नेपालको डडेलधुरामा रात्रिबस दुर्घटना, ४ जनाको मृत्यु, १२ घाइते

काठमाडौं । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस मंगलबार राति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताउनुभयो ।

दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो । प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि धनगढी पठाइएको छ । अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री