मध्यरातमा सूर्य अस्ताउने देश नर्वे -४

नियात्रा

पानीजहाजको कोरल रेष्टुराँमा बिहानीको खाजा खाएपछि हामी आफ्नो बाटो लाग्छौं । तर अहिले छैटौँ तलामा छौँ र यो पानीजहाजको सबैभन्दा पछाडिको भाग हो । अब अगाडिको भागतिर के के रहेछन् भनेर जान्ने कौतुहल्ता मेट्नको लागि हाम्रो सल्लाह भएनुसार त्यतैतिर लाग्छौं । रेष्टुराँदेखि निस्केर थोरै अगाडी बढ्ने बितिक्कै हाम्रो दाहिनेतिर ओपल र देब्रेतिर आक्वा रेष्टुराँहरु देखा पर्छन् । तर ती रेष्टुराँहरु अहिले पूर्णतय बन्द देखिन्छन् । बिहानीको खाजा खाने समयमा बन्द भएपनि बेलुकी डिनरको लागि भने ती सबै रेष्टुराँहरु खोलिन्छन् ।

त्यहाँदेखि क्रमशः अगाडी बढ्दै जाँदा दायाँ बायाँको भट्टीपसलहरुलाई पार गर्दै गर्दै जान्छौं । तर बायाँपट्टीको भट्टीपसल ‘एन्डरसन’ सँगसँगै जोडिएर रहेको एउटा सानो पुस्तकालय रहेको छ ।

पुस्तकालय देखेपछि हामी एकछिन पुस्तकालयभित्र छिर्छौं । बिहानीको समय भएको हुनाले पुस्तकालय एकदम सुनसान छ । एउटा कुरो के चाहिँ राम्रो छ भने धेरैजसो अङ्ग्रेजहरु पुस्तक पढ्न एकदम रुचाउँछन् । त्यसैले उनीहरु घरदेखि बाहिर छुट्टीमा निस्कँदा साथमा एउटा वा दुईटा पुस्तकहरु लिएर निस्कन्छन् । तर तारा र दया पुस्तकहरुप्रति त्यति चासो राख्दैनन् जति सुनबाट बनेका गरगहनाहरुमा राख्छन् । अझै घरमा हुँदा त तारा पुस्तक पटक्कै पढ्दै पढ्दैनन् । किनभने खाना पकाउन र घर साफसफाइमा नै अति व्यस्त हुन्छिन् । तैपनि छुट्टीमा जाँदा कतै पढ्छिन् कि भनेर म उनको लागि पनि एउटा पुस्तक बोकिदिन्छु । तर समुन्द्र तटमा हातमा किताब लिएर एकछिन बस्यो कि सुइँसुइँ सुति गइहाल्छिन् ।  

उनीहरु दुईजना दिदीबहिनी पुस्तकालयको कुर्सीमा मज्जाले आराम गरेपछि यादुसँग पुस्तकालयमा के कस्ता पुस्तकहरु रहेछन् भनेर चक्कर मार्न थाल्छौं । सबैभन्दा पहिले म यसो दाहिने कुनादेखि सरर पुस्तकहरु हेर्न सुरु गर्छु । तर उनी मेरो विपरीत दिशा देब्रेबाट पुस्तकहरु हेर्न थाल्छन् । यसरी पुस्तकहरु हेर्दा मलाई कथा र कविताहरुभन्दा अलिक बढी उपन्यास र यात्रा विवरण तर सबैभन्दा बढी चाहिँ मानिसहरुको जीवनी पढ्न मन पर्छ । जीवनीमा प्रायजसो मानिसहरु साधरण परिवारमा जन्मेका हुन्छन् तर अति प्रख्यात भएर मर्छन् । त्यसैले मानिसहरुले उनीहरुको जीवनमा कसरी प्रगति गरे होला भनेर जिज्ञासासहित उक्त्त पुस्तकहरु पढ्न मन पराउँछु ।

तर उपन्यासकै कुरा गर्ने हो भने मैले जिन्दगीमा जापानिज उपन्यासकार हारुकी मुराकामीको ‘नर्वेजियन वुड’ उपन्यासमात्र दोहर्याएर पढेको छु । नत्रभने जम्मै पुस्तकहरु सरसर्ती एकचोटी पढ्छु । अनि पढिसकेपछि सबै भुलिहाल्छु । मेरो जीवनको त्यो वास्तविक चरित्र हो । पानीजहाजमा भएको यो पुस्तकालयमा यसो एक चक्कर लगाउँदा बेलायती पुस्तकालय भएको हुनाले बेलायती लेखकहरु जेन अस्टिन, डिकिन्सन, ओरियल, एलियट, उल्फ र किपलिङ्का पुस्तकहरु देखिन्छन् । तर वैज्ञानिकहरु चार्ल्स डार्विन, हकिन्स, फ्लेमिङ, न्युटन र एटेनबर्ग वा दर्शनशास्त्रीहरु थोमस हब्स, लक, स्पेन्सर, बेन्थाम, ह्युम र स्मिथका पुस्तकहरु केही पनि देख्न सकिएनन् । बरु जीवनीहरुको कुरो गर्दा नेल्सन मन्डेला, चर्चिल, केनेडी, ओबामा र बेलायती चर्चित खेलाडीहरुको पुस्तकहरु देख्न सकिए ।

पुस्तकालयदेखि निस्केपछि घुमिफिरि रुम्जाटार भने झैँ फेरि एन्डरसन भट्टीपसलमा नै ठोकिन पुग्छौं । हुनत घर बाहिर छुट्टीमा हुँदा अङ्ग्रेजहरु बेस्सरी जाँडरक्सी पिउने गर्छन् । त्यसैले जताततै यस्ता प्रकारको भट्टीपसल र लाउन्जहरु राखिएको हुन्छ । यस पानीजहाजको मात्र कुरा गर्ने हो भने पनि यहाँ जम्मा १२ ‍वटा ठूल्ठूला भट्टीपसलहरु रहेका छन् । अनि यसरी हिँड्दै हिँड्दै अगाडि बढिरहँदा भट्टीपसलको कुना कुनाबाट निस्केका ज्याज, रक र कन्ट्री सङ्गीतहरु मात्र नभएर मधुरो पियानोका धुनहरु पनि सुन्न सकिन्छ । जहाँसम्म मलाई लाग्छ । गीत सङ्गीतका पारखीहरु यिनै धुनहरु सगँसँगै रुमलिएर पानीजहाजभित्र हिँड्ने गर्छन् ।

तर हामीजस्ता फोकटियाहरु पनि सङ्गीतको सुर ताल नबुझी नबुझी त्यति मीठो सङ्गीतको साथमा एकछिन रुमलिँदै हिँड्छौं । यसरी एकछिन हिँडेपछि ग्रान्ड अट्रियममा पुग्छौँ । पानीजहाजको बीचैबिच भागमा पुगेपछि त्यहाँ अवस्थित ग्रान्ड अट्रियम मनै लोभ्याउने खालको देखिन्छ । हुनत अट्रियमहरु पानीजहाजको आकर्षणको केन्द्रबिन्दु नै मान्नु पर्छ किनभने यात्रुहरु दिनभरि सहर घुमेर बेलुकी फिरेपछि तिनै स्थानमा बसेर जाडँरक्सी पिउने, नाच्ने वा आराम गर्ने गर्दछन् ।

हामीले हाम्रो जीवन कालमा विभिन्न पानीजहाज कम्पनीहरुको अट्रियमहरु हेरिसकेका छौं । तर हामीले हेरेका ती सबै पानीजहाजहरुको तुलना गर्ने हो भने मेडिटेरियन सिपिङ कम्पनी (एमएससी) पानीजहाजहरुको अट्रियममा पारदर्शी सारावस्कि क्रिस्टलदेखि बनेको सिङ्नेचर भर्याङ जतिको राम्रो अन्त कुनै पनि पानीजहाजमा देखेका छैनौं भन्दापनि हुन्छ । त्यस कम्पनीको पानीजहाजहरुको बीचैबिच भागमा राखिएका उक्त्त भर्याङहरुले हरेक निर्धो मानिसहरुको दिललाई च्वास्स च्वास्स घोच्ने गर्छ ।   

आधाघण्टा जति ग्राण्ड अट्रियममा समय नस्ट गरेपछि हामी क्रमशः अगाडि बढिरहन्छौं । तर हाम्रो सीधै अगाडी सुलित्तै परेको एउटा सानो साँघु देखा पर्छ । एक चोटीमा एक जना मानिसमात्र मुस्किलले हिँड्न मिल्ने उक्त्त साँघुबाट हिँड्दैहिँडदै अगाडी बढ्दा देब्रेतिर समुन्द्रबाट उठेका स-साना छालहरुका रमाइला दृश्यावलोकन गर्न मिल्छ । तर त्यसको ठीक दाहिनेतिर र मुनिको तलामा मानिसहरु आराम‍ले पेय पदार्थ सेवन गरिरहेका दृश्य देख्न सकिन्छ ।

त्यहाँदेखि यसो दश/बीस कदम अगाडि हिँडेपछि दायाँ बायाँ भित्ताभरि मज्जा मज्जाले सजिएका कलाहरुमा पुगेर हाम्रा नयनहरु झ्याम्मै ठोकिन्छन् । यसो हेर्दा यो ‘आर्ट ग्यालरी’ त्यति ठूलो नभएतापनि निक्कै राम्राराम्रा कलाकारहरुका कलाहरु त्यहाँ देखा पर्छ । त्यहाँ पुगेपछि हाम्रो ठीक दाहिनेतिर भित्तामा मधुर मुस्कानसहित हामीलाई स्वागत गरिरहेकी मार्लिन मुनरोको तस्विर देखेर म अनायासै टक्क रोकिन्छु ।  

विश्वभरिका करोडौँ मात्र नभएर अर्बौँ युवाहरुको ढुकढुकी मुनरोदेखि मेरो नजर दगुराएर बायाँ कुनामा ल्यापटपमा झुन्डिएर एक्लै बसिरहेकी एकजना कर्मचारी युवती मिनी मुनरोलाई जिस्क्याउँदै, – “होइनौं ! बैनी । यो सबै कलाहरु बिक्रीमा हुन् कि के हो ?”

“आम्मै ! मैले त देख्दै देखिनँ छु । हजुर ! हो नि,”

“तर ज्यादै महङ्गो छ, होला ? तैपनि एकदम उत्कृष्ठ कलाहरु रहेछन्, हगि ?”

“हो हो । हजुरलाई कला मनपर्छ, हो ?”

“किन मन नपर्नु । तपाइँको मासु खाने । असाध्यै मनपर्छ । त्यसैले विश्वको विभिन्न सहरहरु लण्डन, पेरिस, न्यूयोर्क, रोम, बार्सोलोना, आम्सटर्डम, जेनेवा र सेन्ट पिटर्सबर्गसम्म पुगेर उनीहरुको कलाहरुको विषयमा अध्ययन तथा अनुभव गरेको छु ।”

“ए ! हो र ? अनि क कस्को हेर्नु भाछ ?”

“धेरैको हेरेको छु नि । जस्तैः- लियो नार्डो द भिन्सी, पिकासो, भ्यानगग, डाली, एन्जेलो, मुने, मन्च, सिजान, भर्मिर, काराभाजिओ, मिरो, राफेलो, गोया, भालाक्विज र डेगासका कलाहरु हेरेको छु । अझै नजाने आधुनिक जमानाको पनि कति हो, कति हेरेको छु । तर खै किन हो किन ? मलाई कला असाध्यै मन पर्छ ।”

मेरो कुरो सुनेर उनले “ए, ए,” भनेर एकछिन सोच्न थाल्छिन् ।

त्यसपछि उनीदेखि बिदा हुन्छौं । अलिक अगाडी बढेर बायाँतिर बाट थोरै भित्र छिर्छौं र ‘ओअशिस स्पा’ को मूल दैलोमा पुगेरे ठेक्कै ठोकिन्छौं । दैलोको ठीक सामुन्ने भारतीय मूलका एकजना कलिली युवतीसँग भेट भइहाल्छ । उनलाई भेट्ने बितिक्कै, “बैनी ! सन्चै हुनुहुन्छ ?” मसिनो स्वरमा सोध्छु ।  

“हजुर ! जाति नै छु,” जवाफ फर्किन्छ ।  

उनले जवाफ फर्काउने बितिक्कै, “मसाजको दाम के कति रहेछ, सोध्नोस् न हौ ? पुकेटमा मसाज गर्दा साह्रै आनन्द महसूस भएको थियो ।” तारालाई पुकेट, थाइल्याण्डमा गरेकी मसाज सम्झेर भाउ सोध्न मन लाग्छ ।  

“पानीजहाजको मसाज एकदम महङ्गो हुन्छ, के सोधिरहनु हौ ?” तारालाई सानो स्वरमा भन्छु ।

तर म त्यति सानो स्वरमा बोलेको सुनेपछि, “आउनोस् न भित्र पसौं । अनि म हजुरहरुलाई हाम्रो सबै ट्रिटमेन्टहरुको विषयमा मज्जाले बताउने नै छु । बरु चिया कफी के पिउनु हुन्छ, कुन्नि ?” भारतीय बैनीले आत्मियताको साथ सोध्छिन् ।  

“होइनँ, होइनँ ! हामी कुनै दिन समय मिलाएर आउने नै छौं । अहिले अलिक हतारमा छौं । त्यसैले आज बस्दैनौं । जे होस तपाइँलाई धेरै धेरै धन्यवाद छ ।” म चाँडो चाँडो बैनीसँग कुरोको बिट मारिदिन्छु ।     

भारतीय बैनीसँग बिदा भएपछि थोरै अगाडी जान्छौं र पानीजहाजको विशाल थिएटर हलको अगाडी पुग्छौं । हलको ठीक दाहिनेतिर ‘हेडलाइनर्स थिएटर हल’ भनेर लेखिएको साइन पढ्छौँ । यो थिएटर हलमा जम्मा ८ सय मानिसहरुले सँगसँगै बसेर गीत, सङ्गीत, नाँच र प्रहसनहरु मज्जाले हेर्न मिल्छ भनेर सुनेको छु । अनि यहाँ हरेक दिनको बेलुकी दुई पटक प्रदर्शन (सो) गरिन्छ । तर कुरो के छ भने पानीजहाजमा हरेक हप्ता लगभग ५२ सय यात्रुहरुले यात्रा गरिरहेका हुन्छन् । र, सबैजनाले एक्कैचोटी प्रदर्शन हेर्न नपाउने भएकोले एकदिन अगाडी नै सिटको आरक्षण गर्नुपर्ने हुन्छ ।

थियटर हल पानीजहाजको छैटौँ र सातौँ तलाको सबैभन्दा अगाडीको भाग हो । हल एकदम ठूलो भएकोले यसले दुईतलाको भाग ओगटेको रहेछ । तर हलभित्र पस्ने स्थानभन्दा केही अगाडि माथि जाने र तल झर्ने ठूल्ठूला भर्याङ र लिफ्टहरु सँगसँगै रहेका छन् । यस्ता खालका भर्याङहरु पानीजहाजमा जम्माजम्मी तीन वटा छन् । हामी उभिरहेको यो सबैभन्दा अगाडीको भागको भर्याङ हो । अर्को भर्याङ बीचमा र एउटा पछाडीको भागमा छ ।

तिनै भर्याङहरुदेखि तपाई सबैभन्दा सिरान तला र सबैभन्दा मुनीको भागमा जानु सक्नु हुन्छ । यदि तपाई यहाँदेखि ओरालै ओरालो लाग्नु भयो भने पानीजहाजको तल्लो श्रेणीका कर्मचारीहरुले खाने, पिउने र बस्ने स्थानमा पुग्न सक्नुहुन्छ । अझै कुनै कुनै पानीजहाजमा त ती कर्मचारीहरु जिरो तलाभन्दा मुनि बसेका हुने रहेछन् । जुन भाग भनेको पानीभन्दा मुनिका भाग हो ।

तर कर्मचारीहरु यसरी बस्ने क्रममा साधरणतया पानीजहाजको कप्तानको कोठा ब्रिजको नजिकै हुन्छ । जस्ले गर्दा आवश्यक परेको बेला उनी २४सै घन्टा ब्रिजमा सजिलै जान सक्छन् । यस्तै गरेर सहायक कप्तान, प्रमुख इन्जिनियर र वरिस्ठ अधिकृतहरु पनि दश/ बाह्र तलातिर बस्ने कोठाहरु हुन्छन् । तर माथि उल्लेख गरेझैँ पानीजहाजको अन्य कर्मचारीहरुको बासस्थान सबैभन्दा मुनिको तलातिर हुन्छन् र त्यहाँ जानको लागि यात्रुहरुलाई पूर्ण प्रतिबन्धित गरिएका छन् । अझै पानीजहाजमा के पनि नियम छ भने ती कर्मचारीहरुले प्रयोग गर्ने लिफ्टहरु पनि यात्रुहरुले प्रयोग गर्नेभन्दा फरक फरक हुन्छन् ।   

यस पानीजहाजमा लगभग १८ सय जति त कर्मचारीहरु मात्र रहेका छन् भनेर सोच्तै छैटौँ तलाको तिनै भर्याङमा केहीबेर उभिरहेका हुन्छौं । तर सोहीबेला मेरो ठीक सामुन्ने पानीजहाजको तीन तलामा स्वस्थ केन्द्र (मेडिकल सेन्टर) रहेको छ है भनेर लेखेको साइन देख्छु । पानीजहाज यात्रामा छँदा स्वस्थ चौकी पनि एकदम जरुरी स्थान हो भनेर मलाई आम्सटर्डम बन्दरगाहमा घटेको एउटा सानो घटना प्रस्तुत गर्ने यहाँ अनुमति चाहें ।    

एकदिन एकाबिहानै पानीजहाज इमुदिन बन्दरगाह द नेदरल्याण्डमा रोकिरहेको थियो । त्यसपछि हामी तारासँग रातो बत्तीको जिल्ला (डि वालेन) आम्सटर्डम घुम्न जानको लागि तयार भइरहेका थियौं । यो विश्वको यौनिक राजधानी (सेक्स क्यापिटल) हो भनेर विश्वविख्यात छ । हुनत म विश्वका अति चर्चित वेश्यालयहरु जस्तैः- इथेवान – सियोल, पातपोङ – बैँकक, स्कोनबर्ग – बर्लिन र टेम्पल स्ट्रिट – हङकङ पहिले नै पुगिसकेको थिएँ । तैपनि आम्सटर्डम वेश्यालय जिन्दगीमा कहिले पुगेको थिइनँ । त्यसैले जिन्दगीको पहिलोचोटी हो भनेर त्यहाँ जानको लागि एकदम उत्तेजित थिएँ ।

पानीजहाज रोकिएपछि हामीले हतार हतार ब्रेकफास्ट खाएका थियौं । त्यसपछि आफ्नो कोठामा पुगेर तारा उनको अनुहार श्रृँगारपटारमा ब्यस्त हुन थालिन् । म फुर्सदिलो मान्छे, केही समय खाली भइहाल्यो । त्यसैले एक पटक तारालाई, “फोटोमा भन्दा मान्छे नै तिमी राम्री छौं । अनुहारमा धेरै पाउडर लगायौ भने झन् नराम्री देखिन्छौ है,” दिल्लगी गर्दै भन्छु र फुर्सदको समय सदुपयोग गर्नको लागि नुहाएर पो बाहिर निस्कन पर्यो भन्ने एकास्सी विचार आउँछ । त्यसैले नुहाउनको लागि धारामा पसें । नुहाउने क्रममा अचानक धाराको मुनि पानी जाने स्थान ब्लक भएको चाल पाएँ ।

“जाबो ! खै के भएर पानी अड्क्यो ?” मनमनै त्यसो भनें र दायाँ खुट्टाको बुढी औँलाले पानी जाने स्थान सफा गर्न थालें । तर मैला अड्काउन राखिएको फलामे जालीले मेरो खुट्टाको औँला स्वाट्टै काट्यो । त्यसपछि धारा रगताम्मे भएको देखें । उक्त्त घटनादेखि डरले थर्थरी काम्दै धारादेखि कोठाभित्र पसें र हतार हतार ९९९ मा फोन गरेर स्वस्थ सेविकासँग बोलें ।  

फोनमा बोलिसकेपछि एकजना जर्मन र अर्की स्पेनिस स्वास्थसेविका मलाई लिनको लागि एक्कैछिनमा हाम्रो कोठामा आइपुगेँ । अनि उनीहरु सँगसँगै एकजना फिलिपिनो भरिया (पोर्टर) पनि आएका थिए । स्वस्थ सेविकाहरुले आउने बितिक्कै मेरो खुट्टाको प्रारम्भिक जाँच सुरु गरे । त्यसपछि उनीहरुले मलाई व्हिलचियरमा राखे र भरियाले घचेट्दै घचेट्दै स्वस्थ केन्द्रमा लगे । स्वस्थ केन्द्रमा एकजना मेसोडोनियन चिकित्सक रहेछन् । उनले पहिले मेरो खुट्टाको घाऊ हेरे । त्यसपछि उनको कम्प्युटरदेखि, “यो मेरो गल्ती हो । यसमा पानीजहाजको केही गल्ती छैन्,” भन्ने अग्रिम बनाइरहेको विवरण खरर छापेर मलाई तिनै कागजमा सहीछाप गर्न लगाए ।

विश्व प्रशिध्द योध्दा अलेक्जान्डर महानको जन्मघर मेसोडोनियाबाट आएको चिकित्सकले मलाई किन कागजमा सही गराउन लगाउँदै छन् भनेर मैले राम्ररी बुझेको थिएँ । तर म चाडोभन्दा चाडो घाऊ सिलाएर विश्वको बेश्यालयहरुको राजधानी आम्सटर्डम जान हतार भैरहेको मान्छे थिएँ । अझै घाऊदेखि रगत थामिसकेको थिएन । त्यसैले जस्तोसुकै मूल्यमा पनि हतार हतार घाऊ सिलाइयो भने शान्तिको सास फेर्छु भन्ने सोचिरहेको थिएँ । त्यसैले उनले दिएको कागज एकसर्को हेरें अनि लत्तरपत्तर सही गरिदिइ हालें ।

त्यसपछि उनले मेरो घाऊ सिलाइ दिए । अनि सानो स्वरमा, “मिस्टर राई ! अब २४ घण्टा जति जाँड रक्सी नपिउनु र कतै हिँडडुल नगर्नु है,” भने । उनको भनाइ सुनेर मलाई एकदम फसाद पर्यो । बाहिर घुम्न जान भनेर हँसिलो अनुहार बनाएर मेरो प्रतीक्षा गरिरहेकी तारालाई निन्याउँरो अनुहार बनाएर एकपटक सम्झें । आम्सटर्डम घुम्ने भनेर वर्षौ वर्ष अगाडी देखिको अधूरो सपनामा बेस्सरी ठेस लाग्यो । त्यसपछि मुटु दह्रो बनाएर बेस्सरी आँट कसें र चिकित्सकसँग, “होइन डाक्टर ! जिन्दगीमा पहिलोपल्ट आम्सटर्डम वेश्यालय घुम्न जाँदैछु । घरिघरि यस स्थानमा यसरी आइरहन म सक्त्तिनँ । म त जसरी भएपनि आम्सटर्डम जानै पर्ने हुन्छ । नत्रभने मेरी श्रीमतीले छोडपत्रसम्म दिने खतरा हुन्छ,” रुन्चे स्वरमा बिन्ती जाहेर गरें ।

मेरो कुरो सुनेर चिकित्सक एकछिन आरेमेरे परे । तैपनि मेरो रुन्चे अनुहार देखेर, “उसो भए तपाईको इच्छा हो । जे गर्न मन लाग्छ । त्यसै गर्नोस्,” भन्छ । मैले जवाफमा, “धन्यवाद छ,” मात्र भनें । त्यसपछि मेरो खुट्टामा जर्मन स्वास्थसेविकाले ब्यान्डेज लगाउन थाल्छिन् । म तिनै स्वास्थसेविकाको धपक्कै बलेको अनुहारलाई राम्ररी हेर्छु । उनी राम्री छिन्, असाध्यै राम्री । सायद पानीजहाजको मिस सुन्दरी भने पनि खास्सै फरक पर्दैन होला ? तर उनीभन्दा झन् राम्री राम्री आम्सटर्डम बेश्यालयमा हुन्छन् होला भन्ने सोचें । वास्तवमा म जर्मनी १० चोटी पुगिसकेको छु । मलाई जर्मनी र त्यहाँका जीवनशैली खुब मनपर्छ । अब तिनै म्युनिख, जर्मनीदेखि आएकी सेविकाले मेरो खुट्टामा ब्यान्डेज लगाइ दिइसकेपछि धेरै धेरै धन्यवाद (डान्के) भन्छु । त्यसपछि कोठामा पुगेर एउटा खुट्टामा जुत्ता र अर्कोमा चप्पल लगाएर म आम्सटरडम बेश्यालयतिर बरालिन जान्छु ।  

अनायसै म त्यसरी झोक्राएर आम्सटर्डमको दुखान्त जलयात्राको स्मरण गरिरहेको बेला अचानक, – “होइन ! अब हामी कता जाऊँ ?” यतिबेला भर्याङ सुनसान छ । मानिसहरु ओहोरदोहोर हिँडिरहेको पटक्कै देखिदैनन् । यादुको मुखदेखि निस्केको त्यो प्रश्न भर्याङको कुनामा ठोकिएर प्रतिध्वनिसहित मेरो कानसम्म आइपुग्छ ।

उनको कुरो सुनेर, “अब एकतला माथि चढौं होला ?” भन्छु ।

“ल ल भेना ! चढिहालौं । के बिना बिच्चैमा बाटोमा माझमा उभिरहनु हौ । कतै बस्ने ठाउँ नभाको जस्तो,” कान्छी सालीले सहमत जनाउँछिन् ।

त्यति बोलिसकेपछि हामी एक तलामाथि चढ्छौं । तर माथि चढ्ने बितिक्कै दाहिनेतिर लाग्छौं । अब हाम्रो सीधै अगाडी विशाल जुवा खेल्ने स्थान (क्यासिनो) देखा पर्छ । दिउँसोको समय छ । त्यसैले क्यासिनो एकदम सुनसान छ । नत्रभने रातको समय हुँदो हो त यो स्थान अति झिलिमिली हुन्थ्यो, देखिन्थ्यो । जुवाघरमा मानिसहरु जोसमा होस गुमाएर जुवा खेलिरहेका हुन्थे । जित्नेहरुको फूर्तिफार्ती कडा हुन्थे । तर हार्नेहरु मरन्च्याँसे अनुहार लिएर मात्र होइन दुवै हात चिउँडोमा राखेर रोलेटको दायाँबायाँ कुनामा बसिरहेका दृश्यहरु देखिन्थे । अझै त्यतिबेला कसैकसैले मुखमा रक्सी वा चुरोट र हातमा क्यासिनोको गोटीहरु खेलाइरहेका रमाइलो दृश्य देखिन्थ्यो ।

मलाई यस्तो झकिझकाउ दृश्य हेर्न अति नै मन पर्छ । त्यसैले तारासँग विश्वका अति चर्चित क्यासिनोहरु हेर्नको लागि पोइपेट – कम्बोडिया, मन्टिकार्लो – मोनाको, मकाउ – चीन र लसभेगाज – अमेरिका पुगिसकेका छौं । विश्वमा भएका अन्य सबै सानातिना क्यासिनोहरु छाडेर मकाउ र लसभेगाजको सुपर क्यासिनोहरु हरेक मानिसले आफ्नो जीवनकालमा एकचोटी पुग्नै पर्छ जस्तो लाग्छ । किनभने ती क्यासिनो एवम् होटलहरु तेश्रो विश्वको मानिसहरुको कल्पनाभन्दा धेरै धेरै टाढाका कुराहरु हुन् ।

जुवाघरलाई बिदाइ गरेपछि फेरि ग्रान्ड अट्रियम, सातौँ तलामा पुग्छौं । जहाँ ‘ग्लासहाउस’ भन्ने ठूलो बार छ । हामी सुस्तरी हिँडेर त्यहाँ पुग्दा भर्खर भर्खर जाँड पिउने मानिसहरु त्यो भट्टीपसलमा भेला हुँदै गरेका देखिन्छन् । हुनत पानीजहाजको जाँडपसलहरु बेलायतको जस्तो ढिलो खोल्ने चलन छैन । बिहानको छ बज्दा नबज्दै खोलिहालिन्छ । किनभने रातभरि जाँड पिएकाहरु छुट्टी हो भनेर धङ्धङ्गी मेट्नको लागि एकनिन्द्रा सुतेर चाँडै यहाँ आउने गर्छन् अथवा कसैकसैले त बियरले नै मुख धुन्छु भन्दै एकाबिहानै आइपुग्छन् ।

हामी जुन भट्टीपसलको अगाडी उभिरहेका छौं । त्यसको ठीक देब्रेतिर पानीजहाजको मुख्य आतिथ्य कार्यालय (रिसेप्सन) रहेको छ । रिसेप्सनमा एकजना युवक र तीनजना युवतीहरु आ-आप्नो कम्प्युटर अगाडि काम गरिरहेका देखिन्छन् । थोरै अगाडि बढेर त्यहाँ पुग्दा रिसेप्सन बिल्कुल खाली देखिन्छ । त्यसैले म हिँड्दै हिँड्दै उनीहरुको नजिक पुगेपछि सबैजनालाई एकमुष्ठमा मध्यान्हको नमस्कार छ है भनेर आदरता प्रकट गर्छु । सबैले नमस्कार फर्काए पनि एकजना चिनियाँ मूलकी जस्ती देखिने बैनी ट्वाँ पर्दै टोलाएर हामीलाई हेरिरहन्छिन् । यसो हेर्दा होचो कदकी छिन् तैपनि मलाई उनी निक्कै मिजासिली जस्तो लाग्छ । हामीलाई देखेर उनी पहिले मुख फोर्न सक्तिनन् । म नै फोर्छु, “बैनी ! आराम हुनुहुन्छ ?”

“आराम छु । होइन ! हजुरहरु कहाँदेखि पाल्नु भाको होला ?” आश्चर्य मान्दै अङ्ग्रेजीमा प्रश्न गर्छिन् ।

जवाफ फर्काउने क्रममा, “बेलायतभन्दा धेरै टाढा बुद्ध जन्मेको देशबाट । त्यसैले विश्व शान्ति शान्ति भन्दै हिँडेका छौं,” छोरी मान्छे देखेर जिस्किन खोज्छु ।  

उनले मेरो कुरो सुनेपछि उनकी सहकर्मीहरुलाई’ “एकछिन् है,” भन्छिन् र उनी थोरै फुर्सदिलो भएर उभिरहेकी स्थानदेखि अलिक परतिर सर्दै सर्दै कुनातिर पुग्छिन् । त्यसपछि हामीसँग बोल्न थाल्छिन् ।

“आम्मै ! हो र ? म पनि तीन वर्ष अगाडी पोखरा घुम्न गाकी थिएँ नि,” त्यसपछि नेपाली भाषामा बोल्न थाल्छिन् ।

उनी नेपाली बोल्न थालेपछि पहिले उनी हामीलाई देखेर छक्क परेकी थिइन् । अहिले म उनी नेपाली बोलेको सुनेर उल्टो छक्क पर्छु, – “ए ! उसो भए तपाईको घर नेपालमा होइन रहेछ हगि ? खास घर चाहिँ कता हो र ?” फेरि सोध्छु ।

“इन्डिया हो नि । तैपनि म क्षेत्रीको छोरी हुँ । खस क्षेत्री क्या । अनि सुन्नोस् न मेरी नाम एन्जिलिना हो,” यसबेला थोरै स्वर तानेर जस्तो गरेर बोल्छिन् ।

“ए ! हजुर, हजुर । पानीजहाज यात्रामा यसरी हजुरसँग अचानक भेटघाट भयो । बैनी ! हामीलाई एकदम खुसी लाग्यो । अब हामी जान्छौं है । समय समयमा यहाँ रिसेप्सनमा आएर हजुरसँग भेटघाट गर्छौं नि है,” बिदा माग्दै त्यति भन्छु ।   

“हजुर, हो नि । तपाईहरुलाई भेटेर म झन धेरै खुसी भएकी छु । सुन्नोस् न म पानीजहाजमा काम गरेकी दुई वर्ष भयो । तर नेपाली यात्रुहरुसँग भेटेको यो पहिलोचोटी हो । फेरि भोलि बेलुकी स्टाभाङ्गर घुमिसकेपछि मलाई भेट्न यहीँ आउनु होला है ? किनभने हामीलाई तपाईहरुको कोठामा जान अनुमति छैन । भोलि तपाइईहरु यहाँ आउँदा म एक बोतल वाइन पनि ल्याइदिन्छु । यसरी पानीजहाजमा नेपाली मान्छे भेट्दा जतिको खुसी अन्त कहाँ मिल्छ र ?” त्यति बोल्दै गर्दा उनको स्वर मधुरो मधुरो हुँदै जान्छ ।

“बैनी ! हामी समय समयमा भेट्न त आइहाल्छौं नि तर वाइन साइन केही पनि ल्याउनु पर्दैन । किनभने हामी त्यति साह्रै धेरै मादक पदार्थ सेवन पनि गर्दैनौं,” भन्छु र त्यसपछि उनीसँग बिदा हुन्छौं ।

तर उनलाई यसरी बिदा गर्दै गर्दा मलाई पानामा नहर यात्रा गरेको खुब याद आयो । त्यसबेला थोम्पसनको मेजेस्टी पानीजहाजबाट यात्रा गरिरहेका थियौं । तारासँग त्यस दिनभरि पानामा सिटीको भ्रमण गरेर बेलुकीपख पानीजहाजमा फर्कँदा अचानक गोवा निवासी फूड तथा बेभरेज डाइरेक्टर फर्डिनान्डोले बीस वर्ष पानीजहाजमा काम गर्दा कहिले नभेटेको तर यस यात्रामा प्रथम पटक नेपाली पानीजहाज यात्री भेटेको भनेर एक बोतल बोलिन्जर सेम्पेन दिएको सम्झन पुग्छु । त्यस्तै केही वर्ष अगाडी तारासँग एमएसी ग्रान्डियोजा पानीजहाजदेखि रोम पुगेका थियौं । त्यसबेला चितवन निवासी ग्रान्डियोजाको तत्कालिन रेस्टुरेन्ट सुपरभाइजर राज गुरुङले पहिलो नेपाली पानीजहाज यात्री भनेर एक बोतल मर्लो वाइन उपहार दिएका थिए ।

आज नेपाली भाषी तर भारतीय नागरिक बैनी एन्जिलिना क्षेत्रीसँगको रमाईलो भेटघाटमा वाइन दिन्छु भन्नु भएकी छे । तैपनि हाम्रो लागि यस्तो दुःख नगरे हुने भन्ने मनमा सोच्तै सोच्तै थोरै अगाडि बढ्छौं । तर त्यसरी अगाडी बढ्दै गर्दा थाहै नपाई ‘द एभेन्यु सपिङ केन्द्र’ भित्र छिरिहाल्छौं । त्यहाँ छिरेपछि हाम्रो अगाडी थरिथरिका कपडा, झोला र गरगहनाहरुका डिजाइनर दोकानहरु देख्न सुरु हुन्छ । ‘के खोज्छस् कानो आँखो’ भने झैँ तारा र दया सपिङ सेन्टर पुगेपछि, “अब तपाईहरु दुईजना जाँड पिउनको लागि ग्लासहाउस बारमा फर्केर जानुहोला ? हामी दिदी बैनी यसो दोकानतिर घुमेर आउँछौं ।” भित्रै हृदयदेखि खुसी प्रकट गर्दै तारा त्यति बोल्छिन् ।

“ह, ह ! अब तपाईहरु खुरुक्कै फर्केर जानुहोस् ?” कान्छी सालीले दिदीलाई सहमत जनाउँदै हामीलाई जानि नजानि धेरै ठूलो अधिकार प्रयोग गरेर बारमा जान भन्छिन् । 

“आँ भैहाल्यो,” मनमनै भनें र यादुसँग, “अब त्यसै गरौं है त,” भन्छु । उनले मुन्टो हल्लाएर मेरो कुरालाई सहमति जनाइ हाल्छ । त्यसपछि सर्लक्कै एकसय अस्सी डिग्री फर्केर ग्लासहाउस भट्टीपसलमा पुग्छौं । तर त्यहाँ पुग्दा अघिल्लो दिन बेलुकी डिनर खाँदा एउटा टेबलमा बसेर सँगसँगै खाएको आइरिस मित्र लियम ओ-ब्राइन र उनकी धर्मपत्नी जेशिका ओ-ब्राइनसँग पुनः भेटघाट हुन्छ । हातमा तुर्लुङ्गै एउटा प्लाष्टिकको झोला बोकेर एक्लै उभिरहेको लियमलाई देखेर, – “महोदय ! माल समान त निक्कै धेरै खरिद गर्नु भो कि के हो ?” बुढोमान्छेलाई स-सम्मानपूर्वक सोध्छु । उनले प्रति उत्तरमा, “होइन, होइन । मैले पानीजहाज यात्राको लागि सरसमान मिलाउने क्रममा मोजाहरु लगाउन भुसुक्कै बिर्सेछु । यहाँ आएर लगाइरहेको मोजा धुनको लागि निकालेर फालेँ र नयाँ लगाउनको लागि खोज्दा त एकजोर पनि मोजा छैन । बुढियालाई यसो हेरेँ, उनले मेरो गल्ती होइन भनिन्,” हाँस्दै हाँस्दै आइरिस बूढो त्यति फलाक्छन् ।

हामी जाँड किन्नको लागि यादुसँग बारतिर अगाडी बढिरहेका हुन्छौं । तर उनको कुरो सुनेपछि, – “यसो केही पिएर मुख जुठो गरौं कि कसो ? हुनत यहाँ बुढो आर्थर गिनिस पाउँछ कि पाउँदैन ?” गिनिस बियर फैक्ट्री डब्लिनमा पहिले नै पुगेको हुनाले हल्का रमाईलोसहित अनुरोध गर्छु ।

“किन नपाउनु, पाउनु त । गिनिस बियर संसारको कुन ठाउँ नपुगेको होला र ? मैले सुनेको छु, नाम्चे बजारमा धरी पुगेको छ रे ? अब त्यहाँसम्म पुगेपछि अरु ठाउँ के पुग्दैनथ्यो । कुरै सकियो नि, होइन र ? अँ तर अहिलेलाई बियर ठीक्कै छ । ऊ हेर्नोस् त । जेशिका वाइन लिन गाकी छिन् र आफ्नो पालो पर्खेर बसेकी छिन्,” अनुहार तीन चाउरी बनाएर उनकी श्रीमती देखाउँदै त्यति भन्छन् ।

“ल ल ! उसोभए ठीक छ । भेटघाट गर्दै गरौँला नि है,” भन्दै उनीसँग बिदा हुन्छौं ।

ग्लासहाउस बारमा जाँड किन्ने हाम्रो पालो आएपछि यादुसँग एक एक गिलास वाइन लिन्छौं । त्यसपछि अलिकति कुनामा तर झ्यालको छेऊमा गएर थपक्कै बस्छौं । हाम्रो ठीक दाहिनेदेखि पियानोको मधुरो धुन आइरहेको देख्न र सुन्न दुवै सकिन्छ । पियानोबादक एकदम पातली छिन् र उनले शरीरमा नीलो जामा उनिरहेकी छिन् । उनी पानीजहाजमा पियानो बजाउनकै लागि नेपल्स, इटालीबाट आएकी हुन् भन्ने कुरो मैले हिजो बेलुकी नै चाल पाएको थिएँ ।  

आरामसाथ सोफामा बसेपछि म उनलाई घरिघरि हेर्छु तर ठीक सोहीबेला उनले मलाई हेरिरहेकी जस्तो आभाष हुन्छ । तर उनले पियानो बजाउँदै बजाउँदै मलाई हेरेपछि हल्का लज्जाबोध हुन्छ । त्यसैले पियानोको धुन सुन्दै सुन्दै सिसादेखि बाहिर हेर्न थाल्छु । बाहिर सामुन्द्रिक छालले पानीजहाजलाई छुँदै भाग्दै छुँदै भाग्दै गरेको दृश्य हेर्न मलाई झन् रमाईलो लाग्छ । तर यसरी छाललाई क्रमशः हेरिरहँदा तिनै पियानोबादकको सहर नेपल्स तारासँग पहिले नै पानीजहाज यात्रादेखि पुगेका थियौं । त्यसैको झल्झली याद आउन थाल्छ ।  

हामी नेपल्समा पुग्दा पानी बेस्सरी परिरहेको थियो । आँ…जतिसुकै पानी परे पनि हामीले पोमपेइ जाने त्यसदिन निधो गरेका थियौँ । त्यसैले पानीजहाजदेखि बाहिर निस्कने बितिक्कै एउटा ट्याक्सी लिन्छौं र पोमपेइतिर सुइकिइँ हाल्छौं । किनभने पोमपेइ इटालीको एउटा ऐतिहासिक स्थल हो ।

यस सहरको निर्माण रोमनकालमा भएको थियो । तर दुर्भाग्यवस आजभन्दा लगभग २ हजार वर्ष पहिले अथवा सन् ७९ सालमा सहरको नजिकै रहेको भुसुभियस पर्वतबाट निस्केको तातो खरानीले सहर करिब करिब २० फुट जति पुरिएको थियो । डाँडाको टुप्पा दुई फ्याक भएर निस्केको खरानीले सर्लक्कै सहर पुरिँदा झन्डै २ हजार मानिसहरुको एउटै चिहान भएको थियो । ती मानिसहरुको मृत्यु जस्तो अवस्थामा भएको थियो सोही अवस्थामा आकृति बनाएर अहिले पनि त्यहाँ राखिएका छन् । जस्लाई नजिकै पुगेर हेर्दा हरेक मानिसको मुटु अहिलेसम्म छियाछिया हुने गर्छ ।

बिक्षिप्त मुद्रामा तिनै पोमपेइको दुखान्त कथा सम्झँदै बिर्सदै गर्दा दिउँसोको समय १ बजिसकेको रहेछ । एकछिनपछि हाम्रो नजिक एकजना बेयरा आउँछ । उनले वाइन अलिक पिउनु हुन्छ कि भनेर सोध्छ । मैले होइन अब हामी जाने भन्छु । मेरो कुरो सुनेर उनले टेबलमा आराम गरिरहेका खाली गिलासहरु उठाएर लैजान्छन् । ताराहरुसँग छुटेको लगभग ४० मिनेट जति भएपछि उनीहरु हामी भएको स्थानमा आइपुग्छन् ।

क्रमशः

भीम राई

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री