभक भकभक गरेर बोल्ने भएकोले थुक उछिट्याएर मेरो गालासम्म ल्याउँछ ।  

मैले भकभके चालक कर्दिस रहेछन् भनेर हेक्का काटें । किनभने जिन्दगीमा निक्कै धेरै कर्दिसहरुसँग हेलमेल गरेको हुनाले “यो पनि कर्दिस चालक रहेछ,” भनेर उसको गन्धदेखि नै चाल पाउँछु । त्यसपछि उनले सबै सुटकेसहरु गाडीको डिकीमा थपकथपक मिलाएर राख्छ । तर मलाई यहाँ चालकको इति बृतान्त कुरो गर्नुभन्दा पनि एउटै ट्याक्सीमा सबै समान अटाएपछि अलिकति भएपनि पैसा बच्यो भनेर प्रफुल्ल मुद्रामा हुन्छु ।

उनले गाडीमा सामान राखिसकेपछि म दायाँ हातले ढोकाको ह्यान्डल तानेर ट्याक्सीको ढोका खोल्छु । तर अचानक घाँटीमा खकार अडकिरहेको आभाष हुन्छ । एकचोटी कस्सेर ख्वाक्क खोक्छु र खकारलाई श्रीमतीदेखि पाँच गज टाढा पुग्नेगरी फालिदिन्छु । हुनत विदेशमा बसिसकेपछि यसरी असभ्य तरिकाले खोक्न त नहुने हो, तर के गर्ने र ? लगभग ४१ वर्षसम्म विदेशमा बसेर सभ्यता सिकेको मान्छे अहिलेसम्म दिखुवा खोलामा माछा मार्न जाँदा खाकखुक गर्ने नेपाली बानी परेको चट्ट छाड्न सकिरहेको छैन् । अब त झन के सकिन्थ्यो होला र ? तैपनि यस्तो नराम्रो बानीले मलाई जिन्दगीभर घरिघरि शर्मिन्दा बनाइरहेको छ ।

तर यतिबेला सबै पुरानो कुरा भुलेर अगाडीको सिटमा मज्जाले आसन गर्छु । त्यसपछि, – ‘कृपया ! ओसन टर्मिनलमा लानोस् है,” चालकलाई विनम्रतापूर्वक अनुरोध गर्छु । कर्दिस चालकले मेरो कुरो मज्जाले नै बुझ्छ त्यसैले टाउको हल्लाएर जवाफ फर्काउँछ ।

ट्याक्सी चालकले मेरो कुरो सुन्ने बितिक्कै साउथाम्पटन रेलअड्डादेखि ओसन टर्मिनलको लागि यात्रा आरम्भ गरिहाल्छ र त्यहाँदेखि पहिले दाहिनेतिर घुम्छ । मुख्य सडकमा पुगेपछि उसले एक्सिलेटर सरर थिच्दै क्रमशः गियर बढाउँदै लान्छ । यसरी ट्याक्सीको गति बढ्दै जाँदा मेरो ठीक पछाडी सिटमा मज्जाले आराम गरिरहेकी मेरी कान्छी सालीले मसिनो स्वरमा, “भेना,” भनेको सुनिन्छ ।  

उनको बोली सुनेपछि, “के हो ? मान्छे पनि अलिक सानी नै छौं । झन बोली पनि सानो न सानो कोईलीको जस्तै छ त कान्छी ?” जवाफ फर्काउँछु ।

“अरु त के हुनु नि ? अब छुट्टी सुरु भयो । एकदम धेरै मनोरन्जन गर्नु पर्छ । जेनकिन्स रोटी (बेकरी) कारखाना वेल्समा भाँडाकुँडा माझ्दा माझ्दा हातका रेखाहरु लोप भइसकेका छन् । अब यसलाई चैत/वैशाख महिनामा रुखहरुको पातले पाउला फेरे झै फेर्न लगाउन पर्छ होला ?” यसचोटी स्वर अलिक बढेर आउँछ ।

“हो हो, कान्छी ! छुट्टी हो छुट्टी । एकदम धेरै मनोरन्जन गर्नु पर्छ । अनि अर्को कुरो तिमीलाई थाहा छ के ? नर्वेको सबैभन्दा सुन्दर स्थानहरु जस्तैः- पुलपिट ढुङ्गा र सात जना दिदी बहिनी झरना पुगेको बेला टिकटक वा फेसबुक लाईभमा गएर संसारभरिका नेपालीहरुलाई देखाउनु पर्छ,” हाँस्दै हाँस्दै त्यसो भन्छु ।

“हो नि हौ भेना ! एकदम सही हो । लाइभ दिनु पर्छ । अनि सुन्नोस् न । हाम्रो त पानीजहाज यात्रा पनि बल्ल बल्ल दोश्रो चोटी त हुँदैछ । तपाइँहरुको त सोह्र सोह्र चोटी भइसक्यो, होइन र ?”

“हो नि, भइसक्यो है भइसक्यो । यो पानीजहाजहरुमा धेरै लगानी भइसक्यो । तर कोही कोही बेला त यात्रा गर्दा गर्दा यस्तो लाग्छ । जाबो यो संसार पनि खास्सै ठूलो त छैन रहेछ । किनभने यात्राको क्रममा यो संसारलाई कति चक्कर लगाइयो – लगाइयो । कहाँ कहाँ पुगियो ? के के देखियो ? के के देखिएन ? अँ साँच्ची ! तिमीलाई एउटा कुरो थाहा छ कि छैन् कुन्नि ? ‘मानिसले ठूल्ठूलो विचार पैदा गर्नको लागि नयाँ नयाँ स्थान पुग्नै पर्ने रहेछ,’ त्यसैले मलाई त अझै मङ्गल ग्रह पार गरेर अस्टोरोइड पेटी हुँदै हुँदै ब्रम्हाण्डको पल्लो छेउ कुइपर पेटीसम्म जान रहर लाग्छ । तर के गर्नु – सकिए पो ? तैपनि मानव निर्मित भोयजर एक र भोयजर दुई जति टाढा पुगेका छन्, मानव जीवन आफैँ पनि त्यहाँसम्म पुगेको भए झन् कति ज्ञान धेरै पाउन सकिन्थ्यो होला ?”

“हुन त हो । तर यता सुन्नोस् न – भेना ? अनि हामी त्यति साह्रै धेरै घुम्न जान पनि नहुने रहेछ । नेपालीहरुले त कस्तो कस्तो कुरो काट्ने रहेछन् । हामीलाई गोरा पल्टिने भन्ने रहेछन् । यसरि फन्फनी संसार घुमेर पैसा खर्च गर्नु भन्दा त पशुपतिमा बसेको नाङ्गो जोगीलाई पैसा दिन्थे भन्दा रहेछन् – मान्छेहरु । हेर्नोस् न हामी पनि हङकङ, सिङ्गापुर, सिडनी, पेरिस र रोम कता कता पुग्यौं, पुग्यौं । अनि फर्केर घर आउँदा त क-कस्ले के के भनेको सुनेर खुत्रुक्क पर्यौं ।”  

“कान्छी ! कस्ले कस्लाई के भन्छ । कस्ले कस्लाई के भन्दैन । वास्ता गर्ने होइन के ? छ्या ! छाडिदेऊ त्यस्तो कुरो । कसैको वास्ता नगर्नु, क्या । ए बाबा ! एक बारको जुनी त हो । त्यसैले मज्जाले बिताइयो भने यो जुनी नै काफी छ । अनि अर्को जुनी पाइन्छ कि पाइँदैन कसैलाई थाहा छैन् ? कि तिमीलाई थाहा छ र ? के थाहा हुन्थ्यो ? हेर ! एकचोटी मरेर गएपछि फर्केर आएको मान्छे अहिलेसम्म कसैले भेटेका छैनन् । अनि ‘मृत्युमात्र एउटा सत्य हो । अरु सबै भ्रम हो । त्यसैले मृत्युले अहिलेसम्म कुनै प्राणीलाई धोका दिएको छैन् ।’

“खै कोनी हौ । म त त्यस्तो कुरो धेरै जान्दिन पनि ?”

“कान्छी ! त्यहीँ भएर त भन्दैछु । जीवन भइन्जेलसम्म हाँसीखुसीको साथ जिउने हो । अनि अर्को कुरा पनि सुन । सबै मानिस चाहेर पनि धनि हुन सक्त्तैनन् । सबैले चाहेर पनि सुखी हुन सक्त्तैनन् । तर ‘आफूसँग जे जति छ त्यसैमा सन्तोष गर्ने हो र जे गर्न मन लागेको छ, त्यो गर्ने हो ।’ जस्ले जे सुकै भनोस् । आ – भनि रहोस् । किनभने मानिसको दिमागमा जति ज्ञान छ उसले त्यति नै दिने हो र त्यति नै भन्ने हो,” बुझ्यौं ।

“अब बुझ्नु खोज्दै छु, तपाइँको भाषण – भेना ।”

“भाषण शासन केही पनि होइन । कान्छी ! मानिसले जति जति नयाँ कुरो देख्छ, उति उति उसको ज्ञानको वृद्धि हुन्छ । जति ज्ञान बढ्छ, त्यति असल मान्छे भइन्छ । मान्छे भएर जन्मेपछि असल मान्छे हुने प्रयत्न गर्नु पर्छ । तर त्यसको लागि यात्राको आवश्यक पर्छ । अन्ततः अरुले जे सुकै भनेता पनि आफ्नो जीवनको उद्देश्य पूरा गर्नको लागि आफैँले निर्णय गर्नु पर्छ । त्यसैले खुरुखुरु यात्रा गर्दै जाने हो र नयाँ नयाँ ज्ञान बटुल्दै जाने हो । अनि सोही ज्ञान आफ्नो सन्तानहरुलाई सिकाउँदै लाने हो । यदि त्यसो नगरेर अरुले गरेको निर्णय मान्छौ भने तिमी आफ्नो जिन्दगी होइन, अरुको नै जिन्दगी जिइरहेको हुनेछौं । त्यसकारण मानिस भएर जन्मेपछि आफ्नो जिन्दगी जिउने प्रयत्न गर्नु पर्छ । अरुको होइन ?”

“भो भो छाडिदिउँ त्यस्तो कुरो बरु यता सुन्नुहोस् । सबै मान्छे एउटै हुँदै भइँदैन । तर जे सुकै भएपनि म तपाईलाई बोलेर जित्दिन क्यारे ?”

त्यसपछि कान्छीको मुख बन्द हुन्छ । यादु र तारा मुखमा पानी हालेर बसेको मान्छेहरु जस्तै हाम्रो कुरो सुनेर यतिबेलासम्म चुपचाप बसिरहेका छन् । उनकी पनि मुख बन्द भएपछि हामी ओसन टर्मिनल भवनको सामुन्ने रहेको कारपार्कमा पुग्छौं । तर त्यहाँ पुगेर ट्याक्सी राम्ररी रोकिन पाउँदा नपाउँदै, – “आ-आफ्नो राहदानी र टिकट साथमा राख्नु होला ? अनि ठूल्ठूलो सुटकेसहरु उ त्यता लानोस् है,” कारपार्कको छेउमा रहेको पेटीमा उभिएर बन्दरगाहमा काम गर्ने भरियाहरुले छाडेको त्यस्तो आवाज अति प्रष्ट सुन्न सकिन्छ । हाम्रा अगाडी र पछाडी आँखाले देखिन्जेलसम्म कार र ट्याक्सीका लरर लाइन देखिन्छ । यतिक्कैमा भरियाहरुको कुरो सुनेर, – “होइन ! काम त यो भरियाहरुको पो ठीक रहेछ,” यादुले मसिनो स्वरमा बोल्छ ।

उनको कुरो सुनेर म एकचोटी फिस्स हाँस्छु तर केही बोल्दिन । ट्याक्सी पूर्णतय रोकिएपछि चालकसँग मिलेर डिकीदेखि सुटकेसहरु निकाल्छौं र नजिकै रहेको कारपार्कको पेटीमा राख्छौं । सुटकेसहरुले पेटीमा मज्जाले आराम गर्न पाउँदा नपाउँदै दुईजना अङ्ग्रेजी भरियाहरु सुटकेसको कानकानमा कोठा नम्वर लेखिएको लेबल (लगेज ट्याक) छ कि छैन भनेर हेर्न थाली हाल्छन् । त्यो लेबल पानीजहाज कम्पनीले विद्युतीय पत्रमार्फत हामीलाई अग्रिम पठाएको थियो । जस्लाई छापेर हामीले सुटकेसहरु समाउन मिल्ने बिँड-बिँडमा झुन्डाएर राखेका थियौं । लेबलमा हामी बस्ने पाँचौ तलाको कोठा नम्वरहरु र अचानक पानीजहाजमा आगो लागि हाल्यो भने कुन स्थानमा भेला हुने हो भनेर बिवरणहरु लेखिएका थिए ।    

हिँड्दै हिँड्दै अगाडी बढेर हामी भरियाहरुले भनेको स्थानमा सुटकेसहरु लगेर छाडी दिन्छौं । तर सोहीबेला, – “भेना ! ओसन टर्मिनल लेखिएको साइन रहेछ । त्यसको अगाडी एक झलक तस्वीर जावस् है,” कान्छी सालीले मधुरो स्वरमा अनुरोध गर्छिन् । अङ्ग्रेजी जलाशयदेखि निस्केको हावासँग मिसिएर आएको उनकी अनुरोध सुनेर, – “ल ल जति तस्वीर खिचे पनि भयो । आखिर समय पनि फालाफल छ र आजकाल तस्वीर सफा गर्न पनि पर्दै पर्दैन क्यारे,” तुको तु यादुले जवाफ फर्काइ हाल्छ ।

“शरीर ढलेपछि पनि तस्वीर रहिरहन्छ,” सालीलाई एकहरप मनन योग्य तर मार्मिक शब्दले एकचोटी मज्जाले प्रहार गर्छु । तर बुईपा खोटाङमा जन्मेर सुपर कन्या हुँदा पदमकन्या बागबजारको बेसारे रङको सारी पहिरन गरेर दुई/तीन वर्ष तिनै कलेजमा समय ब्यतित गरेकी मेरी साली त्यहाँदेखि उत्पन्न भएका अन्य अनेरास्वबियूको पूर्व अध्यक्षहरु जस्तै मुखमा छुरा बोकेर हिँड्ने मुखाल्नी चाहिँ छँदै छैनन् । त्यसको सट्टामा बरु अति सोझी र इमान्दार छिन् । र, म उनकी इमान्दारिता प्रति अति स-सम्मान प्रकट गर्छु ।

तैपनि समय समयमा उनकी दिमागको बिर्को खोली रहोस् भनेर मानव जीवन र दर्शनको विषयमा छड्के भाषा प्रयोग गरेर म फत्रक्कै गलाउँछु । हो, उनीप्रति मेरो त्यो बानी चाहिँ अलिक नराम्रो छ । अनि यतिबेला पनि आखिर मेरो दुई शब्द खेर गए पनि जावस् भनेर त्यति चाहिँ भन्छु । तर पानीजहाज यात्रा आरम्भ हुन अगाडी उनले अनुरोध गरे अनुसार सम्झनाको लागि आलैपालो दुई-चार वटा तस्वीरहरु लिन थाल्छौं ।

तस्वीरहरु खिच्ने रहर पूर्ण भएपछि आ-आफ्नो हाते झोला च्यापेर थोरै अगाडी बढ्दै बढ्दै मुख्य द्वार नजिकै पुग्छौं । हामी त्यहाँ पुग्ने बितिक्कै बडेमाको जिउ भएको एकजना सुरक्षा अधिकृतसँग ठ्याक्कै ठोकिन्छौं । हेर्दै खाइलाग्दो अश्वेत मूलको उक्त्त सुरक्षा अधिकारिले पानीजहाजको टर्मिनल भवनभित्र कुन समयमा पस्नु पर्ने हो भनेर हाम्रो टिकट र जीवन बीमाहरु जाँच गर्छ । उनले टिकटहरु हेरिसकेपछि, “तपाइँहरुले दश मिनेट जति समय यहीँ कुरेर बस्नु पर्छ,” भनेर हुकुम दिन्छ । उनको कुरो सुनेर मेरा नलिखुट्टाहरु फत्तक्कै गलेर आउँछ । अब बायाँ काँधमा भिरिरहेको हाते झोला फ्यात्तै भुइँमा राख्छु र सोही झोलामाथि पलेटी कसेर थचक्कै बस्छु ।

तर यसरी भुइँमा बसेपछि फुर्सतको समय सदुपयोग गर्नको लागि साउथाम्पटन बन्दरगाहको विषयमा मन्त्रमुग्ध भएर सोच्न थाल्छु । दुई/चार वटा हड्डी र छालाले बनेको यो शरीर लिएर लगभग ३० वटा जति मेरा हिउँदहरु बेलायततिर यस्सै यस्सै बरालिँएर बितेका छन् । सो अवधिभित्र कतिचोटी यो बन्दरगाह आइयो होला भनेर ठ्याक्कै अहिले त म भन्न कदापि सक्त्तै सक्त्तिनँ । तर निश्चन्त भएर के चाहिँ भन्न सक्छु भने यस आधुनिक साउथाम्पटन बन्दरगाहको इतिहास चाहिँ सन् १८३८ देखि सुरु भएको थियो । र, सर लुसियस कर्टिजले सबैभन्दा पहिले एउटा ढुङ्गा राखेर यसको शिलान्यास गरेका थिए ।

अ…. तर मैले यसो भन्दै गर्दा यहाँभन्दा निक्कै माथि स्रुसबरी भन्ने गाउँमा जन्मेको चार्ल्स डार्विनले मानव जीवनको उत्पति क्रमिक विकासको सिदान्तबाट भएको हो है भनेर ठोकुवा गरे जस्तै यो साउथाम्पटन बन्दरगाहको पनि क्रमिक विकास भएर अहिले बेलायतको सबैभन्दा ठूलो यात्रुबाहक बन्दरगाह बन्न पुगेको हो है भनेर म ठोकुवा गर्छु ।

यिनै बन्दरगाहमा अहिले पाँचवटा भीमकाय टर्मिनल भवनहरु रहेका छन् । र, तिनीहरुलाई सिटी, होराइजन, मेफ्लावर, ओसन र क्विन इलिजावेथ टर्मिनल भनेर मानिसहरुले चिन्ने गरेका छन् । तिनै टर्मिनलहरुमा प्रत्येक पानीजहाजहरुले लगभग ६ हजारभन्दा बढी यात्रुहरु दिनहुँ छाड्ने र भित्र्याउने कार्य गर्दछन् । त्यसको साथसाथै हरेक पानीजहाजमा ती पूरै यात्रुहरुको स्याहारसंहार गर्ने करिब दुई हजार जति कर्मचारीहरु पनि रहेका हुन्छन् ।

क्रमशः  

अक्सफोर्डसायर । ५ सेप्टेम्बर २०२४

भीम राई

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री