सगरमाथा गोर्खा/नेपाली समाज आस्फोर्डको २० वर्ष : रात्रिभोजसहित पूर्वअध्यक्षहरु सम्मानित

केन्ट, लन्डन । सगरमाथा गोर्खा/नेपाली समाज आस्फोर्ड केन्ट स्थापना भएको २० वर्ष पुगेको अवसरमा पूर्वअध्यक्षहरुलाई रात्रिभोजसहित सम्मान गरिएको छ ।

१८ अक्टुबर २०२४ शुक्रबारमा रात्रिभोजको आयोजना गरी वर्तमान अध्यक्ष डम्मर सिंगक लिम्बुले पूर्वअध्यक्षहरुलाई प्रशंसापत्रले सम्मान गर्नुभएको हो । सम्मानित हुनुहुने हालसम्मका पूर्वअध्यक्षमा श्री प्रसाद लिम्बु (प्रथम), किशोर गुरुङ, सन्तोष घले, गोम्बा शेर्पा, नरेन्द्र लिम्बु, पोपिराज राई, श्री तेम्बे लिम्बु, भास्कर तितुङ, चक्रबहादुर राई र कप्रसाद छन्त्याल दसौं अध्यक्ष हुनुहुन्छ ।

सगरमाथा गोर्खा/नेपाली समाजको स्थापना २००४ सालमा यहाँका तत्कालीन अगुवाहरुको अगुवाइमा श्रीप्रसाद लिम्बुको अध्यक्षतामा गठन भएको हो । जुनबेला यहाँ स्थायी बसोबास गर्नेहरु कोही पनि थिएन । कोही यतै अवकाश भएर नेपाल नगइकन अस्थायी रुपमा लुकिछिपी बसेका थिए भने कोही नेपालबाट कहीं कतैको बाटो हुँदै यहाँ आई बसोबास गर्नेहरु थिए । जुन समयमा धेरै दु:खकष्ट भोग्दै यहाँका स्थानीयहरुको तर्फबाट अपमान खेप्नु परेको थियो ।

गोर्खाहरुका छोराछोरीहरुलाई स्कुलमा पनि गोर्खाली वा नेपाली भनेर भनिँदैन थियो साथै होच्याएर बोलाउने, ‘तिमीहरु कहाँबाट आएका हौ’ भन्ने अपमान गर्ने गर्दथे । तर आजभोलि यहाँका नेपालीहरुको बिर ठाडो बनाएर हिँड्ने अवसर नेपालीहरुका छोराछोरीहरुले गरेका छन् । जहाँ जहाँ नेपालीहरुका छोराछोरीहरु पढ्छन् त्यहाँको स्कुलको रेकर्ड माथि हुँदै गएको छ । यहाँका नानीबाबुहरु धेरैले उच्च शिक्षा हासिल गरेका छन् । त्यस कठिन अवस्थामा सबै एक भएर एउटै संगठनको छातामुनि बस्दा सबैको लागि सरसहयोग हुने महसुस गरी यसरी गोलबन्द भएको थियो ।

यो ठाउँमा जुनबेला आर्मी सर्कलका स्थानीय खासै नभएकोले पनि गोर्खालीको बारेमा जानकारी थोरै थियो । त्यसकारण पनि गोर्खालीहरु धेरै मात्रामा अपमानित हुने गर्दथे । समाजको नाम नै सगरमाथा गोर्खा/नेपाली समाज राखी यसको प्रचारप्रसार हरेक स्कुल र यहाँका स्थानीयहरुलाई हामी को हौ र किन यहाँ छौ भन्ने बारेमा अन्तरक्रिया गराउने र यहाँका स्थानीयहरुसँग सार्वजनिक कार्यहरुमा सहभागि हुँदै अगाडि बढेपछि सहज वातावरण तयार भएको हो भन्ने कुरा पूर्वअनुभवीहरुको छ ।

हाल यस समाजभित्र १७ थरिभन्दा बढी नेपालीहरुको बसोबास भएको ठाउँ हो । यहाँ समाजमा सदस्यता दर्ता भएका ७१४ घरधुरी छन् । करिब १०० घर धुरीभन्दा बढी नयाँ बसोबास गर्नेहरुको सदस्यता हुन् बाँकी रहेको अनुमान छ । यस समाजले हरेक वर्ष दसैँ तिहारको छेका पारेर एक पटक नेपाली चाड मनाउने गर्दछ । यहाँ विभिन्न भाषी, धार्मिक संस्कार र संस्कृति भएका नेपालीहरुको बसोबास छ । उनीहरुको आफ्नै संगठनहरु पनि छन् तर सबै हरेक गाह्रो अप्ठ्यारोको लागि मजबुत नभए कोही कसैलाई सारोगारो अप्ठ्यारो परेको खण्डमा भने सगरमाथा गोर्खा/नेपाली समाज हरेक कठिनाइमा तत्पर र समस्याको समाधान गर्नको लागि सबैको छाता संगठनको हिसाबले तयार रहन्छ र आफ्नो जिम्मेवारी पूरा गर्द छ।

समाजको आफ्नै गोर्खा समाधिस्थल छ र कतिपय आशफोर्ड बाहिरबाट पनि यस ठाउँको समाधिस्थल प्रयोग गरेको पाइन्छ ।
केही वर्षदेखि यस समाजले आफ्नै कार्यालय सहितको सभा सम्मेलनका लागि हल खरिद तथा निर्माण गर्नको लागि पहल गरिरहेको छ र यसको अगुवाइ पूर्वअध्यक्ष चक्रबहादुर राई खरिद तथा निर्माण समितिको निर्देशक रहनुभएको छ । हालसम्म २ लाख ६१ हजार पाउण्ड आर्थिक संकलन गरिसकेको समाजले जनाएको छ ।

चक्र साम्पाङ राईबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री