बेलायतको अक्सफोर्ड विश्वविद्यालयको प्रमुख बन्न ३८ उम्मेदवार

लन्डन । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयको आगामी प्रमुख बन्नका लागि ३८ जना उम्मेदवार प्रतिस्पर्धा उत्रिएका छन् ।

अक्सफोर्डले बुधबार आफ्नो अर्को चान्सलर बन्न ३८ उम्मेदवार प्रतिस्पर्धामा रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर हाल जेलमा रहनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ती प्रतिस्पर्धीमा पर्नुभएको छैन । उहाँको पार्टीले खानका लागि आवेदन दिएको बताएको थियो ।
उम्मेदवारहरूले हङकङका पूर्वगभर्नर क्रिस प्याटनको उत्तराधिकारी बन्न प्रतिस्पर्धा गरिरहेका छन् । प्याटन २१ वर्षपछि जुनमा बिदा हुनुभएको थियो । यो औपचारिक पद सन् १२२४ देखि लगातार पूर्ति हुँदै आएको छ ।

प्याटनको स्थान लिन उच्च–प्रोफाइल नामहरूमा कन्जर्भेटिभ पार्टीका पूर्वनेता एवं विदेश सचिव विलियम हेग, लेबर पार्टीका पूर्व युरोपेली सङ्घ व्यापार आयुक्त पिटर म्यान्डेलसन र पूर्वमहान्यायाधिवक्ता डोमिनिक ग्रिभ समावेश हुनुहुन्छ ।
आठ सय वर्षमा पहिलो पटक यो पद धारण गर्ने महिला बन्ने आशा गर्दै स्कटिश वपकल एलिश एन्जियोलिनीले गर्नुभएको छ । उहाँले सन् २०२१ मा लन्डनका एक प्रहरी अधिकारीद्वारा ३३ वर्षीया मार्केटिङ कार्यकारी सारा एभरार्डको बलात्कार, अपहरण र हत्याको उच्च–प्रोफाइल जाँच नेतृत्व गर्नुभएको थियो ।

एन्जियोलिनी हाल सेन्ट ह्युज कलेज, अक्सफोर्डकी प्रिन्सिपल हुनुहुन्छ । यहाँका पूर्वविद्यार्थीहरूमा बेलायतकी पूर्वप्रधानमन्त्री थेरेसा मे र म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सु की रहनुभएको छ । अर्का अक्सफोर्ड प्रिन्सिपल सोमरभिल कलेजकी जान रोयल पनि दौडमा हुनुहुन्छ । उहाँ पूर्वलेबर नेता नील किनकका पूर्वसल्लाहकार र हाउस अफ लर्ड्सकी नेत्री हुनुहुन्थ्यो ।

अगस्टमा इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) पार्टीका लन्डनस्थित प्रवक्ताले पूर्वप्रधानमन्त्रीले आफ्नो आवेदन पेश गर्न चाहने निर्देशन दिएको बताएका थिए ।
सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री रहनुभएका खानले भ्रष्टाचारदेखि हिंसा भड्काउनेसम्मका विभिन्न आरोपमा एक वर्षभन्दा बढी जेलमा बिताउनुभएको छ । यसलाई उहाँले राजनीतिक प्रेरित र उहाँलाई सत्ताबाट टाढा राख्न डिजाइन गरिएको बताउनुभएको छ । उहाँले सन् १९७५ मा दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रको अध्ययन गरेर अक्सफोर्डबाट स्नातक गर्नुभएको थियो । त्यसपछि राजनीतिमा प्रवेश गर्नुअघि उत्कृष्ट करियरमा पाकिस्तानको क्रिकेट टोलीको कप्तानी गर्नुभएको थियो ।

विश्वविद्यालयले आवेदनहरूलाई बेलायती कर प्राधिकरणद्वारा ‘उपयुक्त र उचित व्यक्ति’ नठानिएका आवेदकहरूलाई अयोग्य ठहर्‍याउने आफ्नो ‘चार बहिष्करण मापदण्ड’ मा विचार गरिएको बताएको छ ।

दुई चरणको मतदानपछि, नयाँ चान्सलरको घोषणा नोभेम्बर २५ को सातामा गरिनेछ । चान्सलर विश्वविद्यालयको नाममात्रको प्रमुख हो र उसले केही प्रमुख समारोहको अध्यक्षता गर्छ । उसले वकालत, सल्लाहकार र कोष सङ्कलन कार्य पनि गर्छ ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित सामाग्री