साउथाम्पटन बन्दरगाहमा दिउँसोको समय ठीक ४ बजेको छ । आइयोना क्रुजको कप्तान एन्ड्रु वोल्भरसनले पानीजहाजलाई साउथाम्पटन बन्दरगाहबाट बिस्तारै पानीतिर निकाल्दै लगेको दृश्य सिरान तलामा बसेर मज्जाले देख्न सकिन्छ । उनी यतिबेला ब्रिजको सबैभन्दा बायाँ कुनामा उभिएर पानीजहाज चलाइरहेका छन् । उनले यसरी पानीजहाज चलाउँदै गर्दा घरिघरि उनका छेउमा अन्य सहचालकहरु पनि आएर उभिएका देखिन्छन् । उनीहरुको हात हातमा छोटो दुरीमा बोल्न सकिने रेडियोहरु छन् र बेलाबेलामा उनिहरुले तिनै रेडियो प्रयोग गरेर बोलेको रमाइलो दृश्य पनि देखिन्छ । यसरी कप्तान वोल्भरसनले पानीजहाजलाई बन्दरगाहदेखि निकाल्दै गर्दा ठूल्ठूला आवाज आउने गरी तीनचोटी बजाएको ध्वनी यन्त्र साउथाम्पटन हार्वरदेखि कोसौ टाढासम्म पनि सुनिन्छ ।
हुनत आइयोना क्रुजको मात्र के कुरो भो र ? यस्तै ठूल्ठूला पानीजहाजहरुले कुनै पनि बन्दरगाहलाई छाड्दै गर्दा यसरी नै ठूल्ठूलो आवाज निकालेर बन्दरगाहलाई छाड्ने चलन निक्कै पुरानो हो । तर पटकपटक यात्रामा निस्कँदा यसरी मुटु थर्काउने गरी बजेको ध्वनीले अब हामी यस बन्दरगाहलाई छाड्यौ र पछि भेटौँ है भन्ने नै बुझिन्छ होला भन्ने मलाई लाग्छ ।
म अहिले सोर्हौ तलामा छु र पानीजहाजले साउथाम्पटन बन्दरगाह छाड्डै गर्दा यस तलाको वातावरणमा हल्का परिवर्तन हुन्छ । अझै यतिबेला मौसम राम्रो भएर टण्टलापुर घाम लागिरहेको हुँदो हो त पानीजहाजको उक्त्त तला झन् धेरै रमाईलो हुन्थ्यो, देखिन्थ्यो । किनभने पानीजहाजले बन्दरगाह छाड्दै गर्दा ठूल्ठूलो हर्नको साथसाथै मीठामीठा गीत सङ्गीत पनि बजाउने गरिन्छ । त्यसपछि तिनै गीतको सुरिलो भाकामा मनोरन्जन लिँदैलिँदै पानीजहाजमा काम गर्ने नर्तकीहरु देखा पर्दथे । कोकाकोला जस्तो आकृति भएका नर्तकीहरु कम्मर मर्काउँदै मर्काउँदै त्यहाँ आएपछि यात्रुहरुलाई पनि नाच्नको लागि प्रोत्साहन गरिहाल्थे ।
तपाइँ मान्नु हुन्छ वा मान्नु हुन्न ? पानीजहाजको त्यो एउटा राम्रो पक्ष हो । त्यसैले मलाई पानीजहाज यात्रामा छँदा सिरान तलामा देखिने त्यो क्षण ज्यादै रमाइलो लाग्ने गर्छ । अझै अर्को पक्ष भनेको यति ठूल्ठूलो पानीजहाजदेखि तपाईले हङकङ, सिङ्गापुर, दुवइ, दोहा र न्युयोर्कको बन्दरगाह छाड्दै गर्दा देखिने सहरहरुको दृश्य मैले यहाँ वर्णन गरेर के साध्य हुन्छ र ? यति मनोरन्जन हुन्छ कि जस्लाई शब्दमा व्यक्त्त गर्न म यहाँ बिल्कुल असमर्थ छु । तर धर्तीको विभिन्न स्थानमा पुग्दा सँधै सँधै रमाइलो मात्र हुन्छ भन्ने चाहिँ मलाई पटक्कै लाग्दै लाग्दैन ।
त्यसै सन्दर्भमा मैले यहाँनेर एउटा उदाहरण पस्कन चाहें । एकपटक पानीजहाजदेखि भूमध्य सागरको यात्रामा निस्केको थिएँ । र, त्यसबेला साइप्रस, टर्की, ग्रीस, इटाली हुँदै मोनाको पुगेको थिएँ । अनि अहिले साउथाम्पटन बन्दरगाह छाड्दै गरेको समय जस्तै पानीजहाजले त्यतिबेला मन्टीकार्लो, मोनाको छोडिरहेको थियो । अन्य समयमा बन्दरगाह छाड्दा रमाइलो लाग्ने मान्छे मलाई त्यसबेला थोरै बिरमाइलो लाग्यो ।
बेलुकीको समय थियो । सायद समय त्यस्तै ६ बजेको हुनुपर्छ । एक्लो सूर्यले रङ्ग परिवर्तन गरेर पहेलो हुँदै हुँदै पश्चिमी भूमध्य सागरमा अस्ताउन लागिरहेको थियो । धीमा गतिमा पानीजहाजले मन्टिकार्लो छाडेपछि बिस्तारै बिस्तारै गति बढाउँदै लगेर दक्षिणी फ्रान्सको निस सहरतर्फ हानिइरहेको थियो । यसरी पानीजहाज क्रमशः अगाडि बढिरहँदा पूर्व दिशामा देखिने मन्टिकार्लो अँध्यारोमा परिणत हुँदै हुँदै गयो र एक्कै छिनमा क्षितिजमा बिलाइ हाल्यो । विश्वको अति धनाढ्यहरुको सहर मन्टिकार्लो फेरि फर्केर म कहिले पनि आउदिनँ होला भन्ने सोचमा थिएँ । तर त्यो कुरालाई निक्कै लामो समयसम्म भावुक मुद्रामा सोचिरहँदा मलाई निक्कै बिरमाइलो बनाइरहेको थियो ।
आज पनि बितेका तिनै कुराहरु स्मरण गर्दै गर्दै पानीजहाजको सबैभन्दा सिरान तलामा पुगेको छु । नभन्दै म त्यहाँ पुगेको निक्कै बेरपछि तारा पनि मेरो नजिकै आइपुग्छिन् । तर दया र यादु त्यहाँ आउन अलिक ढिला गर्छन् । उनीहरु पनि सिरान तलामा आएपछि सयकडौँ वर्ष अगाडिदेखि निर्माण भएको साउथाम्पटन बन्दरगाहको दृश्यवलोकन गर्न थाल्छौं । तर सोहीबेला मेरो नजिकै उभिएर बन्दरगाहको दृश्य हेरिरहेकी ताराले “बुढो मान्छे,” भनेर अचानक मेरो बायाँ कान फुकेको सुन्छु ।
“के भो भनन ?”
“साँच्ची ! तपाइँले पहिले टाइटानिक पनि पहिले यहिँ साउथाम्पटनदेखि छाडेको भन्नु भएको होइन र ?”
“हो हो,” भन्छु तर मैले भुलिसकेको कुरो ताराले सम्झाइ दिएपछि टाइटानिकको विषयमा एकछिन स्मरण गर्न थाल्छु ।
साँच्चै त्यो दिन १० अप्रिल १९१२ को दिन थियो । हो, हामी जुन स्थानमा अहिले उभिरहेका छौं । ठ्याक्कै सोही स्थानदेखि टाइटानिक पानीजहाजले न्युयोर्कको लागि यात्रा आरम्भ गरेको थियो । तर टाइटानिकले यात्रा गरेको चौथो दिनमा अथवा १४ अप्रिल १९१२ को दिन उत्तरी आन्ध्र महासागरमा पुग्दा बडेमाको हिउँको ढिस्कासँग ठोक्किएर सँधै सँधैको लागि समुन्द्रमा डुबेको थियो ।
आजभन्दा लगभग १ सय १२ वर्ष अगाडि बनेको उक्त पानीजहाजको निर्माण गर्न तत्कालिन समयमा १ दशमलव ५ मिलियन स्टर्लिङ पाउण्ड खर्च भएको थियो । त्यसबेला पानीजहाजमा २४ सय ५३ जना यात्रुहरु र ८ सय ७४ जना पानीजहाजका कर्मचारीहरु गरेर जम्मा ३३ सय २७ जना मानिसहरु सँगसँगै यात्रा गरिरहेका थिए । मैले खेदको साथ यहाँ के भन्नु पर्छ भने त्यस ऐतिहासिक दुर्घटनामा अनुमानित १५ सय १७ जना मानिसहरुको मृत्यु भएको थियो ।
टाइटानिककै प्रसगँमा मेरा पाठकहरुलाई म यहाँनेर अर्को कुरा पनि स्मरण गराउन चाहन्छु । हरेक पानीजहाजहरुले यात्राको समयमा त्यस्तै आपतकालिन अवस्था सिर्जना हुन्छ कि भनेर आफ्नो साथमा स-साना आपतकालिन डुङ्गाहरु पनि बोकिरहेका हुन्छन् । तत्कालिन समयमा पनि टाइटानिक पानीजहाजले २० वटा त्यस्ता मसिना मसिना डुङ्गाहरु बोकेर हिडेको थियो । तर ती सबै डुङ्गाहरुमा जम्मा ११ सय ७८ जना मानिसहरु मात्र अटाउन सक्ने क्षमता थियो । अब स्वाभाविक रुपले ३३ सय २७ जना यात्रुहरु डुङ्गामा अटाउन नसक्ने भएपछि प्रथम कक्षामा यात्रा गर्ने धनाढ्य यात्रुहरुलाई सबैभन्दा पहिले प्राथमिकता दिँदै डुङ्गामा राखेर बचाउने काम भयो ।
त्यसको ठीक विपरीत तेश्रो कक्षामा यात्रा गर्ने करिब ७ सय जना मानिसहरुलाई जहाजभित्र नै राखियो र उनीहरुको मृत्युवरण भयो । अङ्ग्रेजी समाजशास्त्री हर्वट स्पेन्सरले प्रयोग गरेको एउटा वाक्यांश “बलियाहरु बाँच्दछन्” (सर्भाइबल अफ द फिटेस्ट) मलाई यसबेला पनि सही हो जस्तो लाग्यो । मानिसको जीवनमा समय र परिस्थिति जस्तोसुकै रहेतापनि आजपनि संसारमा धनीहरु बाँच्ने र गरिबहरु मर्ने चलन अध्यावधि जिवितै रहेको छ । सम्भवत टाइटानिकमा पनि सोही कुरो दोहोरिएको मात्र हो कि जस्तो मलाई लाग्छ ।
अझै मलाई अर्को कुरो के भन्न मन लागेको छ भने त्यसबेला टाइटानिकमा काम गर्ने लगभग ७ सय जति कर्मचारीहरुको पनि तेश्रो कक्षामा यात्रा गर्ने यात्रुहरु सँगसँगै मृत्यु भएका थिए । धेरैजसो काम गर्ने ती श्रमिकहरु निम्छरा परिवारको नै हुनुपर्छ भन्ने मेरो ठम्याइ छ । तर टाइटानिक दुर्घटनाको विषयमा जस्ले जस्तो राय प्रस्तुत गरेता पनि त्यतिका धेरै मानिसहरुको जीवन बचाएर आफूले मृत्यु रोजेका अनि हेन्ली, स्टाफोर्डसायरमा जन्मेर लामो समय बेलायती मर्चान्ट जलसेनामा काम गरेका ६२ वर्षिय टाइटानिकका कप्तान एडवार्ड स्मिथलाई म अहिले पनि दिल खोलेर प्रशंसा नै गर्छु ।
तर उक्त्त घटनादेखि ठूलो पाठ सिकेर आजभोलिको आधुनिक पानीजहाजहरुमा १ सय जना यात्रुहरु अटाउने क्षमता छ भने १ सय ५० जना अथवा एकसय पचास प्रतिशत मानिसहरु अटाउने क्षमता भएको डुङ्गाहरु राख्नु पर्ने अन्तर्राष्ट्रिय कानूनी प्रावधान रहेको छ ।
पानीजहाजको सिरान तलामा एकाध उभिएर म तिनै कुराहरुलाई दिमागमा खेलाइरहेको बेला, – “यसरी पानीजहाजले कुनै पनि स्थान छाड्दै गरेको दृश्य ज्यादै रमाइलो हुन्छ हगि ?” गम्भिर मुद्रामा ताराले मुख खोल्छिन् । उनको कुरो सुनेपछि आफ्नै श्रीमती त हुन् । आ….घरिघरि कति बोलिरहनु है भन्ने मनमा लाग्छ । त्यसैले एक/दुईचोटी मुन्टो हल्लाएर सहमति जनाइ दिन्छु ।
पानीदेखि बहँदै बहँदै अब धेरै टाढा जाऊँ – अङ्ग्रेजी गीत “सेल अवे” पानीजहाजको सिरान तलामा बेस्सरी घन्किरहेको सुन्न सकिन्छ । यतिबेला तिनै गीतको साथसाथै सिरान तलामा भएको मानिसहरु हिँड्ने बाटो, भट्टीपसल, पौडीपोखरी, ज्याकुजी, भर्याङ, बार्दली, स्नान स्थलमात्र नभएर शौचालयतिर जताततै अङ्ग्रेज अङ्ग्रेज्नीहरु नाँचिरहेका रमणीय दृश्य देखिन्छ ।
धेरैजसो अङ्ग्रेजहरु आफ्नो जीवनभरि बियर र आलु हसुरेर दमाहा जस्तो भूँडी बनाएका देखिन्छन् भने अझै उनीहरुले सर्बाङ्ग शरीर ढाक्नको लागि केवल एउटा पौडी खेल्दा लगाउने कट्टु अथवा बेलायती हाफपाइन्ट मात्र लगाइरहेका देखिन्छन् । तर त्यसको ठीक विपरीत अधिकतम अङ्ग्रेज्नीहरु चाहिँ झलक्कै हेर्दा कहिले खान नपाएकाहरु झैँ एकदम पातली मरन्च्याँसेहरु जस्ता देखिन्छन् । तैपनि उनीहरुको त्यति पातलो शरीरको अगाडी भागमा झुन्डिरहेका स्याउका दानाहरु र नाइटो मुनिको अङ्ग छोप्नका लागि जाबो दुई टुक्रा कपडामात्र सिउरिएको देख्न सकिन्छ । आ-आफ्ना इन्द्रियहरु जोगाउनका लागि प्रयोग गरिएका मसिना मसिना बाबियोबाट बनेका डोरीजस्ता तुनाले अड्काइएका ती कपडाहरुको दृश्य हाम्रो गाउँघर बुईपा, खोटाङतिर फरिया चोली लाउने आइमाईहरुले देखेका भए “यो के उल्का देख्नु परेको ?” भनेर सात गाउँ हल्ला पिट्थे होला ?
तर तारा र म चाहिँ उनीहरुको त्यस्तो पहिरनसँग उहिले नै थोरै अनुभवी भइसकेका छौं । किनभने हामी प्रायजसो यात्रामा हुन्छौं र यसरी नै यात्रामा निस्कँदा संसारको विभिन्न स्थानहरुमा पुग्दा अथवा यसलाई यसो भनौं । साइप्रसबाट सुरु गरेर क्रेट त्यसपछि मार्लोका अनि फियोर्टभेन्चुरा टापुहरु हुँदै हुँदै टोरोन्टोसम्म पुगेर नाङ्गो सामुन्द्रिक तट (न्युड बीच) हेरिसकेको हुनाले त्यस्तो दुई टुक्रे कपडा देखेर खास्सै हामीलाई अफ्ठ्यारो लाग्दै लागेका छैन ।
उनीहरुलाई त्यस्तो अवस्थामा देखेपछि एकबारको जीवन जिउने क्रममा यिनीहरुले जे गरेका छन् सबै ठीकै गरेका छन् है भन्ने नै मलाई लाग्छ । बरु उनीहरुले त्यस्तो पहिरनमा जिऊ हल्लाउँदै हल्लाउँदै नाँचेको देखेपछि मेरी तारा पनि के कमकी छिन र ? हातमा एउटा रातो रुमाल लिएर अङ्ग्रेज्नीहरुसँग चोचोमा मोचो मिलाएर उनको पनि शरीर हल्लिन थालिहाल्छ । तर त्यसरी नाँच्न सुरु गरेपछि, – “मैले नाँच्दा तपाइँलाई कतै लाज पो लाग्यो कि ?” अचानक उनले त्यसो भनेको सुनेपछि एकछिन अगाडि खाना खाँदा पिएको आधा बोतल मोएट एण्ड चन्डन सेम्पेन बोलेको हो कि जस्तो मलाई भान हुन्छ ।
“छैन, छैन् । बुढिया ! तिमी थाकिन्जेल देऊन । आ.. आखिर एक बारको जुनी त हो । मर्नुभन्दा अगाडि भरपूर मनोरन्जन लिने हो । आखिर मरेर के नै पो लगिन्छ र ?” हतार हतार जवाफ फर्काउँछु ।
“जिन्दगीभरि दुःख गरिएको छ । पानीजहाज यात्रामा छँदा नाँच्ने हो, गाउने हो । सबैकुरो भूल्ने हो ।” हाँस्दै हाँस्दै त्यति भन्छिन् र बारुले कम्मर मर्काउँदै एकछिन नाची रहन्छिन् ।
“हो, हो, तिमीले कुरा बुझेको छौं । राम्ररी बुझेको छौं । तर सेम्पेनको जोशमा नाच्तै गर्दा १६ तलादेखि झ्वाम्मै पानीमा हाम चाहिँ नफाल्नु है ?” थोरै चेतावनीसहित त्यति भन्छु ।
हुनत म चाहिँ हल्का लज्जालु स्वभावको मान्छे छु । उनले जब्बरजस्ती नाचौँ न हौं भनेर कर गरेपछि अलिअलि खुट्टामात्र हल्लाएर भएपनि नाँचे जस्तो गरिहाल्छु । के गर्नु परदेशमा छौं । त्यसैले श्रीमतीले भनेको कुरो मान्न परिहाल्छ । यदि मानेन भने एक आपसमा सानोतिनो घर झगडा हुन्छ । अनि मलाई यसरी आफ्नी श्रीमतीसँग झगडा गरेर जितेपछि विजयोत्सव मनाउन पटक्कै मन छैन ।
पानीजहाजको सिरान तलामा अङ्ग्रेजी गीत क्रमशः बजिरहेकै छ । मान्छेहरुको जिऊ हल्लिरहेकै छन् । तर यसरी बज्ने गीतमा जति हल्लिएर नाँचे पनि गीतको शब्दहरु भने अलिकति पनि बुझ्न सकिँदैन । तर अङ्ग्रेजी गीतको सट्टा आफ्नै नेपाली भाषामा बज्ने गीत भए पो धीत मरिन्जेल नाच्न हुन्थ्यो होला भन्ने मनमनै लाग्छ । हुनत पानीजहाजमा नाँच्नको लागि आखिर सैनिकले खेल्ने कवाज जस्तो सबै जनाको हात खुट्टा सँगसँगै मिल्नै पर्छ भन्ने केही पनि छैन । त्यसैले हल्का सजिलो नै भइरहेको छ ।
यसरी नाच्नमा व्यस्त हुँदै गर्दा पानीजहाजले बिस्तारै गति बढाउँदै बढाउँदै लान्छ । पानीजहाज निक्कै अगाडि बढेपछि मेरो नजिकै आएर कान्छी सालीले, – “अब बेलायतलाई छाडियो, हगि भेना ?” पहिले मेरो काँधमा एकचोटी ढ्याप मार्छिन्, अनि थोरै मुस्कुराएर त्यति भन्छिन् ।
“कान्छी ! छाडियो छाडियो है छाडियो । तर छुटिनु र भेटिनु त संसारको रित नै हो भन्ने गीत सुनेको छैन कि के हो ?” त्यतिसम्म भन्छु ।
“ए भेना ! किन नसुन्नु है । छ्या ! गीतको कुरो छाडी दिनुहोस् । बरु नर्वे चाहिँ कहिले पुगिन्छ होला ?” गीतको आवाज बेस्सरी आइरहेको हुनाले मेरो कानको छेऊमा आएर फेरि अर्को प्रश्न गर्छिन् ।
“अब आज रातभरि पानी पानी । भोलि दिनभरि र रातभरि पनि पानी । अनि सुनन, पर्सि बिहानमात्र पुगिन्छ ।”
मेरो कुरो सुनेर कान्छी साली गलेर खुइत्तै गर्छिन् । “हना ! उस्तैलाई त हत्ते नै हुने रहेछ । अनि यी अङ्ग्रेजी बुढाबुढीहरुलाई मान्नु पर्छ । यस्तो उमेर सम्ममा त हामी हिँडडुल गर्न के सकिन्थ्यो होला र ?” अन्तिम चोटी त्यति भन्छिन् र यादुसँग लेपासिन जान्छिन् । तर त्यसबेलासम्म यादु चाहिँ दुवै हात माथि आकाशतिर उठाएर जमिनमा मुसा जत्रा जत्रा देखिने मानिसहरुलाई बिदाइ गरिरहेको हुन्छ ।
टेस्ट नदी र इचन नदीको सँगमस्थललाई छाडेपछि पानीजहाज क्रमशः सेतो टापु (आइल अफ ह्वाइट) तर्फ अगाडि बढ्छ । सेतो टापुको नजिक पुगेपछि हामी तारासँग एकछिन नाच्न छाडेर सेतो टापुको रमिता हेर्न थाल्छौं । बेलुकी पखको सूर्यले दक्षिणी इङ्गल्याण्डलाई बिदाइ गरिरहेको समयमा उनी निरन्तर टापुलाई एकोहोरो हेरिरहेकी हुन्छिन् । सोही समयमा, – “बुढिया ! साच्चै साच्चै नढाँटी भन्नु पर्दा जिन्दगीमा यो जलाशय कति पटक आइयो होला हगि ?” संक्षिप्तमा त्यति भन्छु ।
उनले मेरो कुरो सुनेर, “होइनौ ! औला भाँचेर नै एकचोटी गन्नु पर्छ होला ? नत्र त यति पटक भनेर भन्न निक्कै कठिन हुन्छ,” उल्टो मामुली प्रश्नसहित मलाई जवाफ फर्काउँछिन् ।
उनको कुरो सुनेपछि अङ्ग्रेजी जलाशयमा सबैभन्दा पहिले म सन् १९८९ मा आएको थिएँ भनेर एकछिन मनन गर्छु । कहाँको ऊबेला सन् १९८९, कहाँको यतिबेला सन् २०२४ । त्यो समयलाई स्मरण गर्दा मान्छेले जन्मेपछि जाबो दिन खानु केही जस्तो लाग्दैन रहेछ भन्ने लाग्छ । तर एउटा कुरो के साँचो हो भने त्यतिबेला अहिलेको जस्तो आरामदायी पानीजहाजबाट चाहिँ मैले यात्रा गरेको थिइनँ । अहिलेको यात्रुबाहक पानीजहाज (क्रुज) सँग तुलना गर्ने हो भने बिना बीचैको बेलायती जलसेनाको एउटा थोत्रो पानीजहाजबाट गरेको रहेछु भन्ने अहिले लाग्छ ।
अँ…. त्यसबेलाको कुरालाई एकक्षण खुरुन्धार सम्झन्छु । यिनै अङ्ग्रेजी जलाशय भएर यात्रा गरेको त्यसबेलाको पानीजहाजको नाम “सर ट्रिस्ट्राम” थियो । सन् १९६६ उक्त्त पानीजहाज सँगसँगै अर्को पानीजहाज “सर गल्हाद” पनि निर्माण भएको थियो । अझै काकताली के परेको थियो भने ती दुवै पानीजहाजहरुले सन् १९८२ को फकल्याण्ड युद्धमा भाग लिएका थिए । दुर्भाग्यवस युद्धमा अर्जेन्टेनियन सिपाहीहरुले सर गल्हाद पानीजहाजलाई पूर्ण क्षति गरेता पनि सर ट्रिस्ट्रामलाई भने सामान्य मात्र क्षति गरेका थिए । तर युद्धपश्चात उक्त्त पानीजहाजलाई पुनः निर्माण गरेर बेलायती सेनाले फेरि प्रयोगमा ल्याएका थिए र म तिनै पानीजहाजदेखि यात्रामा निस्केको थिएँ ।
खाँट्टी कुरो गर्नु पर्दा म त्यतिबेला जर्मनीको भ्रमणमा निस्केको थिएँ । किनभने दोश्रो विश्व युद्धमा पराजय भएपछि जर्मनी अहिलेको कोरियाहरु झैँ दुई देशहरुमा विभाजित थिए । अझै जर्मनी पूरै देशलाई मात्र दुई भाग नलाएर सबैभन्दा बढी जनघनत्व भएको सहर बर्लिनलाई पनि दुई भागमा बाँडिएको थियो । र, तिनै सहर बर्लिनको बीचैबीच भागमा पर्खाल लगाएर मानिसहरु विभाजन गरेको पर्खाललाई “आँशुको पर्खाल” भनेर चिनिन्थ्यो । अब त्यस्तो ऐतिहासिक पर्खालको नजर लगाउने मलाई जीवनमा एउटा ठूलो अभिलाषा थियो । त्यसैले त्यो पर्खालको नजर लगाउन म पोर्टस्माउथ बेलायतदेखि ओस्टेन्ड बेल्जियम गएको कुरो एकछिनसम्म स्मरण गर्छु ।
यो जलाशयको कुरोको चुरो त्यतिले मात्र कहाँ मान्छ र ? अझै बाँकी धेरै छन् । इतिहासकारहरुले यो जलाशय प्राचिनकालदेखि नै एकदमै चर्चित जलाशय हो भनेका छन् । उदाहरणका लागि रोमन साम्राज्यले इङ्गल्याण्डलाई आक्रमण गर्दा जुलियस सिजरले यहिँ जलाशयको बाटो भएर लगभग ८ सय पानीजहाजहरु लिएर आएका थिए । इङ्गल्याण्डको दक्षिणी गाउँ केन्टको नजिकै विजय हासिल गरेपछि जुलियसले लगभग तीन हप्ता जति समय त्यहीँ व्यतित गरेर उनी रोम फर्के पनि आफ्ना हज्जारौँ सिपाहीँहरु यतै छाडेका थिए ।
कालान्तरमा उत्तरी भेगदेखि आएका भाइकिङहरुले पनि यिनै जलाशयको प्रयोग गरेर इङ्गल्याण्डमा आक्रमण गरेका कुरो अहिलेसम्म जगजाहेर छ । त्यसैले अन्य सागर र महासागरहरुको तुलनामा यो जलाशय जाबो फिस्टा जस्तै सानो भएता पनि भौगलिक हिसाबले निक्कै प्रख्यात मानिन्छ । हुनत यो जलाशय लगभग ५ सय ६३ किलोमिटर लामो र यस्को चौडाइ सबैभन्दा फराकिलो स्थानमा २ सय ४६ किलोमिटर भएता पनि डोभर जलसंयोजनको दुरी भने लगभग ३४ किलोमिटर मात्र फरक छ । तर यतिका ठूल्ठूलो पानीजहाजहरु सजिलैसँग चलाउन सकिने जलाशयको सरदर गहिराइ भने लगभग ६३ मिटर रहेको छ ।
पानीजहाजको सिरानतलामा उभिएर हामी चार जना अझै रमिता हेर्नमा नै व्यस्त हुन्छौं । हुनत यात्रामा जानु भनेको नयाँ कुरा हेर्न, बुझ्न, जान्न र अनुभव गर्नु नै हो जस्तो मलाई लाग्छ । तैपनि मानिसको जीवन न हो । दिनदिनै उमेर ढल्केर जाँदैछ । त्यसैले यसरी यात्रामा गएर अध्ययन गर्न पनि अब धेरै समय बाँकी छैन् जस्तो लाग्छ । अझै सबैभन्दा खेदको कुरो त के छ भने ताराको आँखाको दृष्टी घट्दै घट्दै गएको हुनाले हामी दुवैजना हल्का पीरमा छौं । म जाबो त जमानादेखि चश्माको सहयोगले बाँचेको मान्छे हुँ । तर ताराले निक्कै टाढा टाढासम्म देख्न नसकेपछि समय समयमा मैले नै उनको लागि पनि हेरिदिनु पर्छ ।
हो, यतिक्कैमा खै कहाँदेखि एकजना तालुखुइले बुढो अङ्ग्रेज हाम्रो नजिकै टुप्लुक्कै झुल्कन्छ । ऊ हाम्रो नजिक आउने बितिक्कै, – “हेल्लो ! आजको मौसम साह्रै रमाईलो छ हगि ?” भन्छ । पहिले कहिले चिन्दै नचिनेको मानिसले हामीलाई एक्कैचोटि मौसमको कुरो गर्दा, “सम्भवत आजको दिन यो वर्षको नै सुनौलो दिन होला ?” भनेर म पनि जवाफ फर्काइ दिइहाल्छु । मेरो कुरो सुनेर ऊ एकचोटी फिसिक्कै मुस्कुराउँछ । त्यसपछि “हो हो फरक नै परेन,” भन्दै ऊ आफ्नो बाटो तताउँछ ।
वास्तवमा बेलायतीहरु जाडो मुलुकमा बस्ने मान्छे भएको हुनाले मौसमको विषयमा खुब खुलेर कुरो गर्छन् । अनि यतातिर मौसमको बिषयमा कुरो गर्न खास्सै चिरपरिचित मानिसहरु हुनै पर्छ भन्ने केही छैन । अझै यिनीहरु कम्तिको हुन्छन् र ? एक अर्कामा सँगसँगै नजिक भएर बस्यो भने त झन बिहान उठेदेखि बेलुकी सुतिन्जेलसम्म मौसमकै कुरो गरी रहन्छ ।
यस मानेमा हामी नेपालीहरु चाहिँ बिल्कुल फरक प्रवृतिका रहेछौं । सायद फरक ध्रुवमा बस्ने भएकोले फरक कुरो गर्छौ वा सोच्छौँ होला कि जस्तो लाग्छ । किनभने म कुनै कुनैबेला बानेश्वरबाट एउटा सफा टेम्पो चढेर सहरतिर घुम्न जाँदै गर्दा कहिले जिन्दगीमा परिचय नभएको यात्रुहरुसँग विभिन्न राजनैतिक दलका अनि विभिन्न नेताहरुको कुरा गर्न बाध्य हुन्छु । किनभने त्यहाँ मौसम वा अन्य विषयको खास्सै कुरो हुँदैन । खै के भएर हो कुन्नि ? राजनीतिको मात्र कुरो हुन्छ ।
अ…. यसरी निक्कै लामो समयसम्म पानीजहाजको सिरान तलामा बसेपछि, – “होइनौ, भेना ! अब आ-आफ्नो कोठामा गएर आराम गरौँ होला ? किनभने समय निक्कै ढल्की सक्यो,” कान्छी सालीले अनुरोध गर्छिन् ।
सालीको कुरो सुनेर, “हुन्छ, हुन्छ ! अब त्यसै गरौ न त है,” त्यति भन्छु र आराम गर्नको लागि हामी आ-आफ्नो कोठातिर लाग्छौं ।
बिहान अबेलासम्म सुतेर उठता पानीजहाजले अङ्ग्रेजी जलाशयलाई बिदा गरेर उत्तरी सागरमा क्रमशः अगाडि बढिरहेको हुन्छ । त्यसैले पानीजहाज आज कुनै पनि बन्दरगाहमा रोकिने योजना छैन् । पानीजहाज नरोकिने दिनलाई पानीजहाजको भाषामा सागरको दिन (सि डे) भनिन्छ । त्यही भएर हामी ढिलो गरेर उठेपछि बिहानको ८ बजेर ३० मिनेट जाँदा खाजा खानको लागि छैटौँ तलामा अवस्थित कोरल रेष्टुँरामा पुगेका हुन्छौँ ।
हामीले बिहानीको खाजा खानको लागि त्यतिबेला त्यहाँ जाने भनेर हिजो बेलुकी नै रेष्टुँरा आरक्षण गरेका थियौं । तर हामी कोरल रेष्टुँरामा पुग्दा त्यति धरै मानिसहरु खाजा खानको लागि त्यहाँ नआएका देख्दा एकछिन अचम्मित हुन्छौं । हुनत धेरैजसो मानिसहरु बफे ब्रेकफास्ट खानको लागि सोह्रौँ तलामा अवस्थित होराइजन रेष्टुँरामा जाने गर्छन् । त्यहाँ गयो भने आफूखुशी जे जे खान मन लाग्यो त्यो खान पाइन्छ र जता जता बस्न मन लाग्यो त्यता बस्न पाइन्छ । नत्रभने बेयराहरुले छुट्याएर राखेको टेबल कुर्सीमा बस्नु पर्ने नियम हुन्छ ।
अझै धेरैजसो मानिसहरु आज आराम गर्ने दिन हो भनेर रातभरि जाड पिएर अबेलासम्म सुतेका होलान् । त्यसैले यो रेष्टुँरा त्यति व्यस्त नदेखिएको हो कि भन्ने मेरो मानसपटलमा लाग्छ । तर नियमकै कुरो गर्दा होराइजनभन्दा छैटौँ र सातौँ तलाका रेष्टुँराका नियमहरु अलिक फरक प्रकारका छन् ।
यिनै यावत कुरोहरुलाई मनमा खेलाउँदै खेलाउँदै हामी कोरल रेष्टुराँको ठीक मूल दैलो अगाडि पुग्छौं । तर त्यहाँ पुग्ने बित्तिक्कै दैलोको अगाडि कम्युटरमा घोत्लिरहेका दुईजना भारतीय मुलुकका बेयराहरुसँग भेटघाट हुन्छ । उनीहरुले हामीलाई आत्मियताको साथ, “बिहानीको नमस्कार (गुड मर्निङ)” भन्छन् । हामी पनि उनीहरुलाई जवाफ फर्काएर गुड मर्निङ भन्छौं । त्यसपछि ती दुईजना मध्ये अलिक कालो वर्णको मान्छेले, “महाशय ! हजुरको नाम र कोठा नम्बर कति होला ?” लटर पटर गर्दै भारतीय अङ्ग्रेजी तरिकामा सोधिहाल्छन् ।
मैले मेरो नाम र कोठा नम्बर बताएपछि उनले दाहिने हातको इसाराले ऊ पर उभिरहेकी एकजना बैनीलाई “मैया ! यता आउँ त,” भनेर बोलाउँछन् । उनी लुखुरलुखुर हिँड्दै आएपछि पहिले दुवै हात कम्मरमा राख्छन् । अनि भारतीय बेयराहरुको सामु सतुङ्गे पोजिसनमा खडा हुन्छिन् ।
अब ती मैया पनि बेयराहरुसँग कम्युटरको स्क्रिनमा हेरेर एक आपसमा खासखुस खासखुस गर्न थाल्छन् । हो, म त्यसैबेला यो कोरल रेष्टुँरा कत्रो रहेछ भनेर मज्जाले रेष्टुराँको दायाँ बायाँ रमिता हेर्न थाल्छु । करिब करिब पाँच/छ सय जना मानिसहरुले एउटै समयमा सँगसँगै बसेर खाना खान मिल्ने यो रेष्टुराँ वास्तवमा पानीजहाजको इतिहासमा निक्कै ठूलो नै मान्नु पर्छ ।
कोरल रेष्टुराँको मुख्य ढोकामा भारतीय बेयरासँग बोलिसकेपछि ती बैनीले पथ प्रदर्शकको भूमिका निभाउँदै निभाउँदै हामीलाई रेष्टुराँको पल्लो छेऊमा पुर्याउँछिन् । तर उनले हामीलाई बस्नको लागि देखाएको टेबल अलिक कुइनेटोमा परेको छ । जहाँदेखि बिहानीको खाजा खाँदै खाँदै अन्य मानिसहरु र उत्तरी सागरको दृश्य हेर्न मिल्दै मिल्दैन । रेष्टुराँमा आएर खाजा खानमात्र त्यति ठूलो कुरो भएन । हरेक गाँसमा रमाईलो दृश्य हेर्दै हेर्दै खान पाइयो भने छुट्टै मज्जा आउँछ भन्ने मेरो मनशाय छ । यो कुरो मैले तारालाई हात्तीवन रिसोर्ट काठमाडौँमा लगेर सुन्दर बिहानीमा हिमालको दृश्य हेर्दै हेर्दै खाजा खान सिकाएको थिएँ । त्यस्तै अब यति ठूल्ठूलो रेष्टुराँमा खाजा खाँदा अन्य मानिसहरुको रमिता हेर्दै हेर्दै खान रुचाउने बानी परेकी मेरी ताराले हामीलाई त्यो टेबल भन्ने बितिक्कै बितृष्णासहित मुख तीन बाङ्गो बनाइ हाल्छिन् ।
ताराको त्यो स्थिति देखेर म तीनै पातली बैनीलाई पहिले, – “बैनी ! मलाई माफ गर्नुहोस् । हजुरको नाम के पर्यो होला ?” उनकी नाम जान्न खोज्छु । उनले मेरो कुरो सुनेर हत्त न पत्त देब्रेपट्टी छातीमा टाँसिरहेकी उनकी ब्याजलाई देखाउँदै, – “मेरो नाम माया हो, माया,” सानो स्वरमा तर लज्जाउँदै लज्जाउँदै त्यति भन्छिन् । उनको नाम सुनेपछि, “अहा ! कति प्यारो नाम रहेछ । सायद इन्डोनेशियादेखि आएकी हिन्दू धर्मावलम्वी होला, कि होइन र ?” ठ्याक्कै जानेको जस्तो गरेर अर्को प्रश्न सोध्छु । उनले प्रत्यूत्तरमा मलाई, “हो, हो,” भन्छिन् ।
तैपनि पानीजहाजमा उनकी नाम सुनेर हामी सबैजना तीन दङ्ग पर्छौं । त्यसपछि, – “माया ! अनि सुन्नोस् न । झण्डै झन्डै आधा जस्तो रेष्टुराँ त खाली नै रहेछ । मेरी श्रीमती एकदम रहरे मान्छे छिन् । समुन्द्रको छालसँग लुकामारी खेल्दै खेल्दै बिहानीको खाजा खान खोज्छिन् । कृपया मिल्छ भने हामीलाई यसो एउटा झ्याल छेऊको टेबलमा राखिदिनु होला नि है ?” विनम्रतापूर्वक उनलाई आग्रह गर्छु । उनले मेरो अनुरोधलाई स्वीकारेर, – “ल ल त्यसो भए ऊ त्यो टेबलमा गएर बस्नुहोला है,” हातले झ्याल नजिकको टेबल देखाउँदै त्यसो भन्छिन् ।
“अब म जान्छु । बिहानीको खाजा राम्ररी खानु होला है ? बाई बाई,” भन्दै बिदा मागेर माया हामीदेखि सधैँको लागि बिलय भइन् । उनी गएको एकछिनपछि हातमा चारवटा मेनु बोकेर पर कुनादेखि हिँड्दै हिँड्दै अर्की एकजना पुड्की पुड्की बेयरा हाम्रो नजिकै आइपुग्छिन् । उनी हाम्रो नजिक आउने बित्तिक्कै, – “आम्मामा ! कहाँदेखि आउनु भाको ? कतै तपाईहरु फिलिपिनो त पर्नु भएन ?” अतालिँदै सोध्छिन् ।
प्रतिउत्तरमा, “म चाहिँ होइन । तर मेरी श्रीमतीचाहिँ उत्तरी मिन्डोनायोदेखि आकी फिलिपिनो हुन्,” बित्थैमा त्यसो भनेर ठट्यौली गरिदिन्छु । तर मेरो कुरोले सानी न सानी भएपनि मेरी कान्छी साली मरिमरि हाँसेकी निक्कै टाढासम्म सुनिन्छ ।
अब उनी हाँसेको देखेर चाल पाएपछि, – “उसो भए हजुरहरु कहाँदेखि पाल्नु भएको हो त ?” सुनले बेरेको दाँतमात्र होइन पूरै गिजासिजा देखाएर अर्को प्रश्न गर्छिन् ।
शुभ बिहानीको समय छ । अब यसलाई अलिकति भएपनि गफ चुट्नु पर्यो भनेर ठूलो मान्छे हुँदै, – “विश्वको सर्वोच्च शिखरबाट आएका हौं नि । बरु त्यो कहाँ पर्छ भनेर तपाईलाई थाहा छ कि छैन होला ?”
“आ सर ! पनि । त्यति जाबो पनि किन थाहा नहुनु र ? अँ बरु तपाईहरुलाई एउटा कुरो भनौं । पहिले मेरो एकजना नेपाली केटा साथी थियो । अहिले पानीजहाजको करार सिद्धिएर नेपाल गएको छ । बिचरा पानीजहाजमा अर्को करार पाउन सक्दै सकेन । त्यसैले अब कहिले पनि फर्केर यहाँ काम गर्न आउँदै आउँदैन । ऊ नआउने भएपछि म त एउटा पखेटा भाँचिएको पंक्षी झैँ भाकी छु । हुनत – जिन्दगीको अर्को नाम दुःख हो । सधैँ उथलपुथल भइरहन्छ,” मलिन स्वरमा त्यति भन्छिन् र खुत्रुक्कै गल्छिन् ।
अहो ! यी ठिटी मामुली ठिटी होइन रहिछिन् । उनले त्यसो भनेपछि मलाई अनायासै त्यस्तो शंका भयो । अब यिनलाई नेपाल र नेपालीहरुको विषयमा केही भन्न नमिल्ने रहेछ । मोरीलाई जम्मै थाहा रहेछ भनेर थोरै सावधानीपूर्वक “ए ! हो र ?” मात्र भन्छु ।
“हो हो । अब यी मेनु हेर्नु होला ? तर चिया कफी के के पिउनु हुन्छ ? मलाई भन्नु होला ? अनि मेरी नाम एलिजाबेथ हो । तर छोटकारीमा एली भन्नु भयो भने केही फिक्कर छैन ।” आइमाई मान्छे त हुन छिनछिनमा मनस्थिति परिवर्तन हुन्छ । एकछिन अगाडि रोला जस्ती थिई, अहिले फेरि मुस्कुराउँदै त्यसो भन्छिन् ।
“एली ! धेरै धेरै धन्यवाद छ । हामी हजुरलाई एकछिनमा के खाने भनेर भन्छौ नि है ।” त्यति भनेर उनलाई एकछिन बिदा गर्छौं ।
साधरणतया बेलायती पानीजहाजहरुमा कि पूर्ण अङ्ग्रेजी (फूल इङ्लिस) वा महादेशीय (कन्टिनेन्टल) दुई प्रकारको ब्रेकफास्टहरु नै पाउने गर्छ । अमेरिकन खाजा त्यति पाइँदैन । मेनु हातहातमा परेपछि हामी मेनुलाई सरर एक सर्को हेर्छौं । त्यसपछि तीन जनाले अङ्ग्रेजी ब्रेकफास्ट नै खाने निधो गर्छौं । तर ताराले छिप्पिएको सुङ्गुरको छाला र बोसो पातलो गरेर काटेर बनाइएको बेकन, जर्मन ससेज, बेलायती च्याउ, उसिनेको मात्र नभएर फ्राई गरेको स्क्रमाबल गरेको वा अम्लेट बनाएको विभिन्न प्रकारको अण्डा र कहिले कहिलेदेखि बट्टाभित्र राखेर गलेका भटमासका गेडाहरु (बिन्स) खाने रहर पटक्कै गरिनन् ।
उनले कन्टिनेन्टल खाजा नै खान खोजिन् । तर यो उनको रहर मेरो लागि कुनै नौलो कुरो भने हुँदै होइनँ । किनभने तारा र मैले जिन्दगीमा पानीजहाज यात्रा गरेको नै १५ चोटी पूरा गरेर यो सोह्र चोटीमा हिँडिरहेको छ । त्यसकारण बिहानीको खाजामा उनले के के खान मन पराउँछिन् भनेर मलाई सबै कण्ठस्थ छ । अँ बरु यहाँ चियाको कुरा गर्दा चाहिँ निक्कै धेरै प्रकारको चियाहरु छान्न पाइयो । जस्तैः- अङ्ग्रेजी खाजा चिया, योर्कसायर, पिजी, ट्विनिङबाहेक दार्जिलिङ, पियोर, जासमिन, ओलाङ, हरियो, कालो र रातो मात्र नभएर पतेनाको चियाहरु पनि रहेछन् ।
हामीले बिहानीको ब्रेकफास्ट के के खाने भनेर निश्चित गरिसकेपछि एलीलाई बोलाउँछौं । र, हामीले चाहे अनुसारको ब्रेकफास्ट ल्याइदिन अनुरोध गर्छौं ।
क्रमशः
पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।