बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको संख्या २५ हजार नाघ्यो : गृह मन्त्रालय

लन्डन । बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको संख्या२५ हजार नाघेको छ । सन् २०२४ को सुरुदेखि हालसम्म साना डुङ्गाहरूमार्फत च्यानल पार गरेर बेलायत पुग्ने आप्रवासीहरूको सङ्ख्याले २५ हजार नाघेको सोमबार जारी गरिएको अस्थायी तथ्याङ्कमा उल्लेख छ । अघिल्लो कन्जरभेटिभ प्रशासनको जस्तै नयाँ लेबर सरकारले च्यानल पार गरेर आउनेहरूको संख्याघटाउन सङ्घर्ष गरिरहेको बेला यी तथ्याङ्क आएका हुन् ।

गृह मन्त्रालयका अनुसार आइतबार सात सय १७ आप्रवासीले उत्तरी फ्रान्सबाट च्यानल पार गरेका छन् । यसले सन् २०२४ को हालसम्मको कूल आगमन सङ्ख्यालाई २५ हजार ५२ पुर्याएको छ । शनिबार पनि सात सय सात जनाले च्यानल पार गरेका थिए ।

यो कूल संख्यागत वर्षको समान अवधिको तुलनामा चार प्रतिशतले बढी हो तर सन् २०२२ को सोही अवधिको तुलनामा २१ प्रतिशतले कम हो । इङ्ग्ल्यान्डको दक्षिणी तटमा साना डुङ्गाहरूको आगमन रोक्ने विषय जुलाईमा भएको बेलायतको निर्वाचनमा एउटा प्रमुख मुद्दा बनेको थियो ।

सत्ता सम्हालेको केही दिनभित्रै लेबर प्रधानमन्त्री केइर स्टार्मरले आप्रवासीहरूलाई रुवान्डा निर्वासन गर्ने कन्जरभेटिभहरूको विवादास्पद योजनालाई खारेज गर्नुभयो ।

यसको सट्टा उनले जोखिमपूर्ण यात्रा आयोजना गर्ने र प्रत्येक आप्रवासीबाट हजारौँ युरो लिने मानव तस्करका ‘गिरोहहरूलाई नष्ट गर्ने’ प्रतिबद्धता व्यक्त गरे । यस वर्षको अहिलेसम्म ४६ जना आप्रवासीले अत्यधिक भरिएका रबरका डुङ्गाहरूमा बेलायतको किनारमा पुग्ने प्रयासमा ज्यान गुमाएका छन् ।

सरकारले आगामी छ महिनामा असफल शरणार्थी आवेदकहरूको निर्वासन दर पाँच वर्षकै उच्च बनाउन लक्ष्य राखेको गृहमन्त्री इभेट कुपरले गत महिना घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री