आगामी डिसेम्बर महिनाभित्र अधिवेशन गर्ने बुद्ध फाउन्डेसन यूकेको निर्णय

लन्डन । बुद्ध फाउन्डेसन यूकेले आगामी डिसेम्बर महिनाभित्र अधिवेशन गर्ने निर्णय गरेको छ ।

लन्डन प्लमस्टिडमा आइतबार सम्पन्न संस्थाको विशेष साधारणसभाले संस्थाको विधानमा विभिन्न संशोधन गर्दै आगामी डिसेम्बर महिनाभित्र नियमित अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको हो । साधारणसभामा विधान समिति संयोजक फडिन्द्र भट्टराईले पेस गर्नुभएको विभिन्न ५ बुँदे संशोधन प्रस्तावलाई सभाले व्यापक छलफलपछि संशोधनसहित सर्वसम्मत रुपमा पारित गरेको फाउण्डेसन अध्यक्ष दीपक श्रेष्ठले जनाउनुभएको छ ।

अधिवेशनको मिति निर्धारण तथा निर्वाचन समिति गठनको जिम्मेवारी अध्यक्ष श्रेष्ठलाई दिइएको छ । साधारणभाले उपाध्यक्ष अर्जुन कटुवालद्वारा प्रस्तुत संस्थाको आय-व्ययसम्बन्धी प्रतिवेदन पनि पारित गरेको छ । प्रत्यक्ष तथा भर्चुअल दुवै माध्यमबाट सहभागिता रहेको साधारणसभालाई प्रमुख अतिथिका रुपमा बेलायतका लागि कार्यवहाक नेपाली राजदूत रोशन खनालले भर्चुअल सम्बोधन गर्नुभएको थियो ।

कार्यकाल पूरा गरी नेपाल फर्किन लागेकी खनाललाई सोही अवसरमा फाउण्डेसनका तर्फबाट औपचारिक बिदाइ गरिएको थियो । साधारणसभामा विशेष अतिथि लन्डन ग्रीनवीच बरो मेयर जीत रानाभाटले फाउण्डेसनले बुद्ध र लुम्बिनीसँगै सिंगो नेपालकै कला, संस्कृति पनि प्रवर्द्धन गर्दै आएकोमा खुशी व्यक्त गर्नुभयो ।

फाउण्डेसन अध्यक्ष दीपक श्रेष्ठले संस्था स्थापनाको सन्दर्भ, उद्देश्य र हालसम्मका गतिविधिहरुबारे जानकारी दिंदै भावी कार्ययोजनासमेत प्रकाश पार्नुभएको थियो ।

उपाध्यक्ष अर्जुन कटुवालले सञ्चालन गरेको कार्यक्रमका सहभागीलाई वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले स्वागत गर्नुभएको थियो । कार्यसमिति सदस्य सूर्य गुरुङले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री