नेपालमा बाढीपहिरोमा परी २ सय २८ जनाको मृत्यु, १७ अर्बभन्दा बढीको धनमाल क्षति

काठमाडौँ । नेपालमा हालैको बाढीपहिरामा परी २ सय २८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका अनुसार बुधबार बिहानसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

यसैबीच बाढी र पहिरोका कारण प्रारम्भिक विवरण अनुसार १७ अर्ब रुपैयाँबराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनका क्रममा रहेकाले यो अझै बढ्न सक्ने स्पष्ट नै छ ।

सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार, बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन् । विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा बढी क्षति पुगेको छ ।

जलविद्युत्, राजमार्ग तथा सडकहरु, खोला किनारका बस्ती क्षतविक्षत, पुल र धानबालीलगायत कृषि क्षेत्रमा करिब छ अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्याङ्क छ ।

त्यस्तै कृषितर्फ पशुपन्छी, भौतिक क्षतितर्फ खानेपानी संरचनामा क्षति पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री