किरात राई यायोक्खा युकेमा एकता, तीन अध्यक्ष निर्वाचित

लण्डन । विगत पाँच वर्षदेखि अलगअलग कार्यसमितिमार्फत कार्य गर्दै आएका बेलायतको किरात राई यायोक्खामा एकता भएको छ ।

शनिबार ग्याम्बल्स लेन, वोकिङस्थित किरात राई हाउसमा नवौं विशेष एकता महाधिवेशन सम्पन्न यायोक्खाको नयाँ कार्यसमिति चयन गरिएको हो।

ऐतिहासिक मेलमिलापको प्रतीकका रूपमा रहेको यस महाधिवेशनले तीन अध्यक्ष, तीन वरिष्ठ उपाध्यक्ष र १० उपाध्यक्षलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।

यो विशेष महाधिवेशनले दुई विगतका विभाजित समूहलाई पुनः एक बनाउँदै नवौं कार्यसमिति गठन गरेको थियो। तटस्थ बौद्धिक समूहको दबाबपछि दुई पक्षले मिलेर महाधिवेशन सफल बनाएका हुन्।

कार्यक्रमको शुरुवात ग्याम्बल्स लेन, वोकिङस्थित किरात राई हाउसमा खुल्ला र बन्द सत्रको रूपमा गरियो। १६ प्रारम्भिक समितिका प्रतिनिधिहरू र अन्य सदस्यहरूको सहभागितामा नयाँ नेतृत्वको चयन गरिएको थियो।

निर्वाचन समितिको निर्णय अनुसार, दुवै कार्यसमितिबीच संयुक्त कार्यक्रम सम्पन्न गरिएको थियो।

नवनिर्वाचित अध्यक्षहरूमा आशा राई, दिलकुमार राई, भूपजित राई, वरिष्ठ उपाध्यक्षहरूमा प्रेमकुमार राई, सुमनचन्द्र राई, प्रसादकुमार राई, उपाध्यक्षहरूमा विनोदकुमार राई, युगराज राई, ईश्वर चाम्लिङ, शान्ताकला राई, अंकिता राई, भाग्यवती राई, शंकर राई, प्रमिला लाबुङ राई, निलम राई, चन्द्रावती राई, महासचिवहरुमा रामजङ (राजेन) राई र गंगाराज राई, कोषाध्यक्षहरूमा दिलकुमार राई र डा महा राई, सहकोषाध्यक्षहरूमा साबित्रा राई, सन्देश राहुल राई निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसअघि दुवै कार्यसमितिको छलफलपछि महासचिवहरू चन्द्रावती राई र ईश्वर चाम्लिङ राईले कार्यक्रम सञ्चालन गरेका थिए। स्वास्थ्य र सुरक्षासम्बन्धी जानकारीपछि योगेश राई र चन्द्र बहादुर राईलाई कार्यक्रमको अध्यक्षता गर्ने जिम्मेवारी दिइयो।

महाधिवेसनको प्रमुख अतिथि श्रीमती तारा राई, विशिष्ट अतिथि रत्न राई, किराया नेपालका पूर्व अध्यक्षहरु, किराया युकेका पूर्व अध्यक्षहरु, भाषिक र प्राकास अध्यक्षहरु, विशिष्ठ संरक्षक सदस्यहरु र अन्य आमन्त्रित अतिथिहरूलाई सम्मानपूर्वक फेटा गुथेर स्वागत गरिएको थियो। कार्यक्रममा साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई पनि सहभागी थिए।

दुवै कार्यसमितिका उपाध्यक्षहरूको स्वागत मन्तव्यपछि दीप प्रज्वलन र राष्ट्रिय गानका साथ महाधिवेशन उद्घाटन गरिएको थियो। त्यस लगत्तै पितृहरू र दिवंगत सदस्यहरूको सम्झनामा दुई मिनेट मौनधारण पनि गरिएको थियो।

महाधिवेशन आयोजक समितिले निर्धारण गरेको कार्यक्रम अनुसार विभिन्न वक्ताहरूले महाधिवेशनको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरे।

कार्यक्रममा कडा सुरक्षा व्यवस्था गरिएको थियो। सीसीटीभी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूको व्यवस्था थियो। मदिरा निषेध गरिएको कार्यक्रममा मदिरा सेवन गरी सहभागी भएमा, झैझगडा वा होहल्ला गर्दै कार्यक्रम बिथोल्ने प्रयास गरे सभाहलबाट बाहिर निकालिने चेतावनी पनि दिइएको थियो।

पाँच वर्षको विभाजनपछि दुवै पक्षले एकता नै अगाडि बढ्ने एक मात्र विकल्प रहेको निष्कर्षमा पुगेकाले हदैसम्मको लचकता अपनाएर कार्यक्रममा सहभागिता जनाएको स्पष्ट देख्न सकिन्थ्यो। उम्मेद्वारहरु र उपस्थित प्रारम्भिक कार्य समितिका प्रतिनिधिहरु बुद्धिजीवी र निर्वाचन समितिको रोहबरमा भएको सहमतिअनुसार तीन अध्यक्षले एक/एक वर्षको कार्यकाल सम्हाल्नेछन् भने अन्य पदाधिकारीहरू उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित समायोजन गरिएका छन्।

नयाँ नेतृत्वले किरात संस्कृति, भाषा, र भेषभूषाको संरक्षण गर्दै समुदायलाई एकताबद्ध गर्ने जिम्मेवारी सम्हाल्ने बताइएको छ। यो एकता महाधिवेशनले विगतका मनमुटावलाई अन्त्य गर्दै किरात समुदायलाई उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरित गरेको महाधिवेसनमा सहभागीहरूको भनाइ छ।

कार्यक्रममा बधाई र शुभकामनासहित नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको सपथ लिएपछि उपस्थित किरात राईहरूले बधाई दिए। विभिन्न वक्ताहरूले नवौं एकता विशेष महाधिवेशनले दिएको म्यान्डेट इमान्दारपूर्वक पूरा गर्ने चुनौतीलाई आत्मसात् गर्नुपर्ने जिम्मेवारीको बोध गराए।

भूमिराज राई

प्रतिक्रिया

सम्बन्धित सामाग्री