बेलायतमा १४ सेप्टेम्बरमा ‘इन्फा यूके अवार्ड’ वितरण, भुवन, मिरुना, अनमोल आइपुग्नुभयो

लन्डन । बेलायतमा यही सेप्टेम्बर १४ तारिखमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड-२०२४ (इन्फा) हुँदैछ ।

यति नेपाली एसोसिएसन यूकेको आयोजना र संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनमा ग्रीनफोर्ड हलमा इन्फा यूके अवार्ड वितरण कार्यक्रम हुन लागेको हो । कार्यक्रममा विभिन्न विधामा पुरस्कार वितरण हुनेछ ।

उक्त इन्फा यूके अवार्ड कार्यक्रममा सहभागी हुन् । नेपाली चलचित्रजगत्‌का चर्चित नायक भुवन केसी, नायिका मिरुना मगरलगायत कलाकार बुधबार बेलायत आइपुग्नुभएको छ । यति एसोसिएसन यूकेको निमन्त्रणामा नेपाली सिनेजगतका सुप्परस्टार केसी, अहिलेका चर्चित नायिका मिरूना, नायक अनमोल केसी, कलाकार जसिता गुरूङ बुधबार हिथ्रो एयरपोर्ट ओर्लिनुभएको हो । उहाँहरुलाई आयोजकहरुले स्वागत गरेका थिए ।

नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार विस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरुलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन हेतु आयोजना कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । अवार्ड वितरणअघि वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुलाई आधार मानेर इन्फा अवार्डको उत्कृष्ट मनोनयन सूची समेत सार्वजनिक गरिसकेको छ ।

जुरी संयोजक सुनिल थापा, जुरी सदस्य गौरी मल्ल र उज्वल घिमिरेले एभेष्ट फिल्म एकेडेमीमा फिल्महरु हेरेपश्चात् उत्कृष्ट मनोनयन छनोट गरिएको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उत्कृष्ट सूचीबाट छानिएकाले पुरस्कार पाउनेछन् । अवार्ड कार्यक्रम भव्य, सभ्य, मर्यादित तथा निष्पक्ष बनाउनका लागि युके कमिटीमा संस्थाका अध्यक्ष पिप्ला पाण्डे देवान, पूर्वअध्यक्ष उमेशराज मोक्तान, महासचिव टंक भट्टराई, उपमहासचिव आशीषराज पन्त, कोषाध्यक्ष पुण्य खतिवडा खटिरहनुभएको छ भने नेपाल कमिटीमा सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशाक कुंवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रुपमा रहेको आयोजकले जनाएको छ ।

अवार्ड वितरण समारोहमा प्रवेश शूल्क साधारण ४०, भीआईपी ५० र भीभीआईपी १०० पाउन्ड निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री