‘यागी’ चक्रवातको प्रभाव म्यान्मामा बढ्यो, भियतनाममा मात्रै २ सय ३३ को मृत्यु

लन्डन । ‘यागी’ नाम दिइएको चक्रवातको प्रभाव म्यानमाका कैयौँ क्षेत्रमा वृद्धि भएको छ । तर भियतनाममा भने यागी प्रभाव कम हुन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्मा क्षेत्रहरूमा यागीका कारण बाढी र पहिरोले विपत्ति निम्त्याएको छ । यागीका कारण प्रभावित देशहरूमा मृत्यु हुनेको सङ्ख्या तीन सय पुगेको छ । तीमध्ये भियतनाममा मात्र दुई सय ३३ र म्यानमामा ३६ जना रहेका छन् । यद्यपि धेरै मानिस बेपत्ता भएका कारण मृतकको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

म्यान्माको अग्नि नियन्त्रण सेवाले शुक्रबार १७ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने आँधीले निम्त्याएको विपत्का कारण दुई लाख ३५ हजारभन्दा बढी मानिस विस्थापित भएको जनाएको छ । म्यान्माको राजधानी वरपरको क्षेत्रमा यागीले निम्त्याएको बाढीका कारण पहिरो आउँदा बिजुलीको टावर, भवन, सडक, पुल र घरहरू ध्वस्त भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजमा यस क्षेत्रमा गाउँलेहरूले सुरक्षित स्थानमा पुग्न हात्तीमा चढेर गएको देखाइएको छ । भियतनाममा मौसममा सुधार आएसँगै सफा आकाशमुनि राजधानी हनोईका केही भागमा पानी कम भएपछि बासिन्दाहरू सडकबाट भग्नावशेष र हिलो सफा गर्न घरबाहिर निस्केको देखिएको छ । यागीका कारण उत्तरी थाइल्यान्ड प्रभावित हुँदा म्यान्मा सीमामा समेत सबैभन्दा खराब बाढी आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री