हामी बिजुली भर्याङदेखि ओसन टर्मिनल भवनभित्र छिर्दै गर्दा मध्यान्हको समय १ बजेर १२ मिनेट गइसकेको छ । काँधमा एक एकवटा हाते झोला भिरेर भर्याङको सबैभन्दा अगाडी म र मेरो एक खुड्किला मुनि यादु उभिरहेको छ । तर हामी दुई जनाभन्दा तीन/चार खुडकिला मुन्तिर तारा र दयासँगसँगै आइरहेका छन् । यसरी भर्याङमा उभिएर क्रमशः मास्तिर उक्लिरहँदा हामीबाहेक अन्य मान्छेहरु त्यहाँ कोही छैनन् भन्दा पनि हुन्छ । त्यसैले यहाँको वातावरण एकछिन भएपनि सुनसान छ । तर त्यहाँदेखि यसो उँधैउँधो एकचोटी नजर लगाउने हो भने धेरैजसो मान्छेहरु मुनि तलामा झुरुप्पै बसिरहेका देख्न सकिन्छ र कोही मान्छेहरु माथिल्लो तलामा उक्लिसकेका दृश्य देखिन्छ ।
साउथाम्पटन सहरको ठीक दायाँ किनारमा अवस्थित टेस्ट नदीदेखि आएको मन्दमन्द हावाको गति सँगसँगै बिजुली भर्याङ आफ्नै गतिमा सरर मास्तिर उक्लिरहेको छ । भर्याङमा छँदा, “दया ! पानीजहाजद्वारा विभिन्न देशहरुको यात्रामा जाँदा हामीलाई रमाईलो त अवश्य हुन्छ, तर कुनै कुनैबेला हाम्रो आमाबाबुहरु सँगसँगै जान पाएको भए झन् कति रमाइलो हुन्थ्यो होला हगि ?” ताराको फ्वास्सै मुख खोलिन्छ । प्रतिउत्तर दिने क्रममा दयाले, “नाना ! हुन त हुन्थ्यो नि बाबुले हाम्रो कुरो पटक्कै सुन्न मान्न हुन्न । सुने त कति रमाइलो हुन्थ्यो नि,” (कान्छी साली मेरी श्रीमतीभन्दा अलिक पिन्ची छिन्) त्यसैले आमा बाबुको कुरो गर्ने बितिक्कै उनको स्वर अलिक मसिनो मसिनो हुँदै जान्छ ।
बाबुको उमेर लगभग ८२ वर्ष भइसकेको छ । अनि उहाँ युवा छँदा पूर्व बेलायती गोर्खा सैनिक हुनुहुन्थ्यो । ब्रिगेड अफ गोर्खाजको सातौ गोर्खा राईफल्समा लगभग १६ वर्ष सेवा प्रदान गर्दा बेस्सरी दुम्बाको मासु खाएको हुनाले अहिलेसम्म नै हट्टाकट्टा हुनुहुन्छ । गोर्खा सैनिकदेखि निवृत्त भइसकेपछि बेलायतमा बाँकी जीवनयापन गर्न पाउने सुविधा भएता पनि भित्री हृदयदेखि नै उहाँ गाउँको सेवा गरेर बस्न रुचाउनु हुन्छ । अझै पन्चायतकालिन समयमा पटक पटक प्रधानपन्च भइसकेको मान्छे हुनाले गाउँघरको राजनीति मज्जाले बुझ्नु हुन्छ ।
उहाँ अहिले राजनीति त गर्नु हुन्न तर थोरै आफूलाई पुग्ने खेतिपाती गर्नु हुन्छ । त्यसको साथसाथै गाउँमा आर्थिक समस्या परेका दुःखी गाउँले मानिसहरुलाई गोर्खा पेन्सन निकालेर सहयोग गर्नु नै आफ्नो मानवीय धर्म हो भन्ने सम्झेर सोही गर्नु हुन्छ । तर उहाँले आफ्नो जीवनकालमा जेसुकै काम गरेको भएता पनि आफ्नो जिन्दगीको सबैभन्दा राम्रो काम चाहिँ बुईपा, खोटाङमा एउटा खेलकुद रङ्गशालाको निर्माण गर्नु भएको छ र सोही स्थानमा समय समयमा केटाकेटीहरु बटुलेर फुटबल खेलाउनु हुन्छ । त्यसैले आजको मितिसम्म पनि बुईपा इलेभेन स्पोर्ट क्लवको अध्यक्ष भएर काम गरिरहनु भएको छ ।
गाउँमा सबैभन्दा जेठोपाको भएको हुनाले अभिभावकको भूमिका निर्वाह मात्र होइन, दिनभरी दुई माउ भैँसी र एक हल गोरु लेक्पाको बाँझो खेततिर चराइ हिँड्ने बाबुलाई, “भो ! बाबु, एकदिन मरिहालिन्छ । यस धर्तीमा अजम्बरी कोही पनि छैन । बरु बाँकी रहेको हजुरको जिन्दगी आराम गरेर बिताउनु होला ? नत्रभने यता बेलायततिर हेर्नोस् त । तपाईको समकालिन साथीहरु सुकिलोमुखिलो बसेर वृद्धभत्ता थापेर मज्जाले खाइरहेका छन् । तपाईचाहिँ बिनाबिच्चैमा किन कुप्री पर्दै त्यति धेरै दुःख गर्नु हुन्छ ?” टेलिफोनदेखि समय समयमा ताराको अमरवाणी छुट्छ ।
हुनत बुढेसकालको बाबु पनि के कमको हुनु हुन्छ र ? उनको त्यस्तो कुरो सुनेर हाँसो छाड्दै, “छोरी ! त्यतिकुरो म पनि जान्दछु । त्यति मात्र नभएर म अर्को कुरो पनि जान्दछु । म एकजना देशभक्त्ति मान्छे हुँ । म मर्न सक्छु, तर मेरो देशको माटोको माया कहिले पनि भुल्न सक्त्तिनँ । जबसम्म यस धर्तीमा मेरो सास रहन्छ तबसम्म म मेरो गाउँको सेवा गरिरहन्छु,” बुढेसकाल लागेर कान सुन्न थोरै छाड्नु भएको हुनाले ठूल्ठूलो स्वरमा त्यति भन्नुहुन्छ ।
बाबुको भनाइ सुनेर तारा फत्रक्कै गल्छिन् । अझै त्यतिमात्र कहाँ हुनु र ? पटकपटक नाजवाफ बन्छिन् । टेलिफोन राखिसकेपछि बेखुस ताराको मुहार म बेस्मारी पढ्छु । तर म उनलाई केही भन्न सक्त्तिनँ । आखिर बाबु र छोरीको वार्तालाप त हो, भन्छु । तैपनि बाबुले पटकपटक प्रयोग गर्नु भएको शब्द देशभक्त्त समय अनुकूल भयो भने त राम्रै हुन्छ नत्रभने जिन्दगीभरिको लागि सबैभन्दा ठूलो घाडो हुन्छ भन्ने मलाई लागिरहन्छ । त्यसैले उक्त शब्दसँग मेरो यदाकदा बिमति हुने गर्छ । तर ससुराज्यूसँग किन सवाल जवाफ गरिहाल्ने है भनेर म मुखमा पानी हालेर बसे झैँ गर्छु ।
साँच्चै साँच्चै भन्ने हो भने, “देशभक्त्ति भन्ने एउटा यस्तो शब्द हो । जो धूर्त राजनीतिज्ञहरुले चुनावको समयमा सोझासाझा जनतालाई झुक्याउनको लागि मात्र प्रयोग गर्ने गर्दछन्,” नत्रभने अहिले भूमण्डलीकरणको समय भएको हुनाले यो पटक्कै ब्यावहारिक पनि छैन । उदाहरणको लागि अहिले अमेरिकामा बनेको आइफोन १६ नेपालमा कतिबेला आइपुग्छ भनेर मानिस किन्नका लागि आतुरका साथ बसिरहेका छन् । देशभक्त्ति बनेर आफ्नो देशमा कहिले आइफोन बन्ला र नेपाली नै चलाउला भनेर धेरै वर्ष कुर्न सक्दै सक्दैन । अझै राम्ररी भन्ने हो भने हाम्रो विचार र भावनाहरु एउटा देशभित्र मात्र सीमित हुनुपर्छ भन्नु अहिलेको जमानामा अलिकति हाँस्यास्पद कुरो हुन आउँछ ।
अझै त्यति मात्र नभएर यो शब्द मानव जीवनको लागि अलिक खतराजनक पनि छ । तिनै देशभक्त्तिको नाममा हिटलर र मुसोलिनीले धेरै मानिसहरुको अनाहकमा ज्यान लिएका उदाहरणहरु पनि छन् । मैले यसो भन्दै गर्दा म बाबु जति देशभक्त्ति हुन नसके पनि निश्चय नै विश्वभक्त्ति चाहिँ छु । जस्ले गर्दा कुनैपनि मूल्यमा यो संसार बचाउनु पर्छ भनेर लागिपरेको छु ।
विश्वभक्त्ति भएकै कारण विश्वको हरेक कुना कुनामा के कस्तो अवस्था रहेछ भनेर हामी तारासँग कम्बोडियादेखि कोलम्बियासम्म पुगेका छौं । टाइग्रिस र युफ्रेटस नदीको किनारदेखि यात्रा आरम्भ गरेर ड्यानुब र राइन हुँदै हुँदै मिसिसिपीमा पुगेर अन्त गरेका छौं । नेभा नदी सेन्ट पिटर्सबर्गको एक अन्जुली पानी एउटा बोतलमा लिएर चोपराय नदी बैंककमा मिसाएको छौं ।
फरक फरक पानीजहाज समातेर प्रशान्त महासागरदेखि आन्ध्र महासागर अनि भूमध्य सागरदेखि कृष्ण सागर हुँदै हुँदै मृत सागरमा पुगेर थकाइ मारेका अनुभवहरु छन् । यसरी आफ्नो जीवन कालको चार दशक जति समय संसारका बिभिन्न स्थानहरुमा परिक्रमा गरिरहँदा मलाई यो संसार एउटा देश, एउटा भाषा र एक्कै प्रकारको पैसा भए मानव जीवनलाई कति सहुलियत हुन्थ्यो होला भन्ने मेरो मनमा लागिरहन्छ ।
कुनै कुनैबेला मलाई यसरी यात्राको क्रममा देखिएका कतिपय दृश्यहरु आफ्नो जीवन कालदेखि कहिले पनि लोप भएर जाने छैनन् जस्तो लाग्छ । उदाहरणको लागि हुनान प्रान्त चीनमा भएको जाङजाच्चे पर्वतदेखि विश्वविख्यात नायग्रा झरना क्यानडासम्म पुगेर एक झिमिक आँखा झिमिक्क नगरी हेरेको सँसारको यस्तै यस्तै विभिन्न प्राकृतिक मनोमोहक दृश्यहरु सँगसँगै मेरो मन एकछिन भए पनि भावनामा बहिरहन्छ ।
तर सोहीबेला हामी भर्याङको अन्तिम अखेटामा पुगिसकेका रहेछौं । त्यसैले भर्याङदेखि फुत्त बाहिर निस्कन्छौं । त्यहाँदेखि थोरै अगाडी बढेपछि हाम्रा पाइतालाहरु ओसन टर्मिनल भवनको प्रतिक्षालय कोठामा पुग्छन् । प्रतिक्षालय कोठा बडेमा न बडेमाको छ र त्यहाँ भित्र असङ्ख्य कुर्सिहरु रहेका छन् ।
अँ…पहिले पहिले हामी त्यस कोठामा पुग्दा मानिसहरुका भिडको कुरा गरेर के साध्य हुन्थ्यो र ? बेलायती रङ्गशालादेखि हरेक शनिबार बेलुकी फुटबल हेरिसकेर निस्केका दर्शकहरु जस्तै ताँतीका ताँती मान्छेहरु देखिन्थे । त्यो सम्झँदा आज त मान्छेहरु एउटै छैनन् भन्दा पनि हुन्छ ।
नत्रभने त्यहाँ पुग्ने बितिक्कै पानीजहाजका यात्रुहरुलाई समूह समूहमा विभाजन गरेर रातो, हरियो, पहेलो, नीलो र सेतो कागजका कार्डहरु दिइन्थ्यो । हामी तिनै कार्डहरु हातमा समातेर कुर्सीमा थपक थपक बस्थ्यौं । त्यसपछि पानीजहाजका कर्मचारीहरुले पालैपालो राहदानी र टिकट जाँच गर्ने स्थानमा जानको लागि समूह समूहमा बोलाउने गर्दथे । तर आजचाहिँ बन्दरगाहमा आउनु अगाडी नै मुनि तलामा फरक फरक समयमा आउनु है भनेर यात्रुहरुलाई बोलाएको हुनाले त्यहाँ मानिसहरुका त्यति भीड छैन रहेछ ।
हो, त्यहाँ पुगेपछि हामी एकछिन पनि कुर्सीमा बस्न पर्दै परेन । बरु सरासर हिँड्दै हिँड्दै थोरै अगाडी बढ्छौं । तर सोहीबेला पानीजहाजका एकजना महिला कर्मचारी हाम्रो नजिकै आइपुग्छिन् र उनी त्यहाँ आइपुग्ने बितिक्कै हातले देखाउँदै, – “यी यता आउनोस् र यो लाइनमा उभिनोस्,” भन्छिन् ।
वास्तवमा भन्ने हो भने यी अङ्ग्रेजी महिलाहरु मुखभित्र मात्र बोल्ने गर्छन् भनौँ अति नै सानो स्वरमा बोल्छन् । उता बुईपा खोटाङतिरको महिलाले भए तल टारीखेतदेखि, “ए काले ! बाख्रा खोलिस्,” भनेर आफ्नो छोरालाई कराएको पारी गाउँ बाम्राङसम्म सुनिन्थ्यो । जे होस् ती अङ्ग्रेजी महिलाले मसिनो स्वरमा त्यसो भनेको सुनेपछि म सबैभन्दा अगाडी अगाडी हिँड्न थाल्छु र अरु मेरा सहयात्रीहरु पनि मैले जमिनमा टेकेको पाइतालामा पाइताला मिलाउँदै मिलाउँदै मेरो पछिपछि आउन थाल्छन् । एकछिनपछि हामी पनि अरु मान्छेहरु जस्तै पङ्क्तिवद्ध भएर उनीहरुसँग लाइनमा उभिन्छौ । अनि हिड्छौं र फेरि उभिन्छौ । यसो गर्दा गर्दै पन्ध्र/बीस मिनेट समय गएको अत्तो पत्तो हुँदैन ।
केहीबेरपछि बायाँ कुनातिर अर्की एकजना पानीजहाजको कर्मचारी उभिरहेकी देखिन्छे । तर उनलाई झट्ट हेर्दा अगेनामाथि तुर्लुङ्गै भारमा झुन्डिरहेको सुकेको रागाँको सिकुटी जस्तै पातली छे । हामी उनको नजिक पुग्ने बितिक्कै ती अश्वेत महिलाले, – “ऊ पर १३ नम्बर काउन्टरमा जानोस्,” हातले देखाउँदै त्यसो भन्छिन् ।
उनको कुरो सुनेर म हाँस्दै हाँस्दै, – “होइनौँ बैनी ! १३ नम्बर त अङ्ग्रेजहरुको अभागी नम्बर पो होइन र ? त्यही भनेर पानीजहाजमा १३ नम्बर तला नै राख्दै राखेको हुँदैन । अनि यहाँचाहिँ कसरी १३ नम्बर काउन्टरको राख्यो,” सुस्तरी हिँड्दै हिँड्दै अगाडी बढिरहेको मान्छे पछाडि फर्की फर्की म त्यति भन्छु । तर उनले मेरो कुरो सुनेर थोरै मुस्कानसहित व्यङ्ग्यात्मक तरिकाले, “आज तपाईहरु निक्कै भाग्यमानी पर्नु भो छ । त्यसैले १३ नम्बर काउन्टर भेट्नु भो नि,” भन्छिन् ।
त्यसपछि ती आइमाईसँग सधैँको लागि बिदा हुन्छौं । अनि खुरुखुरु अगाडी बढेर १३ नम्बर काउन्टरमा पुग्छौं । त्यहाँ पुगेपछि हाम्रो अगाडी एकजना कलिली तर अतिनै आकर्षक युवती देखा पर्छिन् । उनीचाहिँ अश्वेत होइन हिस्सी परेकी श्वेत वर्णकी छिन् ।
उनकी ठीक सामुन्ने पुगेपछि म उनलाई एकचोटी शिरदेखि पाउसम्म मज्जाले हेर्छु । अनि एक झमट उनकी बायाँ छातीमा टलल टल्किरहेको ‘क्यारोलाइन थोमस’ लेखेको नेमट्याग पनि पढ्छु । सम्भवत उनकी उमेर त्यस्तै अठारदेखि बीस वर्ष भित्रकी हुनुपर्छ । तर उनकी उचाई हेर्दा बाँसको तामा जस्तै हल्हली बढेकी हुन् भनेर प्रष्टै थाहा पाउन सकिन्छ । अझै त्यतिमात्र नभएर ठिटी औधी नै बान्की पनि परेकी हुनाले म जस्तो बुढोमान्छेको पापी आँखाहरु पनि यसै यसै लोभिइहाल्छ । त्यहीमाथि उनको त्यस्तो पातलो शरीरमा भीमकाय वक्षस्थलले शरीरलाई कति शोभायमान बनाएको होला भनेर म त्यसबेला तीन दङ्ग पर्छु ।
मेरो बायाँ हातमा बाँधिरहेको घडीको सेकेन्ड काँटा एक चक्कर घुमेर मिनेटमा सर्छ र यो घुम्ने क्रम जारी रहिरहन्छ । मचाहिँ खै के भएर हो कुन्नि ? अर्धपागल झैँ भएर एक सेकेन्ड पनि आँखा झिमिक्क नगरी उनलाई निरन्तर हेरिरहेको हुन्छु । सोहीबेला अचानक पानी पर्नु अगाडी गड्याङ्गुडुङ् गर्दै मेघ गर्जे झैँ, “जेशनको ड्याडी ! होइन के भो ? दिमागको एउटा नशा (न्यूरोन) चुडियो कि कसो ? के सार्हो ट्वाल्ल परेर लाटाले पापा हेरेको जस्तो हेरिरहेको हँ ?” दाहिनेतिरको कानको जालो फुट्ने गरी ताराको मुखदेखि त्यस्तो वाणी प्रहार हुन्छ ।
तिनै झड्ङ्गे रिसको खानी मेरी ताराकी त्यति भनाइ सुनेपछि अचानक मेरो अनुहारबाट रगत चुहिएला जस्तो आभाष हुन्छ । तैपनिभित्र हृदयदेखि नै आँट कसेर, “होइन हौ, आजकाल मलाई खै के भाको छ कुन्नि ? यी अङ्ग्रेजी युवतीहरुलाई जति हेरे पनि चलचित्रहरुका नायिकाहरुभन्दा कोही कमी लाग्दै लाग्दैन । कम्ती राम्री हुँदैनन् हगि ?” उल्टै उनीसँग सल्लाह लिन खोज्छु ।
मेरो कुरो सुनेपछि तिरस्कारले भरिएका उनका दुवै ओठ टपक्कै टाँसेर, “मेरो अगाडी अरु केटीहरुको कुरा गर्दै नगर्नोस् है, भन्दिएकी छु,” स्वर हल्का बढ्दै जान्छ । उनको कुरो सुनेपछि म दुविधामा पर्छु तर के गर्ने ती कुइरेनीसँग नबोली मलाई सुख छँदै थिएन । त्यसैले छुँदै मैला पर्ने यस्ती अप्सरालाई, “मिस ! मध्यान्हको नमस्कार छ है,” भनेर केही ढिला नगरी कुरो आरम्भ गरिहाल्छु ।
उनी पनि के कम रैछिन् र ? मेरो भनाइ सुन्ने बितिक्कै, “तपाइँलाई झन् डब्बल नमस्कार,” भन्दै मसँग जिस्कन खोज्छिन् ।
त्यसपछि उनैले, “हजुरहरु कहाँदेखि आउनु भएको हो, क्यारे” प्रश्न गर्छिन् ।
“हामी सगरमाथाको फेदीदेखि आको हो नि । हजुरले सुन्नु भा छ कि नहि ?”
“ए ! हो र भन्या ? मैले सुनेकी छु । कस्तो नसुन्नु त । निक्कै धेरै पटक सुनेकी छु । अनि सुन्नोस् न । म पनि गत वर्ष थाईल्यान्ड, मलेशिया र इन्डिया गाकी थिएँ । अहिलेसम्म मेरो कुनै केटा साथी छैन् त्यसैले दक्षिण एशियातिर बरालिन खुब मन पर्छ । अब अर्को चोटी समय मिलाएर नेपाल जाने रहर गरेकी छु । तर म नेपाल जाँदा सगरमाथातिर चाहिँ पक्कै पनि जान्नँ किनभने मलाई अहिले नै मरिहाल्न पटक्कै रहर छैन । किनभने सगरमाथाको फेदीमा रहेको विमानस्थल संसारको सबैभन्दा जोखिमपूर्ण विमानस्थल हो भनेर मलाई राम्रैसँग हेक्का छ । त्यसको सट्टामा पश्चिम नेपालको अन्नपूर्ण चक्रिय पदयात्रा गर्ने सोच बनाएकी छु । भनौँ अन्नपूर्ण हिमाललाई एक चक्कर लगाउने योजना बुनेकी छु,” धारावाहिक रुपमा त्यति भनिसकेर एकचोटी लामो सास तान्छिन् अनि एकछिन रोकिन्छिन् ।
“ल ! तपाइँको कुरो सुनेर म एकदम प्रफूल्ल भएँ । तपाईलाई नेपालले सदैव स्वागत गर्ने छ । मलाई लाग्छ, यदि तपाईले अन्नपूर्ण चक्रिय पदयात्रा गर्नु भयो भने सायद यो यात्रा तपाईको जीवनभर सम्झन लायकको हुनेछ” त्यतिसम्म भन्छु ।
त्यसपछि उनले हाम्रो राहदानी र पानीजहाजको टिकटहरु माग्छिन् । म उनले भने मुताविक सबै कागजातहरु उनको अगाडी थपक्कै टेबलमा राखि दिन्छु । उनले हाम्रो राहदानीहरु एक/दुईचोटी ओल्टाइ पल्टाइ हेर्छिन् । राहदानीमा भएको तस्वीर मसँग मिल्छ कि मिल्दैन भनेर मेरो अनुहार नियालेर हेर्दै गर्दा म तिनै अप्सरालाई दाहिने आँखा झिमिक्कै झिम्काइ दिन्छु ।
मैले त्यसरी आँखा झिम्काको देखेर, “महाशय ! तपाई अलिक कामुक हुनुहुन्छ कि कसो ? मान्छे त अलिक बूढो नै देखिनु हुन्छ” कुहिरेनीको दोश्रोचोटि मुख खोलिन्छ ।
“छैन छैन, साठी त ठोक्न लागें । बैँशमा चाहिँ अलिक घोर्ले थिएँ,” संक्षिप्तमा त्यति भन्छु ।
हामी त्यति बोल्दै गर्दा उनले पानीजहाजको टिकटहरु झन मज्जाले जाँच गर्छिन् । त्यसपछि हाम्रो साथमा भएको क्रेडिट कार्डको नम्बरहरु उनको कम्प्युटरमा थपकथपक सार्छिन् । त्यसरी क्रेडिट कार्डको विवरणहरु उनको कम्प्युटरमा सन्चिति गरेर राखेपछि पानीजहाजको यात्रा अवधिभर खाएको पिएको पैसा घरिघरि नतिरेर अन्तिममा पानीजहाज छाडेर निस्केपछि जहाज कम्पनीले सोही कार्डदेखि एकमुष्ठमा लाने गर्छ । ती वैँशालु युवतीले अझै यात्रामा छँदा भैपरि आउने समस्याहरुको विरुद्ध जीवन बीमा छ कि छैन भनेर मज्जाले हाम्रो बीमाका कागजहरु जाँच गर्छिन् ।
त्यसपछि टेबलमा मज्जाले आराम गरिरहेको क्यामेरा दायाँ हातले उचालेर, “यी यता क्यामेरातर्फ हेर्नुस् त,” सबैभन्दा पहिले मलाई नै अनुरोध गर्छिन् । क्लिक क्लिक गर्दै एक/दुई चोटी मेरो तस्वीरहरु लिन्छिन् । त्यतिन्जेलसम्म तारा मेरो पछिल्तिर उभिरहेकी हुन्छिन् । अब उनको पालो आउँछ । उनले हामी दुवै जनाको पासपोर्ट साइज तस्वीरहरु लिइसकेपछि हामीलाई एक/एकवटा क्रुज कार्ड हाम्रो हातैमा थमाइ दिन्छिन् । तिनै कार्डहरु पानीजहाजदेखि प्रत्येक चोटी बाहिर निस्कँदा वा भित्र पस्दा सुरक्षा अधिकृतहरुले जाँच गर्ने गर्दछन् ।
उनीसँग बिदा भएपछि हामी दश मिनेटजति हिँडेर अध्यागमनको सुरक्षा घेरालाई पार गर्छौं । त्यसपछि सैनिकका सदस्यहरु कवाज खेल्दा निस्कने बुटको ढ्यापढ्याप आवाज जस्तै आवाज निकाल्दै निकाल्दै हामी पानीजहाज चढ्ने ग्याङ्वेमा ढ्यापढ्याप गरेर खुट्टा बजार्दै हिँड्छौँ । साँच्चै साँच्चै भन्ने हो भने पानीजहाजको ग्याङ्वे पनि एक प्रकारले अचम्मको नै मान्नु पर्छ । मानिसहरुको भीडलाई नियन्त्रण गर्ने उद्देश्यले बनाएको हुनाले जति हिँडे पनि कहिल्यै नसकिने घरिघरि वल्लो छेउ र पल्लो छेउ ओहोरदोहोर गरिरहनु पर्छ । तर त्यसरी क्रमशः हिँड्दै गर्दा हाम्रो आँखा अगाडी जोडीजोडी अङ्ग्रेजी तरुनी तन्देरीहरु अलिअलि अधवैँसेहरु र धेरैजसो बुढाबुढीहरु आ-आफ्नो तालमा हिँडिरहेका देख्दा एक प्रकारले रमाइलो नै लाग्छ ।
हामी उनीहरुसँग मिसिएर हिँड्दा फाइन वुल भेडाका हुलहरुमा एक/दुई वटा बाख्राका बलेख्राहरु मिसिएर हिँडिरहेको जस्तै देखिन्छौं । तर त्यसरी उनीहरुसँग मिसिएर हिँडेको एकछिन पछि पानीजहाजको मुख्य द्वारमा पुगिहाल्छौं । त्यहाँ पुगेपछि फिलिपिनो सुरक्षा अधिकृतहरुले, “कृपया ! आ-आफ्ना हातहातमा क्रुजको कार्ड समातेर हामीकहाँ आउँनु होला है” भनेर उर्दी जारी गर्छन् । त्यसै त पूर्व बेलायती गोर्खा सैनिक मान्छे म । उनीहरुको हुकुम सुन्ने बितिक्कै गोजीदेखि क्रुज कार्ड निकाली हाल्छु । र, उनीहरुका नजिक पुग्ने बितिक्कै थपक्कै दिइहाल्छु ।
सुरक्षा अधिकारीहरुले क्रुज कार्डलाई सरर एकचोटी स्क्यान गर्छन् । कार्डमा सन्चिति गरेर रहेको तस्वीर मसँग मिल्छ कि मिल्दैन होला भनेर मेरो अनुहार हेर्दै निश्चित गर्छन् । त्यति गरिसकेपछि थोरै अगाडी बढेर हातमा बोकिरहेको हाते झोला एक्स-रे मेसिनभित्र हाल्छु अनि उनीहरुले निरीक्षण गरिसकेपछि झोलालाई अर्को छेउदेखि ठक्रक्कै निकाल्छु । धन्न विमान चढ्न अगाडी झैँ जुत्ता र पेटीचाहिँ पानीजहाजमा चढ्दा खोलिरहन परेन भनेर मनमनै उनीहरुलाई धन्यवाद दिन्छु । उनीहरुले आफ्नो कर्तव्य पूरा गरिसकेपछि हामी त्यहाँदेखि थोरै अगाडी बढ्छौं र हाम्रो कोठाहरु भएको पाचौं तलामा जाने बाटो पत्ता लगाउनको लागि दायाँबायाँ खोज्न थाल्छौं ।
आइयोना क्रुजको यो यात्रा हाम्रो बिल्कुल पहिलो पटकको थियो । त्यसैले पानीजहाजभित्र पसिसकेपछि हामी एकछिन अलमलमा पर्छौं । तर हामी चार जना त्यसरी भौँतारिरहेको अवस्था देखेर, “महाशय ! मलाई माफ गर्नु होला” अकस्मात बायाँ कुनादेखि मलाई निशान गरेर मसिनो स्वरमा त्यसो भनेको सुन्छु । युवतीको त्यति मधुरो आवाज सुन्ने बितिक्कै हतारहतार आवाज आएको दिशातर्फ फर्केर हेर्छु । तर म उनीतर्फ फर्केको देखेर,
“तपाईहरुको कोठा तयार भइसकेका छैनन् । त्यसैले १६ तलामा अवस्थित होराइजन रेष्टुरेन्टमा गएर मध्यान्हको भोजन गर्दै गर्नु होला । जब तपाईहरुका कोठाहरु पूर्ण रुपले तयार हुन्छन् तब पानीजहाजको ब्रिजदेखि तपाईहरुको कोठाहरु तयार भयो है भन्ने उद्घोष गरेको सुन्नु हुनेछ । त्यो पछाडिमात्र आ-आफ्ना कोठामा जानु होला र सोही समयमा तपाईहरुको लगेजहरु पनि कोठाको ठीक बाहिर आइसकेको हुनेछ,” विनम्रतापूर्वक ती कर्मचारीले हामीलाई आग्रह गर्छिन् ।
दुइटै हात शरीरको अगाडी भागमा राखेर निघुरमुन्टे ‘ङ’ जस्तै तीन बाङ्गो भएर उनले प्रकट गरेको त्यो शील स्वभाव मलाई अति नै मन पर्छ । हुनत आतिथ्य र शिष्टताका लागि फिलिपिनो युवतीहरु विश्वभरि नै एकदम उदाहरणीय हुन्छन् भनेर भन्न कन्जुस्याइँ गरिरहन पर्दै पर्दैन । मलाई तागालोक, बिसाय, इलोकानोबाहेक अङ्ग्रेजी र स्पेनिस भाषाहरुमा पनि माहिर फिलिपिनो युवतीहरुको जति नै तारिफ गरेपनि कमि नै हुन्छ जस्तो लाग्छ ।
म पानीजहाजको तिनै फिलिपिनो कर्मचारीको छेउमा उभिरहेको बेला उनले घाँटीमा झुन्डिरहेको क्रुज कार्डमा मेरो नाम एकचोटी हेर्छिन् । अनि दाहिने हातले मेरो काँधमा ढ्याप मार्दै, “श्रीमान् राई ! ऊ त्यता जानुहोला” भन्दै हामीलाई १६औं तलामा जाने लिफ्ट देखाइ दिन्छिन् ।
हामी उनलाई धन्यवाद भन्छौँ र सरासर लिफ्टभित्र पस्छौं । होराइजन रेष्टुराँको मुख्य ढोकामा पुगेपछि एकजना इन्डोनेशियन युवती हातमा सेनेटाइजर बोकेर हाम्रो अगाडी उभिरहेकी यसबेला देख्न सकिन्छ । दुई/चार कदम अगाडी बढेर उनको नजिक पुग्ने बितिक्कै छिसछिस गर्दै हाम्रा हातहातमा उनले सेनेटाइजर लगाई दिन्छिन् । म छिटो खालको मान्छे । सेनेटाइजर पाउने बितिक्कै यसो हातलाई अलिअलि दलदाल गरिहाल्छु । हुनत कोरोना कालमा मेरो हातमा सेनेटाइजर दल्दादल्दा दुवै हातहरु चिल्लो हुनको सट्टा खस्रो भ्यागुताको शरीर जस्तै भइसकेका थिए ।
त्यसपछि सुस्तरी हिँडेर थोरै अगाडी बढछौं । एक्कासी हाम्रो दायाँ कुनामा तर सीसाभित्र, “आइयोना क्रुजमा स्वागत छ,” भनेर लेखेको बडेमाको केक देखापर्छ । केकलाई देखेपछि, “आम्मामा ! कति ठूलो केक रहेछ,” मुखभरि पानी बहाउँदै अचानक ताराको मुख खुलिहाल्छ ।
त्यति ठूलो केकको ठीक पछिल्तिर हातमा एउटा छुरी लिएर एकजना डल्ली डल्ली खालको पुड्की तर अश्वेत बेयरा चम्किलो दाँत टल्काएर त्यहाँ उभिरहेकी देख्न सकिन्छ । उनलाई निस्फिक्रीसँग मिलाइ मिलाइ हेर्ने हो भने टलक्कै टल्किरहेको दाँतबाहेक उनको जम्मै कुरो कालो देखिन्छ । तर जति नै कालो भएपनि मासु पोलिखाने कोइला जस्तो निख्खुर कालो चाहिँ उनी छँदै छैनन् । म जहाँ उभिरहेको छु त्यहाँदेखि थोरै अगाडी बढ्छु र उनको छातीमा टाँसिरहेकी नामलाई एकचोटी मज्जाले पढ्छु । तर दक्षिण अफ्रिकादेखि आएकी मिसाइलकी पिठ्यूँ भने एक मिटरजाति उछिट्टिएर टाढा गएको देख्दा म अनायसै खित्का छोडेर हाँस्छु ।
नभन्दै उनकी ठीकसामू पुगेर एक रफ्तारले त्यसरी केकलाई हेरिरहँदा, “महाशय ! के केक खानु हुन्छ हो ? एक चोइटो खानुहोस् न एकदम मीठो छ ।” उनको सिधै अगाडी खापैखाप पारेर राखिएङ्का प्लेटहरुमध्ये एउटा सानो प्लेट उचालेर हामीलाई केक खानको लागि उनले अनुरोध गर्छिन् । त्यति वैशालु तरुनी देखेपछि कालो होस् कि गोरी मलाई भित्रैदेखि बोल्ने रहर पलाएर आइहाल्छ । त्यसैले उनलाई जवाफ फर्काउने क्रममा,
“मिसाइल ! अहँ, म त के केक खान्थेँ आफैँ बढी गुलियो छु । त्यसैले खाँदै खान्नँ । बरु मेरी श्रीमतीले खै के गर्छिन् कुन्नि ?” तुरुन्तै जवाफ फर्काइहाल्छु । अनि पछाडि फर्केर, “बुढिया ! के तिमी केक खाने हो र ?” सानो स्वरमा सोध्छु ।
“आ ! त्यत्रो खर्च गरेर पानीजहाजको यात्रामा आको छौं । के बाँकी राख्थेँ र ? बजाइ हाल्छु नि,” मुख मिठ्याउँदैमिठ्याउँदै त्यतिसम्म भन्छिन् ।
अँ….त्यति भनिसकेपछि तारा र दायाले प्लेटमा एक-एक चोइटो केक बोकेर बस्ने स्थान खोजी गर्न थाल्छन् । हामीभन्दा अगाडी हज्जारौँ मानिसहरु पानीजहाजभित्र पसिसकेका हुनाले होराइजन रेष्टुराँ एकदम व्यस्त देखिन्छ । दिदी र बैनीले झ्याल छेउमा बस्ने स्थान खोज्दै गर्दा म र यादु खानाको खोजीमा लाग्छौं । त्यहाँको खानाको कुरो गर्दा आम्मामा कति हो कति । आँखाले देखिन्जेलसम्म माछा र मासुका विभिन्न परिकारहरु मात्र नभएर दाल, भात, रोटी, सुसी, पिज्जा, बर्गर, नुडल्स, च्याउ, सागसब्जी, हरियो, परियो, गुलियो के के हो के के ? मान्छेले खानमात्र सक्नु पर्छ । पानीजहाजभित्र छानी छानी खान पाइन्छ भन्ने लाग्छ ।
पटकपटक पानीजहाज यात्रामा जाने भएकोले मचाहिँ खानामा त्यति साह्रै धेरै लोभ गर्दै गर्दिनँ । बरु मेरो अगाडी अगाडी जे जे भेटिन्छन् ती सबै थालमा हाल्दै जान्छु । जब थाल भरिन्छ, थपक्कै थाल बोकेर तारा र दया कता छन् होला भनेर उतै जाने निधो गर्छु । यादु अझै खानाहरु छान्नमा व्यस्त भएको हुनाले, “तिमी बिस्तारै आउ है” भन्छु । र, म सुइँसुइँ मेरो बाटो तताउँछु । एकछिन बायाँ कुनैकुनाको बाटो हिँडेपछि पर झ्याल छेउमा उनीहरुलाई देख्छु । उनीहरु बसिरहेको टेबलमा पुगेर म थपक्कै आरामले बसिसकेपछि, “अब तिमीहरु खाना लिनको लागि जाउ” भन्छु ।
मेरो कुरो सुनेर उनीहरु बसिरहेको स्थानदेखि जर्याकजुरुक उठ्छन् र खाना लिनको लागि जान्छन् । उनीहरु उठेर गएपछि बिचरी तारालाई यसो एक झलक हेर्छु । हातमा एउटा खाली थाल र रुमाल (नापकिन) भित्र बेरिएर बसेको चम्चा काँटा बोकेर तारा हज्जारौँ मानिसहरुले खाना खाने रेष्टुराँको वल्लो छेउ र पल्लो छेउ हिँडिरहेको देखिन्छे । तर उनी खाना लिन गएको एक्कैछिनमा दयाचाहिँ मिलिक्कै फर्केर मकहाँ आइपुग्छिन् । उनी फर्किने बितिक्कै,
“भेना म त अलिअलि मात्र लिएर आएँ । फेरि खान मन लाग्यो भने अर्कोचोटी गइहाल्छु,” त्यति भन्दै भन्दै उनी मेरो सामुन्ने आएर बस्छिन् ।
उनी हाम्रो टेबलमा आउँदा मचाहिँ खाना खानमा एकदम व्यस्त थिएँ । भनौँ सारा संसार भुलेर साउथाम्पटन हार्बरको दृश्यावलोकन गर्दै गर्दै कुखुराको फिला टोक्दै थिएँ । तैपनि उनी मेरो अगाडी बसिसकेपछि, “कान्छी ! यसरी खाना खाँदै खाँदै साउथाम्पटन सहरको नजर लगाउन कति आनन्द लाग्छ हगि” प्रफूल्ल मुद्रामा त्यसो भन्छु ।
“हो नि भेना ! यो सहर पनि निक्कै राम्रो रहेछ । मलाई त सिड्नी हार्बर अष्ट्रेलियामा बसेर खाएको झझल्को आयो । फेरि मौसमले पनि कति मज्जाले साथ दियो हगि, कि होइन र ?” चिम्से आँखा खोलेर निक्कै टाढा टाढासम्म हेर्दै हेर्दै त्यति भन्छिन् ।
मलाई खाना खान हतार हतार थियो । त्यसैले, “हो हो,” भन्छु ।
एकछिन पछि, “मैले त नुडल्स नै अलिक बढी ल्याएँ । यसो हेर्दा राम्रो छ, जस्तो लाग्यो । उहिले उहिले कामटिन, हङकङमा पनि लामफाङ्को नुडल्स खुब मीठो मानीमानी खाइन्थ्यो । अझै यहाँ आफूले छानेको परिकारहरु कुखुराको मासु, च्याऊ, प्याज, गोलभेडा र सब्जीहरु मिसाएर आफ्नै अगाडी भुरुरु पकाएको तातातो नुडल्समा हरिया धनियाँका पातहरु टपिङ गरेको खान पाए झन् कति मज्जा आउँथ्यो ।” त्यति बोल्दै बोल्दै यादु हाम्रो नजिक आइपुग्छ र दयाको दायाँ छेउमा नारिएर बस्छ ।
पश्चिम दिशादेखि बहेर आएकी टेस्ट नदी र उत्तर दिशादेखि आएकी इचन नदीको सङ्गमस्थलमा गजधम्म आराम गरिरहेको आइयोना पानीजहाजको १६औं तलामा सरासर भोजन हसुरिरहेको अवस्थामा अकस्मात, “बाबैनी ! मध्यान्हको खाना खाने यो थाल अलिक सानो नै भयो जस्तो लाग्यो । किनभने यो थालमा खास्सै कतिपनि खानेकुरो अटाउँदै नअटाउने रहेछ” टन्न एक थालभरि खाना लिएर आए पनि बेखुसी मुद्रामा भुन्भुनिदै तारा हाम्रोसामू आइ पुग्छिन् । उनको भनाइ सुनेपछि,
“मैया ! फेरि खान मन भए पटकपटक गए त भइ हाल्यो नि के थालको कुरो गरिरहेकी ?” एकचोटी छड्के आँखाले हेर्छु र त्यति भन्छु ।
“आ….एकचोटी बसिसकेपछि घरिघरि को उठिरहने हौ ?” तु का तु जवाफ फर्किहाल्छ ।
थोरै आवेगमा रहेकी उनी कुर्सीमा बस्ने बितिक्कै रुमालमा बेरिएको काँटा र छुरी निकाल्न सुरु गरि हाल्छिन् । त्यसरी काँटा र छुरी निकाल्दै गर्दा खै के गरिन् हो कुन्नि ? छुरी भुइँको टायलमा खसेर ठङ्लङ्गै आवाज आएको निक्कै परसम्म सुनिन्छ । हामी नजिकै अनगिन्ती टेबलहरुमा मानिसहरुले खाना खाँदै गरेका छन् । तर नजिकै खाना खाइरहेका एकजोडी कुहिरे र कुहेरिनीले कर्के आँखाले उनलाई हेर्छन् । “यी म त यस्तै त छु त,” थोरै आत्माग्लानीसहित सरी भनेर क्षमा माग्छिन् ।
उनको कुरो सुनेपछि बायाँ आँखा घुमाएर एक झलक उनको अनुहारलाई राम्ररी पढ्छु । त्यसपछि, “प्यारी ! केही पनि छैन् । यतिका मानिसहरुको अगाडी जीवनको सबैभन्दा ठूलो खड्गो काट्यौ,” संक्षिप्तमा भन्छु । मेरो भनाइ सुनेर दया एकपटक फिस्सै हाँस्छिन् । अनि नानालाई समर्थन गर्दै, “छ्या ! हौं । भेना, जाबो छुरी भुइँमा खस्दा पनि के को खड्गो र सड्गो” भन्छिन् ।
कान्छी सालीको भनाइ सुनेर म सन् १९८४ मा बेलायती सेनामा भर्ती भएको समय स्मरण गर्छु । यदि अहिले मेरो स्मृति सही छन् भने धरानमा भर्ती भइसकेपछि खाना कसरी खानु पर्छ । चम्चा, काँटा र छुरी कसरी चलाउनु पर्छ, खाना खाने टेबलका नियमहरु के के हुन्छन् भनेर मज्जाले सिकेको याद गर्छु । हुनत तारालाई त्यो अवसर अहिलेसम्म जुरेको त छैन । तैपनि हरबखत मैले खाना खाँदा अनुशासित भएर खाएको हेरेर पनि निक्कै चाल पाउनु पर्ने हो ।
वास्तवमा यो संसारमा खाना खाने नियमहरु पनि अति बिचित्रका नै छन् । जस्लाई हामीले अचम्म नै मान्नु पर्छ । जस्तै जापानिजहरुले दुवै घुँडा मारेर थपक्कै भुइँमा बसेपछि सुसी, सस र वासाबी दुईटा सिन्काले टपकटपक टिपेर खाने गर्दछन् । चिनियाँहरुले पनि उनीहरु जस्तै दुईटा सिन्का (चोपस्टिक) प्रयोग गर्छन् तर बटुकामा राखेको भात मुखको छेउमा लगेर फुत्युँ फुत्युँ गरेर खाएका दृश्य दिनभरि हेरिरहुँ जस्तो लाग्छ । हुनत हाम्रा असल छिमेकी भारतीयहरु पनि के कमका छन् र ? पहिले एउटै हातले रोटी बटारेर चट्टै टुक्राउँछन् । अनि दालमा चोपेर खाएका दृश्य पनि रमाइलो नै देखिन्छ ।
अझै रमाइलो त हामी नेपालीहरुको खाने तरिका पो छन् त । दाल, भात, मासु, सब्जी, काँचो मूला र प्याज गड्याङ गुडुङ् थालमा एक्कै ठाउँ मुछ्यो र एक हातले स्वाम स्वाम खायो । अनि अर्को हातले अकबरे खुर्सानी ट्वाक्कै टोक्यो । साँच्चै अनेपालीहरुले हामी नेपालीहरुले हातले ग्वामग्वाम यसरी भात खाएको दृश्य हेर्दा कति मनोरन्जन लिन्छ होला ?
आखिर जसले जस्तो प्रकारले खाना खाएपनि बेलायतीहरु अलिक बाठा भएका हुनाले उनीहरुको खाने नियम चाहिँ हामी एशियनहरुको भन्दा बिल्कुल फरक छ । किनभने उनीहरुले खाना खाँदा दायाँ हातले छुरी र बायाँ हातले काँटाको प्रयोग गर्छन । अनि मासु वा कुनै ठोस पदार्थ काट्नु पर्यो भने छुरीले काटी सकेपछि बायाँ हातले नै त्यसलाई खाने चलन छ ।
तर अमेरिकनहरुको तरिका नितान्त फरक छ । उनीहरुले दायाँ हातको प्रयोग गरेर मासु काटेता पनी मासु काटिसकेपछि फेरि छुरी प्लेटमा राखेर बेलायतीहरुको ठीक उल्टो दायाँ हातले नै काँटा समातेर खाना खाने नियम छ । सम्भवत यसो गर्नुको मुख्य उद्देश्य भनेको जतिबेलासम्म अमेरिका बेलायतको उपनिवेश थियो, त्यतिबेलासम्म उनीहरुको नियम मान्थ्यौं । अहिले हामी स्वतन्त्र छौं र फरक तरिकाले खाना खान्छौं भन्ने होला ? तर त्यसो गर्दा अमेरिकनहरुले पटकपटक छुरीलाई प्लेटमा राख्नु पर्ने र काँटा समाउन घरिघरि हात फेरिरहनु पर्ने भएकोले त्यो नियम निक्कै झन्झटिलो हुने गर्छ ।
अन्ततः अरु कसैले बनाएको नियमहरु आफूले हुबहु नमाने पनि हुन्छ । सबै आफ्नो इच्छाको कुरो हो । तर नियम बनाउने मानिसहरुले गहन अध्ययन र अनुभवपछि बनाएको नियम हो भने र त्यसलाई मानेनौँ भने चाहिँ झन् धेरै दुःख हुने गर्छ ।
क्रमशः
अक्सफोर्डसायर
२३ सेप्टेम्बर २०२४
पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।