लन्डन । लन्डन बरो अफ ब्रेन्ट काउन्सिल रिमेम्बरेन्स सर्भिसमा तमु समाज युकेले सहभागिता जनाएको छ ।
आइतबार १० नोभेम्बर २०२४ मा क्वीइन एलिजावेथ गार्डेन बरहाम पार्क वेम्बली लन्डनमा सम्पन्न ब्रेन्ट सिभिक रिमेम्बरेन्स सर्भिस तथा पप्पी परेडमा आर्मी, एयरफोर्सका र नेभिका केडाटस, सेन्ट जोन्स एम्बुलेन्स, रोयल ब्रिटिस लिएजन वेम्बली तथा सडबरि ब्रान्चका सदस्यहरु, स्काउट तथा अन्य युनिफोर्म पहिरिएका संघ संस्थाका समूह र रेजेन्ट ब्रास ब्यान्डसँग तमु समाज युकेका ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरुले परेड खेलेर सहभागिता जनाएका हुन् ।
डेपुटी लेप्टिनेन्ट मिई सिमलाई ओबिई प्रमुख अतिथि रहेको कार्यक्रममा ब्रेन्टका मेयर तारिक दार एमबिई, ब्रेन्ट काउन्सिल लिडर काउन्सिलर मोहमद बट, सांसद डवन बटलरलगायत, ब्रेन्टका काउन्सिलरहरु अन्य विशिष्ट व्यक्तित्वहरु उपस्थितमा भएको रिमेम्बरेन्स सर्भिसमा ब्रेन्टका विभिन्न संघ संस्था तथा नागरिकहरु र नेपाली समुदायका दाज्यूभाइ, दिदीबहिनीहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो।
रिमेम्बरेन्स सर्भिसमा राष्ट्रका लागि विभिन्न युद्धहरुमा जीवन बलिदान गरेका वीर योद्धाहरुको सम्झनामा नागरिक प्रार्थना गरी ट्रम्पेट लास्ट पोस्ट धुन, एक मिनेट मौनधरण, ट्रम्पेट रेभाली धुन तथा बेलायतको राष्ट्रिय धुन बजाइएको थियो। रिमेम्बरेन्स सर्भिसमा प्रमुख अतिथिले मन्तव्य राखेपछि, प्रमुख अतिथि, ब्रेन्टका मेयरलगायत उपस्थित विशिष्ट व्यक्तित्वहरु र ब्रेन्टका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुबाट बरहाम पार्कस्थित युद्ध स्मारकमा रिथ अर्पण गरेका थिए ।
तमु समाज युकेको तर्फबाट अध्यक्ष बिन्दुकुमारी गुरूङ घलेले रिथ अर्पण गर्नुभएको थियो । कार्यक्रमको अन्तमा रिजेन्ड ब्रास ब्यान्डको धुनसहित परेड कमान्डर रोयल एयर फोर्सका Flight Lieutenant जीतेन्द्र गुरुङले परेड मार्चपास गरी ब्रेन्ट सिभिक रेमेम्बरेन्स सर्भिस परेड समापन गर्नुभएको थियो ।
ब्रेन्ट सिभिक रिमेम्बरेन्स सर्भिसको समापनपछि तमु समाज युकेले प्रमुख अतिथि तथा कार्यक्रममा सहभागी ब्रेन्ट काउन्सिलका विशिष्ट व्यक्तित्वहरुको सम्मानमा बरहाम पार्कस्थित तमु समाज युकेको आफ्नै सामाजिक भवन तमु समाज युके नेप्लिज कम्युनिटी सेन्टरमा एक दिवा भोजको आयोजना गरेको थियो । दिवाभोजका प्रमुख अतिथि डेपुटी लेप्टिनेन्ट मिई सिमलाई ओबिई, ब्रेन्टका मेयर काउन्सिलर तारिक दार एमबिई, काउन्सिल लिडर काउन्सिलर मोहमद बटलगायत स्थानीय अन्य काउन्सिलरहरु, विशिष्ट व्यक्तित्वहरु तथा रिमेम्बरेन्स सर्भिसमा सहभागी तमु समाज युकेका अध्यक्ष, संस्थापक अध्यक्ष, पूर्व तथा निवर्तमान अध्यक्षहरु, कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु, सदस्यहरु र आमा दिदीबहिनीहरु सरिक भएका थिए ।
उक्त करी लन्च ग्रहण गर्नुअगावै निवर्तमान महासचिव धरम बल गुरुङले उपस्थित सबैलाई हेल्थ एण्ड सेफ्टीबारे जानकारी गराउँदै अतिथिहरुको स्वागत तथा आसनग्रहण गराएपछि संस्थाको संक्षिप्त परिचय तथा गतिविधिबारे बताउनुभएको थियो । कार्यक्रममा ब्रेन्ट काउन्सिलका नवनिर्वाचित मेयर काउन्सिलर तारिक दार एमबिईलाई अध्यक्ष विन्दुकुमारी घले र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले खादा लगाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसपश्चात् कार्यक्रमका प्रमुख अतिथि डेपुटी लेप्टिनेन्ट मिई सिम लाई ओबिई, ब्रेन्टका मेयर काउन्सिलर तारिक दार एमबिई, काउन्सिल लिडर काउन्सिलर मोहमद बट र काउन्सिलर पाउल लोरबरले क्रमश: मन्तव्य राख्नुभएको थियो । मन्तव्यमा सबैले ब्रेन्ट सिभिक रिमेम्बरेन्स सर्भिसमा तमु समाज युकेको सहभागिता र समाजले गरेको सामाजिक तथा परोपकारी कार्यहरुको प्रशंसा गर्दै नेपाली समुदायसँग यसरी अन्तरक्रिया गर्न पाउँदा आफूहरुलाई गौरव लागेको बताउनुभएको थियो । यस्तै अन्तरक्रियाले आफूहरु एकआपसमा अझ राम्ररी बुझ्ने अवसर मिलेको उल्लेख गर्नुहुँदै एक आपसमा बुझेपछि सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
धन्यवाद मन्तव्यको क्रममा समाजकी अध्यक्ष विन्दुकुमारी घलेले ब्रेन्ट काउन्सिबाट उपस्थित हुनुभएका अतिथिहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । ब्रेन्ट काउन्सिल र बारहम पार्क ट्रसको निरन्तर सहयोग सद्भावले गर्दा नै समाजको लक्ष्य पूरा गर्नुमा ठूलो टेवा पुगेको उहाँले बताउनुभयो । साथै कार्यक्रममा उपस्थित सबैजनालाई अध्यक्ष घलेले धन्यवादसहित आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रम अपराह्न ५ बजे समापन भएको थियो ।
शिवकुमार गुरुङ