इजरायली सुरक्षा र नागरिकहरूको सुरक्षाका लागि बेलायत दृढ : प्रधानमन्त्री स्टार्मर

लन्डन । बेलायती प्रधानमन्त्री कीर स्टार्मरले इजरायली सुरक्षा र नागरिकहरूको सुरक्षाका लागि बेलायत दृढ रहेको प्रतिबद्धता जनाउनुभएको छ ।

इरानले इजरायलमाथि गरेको आक्रमणको निन्दा गर्नुहुँदै प्रधानमन्त्री स्टार्मरले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगको कुराकानीमा स्टारमरले ‘इजरायली सुरक्षा र नागरिकहरूको सुरक्षाका लागि बेलायतको दृढ प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै तेहरानले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि विश्वका नेताहरूले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन् । तेहरानले लेबनानमा हिजबुल्लाह विरुद्ध भूमि आक्रमण गरिरहेको भन्दै आक्रमण इरान समर्थित लडाकु नेताहरूको हत्याको प्रतिक्रिया स्वरुप भएको जनाएको छ ।

मिसाइलको आक्रमण पछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ‘मध्यपूर्वमा बढ्दो द्वन्द्व’ को निन्दा गर्नुभएको छ । यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई “इरानी आक्रमण विरुद्ध इजरायली रक्षामा सहयोग गरी इजरायललाई लक्षित मिसाइलहरू नष्ट गर्नसमेत आदेश दिनुभएको छ ।

यस्तै स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, विदेशमन्त्री जोस म्यानुएल अल्बेरेस, जर्मनी विदेशमन्त्री एनालेना बारबक, फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन, जापानका नयाँ प्रधानमन्त्री सिगेरु इसिबालगायतले इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणको विरोध जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री