तमु धीं यूकेको आगामी डिसेम्बर १४ मा १३औँ अधिवेशन, यस्ता छन् अरु निर्णय

२८ डिसेम्बरमा ‘रजत ल्होछार’ मनाइने

लन्डन । तमु धीं यूकेको आगामी १४ डिसेम्बर २०२४ मा २५औँ वार्षिक साधारणसभा र १३औँ अधिवेशन हुने भएको छ ।

अध्यक्ष हरि गुरुङको अध्यक्षतामा यही ११ सेप्टेम्बरमा जुममार्फत बसेको १५ औं नेपाली मेला समीक्षा बैठकले महाधिवेशन मिति निर्धारण, तमु ल्होछार विशेष रुपमा मनाउने लगायत निर्णय गरेको हो ।

१४ डिसेम्बरमा २५औँ वार्षिक साधारणसभा र १३औँ अधिवेशन
तमु धीं यूकेको डिसेम्बर १४ मा २५औँ वार्षिक साधारणसभा र १३औँ अधिवेशन हुने भएको छ । उक्त बैठकमा १३औं कार्यसमितिका लागि निर्वाचन मण्डलको पनि घोषणा गरिएको थियो । निर्वाचन मण्डलमा एकेन्द्र गुरुङ संयोजक तथा सल्लाहकार मेजर कृष्ण गुरुङ र सल्लाहकार क्याप्टेन बालकृष्ण गुरुङ सदस्य रहनु भएको अध्यक्ष हरि गुरुङले जानकारी दिनुभयो ।

२८ डिसेम्बरमा तमु ल्होछार कार्यक्रम
तम धीं यूकेले गुरुङ (तमु) समुदायको सांस्कृतिक पर्व तमु ल्होछार २८ डिसेम्बर २०२४ मा मनाउने भएको छ । तमु धीं यूके स्थापना भएको २५ वर्ष पुगेकोले यस वर्षको ल्होछारलाई तमु धीं यूकेको रजत ल्होछारको रुपमा मनाउने र उक्त कार्यक्रम विशेष तरिकाले मनाउने निर्णय तयारी रहेको संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले जानकारी बैठकमा गराउनुभएको छ ।

यस्तै तमु धीं यूकेको वार्षिक मुखपत्र पनि विशेषांकका रुपमा प्रकाशित गर्ने घोषणा गरिएको छ । यसको संयोजक शिक्षाविद् तथा तमु धीं यूकेका ट्रस्टी आदर्श तमु एकेन्द्र गुरुङलाई तोकिएको छ ।

१५ औं नेपाली मेला सफल, केही नाफा
बैठकको सुरुमा १५‍औँ नेपाली मेला संयोजक तथा उपाध्यक्ष परशु गुरुङले मेलाबारे संक्षिप्त रूपमा प्रस्तुत गर्नुभएको थियो । ‘झिना मसिना कमजोरीका बाबजुद विभिन्न संघसंस्था र व्यक्ति व्यक्तित्वहरूबाट आएको बधाई र धन्यवादका पत्रहरू १५औँ नेपाली मेला सफल भएको भन्ने कुराको द्योतक हो,’ संयोजक गुरुङले बैठकमा भन्नुभएको थियो ।

कोषाध्यक्ष दिलमाया गुरुङले मेलाको आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । अघिल्ला वर्षमा भन्दा धेरै खर्च भए पनि सहभागी संख्या बढेकोले खर्च कटाएर केही मुनाफा भएको आय-व्यय प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्यक्ष गुरुङले अहोरात्र खटिएर नेपाली मेलालाई सफल बनाउने मेला संयोजक परशु गुरुङलगायत सबै सहयोगीलाई धन्यवाद र आभार प्रकट गर्नुभयो । उहाँले सबैलाई बधाई र धन्यवाद दिँदै केही कमीकमजोरीलाई आउँदो नेपाली मेलामा सुधार्ने प्रयत्न गर्नु पर्ने बताउनुभएको थियो ।

२२ सेप्टेम्बरमा डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङ स्मृति दिवस मनाइने
बैठकमा तमु धीं यूकेका आगामी कार्यक्रमबारे पनि जानकारी दिइएको थियो । जसअनुसार २२ सेप्टेम्बरमा डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङ स्मृति दिवस मनाइने भएको छ ।

मिचेटमा रहेको तमुधिं भवनमा एक कार्यक्रमबीच तमुधिं यूकेका प्रथम संरक्षक तथा भूगर्भविद् डा. हर्क र प्रकृति संरक्षणका अगुवा डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा कार्यक्रम गरिन लागेको हो ।

डा. हर्क र चन्द्रद्वयको सन् २००६ सेप्टेम्बर २३ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको दिनको सम्झनामा तमुधिं यूकेले हरेक वर्ष स्मृति दिवस मनाइँदै आएको छ ।

१९ अक्टोबरमा आजीवन सदस्य रात्रिभोज गर्ने
वार्षिक कार्यक्रम अनुसार तमु धीं यूकेले आउँदो १९ अक्टोबर २०२४ मा आजीवन सदस्य रात्रिभोज आयोजना गर्ने भएको छ । कार्यक्रमका लागि संयोजक वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ र उपसंयोजक सचिव विमल गुरुङलाई तोकिएको छ ।

यस्तै बैठकमा अध्यक्ष हरि गुरुङले आमा समूह महासचिव शान्ता गुरुङकी आमा र सल्लाहकार ले. रि. कुसाङ गुरुङका बुवाप्रति शोक मन्तव्यसमेत प्रस्तुत गरेका थिए । दुवैको हालै निधन भएको थियो ।

तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको बैठकमा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री