प्रवासी नेपाली मञ्च यूकेको दक्षिण पूर्वको अध्यक्षमा विष्ट निर्वाचित

लन्डन । प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको दक्षिण पूर्व (साउथ इस्ट) इलाका कमिटी अध्यक्षमा राममाया विष्ट निर्वाचित हुनुभएको छ ।

साउथ इस्टस्थित वीलवुचमा आइतबार सम्पन्न छैटौं अधिवेशनले विष्टको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । साउथ इस्टमा विष्ट पहिलो महिला अध्यक्ष हुनुहुन्छ । यसअघि पुरुषहरु नै अध्यक्ष हुनुभएको थियो ।

कार्यसमिति उपाध्यक्षमा करुणा हमाल, सचिवमा जीविका नहर्की, उपसचिवमा राजेन्द्र लम्साल चयन हुनुभएको छ ।

सदस्यहरुमा रत्ना हमाल शाही, लिलाराम सापकोटा, सन्तोष गिरी, अनिश थपलिया, नविन भट्ट, थर्कसिंह खड्का, किरण अधिकारी र मनिषा खड्का रहनुभएको छ । तीन जना सदस्य पछि कार्यसमितिले थप गर्नेछ ।

नवनिर्वाचित अध्यक्ष विष्टसहित कार्यसमिति लाई ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका उपसचिव तथा अधिवेशनका प्रमुख अतिथि कर्ण शाहीले शपथग्रहण गराउनुभएको थियो ।

निर्वाचन समिति संयोजक केदार थपलियाले सम्पूर्ण कार्यसमिति सर्वसम्मत भएको जानकारी अधिवेशनलाई गराउनुभयो । निर्वाचनका लागि संयोजक थपलिया तथा सदस्यद्वय ओएनएफ यूके उपाध्यक्ष डा मुकुन्द बास्तोला र सचिव पुण्य रेग्मी भएको समित गठन गरिएको थियो ।

यसैबीच, अध्यक्ष विष्टले निर्वाचित भएलगत्तै सबैसँग हातेमालो गरेर अघि बढने प्रतिबद्धता जनाउनुभयो । नवनिर्वाचित कार्यसमितिलाई ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सदस्य कल्पना त्रिपाठी, उपसचिव कर्ण शाही र ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले शुभकामना दिनुभएको थियो ।

यसअघि, निवर्तमान अध्यक्ष अर्कराज तिमल्सिनाले विगतमा गरेका काम र आगामी दिनमा गर्न सक्ने कामका बारेमा सुझाव दिनुभयो । सचिव पंकज बजगाईले कार्य प्रगति विवरण पेस गर्नुभएको थियो । उक्त प्रतिवेदन सर्वसम्मत ढंगले पारित भएको थियो ।

अधिवेशनमा पूर्वअध्यक्ष दिनेश घिमिरे, ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सल्लाहकार विनोद ज्ञवाली, उपाध्यक्षद्वय डा.मुकुन्द बास्तोला, सुरेशजंग शाहलगायतको अधिवेशनमा उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री