बेलायतमा मेडवेवासीले धुमधामसँग मनाए दशैं, गायक मिलन लामाको बेजोड प्रस्तुति

  • भूमिराज राई

लन्डन, केन्ट । हिन्दू नेपालीहरुको विशेष पर्वको रुपमा लिइने दशैँको चहलपहल बेलायतमा पनि बढेको छ । हरेक ठाउँका नेपालीहरुले सामूहिक रुपमा शुक्रबार, शनिबार र आइतबार सकेसम्म बिदाको दिन पारेर दशैं पार्टी आयोजना गरिरहेका छन् ।

वर्ष दिनमा आउने चाड, गाउँघरको, देशको, आफन्तहरुको अनि बाल्यकालको याद दिलाउने चाड, सकेसम्म सबै भेला भएर मान्ने चलन छ विदेश मै भए पनि । पहिला जस्तो टाढा-टाढा धाएर दशैं मान्नु पर्ने बाध्यता छैन युकेमा अचेल । जहीं तहीं नेपाली बस्ती छ । नेपाली समूह छन् र सबै ठाउँमा नेपाली समुदायको आफ्नै सामुदायिक संस्था खुलेका छन् ।

जातीय, क्षेत्रीय, पार्टीका भ्रातृ संगठनलगायत युकेका विभिन्न ठाउँ र क्षेत्रहरुमा आ-आफ्नै सामुदायिक संगठनहरुले विशेष ठूला चाड र कार्यक्रम आयोजना गर्ने गर्दछन् । यसै सन्दर्भमा गोर्खा नेपाली समाज मेडवे (जीएनसीएम)ले ५ अक्टुबर २०२४ शनिबार साँझ वेस्ट ब्रुक प्राइमरी स्कुल जिलिङ्घाममा २०८१ सालको विजया दशमी/दशैंको उपलक्ष्यमा मेडवेवासीहरुको उल्लेख्य सहभागितामा दशैं मनायो ।

चर्चित लोक तथा दोहोरी गायक मिलन लामा, स्थानीय कलाकारहरुको नृत्य सहितको सांगीतिक प्रस्तुति, प्रमुख अतिथि मेडवेका मेयर काउन्सिलर मेरियन नेस्तोरोभ, मेयरेस लिउबोभ नेस्तोरोभ, चाथाम र आयल्सफोर्डकी सांसद (एमपी) लाउरेन ईडवार्ड्स, रोचेस्टर र स्ट्रूडका सांसद ट्रीष्टान ओसबोर्न, मेडवे काउन्सिलका काउन्सिल लिडर काउन्सिलर भिन्स मापल, डिपुटी काउन्सिल लिडर काउन्सिलर टेरेसा मुर्रे, मेडवे काउन्सिलको क्याबिनेट सदस्य-सम्पदा, संस्कृति र काउन्सिलर आचरण समिति अध्यक्ष मेडवे २०२३-२०२४ की मेयर निना गुरुङ र मेडीस्टोन नेपाली समाजका अध्यक्ष मोहन तामाङलगायत लब्धप्रतिष्ठित अतिथिहरुको सहभागितामा भव्य रुपमा दशैं कार्यक्रम सम्पन्न भएको हो ।

दशैं कार्यक्रम गोर्खा नेपाली समाज मेडवेका अध्यक्ष भबिन साम्पाङको नेतृत्वमा भएको हो । अध्यक्ष साम्पाङले कार्यक्रम सफल पार्न सहयोग पुर्‍याउनुहुने र उपस्थित अतिथिहरुलाई धन्यवाद दिनुहुँदै विजय दशमीको शुभकामना दिनुभयो । उपाध्यक्ष ज्ञानेन्द्र राईले उपस्थित पाहुना र अतिथिहरुलाई कार्यक्रममा स्वागत गर्नुभएको थियो ।

महासचिव हरित पोख्रेलले संचालन गरेको कार्यक्रममा अतिथि वक्ताहरु, काउन्सिल लिडर काउन्सिलर भिन्स मापल, एमपी लाउरेन ईडवार्ड्स र एमपी ट्रीष्टान ओसबोर्नले बधाई तथा शुभकामनासहित धन्यवाद मन्तव्य राख्नुभएको थियो । युकेमा नेपालको ठूलो र महत्वपूर्ण चाड दशैंको शुभकाना साट्न पाउनु गर्वको कुरा भएको बताउँदै उहाँहरुले खुशी व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा मेडवेमा रहेका युवा विद्यार्थीहरु जसले गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याएर जीसीएसई, ए लेबल र उच्च शिक्षा हासिल गरेका थिए ती जेहेन्दार विद्यार्थीहरुलाई प्रमुख अतिथि मेयर र एमपीहरुको हातबाट खादासहित प्रमाणपत्र प्रदान गर्दै अझ प्रगति गर्न प्रोत्साहन र शुभकामना दिइएको थियो ।

लोकप्रिय लोकदोहोरी गायक मिलन लामाले आफ्ना चर्चित गीतहरु गाएर उपस्थित दर्शकलाई बेस्सरी नचाउनुभएको थियो भने ईभा राई, सबिता पोख्रेल र अन्यको नृत्यले पनि दर्शकहरुको मन जितेको थियो । कार्यक्रममा अन्य आकर्षणहरुमा राफल ड्र जसका निमित्त धेरैले पुरस्कार उपलब्ध गराएका थिए ।

बडा दशैंको साँस्कृतिक, धार्मिक र सामाजिक महत्वका बारेमा विदेशी पाहुनाहरुलाई जानकारी दिने र दशैं नेपालीहरुको सामूहिक चाडका रुपमा नेपालमा मनाउने चलन रहेको छ । नेपालीहरुले दशैंलाई परदेश गएका, टाढिएका परिवारहरु भेला भएर ठूलाका हातबाट टिका, जमरासहित आशीर्वाद र दक्षिणा लिने अनि सकेको जोहो गरेर मिठो मसिनो खाएर रमाइलो गर्ने चाड भएकाले खुशियालीसाथ मनाउने गर्दछन् । खुशी वा सुखको पर्यायका रुपमा लिइने दशैंलाई सुख र सद्भावको चाडका रुपमा भव्य रुपमा मनाउने चलन छ । तर दशैंलाई तडकभडक चाडका रुपमा मनाउनाले धेरैलाई समस्याको चाड पनि बन्ने गरेकोले भनाइ पाइन्छ ।

धार्मिक र पौराणिक सन्दर्भको कुरा गर्नुपर्दा असत्य माथि सत्यको जितको रुपमा विजया दशमीलाई लिने गरिन्छ । आफ्नो इच्छा अनुसारको कसैले रातो, कसैले सेतो टीका लाएर दशैं मनाइन्छ । आधुनिक समयमा कतिले दशैं बहिष्कार गर्ने र विरोध गर्ने कार्य पनि हुँदै आएको छ । विशेष गरेर धेरै मासु खपत हुने चाड भएकाले पशु अधिकारकर्मीहरुको विरोधमात्रै नभएर अहिले धार्मिक र जातीय विरोध पनि भइरहेको छ तर विदेशमा खासै ती विरोधका कुराले दशैंलाई असर पारेको देखिन्न ।

वर्षदिनमा एकदिन सबै भेला भएर रमाउने र देश तथा बाल्यकाल सम्झना गराउने चाडलाई विदेशमा नेपाल सम्झाउने चाडका रुपमा विस्तारै लिन थालिएको छ । देश बाहिर नेपाल चिनाउने चाडका रुपमा दशैं मुख्य चाड बनिरहेको देखिन्छ । साँझ अबेरसम्म खानपानसहित मनोरन्जन र नाचगान गर्दै यो वर्षको दशैं मेडवेवासीले धुमधामसँग मनाएर शुभकामना आदानप्रदान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री