इन्टरनेसनल एसोसिएसन फर आर्टस् एण्ड कल्चर फर पिसको अध्यक्षमा डा. सङ्गीता नियुक्त

लन्डन । साहित्यकार एवं सञ्चारकर्मी डा. सङ्गीता श्रेष्ठ ‘स्वेच्छा’ इन्टरनेसनल एसोसिएसन फर आर्टस् एण्ड कल्चर फर पिस (आईएएसीपी)को अध्यक्ष नियुक्त हुनुभएको छ ।

युनिभर्सल पिस फेडरेसनअन्तर्गत सञ्चालनमा रहेको आईएएसीपी एउटा विश्वव्यापी संजाल हो । जसले संगीत, नृत्य, चित्रकला, फिल्म र साहित्यजस्ता विभिन्न कलात्मक अभिव्यक्तिहरूमार्फत शान्ति र एकता प्रवर्द्धन गर्ने प्रतिबद्धता राख्दछ । आफ्नो नयाँ भूमिकामा, डा. श्रेष्ठले आईएएसीपीको मिसनलाई अघि बढाउनका लागि कलाकारहरू, सांस्कृतिक नेताहरू र दूरदर्शी व्यक्तित्वहरूको अन्तर्राष्ट्रिय समुदायको नेतृत्व गर्नुहुनेछ । साथै सहकार्य र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्दै विश्वव्यापी शान्ति प्रवर्द्धन गर्ने लक्ष्य डा श्रेष्ठको छ ।

युनिभर्सल पिस फेडरेसन बेलायतका महासचिव रोबिन मार्शले भन्नुभयो, ‘डा. श्रेष्ठ जस्तो व्यक्तित्वको नेतृत्वमा यो महत्वपूर्ण पहललाई अघि बढाउन पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ र उहाँको नेतृत्वले आउने वर्षमा पुर्‍याउने सकारात्मक प्रभावलाई हामी उत्सुकताका साथ पर्खिरहेका छौँ ।’

डा. श्रेष्ठलाई युनिभर्सल पिस फेडरेसनद्वारा सन् २०२३ डिसेम्बरमा ‘एम्बेसडर फर पिस’ अवार्डबाट लन्डनमा सम्मानित गरिएको थियो । यो पुरस्कारले शान्तिपूर्ण र दिगो विश्व निर्माणमा उहाँको समर्पणलाई प्रतिबिम्बित गर्दछ । ‘यो भूमिका ग्रहण गर्न पाउँदा म अत्यन्त सम्मानित महसुस गर्दैछु र कला, साहित्य तथा संस्कृतिलाई शान्ति निर्माण र आपसी समझदारीको महत्त्वसंगै अगाडि बढाउन निरन्तर प्रयासरत र प्रतिबद्ध छु,’ डा. श्रेष्ठले भन्नुभयो, ‘म युनिभर्सल पिस फेडरेसन बेलायतप्रति यो अवसरका लागि आभारी छु । आईएएसीपी र यूपीएफका प्रतिभाशाली सदस्यहरूसँग सहकार्य गर्दै हाम्रा साझा उद्देश्यहरू प्राप्त गर्न प्रतिक्षारत छु ।’

युनिभर्सल पिस फेडेरेसन संयुक्त राष्ट्रसंघको आर्थिक र सामाजिक परिषद्सँग परामर्शको काम गर्ने विश्वव्यापी संस्था हो । आईएएसीपीजस्ता नेटवर्क र पहलहरू मार्फत यूपीएफ विश्वभर शान्ति, एकता र सहयोगलाई प्रवर्द्धन गर्न प्रयासरत छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री