विश्व कीर्तिमानी आरोही हरि बुढामगर एमबीईलाई युकेका दुई प्रतिष्ठित अवार्ड

लन्डन । विश्व कीर्तिमानी आरोही तथा पूर्वगोर्खा सैनिक हरि बुढामगर एमबीईलाई यो महिना युकेको दुई प्रतिष्ठित अवार्ड प्रदान गरिएको छ ।

उनले ‘सोल्जरिङ अन अवार्ड्स २०२४’ मा ‘प्रेरणा अवार्ड’ र ‘प्राइड अफ ब्रिटेन अवार्ड्स २०२४’ मा ‘विशेष मान्यता अवार्ड’ विजेता बनेर दुई अवार्ड प्राप्त गर्नुभएको हो ।

सोल्जरिङ अन अवार्ड्स २०२४’ अक्टोबर १६ मा वेस्टमिन्स्टरको पार्क प्लाजा होटलमा आयोजित गरिएको थियो, जहाँ हरिलाई ‘विशेष प्रेरणा अवार्ड’ प्रदान गरियो । धेरै प्रतिस्पर्धीहरुमध्ये फाइनल पुगेका ३ फाइनालिस्ट मध्ये हरिले यो अवार्ड प्राप्त गर्नुभएको हो, यो अवार्ड सशस्त्र बल समुदायमा रहेका व्यक्तिहरूलाई दिइन्छ जसले कठिनाइहरू पार गरेर अरूलाई प्रेरित गरेका हुन्छन् । हरिको सगरमाथाको सफल आरोहण र प्रेरणादायी यात्रा यस अवार्डको प्रमुख कारण थियो ।

अक्टोबर १९ साँझ सम्पन्न ‘प्राइड अफ ब्रिटेन अवार्ड्स २०२४’ मा हरिलाई ‘विशेष मान्यता अवार्ड’ प्रदान गरियो, जुन यूकेका नचिनिएका नायकहरूको सम्मान गर्न आयोजित कार्यक्रम हो । यो पुरस्कार उहाँलाई अपांगता अधिकारको पक्षमा लड्न र भौतिक सीमाहरूले कसैको सपना पूरा गर्न रोक्न हुँदैन भन्ने कुरा प्रमाणित गर्नका लागि प्रदान गरिएको हो ।

प्राइड अफ ब्रिटेन अवार्ड्स २०२४ कार्यक्रममा २०१० यताका युकेका भूतपूर्व प्रधानमन्त्रीहरू, मन्त्री र हालका प्रधानमन्त्रीलगायत कलाकार, सेनाका बहालवाला र पूर्वअधिकृतहरूको उपस्थिति थियो । हरिको इन्टेक ९९ का बहालवाला सेनाका अधिकृत र अवकास प्राप्त नम्बरीहरूले उपस्थित भएर बधाई दिँदा हरिले खुशीको आँसु पुछ्दै धन्यवाद दिनुभएको थियो । अवार्ड कार्यक्रमको सम्पूर्ण भाग युकेको राष्ट्रिय टेलिभिजन आईटिभी १ बाट २३ अक्टोबरमा प्रसारण हुनेछ ।

को हुन् हरि बुढा मगर एमबीई ?
पश्चिम नेपालको दुर्गम गाउँमा गोठमा जन्मेका हरि बुढा मगर साहस, दृढता र आशाका प्रतीक हुन् । १९ वर्षको उमेरमा ब्रिटिश सेनाको गोर्खा ब्रिगेडमा भर्ती भएर उनले पाँच महाद्वीपमा १५ वर्ष सेवा गरे। सन् २०१० मा अफगानिस्तानमा ब्रिटिश सेनाका तर्फबाट शान्ति स्थापनार्थ खटिएर जिम्मेवारी बहन गर्दै पट्रोलका क्रममा अचानक बिद्रोहीहरुले थापेको बिधुतिय धराप आईईडी टेक्दा विस्फोटमा परेर उनले दुवै खुट्टा गुमाए।

घटनापछि मानसिक तनाव र दु:खका दिनहरू बिताउँदै गर्दा हरिले आफ्नो जीवनलाई पुनःनिर्माण गर्ने निर्णय गरे। उनले कायकिङ, प्याराग्लाइडिङ, स्कीइङ, पौडी खेल्नेसहितका चुनौतीहरू सामना गरे। सगरमाथामा मानब पाइला राखेको ७० यौं बर्षगाँठ १९ मे २०२३ मा हरिले विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर दुवै घुँडामाथि खुट्टा नभएका पहिलो व्यक्ति बन्ने ऐतिहासिक उपलब्धि हासिल गर्दै ईतिहाँस रचे ।

यो सफलता पाउनु अघि उनले नेपाल सरकारले लगाएको अपांगता भएका व्यक्तिहरूको आरोहण प्रतिबन्ध हटाउन कानुनी लडाइँ लडेर असमानता बिरुद्धको कानुनी संघर्ष जिते, त्यसपछि कृत्रिम खुट्टाको डिजाइन निर्माण गरे, र आफ्नो अभियानको लागि आवश्यक कोष जुटाएर आरोहणका लागि अघि बढे।

भविष्यको योजना
हरिको यात्रा अपांगताको धारणा परिवर्तन गर्न मात्र नभई, लाखौं व्यक्तिलाई आफ्ना चुनौतीहरू पार गर्न प्रेरित गर्ने उद्देश्यले अघि बढिरहेको छ। उनी सात महाद्वीपका सर्वोच्च शिखरहरू आरोहण गर्ने योजना अनुसार आफ्नो लक्ष्यमा अघि बढिरहेका छन् र £८८४,९०० (सगरमाथाको उचाइमा दुई शून्य थपेर) जुटाएर पूर्वसैनिक र सैन्य च्यारिटीहरूलाई प्रदान गर्ने लक्ष्यका साथ आर्थिक संकलन पनि जारी राखेका छन्।

हरि बुढा मगर अहिले युकेको केन्ट, क्यान्टबरीमा दुई छोरा, एक छोरी र श्रीमती सहित परिवारसँग बसोबास गर्दै आफ्नो घरजग्गा व्यवसायलाई सफल बनाउन निरन्तर प्रयास गरिरहेका छन्। हरिको यात्रा साहस, दृढता, र मानवीय आत्माको शक्ति भएको प्रमाण हो, जसले अपांगता भएका व्यक्तिहरूलाई मात्र होइन, सबैलाई प्रेरणा दिइरहेका छन् ।

उनको चर्चित भनाई “मैले आफ्नो चुनौतिको सगरमाथा चढ्न सफल भएँ, तपाईं पनि आफ्नो सगरमाथा चढ्न निरन्तर लागि रहनुहोस्, अवश्य सफल हुनुहुनेछ!”ले धेरैलाई प्रेरित गर्ने काम गर्दै आएको छ।

— भूमिराज राई, मेडवे केन्ट, युके

प्रतिक्रिया

सम्बन्धित सामाग्री