केही दिनको लामो बिदा भयो कि पदयात्रामा निस्किहाल्ने हाम्रो टिमको बानी थियो । विश्व हेर्न नपाए पनि आफ्नो देश त घुम्नै पर्छ भन्ने सोच सानैदेखि थियो । हुन् त विश्वका एक दर्जनभन्दा बढी देशको भ्रमण गरेको छु तर सहरीक्षेत्रमा मात्रै । आफ्नै देशको मनाङ, मुस्ताङ घुमेपछि भने मलाई कम्तीमा वर्षको एकपटक आफ्नै देशको नयाँ ठाउँ घुम्ने हुटहुटी लाग्थ्यो । त्यसैले लामो बिदा या चार्डपर्वको समयममा कतै घुमौ भन्ने योजना मनमनै बनाउँदै थिएँ ।
तिहारको टीका सकिएसँगै घरमा एक्लै बसिरहको थिएँ । विवेक भान्जाको फोन आयो –
‘मामा, लाङटाङ पदयात्रामा जाने ?।’
मैले, ‘नजाने केही तयारी छैन भनेँ,’
भान्जाले, ‘केही तयारी चाहिँदैन जुत्ता, लुगा भए भइहाल्छ’ भने ।
मैले, ‘जुत्ता छैन’ भनेपछि ‘अहिले पदयात्रालाई लक्षित गरेर गोल्डस्टार कम्पनीले नयाँ जुत्ता बजारमा ल्याएको छ, सस्तो पनि छ, त्यो भए हुन्छ’ भने ।
राति अबेर भइसकेको थियो । गोल्डस्टारको सोरुममा फोन गरियो । खुल्ला रहेछ त्यसपछि रु २३००मा जुत्ता किनेर इसेवामार्फत रसुवाको स्याफ्रुबेंसीसम्मको बस टिकट काटेर कार्तिक १९ गते बिहान लाङटाङ पदयात्रामा जाने कुरा भयो । घरमा कसैलाई भनेको थिइनँ । घरबाट सजिलै अनुमति पाएपछि अरु के नै चाहियो र ।
विश्व पर्यटन बजारमा लाङटाङ क्षेत्रले बेग्लै पहिचान बनाएको छ । नेपालको पदयात्रा मार्गमा यो तेस्रो पदयात्रा गन्तव्यका रूपमा चिनिएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ सालमा स्थापना गरिएको हो । १,७१० वर्ग किमि क्षेत्रमा फैलिएको छ भने ४१० वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा समेटिएको छ । ४६ प्रजातिका स्तनधारी, ३ सय १५ प्रजातिका चरा, ११ प्रजातिका घस्रिने जनावर, ३० प्रजातिका माछा, १० प्रजातिका माकुरा र ५८ प्रजातिका पुतलीलगायत हजारभन्दा बढी प्रजातिका वनस्पति पाइन्छ ।
विश्वमै दुर्लभ रेडपाण्डा, हिमचितुवा, बँदेल, हिमालयन कालो भालु, घोरल, लंगुर, आसामी बाँदर, सेता बाँदर, झारल, घोरल, कस्तुरी मृगलगायत वन्यजन्तु पाइन्छन् त्यसकारण पनि ती सबैको अवलोकलन वन्यजन्तु र वातावरणबारे जानकारी पाउने उद्देश्यले मन प्रफुल्तित भएको थियो ।
हुन त, पैदल हिँड्नु भनेको आफैंले आफैंलाई चिन्नु पनि हो । आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्न विवेक भान्जासहित हामी ४ जनाको टोली गाडी धादिङको गल्छी भएर अगाडि बढ्यौं । यात्राको क्रममा बाटो कतै ढलान, कतै कच्ची, कतै पक्की । तन मन सिरिङ्ग हुने बाटो । काठमाडौंबाट हिँडेको करिब ६ घण्टामा धुन्चे (१९६० मि) पुग्यौं । धुन्चेबाट करिब सवा घन्टामा हामी स्याफ्रुबेंसी (१५०३ मि) पुग्यौं । पानी परिरहेकोले प्लास्टिकको छाता ओडेर स्याफ्रुबेंसीमा डुनट र चिया खाएर हिँड्यौ बाटोमा लाङटाङ खोला जलविद्युत् आयोजनाले २० मेगावाटको विद्युत्को लागि बाटो बनाएको रहेछ । मोटरबाटो भए पनि मोटरचाहिँ नचल्ने । आयोजनाका गाडीहरुमात्र चल्ने रहेछन् । बास बस्न हामीलाई ‘ब्याम्बो’पुग्नु थियो, त्यसैले स्याफ्रुबेंसीमा कत्ति पनि अलमल गरेनौं । भोटेकोसीमाथिको झोलुङ्गे पुल र लाङटाङ खोलाको पुल तरेर अगाडि बढ्यौं ।
लाङटाङ खोलासँगै बाटो हिँड्छ, बाटोसँगै खोला, हामी उसैलाई पछ्याउँदै, उसकै संगीत सुन्दै हिँड्छौं । बुद्धमन्त्र लेखिएका लुङ्दर फहराइरहेको पहिरो भन्ने ठाउँमा पुग्यौं । पहिरोमा जाँदा–आउँदा पदयात्रीहरू तथा सहयोगीहरू सुस्ताउने र चिया खाजा खाना खाने ठाउँ रहेछ । हाइड्रोपावर कटेपछि होटलका आँगन हुँदै हामी चरक्क चर्केको घामसँगै सुनका धर्काधर्की र चाँदीले लेपन गरेका बाटाभरिका ढुंगामा आफ्ना पैताला राख्दै वनैवनको बाटो ब्याम्बो (१९७० मि) पुग्यौं । यो क्षेत्र रेड पाण्डाको बासस्थान पनि रहेछ । यहाँ तीन वटा होटल थिए शेर्पा, ब्याम्बो र टिवेटन । हामी टिवेटन र बितायौ यही होटलमा खाना र बाँस बस्यौ प्रतिब्यत्ति १५०० तिर्यौ । बिजुली बत्ती छैन, सोलारको धिपिधिपी उज्यालोमा बस्न परेको छ ।
स्याफ्रुबाट यत्ति नजिक पनि सञ्चार सुविधा टेलिफोन सेवा छैन । टावरै देखाउँदैन, डाटा चल्दैन । मोबाइल चार्ज गर्न कठिन छ । तै होटलको साहुजीलाई अनुरोध गरेर वाइफाइचाहिँ चलाउने सुविधा एकछिन पाएर घरपरिवारसँग कुराकानी भयो । राम्चे (२२२३ मिटर) भीरको एउटा ढुंगामा टाँगिएको फोटो देखेर हाम्रा हिँडाइ टक्क रोकियौ । फोटोले २०७२ सालको महाभूकम्पको त्रासदी सम्झायो । लाङटाङ पदयात्रामा निस्केका इजरायली युवाको भूकम्पसँगै ओइरिएको पहिरोमा ढुङ्गाले किचेर यहीँ मृत्यु भएको रहेछ । उनकै सम्झनामा सो फोटो राखिएको रहेछ ।
ठाउँठाउँमा भेट्टाइने पहेंलपुर ऐंसेलुको स्वाद लिँदै अघि बढ्छौ । दुइटा डाँडाका बीचमा अलिकति आफ्नो अनुहार देखाएर मुसुक्क हाँसेको ‘चदाङ पिक’ देख्दा रमायौ । झण्डै ३ घण्टाको हिँडाईपछि हामी ब्याम्बोबाट लामा होटल (२४१०मि) पुग्यौं । यहाँ १०/१२ वटा होटल रहेछन् । पहिले लामा भन्ने व्यक्तिले यता चौंरी पालेर खर्क बनाएर होटल चलाएकाले यस ठाउँलाई उनकै सम्झनामा ‘लामा होटल’ भनिएको रहेछ । त्यसबाट पनि हामी अगाडि बढ्यौ रिभर साइड (२७६९ मि.) पुगेर खाना खायौ ।
अघाएको पेट बोकेर हिँड्दा हामी घोडा तबेला पुगियो । केही समय आराम गरेपछि हामी अगाडि बढ्यौ । झोलामा दिदीले हालीदिएको भाइमसला खाँदै हाम्रो यात्रा अगाडि बढ्यौ । ठाडै उकालो आयो, गलेको जिउलाई झन् गलायो । उकाली-ओराली गर्दै थाङसाप भिलेज (३२०० मि) पुग्यौं । यहाँ २/३ वटा होटल रहेछन् । हामी तिब्बत होटलमा बास बस्यौ । भोलिपल्टको ब्रेकफास्टपछि फेरि हाम्रो यात्रा निरन्तर अगाडि बढ्यो । चिसो सिरेटो चल्न सुरू गर्यो । लाङटाङ पुग्नु अघि म त बेस्सरी थाकें, हिँड्नै गाह्रो हुन थाल्यो । पदयत्रा छोडेर फर्कियौ कि जस्तो पनि लाग्यो ।
मलाई चिसोले समातेको रहेछ । डाँडामा रहेको होटलवालाले टोपी लाउन, लुगा थप्न सल्लाह दिए । मैले चिसिएको जिउमा लुगा थपेँ, ज्याकेट लाएँ । त्यसपछि अलि आरामको महसुस भयो । त्यहीबेला ‘इनर्जी जुस पनि खाए एक गिलास जुसको ३ सय रुपैयाँका पर्दोरहेछ । लाङटाङ पुग्नु अघिको एउटा बस्ती ढुङ्गैढुङ्गाले पुरिएको रहेछ । २०७२ सालको भूकम्पको क्षति रहेछ त्यो । भूकम्पसँगै आएको ठूलो हिउँपहिरोले सिजनको बेला भएकाले धेरै जनधनको नोक्सानी भएको रहेछ । लामो यात्रापछि लाङटाङ भिलेज (३४७५ मि) पुग्यौं ।
विशेष खालको फलामे चिम्नी चुल्होमा दाउरा हालेर आगो सल्काएपछि कोठा रनक्क तात्यो । त्यसकै वरिपरि बसेर तातो भात खायौं । तरकारी भने जुन होटलमा पनि आलुकै पाइने । वन साग अलिअलि मिसाएको र स्कुसको तरकारीमात्रै पाइने । सबै होटलमा सुकेको याक चौंरीको मासुमात्र पाइने रहेछ ।
यात्रामा भेटिएका सबैले बोन धर्म मान्ने । यताकाले आफ्नो डाइनिङ हलको एउटा छेउमा बुद्धधर्म अनुसारको मन्दिर स्थापना गरेका हुँदा रहेछन् । सबै ठाउँमा दलाई लामाको फोटो पनि देखिन्थे । क्यानजिन गुम्पा (३८५० मि.) तिर निरन्तर अगाडि बढ्यौ । खुट्टा दुखेर हिँड्न नसक्ने अवस्था थियो तथापि विस्तारै यात्रालाई निरन्तरता दिइरह्यौ । बाटामा पानीबाट चलाइएको माने, छोर्तेन, लुङ्दर र साना गुम्बा देख्दा मनै आनन्दित भयो ।
ढुङ्गैढुङ्गाको अजङ्गका भिराला पहाड, ढुङ्गाकै लामा लामा छोर्तेनहरू, ढुङ्गै छापेका बाटाहरू, ढुङ्गैले ठडिएका घर र गुम्बाहरू र बाटाभरि फुलेका फूलहरूले हाम्रो प्रफूल्लित थियो । लाङटाङ र क्यानजिनको बीचमा पर्ने दुई वटा मुन्दुम (३२१३ मि) र सिन्दुम (३५५५ मि) लुङता फहराइरहेका भ्याली काटेर सानो उकालो चढ्नेबित्तिकै क्यानजिनका होटलहरू र छेउका चौंरीखर्क छयाङ्ग देखिए । क्यानजिन रि (४३५०) चढ्न तयारी थियो तर मलाई सन्चो नभएर मैले चाहिँ चढिन् । यसरी लाङटाङको यात्रा सफलतापूर्व पूरा गरी क्यानजिनबाट हामी एकै दिनमा स्याफ्रुबेंसी पुग्न सक्दैन्थ्यौं । बीचमा कहीँ न कहीँ बास बस्नै पर्ने थियो । हिजो अस्ति हिँडेका बाटाहरूसँग फेरि पिरती गाँस्दै लामा होटलमै बास बसियो । लामा होटलबाट हिँडेर बाटा, जंगल र लाङटाङ खोलासँग अन्तरङ्ग गर्दै स्याफ्रुबेंसी आइपुग्यौँ । स्याफ्रु बजार घुम्यौँ ।
अविस्मरणीय लाङटाङ, क्यानजिन भ्याली र क्यानजिन रिको सम्झना बोकेर आठौ दिनको दिन काठमाडौं आइपुग्यौ । लाङटाङ पदयात्रामा बाटाभरि कहिले इजरायली, कहिले क्यानेडियन, न्युजिल्याण्डवासी, जापानी, भारतीय र इन्डोनेसियन, अझ बढी त इटालियन, कोरियान कोही एकल, कोही जोडी, कोही गाइड र सहयोगीका हिँडिरहेका भेटिन्थे । म सबैजसोलाई दुई हात जोडेर नमस्ते भन्थें । मुसुक्क हाँसेर उनीहरू पनि नमस्ते भन्थे । दुःख त भयो, गाह्रो त भयो तर घरै बसेको भए यो भूस्वर्ग, यो हिमाली जनजीवन, यहाँको संस्कृति, यहाँको भू–बनोट, कहाँ देखिनु र कहाँ भोग्न पाउनु बाटो सम्झिँदा कष्टकर लागे पनि यात्राको क्रममा नयाँ कुरा देख्न, भोग्न र सिक्न पाउने हुनाले यात्रा सकिनेबित्तिकै मान्छेले आनन्दको अनुभूति गर्छ । जीवनमा एकपटक यात्रा गर्नै पर्ने गन्तव्य हो, लाङटाङ ।