विभेदको ‘भुत्‍तेगाठो’ खुस्काउने प्रयासमा नेपाली ‘भुत्‍तेगाठो’

हरिश्चन्द्र नेपालीद्वारा लिखित एक कथाकृति हो । लेखकले कथा भने पनि यसको लम्बाइले गर्दा ‘भुत्‍तेगाठो’ एउटा उपन्यासजस्तो लाग्छ ।

साहित्यमार्फत सामाजिक विभेदको भुत्‍तेगाठो खुस्काउने प्रयास सराहनीय छ । पुस्तक पठनपश्चात् सङ्क्षिप्तमा आफ्नो पाठकीय टिप्पणी प्रस्तुत गर्नु यस लेखको ध्याय रहने छ ।काले अर्थात् राज र प्रेमा कथाका मूल पात्र हुन् ।

यी दुई प्रेमी-प्रेमिका हुन्छन् । अन्य पात्रहरूमा कालेको साथी रामे, प्रेमाकी साथी विमला, कालेका बा भुत्ते पण्डित, आमा र दाजु पनि छन् । प्रेमाकी सानीआमा, बा र आमाको पनि कथामा उल्लेखनीय भूमिका छ ।

कथामा गाउँ र सहरको परिवेश झल्कन्छ । सुरुमा यी स्थान बेनाम लाग्छन् । पछि पोखरा सहरको परिदृश्य भित्र्याइन्छ । कालेको घर गाउँमा पर्छ । प्रेमाकी सानीआमा पनि गाउँकै निवासी हुन्छिन् । प्रेमा भने आफ्ना बाआमासँग सहरमा बस्छे ।

मध्यान्तरतिर काले केही महिनाका लागि दिल्ली गएको हुन्छ । अलि पछि प्रेमा पनि लाहुरेसँग विवाह गरेर इन्डिया जान्छे ।

घटनाकालको कुरा गर्नुपर्दा केटाकेटीको प्रेम चलिरहेको बेला फोन, मोबाइल नभएको युग हुन्छ । पछि केटाकेटी आ-आफ्नै तरिकाले विवाह गरेर बुढाबूढी भएपछि फेसबुकको जमाना आएको दृष्टान्त प्रस्तुत गरिएको छ ।

स्कुलको बिदामा सानीआमालाई भेट्न प्रेमा सहरबाट गाउँ जाँदा कथाको घटना सुरु हुन्छ । गाउँमा उनको कालेसँग भेट हुन्छ । अनि, कालेले प्रेमालाई आफ्नो हृदयमा सजाउन सुरु गर्छ ।

तर, अपरिपक्व युवा काले लाजले प्रेमासँग खुल्न सक्दैन । एकतर्फी प्रेममा चुर्लुम्मै डुब्न सुरु गर्छ । मुटुको धड्कन बनिसकेकी प्रेमाबारे कालेले एकदिन हितैषी मित्र रामेसँग कुरा गर्छ ।

रामायणमा हनुमानले रामलाई साथ दिएसरी, काले र प्रेमाको सम्बन्ध विस्तारमा, रामेको असीम साथ र सहयोग रहन्छ ।

पत्र लेखेर प्रेमासँग प्रेमको प्रस्ताव राख्ने सल्लाह दिन्छ ।अर्कोपल्ट प्रेमा सानिमालाई भेट्न पुनः गाउँ जान्छे । त्यही मौका पारेर रामेको मध्यस्थतामा कालेको पत्र प्रेमाको हात लगाइन्छ ।

उक्त प्रेमपत्रले प्रेमालाई चुम्बकजस्तै कालेप्रति आकर्षित तुल्याउँछ । अनि, दुवैको प्रेमसम्बन्ध लैलामजनुको जस्तो झाँगिन सुरु गर्छ । त्यसपछि त दुवैले पत्र लेखालेख गर्छन् । तर, त्यसको नतिजा फलदायी हुँदैन । तिनीहरूको प्रेम सम्बन्धको हल्ला डढेलोसरी गाउँभरि सल्किन्छ ।

यो कुरा दुवैका बाआमाको कानमा पनि पुग्छ । प्रेमा तल्लो जातकी धोवी र काले उपल्लो जातको ब्राह्मण भन्ने दुवैका अभिभावकलाई थाहा हुन्छ ।

त्यसपछि कालेका बाआमा प्रेमाको घर गएर छोरीले कालेसँग प्रेम नगर्न सल्लाह दिन्छन् । इन्डियाबाट छुट्टीमा आएको कालेको दाइले पनि धम्कीपूर्ण भाषामा प्रेम सम्बन्ध विच्छेद गर्न चेतावनी दिन्छ । त्यसपश्चात् प्रेमाका बाआमाको मनमा डर पैदा हुन्छ र छोरीसँग कुरा राख्छन् । उता कालेको बाआमाद्वारा कालेलाई पनि तल्लो जातको युवतीसँग यस्तो अपाच्य सम्बन्ध नराख्न सम्झाइबुझाइ गरिन्छ । तर, समाजले घृणा गरे पनि प्रेम सम्बन्धलाई विवाहमा रूपान्तरण गर्न काले र प्रेमा कसमै खान्छन् ।लुकीछिपी प्रेमिल समय बिताउँदै गर्दा तिनीहरूको सम्बन्धमा एउटा मोड आउँछ ।

प्रेमाले कालेले छाडेको सपना देख्छे । नभन्दै, एसएलसी दिएपछि काले दिल्लीतिर लाग्छ । खबरै नगरी एकाएक हराएपछि प्रेमाले ठान्छे, कालेले धोका दियो । त्यही अवधिमा प्रेमाको बाआमाको भाञ्जा पर्ने लाहुरे इन्डियाबाट छुट्टीमा आउँछ ।

त्यसै मौका पारेर प्रेमाको इच्छाविपरीत लाहुरेसँग विवाह गरिदिन्छन् । अनि, प्रेमा लाहुरेकी श्रीमती बनेर इन्डिया जान्छे ।काले दिल्लीबाट फर्केपछि यो कुरा थाहा पाएर पागल हुन्छ । अनि, गाउँबाट पोखरा झरेर क्याम्पस भर्ना हुन्छ । जागिर खान्छ ।

आफ्नै घरगृहस्थी जमाउँछ ।बीस/बाइस वर्षपछि फेसबुकमा काले र प्रेमाको भेट हुन्छ । नोस्टाल्जिक बन्दै म्यासेन्जरमा घण्टौँ कुरा हुन थाल्छ । नियतिको खेल सम्झेर आ-आफ्ना बाँकी जीवनको घडीका सुईहरूलाई चलायमान राखेर अगाडि बढछन् ।यो त भयो कथाको घटनाक्रम । अब यसको विशेषता केलाउनु पर्दा सरल भाषा र शब्दहरूमा कथा बगेको पाइन्छ । काले, रामेजस्ता रैथाने नाम धारण गरेका पात्रको चयन गरिएको छ । क्लिस्ट शब्द प्रयोग गरेर कथालाई नबुझ्ने बनाइएको कतै पनि छैन । प्रेमाले आफ्नी साथी विमलासँग गरेको एउटा संवाद यस्तो छ–प्रेमाः विमला, के गर्दै हो ?विमलाः ए प्रेमा, कहिले आइस् त गाउँबाट ? अनि के छ त कालेको खबर ? कालेलेलाई भेटिस् त ?प्रेमाः अँ भेटेँ ।नेपाली समाजमा विद्यमान छुवाछूतको मुद्दामा केन्द्रित छ काले र प्रेमाबीचको प्रेमकथा । युवावस्थामा उत्पन्न हुने केटाकेटीको चञ्चल कामुकताको चित्रण पुलकित लाग्दो छ ।

कथा पढ्दै जाँदा स्थानीय लोकशब्दहरूको चयनले सेतीको उर्लंदो भेल होइन, फेवातालको शान्त तरङ्गजस्तो लाग्छ । प्रदान गर्न खोजेको सन्देश भने आरनको आगोजस्तो छ तर, गर्मीमा पोल्नेगरी हैन कि जाडोमा सेक्नेगरी ।छुवाछूत र जातभातको वर्गीकरण नेपालको विकासका लागि कलङ्क हो ।

यस्तो ध्रुवीकृत समाज पनि सद्भावका साथ एउटै भूगोलमा मिलेर बस्न सक्नु भनेको पीडित वर्गको संयमता र धीरताले हो ।

यस्ता सामाजिक मुद्दालाई राजनीतिक, धार्मिक र आर्थिक दृष्टिकोणबाट पनि उजागर गर्न सकिन्थ्यो । तर, नेपालीले कथामार्फत सबैले मन पराउने विषय ‘प्रेम’को रङ पोतेर यस्ता कुसंस्कारलाई कोट्याएर सामाजिक परिवर्तन ल्याउने प्रयास गरेका छन् ।

वियोगान्त प्रेमकथा भएकाले युवापुस्ताले यसलाई मन पराउन सक्छन् । पीडित पात्र दलित वर्गको भएकाले जातीय मुक्तिका लागि सबै दलित समुदायले यो पुस्तक पढ्नैपर्छ जस्तो मलाई लागेको छ । पीडा दिने पात्र माथिल्लो वर्गको भएकाले समाजमा समावेशीतालाई प्रवर्द्धन गरेर देश विकासमा लाग्नुपर्ने चेतना जागृत गर्न उच्च वर्गका समुदायले पनि यो पुस्तक पढ्नैपर्ने हुन्छ ।यसका सबल पक्षका साथसाथै केही दुर्बल पक्षको पनि पाठकलाई अनुभूति हुनसक्छ ।

पुस्तक पातलो छ । तर, भन्दैमा सुम्निमा, तीन घुम्ती, शिरीषको फूल पनि पातलै पुस्तक हुन् । बेजोडको कथावस्तु हुँदाहुँदै प्रस्तुति र शब्द चयन अझै बलिया भइदिएको भए हुने भन्ने लाग्छ । उदाहरणका लागि कालेलाई ‘राज’ र रामेलाई ‘राम’ भनेर प्रस्तुत गरिएको भए प्रेमाको नामसँग मेल खान जान्थ्यो र भाषागत रूपमा कथा अलि स्तरीय ठानिन्थ्यो ।परिवार र समाज तगारो बनेर तेर्सिए पनि काले र प्रेमाको प्रेम सम्बन्ध नतोडिएर विवाहमा परिणत भएको देखाइनुपर्ने हो ।

एक सफल दाम्पत्य जीवन जिएको गराउन सकेको भए कथा झनै प्रभावशाली बन्थ्यो भन्ने मलाई लागेको छ ।काले र रामे दुवै युवामा समाजमा विधमान कुसंस्कार परिवर्नको चेतना छ । यस्तो अभियानलाई गैरदलितद्वारा नै प्रारम्भ गरिनुपर्छ भनेर कथाभित्रको संवादमा बारम्बार आइरहन्छ । तर, प्रेमा र विमलाजस्ता युवती पात्रमा जातीय मुक्तिको चेतना सिञ्चित छ जस्तो लाग्दैन । यी दुईबीच पनि समाजबाट छुवाछूत मुक्त हुनपर्छ भन्नेबारे संवाद राखिएको भए महिला यस विषयमा चेतनशील छन् भन्ने सकारात्मक सन्देश जान्थ्यो ।

समग्रमा कथा सन्देसमूलक र पठनीय छ । नेपालीलाई भविष्यमा यस्तै सशक्त लेखनको हार्दिक शुभकामना !

(नोभेम्बर २०२४, फोक्सटन, बेलायत)

प्रतिक्रिया

सम्बन्धित सामाग्री