‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजन आयोजना हुने


काठमाडौं । नेपालको चर्चित हीरा ब्रान्ड क्लासिक डाइमन्डले यसपटक पनि ‘फेस अफ क्लासिक डाइमन्ड’ले पाँचौँ सिजन आयोजना गर्ने घोषणा गरेको छ ।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा क्लासिक डाइमन्डका अध्यक्ष बाबु राजा महर्जनले आगामी माघ ४ र ५ गते काठमाडौंमा ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजन आयोजना हुने जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतियोगितामा उत्कृष्ट मोडलले फेस अफ क्लासिक डाइमन्डको उपाधिसहित १ लाख ५० हजार रुपैयाँ र एक वर्षसम्म क्लासिक डाइमन्डको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउने छन् । यस्तै उनले बलिउडमा पनि आफ्नो प्रस्तुति दिने अवसर पाउने छन् ।

यस प्रतियोगितामा सहभागी हुन आजबाट नै रजिस्ट्रेशन खुल्ला गरिएको छ । विगतमा यो प्रतियोगिताकी विजेता साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाली चलचित्रमा, अञ्जली लामाले न्युयोर्क फेशन सप्ताहमा, मुना गौचनले बलिउडमा आफूलाई स्थापित गरिसकेको पनि अध्यक्ष महर्जनले जानकारी गराउनुभयो । ‘क्लासिक डाइमन्ड गहनासँग सम्बन्धित भएकाले हामीले यो कार्यक्रमबाट नेपालको फेशन र मोडलिङ क्षेत्रलाई पनि प्रवर्द्धन गर्दै आएका छौँ’, उहाँले भन्नुभयो ।

यो प्रतियोगिताको लागि नेपालमा काठमाडौं र पोखरामा अडिसन गरिने क्लासिक डायमण्डका प्रबन्ध निर्देशक अमिर महर्जनले जानकारी गराउनुभयो । ‘नेपालका अडिसन पछि हामी अडिसनमा चयन भएका मोडलहरूलाई करिब एक महिना विभिन्न प्रशिक्षण दिनेछौँ । त्यसपछि प्रतियोगीबाट विजेताहरू सहित उत्कृष्ट १० प्रतियोगीलाई क्लासिक डाइमन्ड फेशन तथा ज्वेलरी शोमा उतार्ने छौँ,’ उनले भन्नुभयो ।

अमेरिकामा समेत तीन वटा आउटलेट चलाउँदै आएको क्लासिक डाइमन्डले अमेरिकामा रहेका नेपाली मोडलहरुबीच पनि अडिसन लिनेछ । सो अडिसनबाट चयन भएका मध्य दुई मोडललाई नेपाल ल्याएर ‘फेस अफ क्लासिक डाइमन्ड’को प्रतिस्पर्धामा उतार्ने क्लासिक डाइमन्डका अमेरिका संयोजक समीर महर्जनले जानकारी गराउनुभयो । ‘अरूले नेपालबाट मोडलहरूलाई अमेरिका पठाउँछन् । तर हामीले यो प्रतियोगिताको लागि दुई जना नेपाली मुलकी मोडललाई अमेरिकाबाट नेपाल पठाउँछौँ,’ भन्नुभयो ।

‘फेस अफ क्लासिक डाइमन्ड’को विजेताले एक लाख ५० हजार रुपैयाँ, फस्ट रनरअपले एक लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । उनीहरूले क्लासिक डाइमन्डको विभिन्न परियोजनामा जोडिएर काम गर्ने अवसर पनि पाउने छन् । क्लासिक डाइमन्डको ग्रान्ड फेशन तथा ज्वेलरी शो आगामी ४ र ५ माघमा काठमाडौंमा हुनेछ । सोही कार्यक्रममा ‘फेस अफ क्लासिक डाइमन्ड’का विजेताहरूलाई पुरस्कृत गरिनेछ । प्रतियोगितालाई बलिउडका कोरियोग्राफर रेहान शाहले कोरियोग्राफी गर्नेछन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा पूर्व मिस नेपाल माल्भिका सुब्बाले ‘फेश अफ क्लासिक डाइमन्ड’ प्रतियोगिताले नेपालमा धेरै राम्रा मोडलहरूलाई यो क्षेत्रमा ल्याएको बताउनुभयो । यो प्रतियोगिताका धेरै विजेता तथा सहभागीहरूले मिस नेपाललगायत विभिन्न प्रतियोगितामा भाग लिएर उपाधिसमेत जितेको उहाँले बताउनुभयो ।

अर्की पूर्व मिस नेपाल अस्मी श्रेष्ठले पनि ‘फेस अफ क्लासिक डाइमन्ड’ प्रतियोगितामा जोडिन पाउँदा खुसी व्यक्त गर्नुभयो । करिब ६ महिनाको तयारीबाट यसले नयाँ मोडलहरूलाई निखारेर मोडलिङ क्षेत्रमा ल्याउने गरेको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय राष्ट्रिय मोडल सविता कार्कीले पनि ‘फेस अफ क्लासिक डाइमन्ड’सँगको अनुभव पत्रकारहरूलाई सुनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री