पानीजहाजको सातौँ तलामा अवस्थित द एभेन्यु सपिङ केन्द्रबाट तारा र दया हाम्रो छेउमा आउँदै गर्दा, – “बिहानीको खाजाले अघि नै बिदा दियो । अब खाना खान जाऊँ कि के गरौं होला ?” मेरो उत्तरको प्रतीक्षासहित ताराले लुते प्रश्न गर्छिन् ।
मलाई रिस नउठे नि उठेको झैँ गर्छु र जवाफमा, “हो, हो ! कुरो एकदम सही गर्यौं । बरु कुन रेष्टुराँ जाने तिमीले नै भन्छौ कि ?” थोरै कड्किएर भन्छु ।
“सोह्र तला नै उक्लनु पर्छ होला ?” यादुले परिस्थिति साम्य बनाउने उद्देश्यले त्यस्तो प्रस्ताव गर्छन् ।
उनको कुरो सुनेर, “ल, ल ! त्यसै गरौं,” ताराले खुशीसाथ यादुको कुरोमा सहमत जनाइ हाल्छिन् ।
उनीहरुको कुरो सुनेपछि म सबैभन्दा अगाडि हिँड्छु र नजिकै रहेको लिफ्टको अगाडि पुग्छु । म हिँडेको देखेपछि उनीहरु पनि मेरो पछिपछि आउन थाल्छन् । हामी लिफ्टदेखि सोह्रौँ तलामा पुग्छौं र होराइजन बफेमा पसेर मध्यान्हको लन्च खान्छौं । दिउँसोको समय छ र पानीजहाज बाहिर मज्जाले घाम लागिरहेको देखिन्छ । यस्तो मौसममा तातोतातो लन्च खाएपछि सबैजनालाई गर्मी भएको महसुस हुन्छ ।
“हैट गर्मी असाध्यै भो हगि ?” बिहानदेखि शरीरमा लगाइरहेको स्विटरलाई खोल्दै त्यसो भन्छु ।
“जम्मै मान्छेहरु एउटै समयमा खाना खानको लागि आइएछ । त्यसैले मान्छेको भीडभाड पनि बाक्लै छ,” दुइटै टेबलमा हात राखेर यादु बोल्छ ।
“अझै ग्रीन टी पनि नखाइ नहुने तपाईलाई,” मेरो हरियो चिया देखेर तारा फत्फताउन थाल्छिन् ।
“कान्छी ! अब एकछिन पौडी खेलौँ है ? कि तिमीलाई खेल्न आउँदैन् र ?” सालीलाई सानो स्वरमा भन्छु ।
“कस्तो त भेना ! बेलायती सिपाहीको छोरी हो ! किन नआउने ? बरु बाँकटे खेलौँ न । तपाईलाई जितिदिनु सक्छु होला ?” सानो सानो पिपलपाते ओठ फर्लक्कै पल्टाएर त्यति भन्छिन् ।
“लु लु कोठामा गएर पौडी खेल्दा लगाउने कट्टुहरु लिएर आउनुस् त । तपाई एकदम छिटो खाल्को मान्छे हुनुहुन्छ ? अनि तौलियाहरु ल्याउन पर्दैन है । यतै दिन्छन्,” ताराले हुकुम दिन्छिन् ।
नभन्दै ताराको हुकुम मानेर यादुसँग आ-आफ्नो कोठामा जान्छु र स्विमिङ ट्रङ्कहरु लिएर मिलिक्कै आउछौं । हामी सोह्रौँ तलामा छौं र सोही तलाको इन्फिनिटी पौडी पोखरीमा केहीबेर डुबुल्की मार्दै मार्दै पौडी खेल्न थाल्छौं । पानीजहाजको सोह्रौँ तल्लादेखि पौडी खेल्दै खेल्दै समुन्द्रको मसिना मसिना ज्वारभाटा हेर्न एकप्रकारले रमाइलो नै हुन्छ । अझै यहाँको राम्रो पक्ष के छ भने सोह्र तलादेखि पन्ध्र र चौध तल्लामा अन्य मानिसहरु पनि पौडी खेलिरहेको रमाइलो दृश्य देख्न सकिन्छ ।
पौडी पोखरीको ठीक पछाडि मज्जाले घाम तापेर बस्ने स्थान रहेको छ । तिनै स्थानमा अर्ध नग्न कुइरेहरु मध्यान्हको घाममा सेता छाला डढाएर बङ्लङ्गै सुतिरहेको रमाइलो दृश्य देखिन्छ । पौडी खेलिसकेपछि हामी सोही स्थानमा घाम ताप्नको लागि जान्छौं र उनीहरुकै नक्कल गर्छौं । तर त्यसरी बङलङ्गै सुत्न मिल्ने लामा लामा कुर्सीहरुमा थपक्क बसेको केहीबेरमा हातमा एउटा किस्ती र बारको मेनु बोकेर एकजना बेयरा हाम्रो नजिकै आउँछ । उनी हाम्रो नजिक आउने बितिक्कै, – “महाशय ! यहाँहरुलाई केही टक्र्याऊँ कि ?” सानो स्वरमा सोध्छ ।
उनको कुरो सुनेपछि हामी एक अर्कामा केही पिउने कि नपिउने भनेर खासाकखुसुक गर्न थाल्छौं । तर उनले हामी नेपाली भाषा बोलेको सुनेर, – “हजुरहरु नेपाली हो र ? म पनि भारतीय नेपाली हो नि,” भन्छन् ।
त्यसपछि मेरै मुख चिलाउँछ, “आम्मै ! ए हो र ? अनि भाइको घर कहाँ हो नि ?”
“दार्जिलिङ,”
“कहाँनेर ?”
“भुटिया बस्ती,”
“ए ! प्रकाश कोबिदको गाउँले पो पर्नु भयो छ । मोती दिएर आँशु बटुले हार भएन जित – हाँगाबाट खसेको फूलले भुल्न सकेन प्रीत । समर्पण नानालाई (अर्को जन्म) । कति मीठो छ, हगि भाइ । अनि हजुरको नाम के हो ?”
“अनोज राई,”
“ए कुन राई हो ?”
“चाम्लिङ ?”
“कुन चाम्लिङ हो र ?”
“खेरेसुङ छा,”
“के सामै हो नि ?”
“सिबिली ! खै को नि के के भन्छ भन्छ ?”
“ए ! ल ल ठीक छ । तैपनि खोटाङ र दार्जिलिङको राई भाइ नर्वेमा भेट भयो । एकदम खुशी लाग्यो ।”
त्यसबेलासम्म दुवै हात पछाडि बाँधेर मेरो सामु सुरिलो पोजिसनमा अनोज खडा भैरहेको छ । त्यति बोलिसकेपछि म उनको शिरदेखि पाउसम्म एक सर्को हेर्छु । सम्भवत अनोज मेरो छोराको दामले हुनुपर्छ । यदि होइन भने पनि उनको उमेर मेरो छोराभन्दा त्यति धेरै फरक छैन होला ?
मैले समयमा नै बेलायती राईफल समातेर विभिन्न युद्धमा भाग नलिएको भए सायद मेरो छोराले बेलायतको प्रतिष्ठित विश्वविद्धालयदेखि शल्य चिकित्सक हुने अवसर के पाउँथ्यो होला र ? यदि मैले मेहनत र परिश्रम नगरेको भए अहिले अनोज राईको स्थानमा जेसन राई हुन्थ्यो होला ? र, हातमा एउटा किस्ती र मेनु बोकेर हिँड्नु पर्थ्यो होला ? तर जेसनको सट्टामा अनोजले पनि अवसर पाएको भए उनी पनि जेसनभन्दा के कमी हुन्थे होला र ? म यस्तै यस्तै हुने नहुने के के सोचिरहेको हुन्छु । तर यतिक्कैमा अनोज र मेरो वार्तालाप सुनेर ताराले, –
“बिचरा ! भाइलाई हुने नहुने धेरै कुरो केही नसोध्नु न हौ । बरु भाइ ! खै यहाँ के के पिउन पाइन्छ । मेनु हेरौं हेरौं ?” भर्खरसम्म पानीमा भिजेको ओठ पल्टाएर हल्का मुस्कानसहित अनोजलाई मेनु माग्छिन् । मेनु हातमा परेपछि उनले एक झलक मेनु हेरेर, – “म त एक गिलास पिनाकोलाडो पिउँछु । अनि दया के पिउँछौं ?” भन्छिन् ।
“म त खै के पिउनु हो ?” यादुतिर फर्केर धर्मसंङ्कटमा परेकी जवाफ दिन्छिन् ।
दयाको कुरो सुनेर यादुले उनको श्रीमतीको लागि पनि एक गिलास ‘सेक्स अन द बिच’ र आफ्नो लागि एक पाइन्ट बियर मगाउँछ ।
मध्यान्हको समय भएतापनि पानीजहाजको सोह्र तलामा मन्द मन्द नर्वेजियन बतास चलिरहेको छ । पानिजहाजदेखि मुनि हेर्दा आँखाले जम्मै उत्तरी सागर सर्लक्कै निल्न मिल्छ । दुवै खुट्टा मज्जाले तन्काएर सुत्न मिल्ने लामो खाले कुर्सीमा बङलङ्गै उतानो परेर म सुतिरहेको छु । अब ड्रिङ्क्स माग्ने मेरो पालो आएपछि, –
“भाइ ! यहाँ कुन कुन प्रकारका मक्टेलहरु पिउन पाइन्छ ? जाबो एक गिलास मक्टेल पिउनको लागि पनि केको मेनु हेरिरहनु हौ ?” मलाई मेनु हेर्न अल्छि लागेर त्यसो भन्छु ।
“दाजू ! सबै खाले छ हजुर,” अनोज मेरो आँखामा आँखा जुधाएर बोल्छ ।
“त्यसो हो भने मेरो लागि एक गिलास भर्जिन मोहितो ल्याउनोस् है,” भाइसँग अनुरोध गर्छु ।
हामी चारैजनाले पेयपदार्थ मागिसकेपछि उनी हामीदेखि सुस्तरी हिँड्दैहिँड्दै बारतिर जान्छन् र एक्कैछिनमा बारभित्र बिलय भइहाल्छन् । हाम्रो दृष्टिदेखि उनी बिलय भएपछि हामी सबैजना चुपचाप बस्छौं । तर म चाहिँ अनायासै दार्जीलिङ पुगेको मेरो समयलाई स्मरण गर्न थाल्छु । चौरस्तादेखि अलिक मुन्तिर हेर्दै जाँदा अलिअलि मात्र देख्न सकिने उनको गाउँ भुटिया बस्तीभन्दा मलाई गुम पहाडको यसबेला खुब याद आउँछ ।
भनिन्छ – दार्जिलिङ पहाडको रानी हो । तर तिनै रानी दार्जिलिङलाई दार्जिलिङ होइन, उहिले दोर्जिलिङ भनिन्थ्यो । र, तिनै दोर्जिलिङमा मेरो बाबु हरेक हिउँदहरुमा पैसा कमाउनको लागि बुईपा, खोटाङदेखि त्यहाँ जानु हुन्थ्यो । उहाँले त्यहाँ पुगेर गुम पहाडको बाटो खन्दा ढुङ्गा बोकेको, गिटी कुटेको, सिमेन्ट मुछेको र पर्खाल लगाएको जीवन कथा म सानो छँदा पटकपटक सुनाउनु भएको थियो ।
“छोरा ! मैले तिमीलाइ हुर्काउनको लागि मिरिकदेखि दार्जिलिङको हरेक बस्ती बस्तीहरुमा आँशु, पसिना र रगत बहाएको छु,” भन्नु हुन्थ्यो ।
उहाँको त्यो भनाइ सम्झेर म थोरै भावुक बन्छु । तर उहाँले यस धर्तीलाई सँधै सँधैको लागि छाडेर जानु भएपश्चात म दार्जिलिङ जान्छु र उहाँले टेकेर छाड्नु भएको पाइतालाको हरेक डोबहरुमा उहाँलाई सम्झँदै सम्झँदै त्यहाँ पुगेर टेकेको याद गर्छु । चाहे त्यो टिस्टा र रङ्गीतको किनारमा आरा काट्दा होस् वा काठ बोक्दाको सम्झना होस् । म सबै सबै सम्झन्छु । त्यसपछि उहाँले जङ्गलमा अस्थायी गोठ बनाएर बस्नु भएको स्थानहरुको खोजी गर्दै गर्दै जोरथाङ, नाम्ची अनि गान्तोक सिक्किमसम्म पुगेको याद गर्दा म झन भित्री हृदयदेखि नै भावुक बन्छु । तर अचानक अनोजले मेरोसामु आएर, “दाजू ! भर्जिन मोहितो,” भनेको सुन्दा झसङ्गै झस्किन्छु ।
बेलुकीको समय ठीक ६ बजेको हुन्छ । हामी कप्तानसँगको रात्री भोज (क्याप्टेन्स नाइट) को लागि ग्रान्ड अट्रियममा झरेका छौँ । अरु पानीजहाजमा भए यतिबेला सित्तैमा स्याम्पेन उपलब्ध गराउँथ्यो । तर आज पिएन्डओले किनेर खानु पर्ने नियम बनाएको रहेछ । पहिले यसै कम्पनीको अर्को पानीजहाज ब्रिटानियादेखि यात्रा गरेका थियौं । तर त्यसमा यस्तो नियम छँदै थिएन । त्यसैले बारमा पुगेर एक एक गिलास स्याम्पेन किन्छौ । र, एकछिनपछि हात हातमा तिनै स्याम्पेनको गिलास बोकेर रात्रीभोजको लागि कोरल रेष्टुराँमा पुग्छौं ।
जेम्स बोन्डको पहिरनमा र उनको जस्तै अभिनय गर्दै गर्दै पानीजहाजको रात्रीभोजमा जाँदा कोरल रेष्टुँरा अन्य समयभन्दा बहुत राम्ररी सजाइएको देख्छौं । यस प्रकारको रात्रीभोज प्रायः गरेर एक हप्ते क्रुज यात्रामा एकचोटी र दुई हप्ते क्रुज यात्रामा दुईचोटी हुने गर्छ । तर धेरैजसो रात्रीभोजहरु पानीजहाज कम्पनीहरुले सागरको दिन (सि डे) मा पार्ने गर्छन् ।
खास गरेर यो रात्रीभोज खाने वा पिउनेभन्दा पनि उत्कृष्ट पहिरन गर्ने भोजभन्दा त्यति फरक पर्दै पर्दैन । किनभने यस रात्रीभोजमा छोरा मानिसहरुले सेतो सर्ट, कालो रङ्गको धनुष टाई, कालै कोट र पतलुङ अथवा त्यसलाई टोक्सेडो वा डिनर ज्याकेट (डिजे) जे भन्नुहुन्छ, त्यो लगाउनु पर्छ । तर डिजे साथमा बोकेको छैन भने लाउन्ज सुट पनि पहिरन पाइन्छ । छोरी मानिसहरुले आफ्नो जिउको अगाडिको भाग छाती र पछाडिको भाग ढाड जति खोलिएको लुगा लगाए पनि केही फरक पर्दैन तर जामा वा सो सरहको कपडाले घुँडाभन्दा मुनिको भागसम्म छोपिएको हुनुपर्ने नियम छ ।
रेष्टुराँमा पुगेको केहीबेरमा हातमा जाँडको र खानाको मेनुहरु बोकेर दुईजना बेयराहरु हाम्रो सामु आउँछन् । मेनुहरु हातमा परेपछि म चाहिँ अलिक छिटो खालको मान्छे छु । त्यसैले एउटा साल्मोन माछा मगाइ हाल्छु । तारा र दयाले आजपनि गोरुको मासु नै खाने विचार लिन्छन् । यादुले, – “मचाहिँ आज भेडाको पाठोको मासु (ल्याम्ब स्याङ्क) नै बजाउनु पर्यो,” भन्छन् ।
“हो, हो ! भेडाको पाठोको मासु मलाई नि मीठो लाग्छ । तर यो ताउपु ताल, न्युजिल्याण्डको किनारतिर चर्ने ल्याम्व त अवश्य होइन होला ? सायद यो वेल्सको ब्रेकन बिकनतिर चरी हिँड्ने लामपुच्छ्रे भेडाको बच्चाको मासु होला ?” भन्छु ।
तर आजभोलि गोरुको मासु खान छाडेको देखेर, – “भेना ! साँच्ची तपाइँले गोरुको मासु खान छाड्नु भाको हो र ?” सानो स्वरमा सालीको मुख खोलिन्छ ।
“अहँ ! खाँदिनँ त,”
“कति भो र ?”
“थुप्रै भयो नि ?”
“किन ? बिसाउँछ हो ?”
“होइन, कान्छी ! कुरो कसो हो भने चिकित्सकहरुले रातो मासु स्वस्थको लागि अति हानिकारक छ भनेर जहिले नि पाठ पढाइरहेका हुन्छन् । त्यही भएर हो । हुनत खास खासमा मलाई पशुपंक्षीको हत्या गर्न पटक्कै मन लाग्दैन । जिन्दगीमा अहिलेसम्म कुखुराको चल्ला मारेको रेकर्ड छैन – तिम्रो कसम । पहाडमा शिर भाले काट्ने पनि तिम्रै नाना नै हो । म त सक्त्तै सक्त्तिनँ, के सक्थेँ र ? बरु शाकाहारी बन्छु भनेर दशकौँ अगाडि तिम्री नानालाई भनेको थिएँ । उनले – भान्सामा जे पाक्छ त्यो खाने हो, यदि होइन भने मासु नपकाउने अर्की बिहे गर्ने हो । भनेको सुनेपछि म जाबोले दुई बिहे गर्नु भनेको मर्नुसरह हो भन्ने सम्झेर मासु खान छाडेको छैन ।”
“छ्या ! यो भेना पनि । खालि उठ्ता बस्ता बिहेको कुरो गर्नु हुन्छ । अब थपक्कै छोराको लागि बुहारी खोजी दिनुहोस् । अनि जुवाई पनि छोरीको लागि । नानीहरु त्यत्रो त्यत्रो भैसक्यो ?”
“मैले गर्ने हो र बिहे ? जस्ले गर्ने हो उसले नै खोज्ने हो ?”
त्यसपछि सालीसँग एकछिन बोल्दै बोल्दिनँ । बरु खाना खाइसकेपछि हामी आफ्नो आफ्नो कोठातिर लाग्छौं । त्यतिबेला पो कप्तानसँग रात्रीभोजको लागि स्याम्पेन पिउने कुपन बिस्तारामा देख्छौं । अघि नै स्याम्पेन पनि पिइयो, भोज पनि खाइयो । अब यत्रै सित्ती भन्छौं र मज्जाले निन्द्रादेवीको शरणमा पर्छौं । निक्कैबेर सुतेपछि अब बिहान भयो होला भनेर आँखा खोलेर हेर्दा पानीजहाजमा रहेको हाम्रो ‘इनसाइट रुम’ चकमन्न अँध्यारो छ ।
तारासँग हामी तिनै कोठामा मज्जाले आराम गरिरहेका छौं । पानीजहाजको भाषामा इनसाइट रुम भन्नाले सबैभन्दा सस्तो कोठा हो है भन्ने बुझ्नु पर्छ । जुन कोठामा एउटा पनि झ्याल राखिएको हुँदैन । केवल कोठाभित्र पस्न र निस्कनको लागि एउटामात्र ढोका हुन्छ । हामी तिनै कोठालाई स्वर्गीय कोठा भनेर सुतिरहेका छौं ।
त्योभन्दा अलिक गतिलो कोठालाई ‘आउट साइट रुम’ भन्ने गरिन्छ । जुन कोठामा पानीजहाजको बनोट अनुसार एउटा गोलो वा चारपाटे झ्याल हुन्छ । तर कुनै कुनै झ्यालको ठीक बाहिर पानीजहाजहरुले आपतकालिन सुरक्षाको लागि बोक्ने स-साना डुङ्गाहरु झुन्ड्याएर राखेका हुन्छन् । कुनै कुनै डुङ्गाहरुले कोठाभित्र बस्ने मानिसहरुको दृश्यलाई प्रदूषित बनाउने गर्दछ । किन मैले त्यो कुरो यहाँ उल्लेख गर्न चाहेको हो भने यस्ले पानीजहाज यात्राको मूल्यमा निक्कै नै असर पार्छ । त्यसैले आउटसाइड रुममा दृश्य प्रदूषित हुने वा नहुने कोठा कस्तो छ सोही अनुसारको दाममा फरक पार्छ ।
आउटसाइड रुमभन्दा अलिक राम्रो कोठालाई ‘बाल्कोनी रुम’ भनिन्छ । त्यस कोठाको ठीक बाहिर कोठालाई सुहाउँदिलो एउटा कौसी हुन्छ । अनि तिनै कौसीमा दुईजना मानिसहरु बस्नको लागि दुईवटा कुर्सीहरु र एउटा टेबल सजाइएको हुन्छ । पानीजहाज गतिमा भएको बेला तिनै कुर्सीमा बसेर मध्यपान गर्दै गर्दै यात्रा गर्न एकदम रोमान्चक हुन्छ । यहाँनेर मैले एउटा कुरो के बयान गर्नु पर्छ भने पानीजहाजको कोठाहरु प्राय गरेर जोडाजोडी बस्ने वा आराम गर्ने उद्देश्यले बनाइएका हुन्छन् ।
ती माथि वर्णन गरिएको सबै कोठाहरुलाई छाडेर सबैभन्दा आरामदायी कोठाको कुरो गर्ने हो भने त्यसलाई “सुइट रुम” भनिन्छ । हुनत सुइट रुमलाई पनि दुई भागमा वर्गीकरण गरिएको हुन्छ । अलिक सानो कोठालाई जुनियर सुइट भनिन्छ । अनि उक्त्त कोठाहरुमा चाहिँ बिस्ताराको नजिकै राम्रो सोफा सेट, टेबल र सौचालयहरु अन्य कोठाहरुभन्दा अलिक ठूल्ठूला वा फराकिला हुन्छन् । अझै कोठा बाहिर दृश्यावलोकन गर्नको लागि मज्जाको बार्दली वा कौसी बनाइएको हुन्छ । अन्ततः मानिसहरुले आफ्नो औकात र क्षमताले जस्तो सक्छन्, त्यस्तै कोठामा बसेर यात्रा गर्न मिलोस् भनेर सोही प्रकारको सुविधा मिलाइएको हुन्छ ।
हामी चाहिँ पानीजहाजको सबैभन्दा सस्तो कोठामा सुतिरहेका हुन्छौं । सस्तै कोठा भएपनि दिनभरिको चकचकले निन्द्रा मज्जाले आएको थियो । यसरी मज्जाले आराम गरिरहेको बेला म झसङ्ग निन्द्राबाट ब्यूँझन्छु र ब्यूँझने बितिक्कै मेरो नजिकै रहेको साइड टेबलमा छामछाम छुमछुम गर्न थाल्छु । किनभने तिनै सानो टेबलको छातीमा मेरो घडीले आराम गरिरहेको थियो । घडीमा हात पुगेपछि एकचोटी घडीलाई उचालेर समय हेर्छु । घडीको काँटाले रोलेक्स समय बिहानीको ठीक ७ बजाइसकेको रहेछ ।
“ए ! बिहान भैसकेछ, भैरे । आराम गर्न पाएको बेला मज्जाले आराम गरिछस्,” मनमनै भन्छु । त्यसपछि, “आ… बुढो मान्छे भएर पनि के बिमारीले झैँ अबेलासम्म बिस्तारामा ढल्किरहनु है,” भन्ने लाग्छ । त्यसैले मेरो नजिकै बायाँ भित्तामा रहेको बिजुलीको स्वीचलाई टक्कै थिच्छु । र, बत्ती बलेपछि तारालाई असर नपरोस् भनेर स्वीचको मुन्टो बटारेर हल्का मधुरो बनाइ हाल्छु । तर मैले त्यति गर्दा नगर्दै, – “होइन ! कति बज्यो र ? बत्ती बालेको ?” सानो स्वरमा त्यति सोध्छिन् र भित्तातिर फर्किहाल्छिन् ।
म पनि सानै स्वरमा, “सात बजेछ,” जवाफ फर्काउँछु ।
त्यति भन्दैभन्दै म उठेर मुख धुनको लागि बाथरुमभित्र छिर्छु । सानो धारा खोलेर दात माझ्दै गर्दा ताराले अहिले नै उठिहाल्ने छनक देखाउँदिनन् । हुनत आ…. छुट्टीमा छौँ । आफ्नो घरमा जस्तो घरिघरि, – “उज्यालो भयो ! उठ है,” भनेर के हुकुम लगाइहाल्ने भन्ने सोच्छु । अझै गत राति पानीजहाजको कप्तानसँग रात्रीभोज पनि थियो । उक्त्त भोजमा हेयरफोर्डसायर गाईको मासुसँग उनले उत्तरी फ्रान्सको एक बोतल फिजी सेन्तेरम लडाएकी थिइन् । सायद सेन्तेरेमले अहिलेसम्म टाउको भारी भइरहेको होला ? बिचरी एकछिन आराम गरोस् है भन्ने ठान्छु ।
मुख धोएर दाह्री जुङ्गा खौरेपछि उनलाई हल्ला हुन्छ भनेर बिरालोको चालमा दराजलाई खोल्छु र शरीरमा एकजोर कपडा लगाउँछु । अब नर्वेमा बिहानीको समय छ । पहिला चोटी घुम्न आउँदा थामी नसक्नुको सिरेटो भोगेको भुक्त्तभोगी मान्छे हुँ । झन् अहिले सिरान तलामा त बेस्सरी सामुन्द्रिक हावाहुरी चलिरहेको होला भन्ने सोचेपछि बर्साती जस्तो ज्याकेट (रेन कोट) बोकेर सुइँसुइँ तलामाथि चढ्छु ।
अङ्ग्रेजी जलाशयमा लगभग ३६ घण्टा समय व्यतित गरेर बल्ल बल्ल स्टाभाङ्गर नर्वेमा आइपुगेपछि थोरै खुशी मुद्रामा छु । त्यसैले रमिता हेर्नको लागि सुस्तरी हिँडेर सिरान तलामा पुग्छु । तर म त्यहाँ पुग्दा पानीजहाज पहिले नै बन्दरगाहमा रोकिसकेको रहेछ । त्यहाँ पुगेर एकपटक बिहानी पखको एकचोटी स्वच्छ हावा लिन्छु । अनि मज्जाले बाहिरको रमिता हेर्न थाल्छु । केहीबेर अगाडी सोचेजस्तै पानीजहाजदेखि बाहिर सिमसिम पानी परिरहेको देखिन्छ । यस्तो प्रकारको पानीलाई गाउँघरमा हुँदो हो त कोदे पानी भन्थे होला ? तर यता नर्वेतिर सायद कोदो सोदो रोप्ने चलन छैन होला ? त्यसैले खै के भन्छन् हो कुन्नि मलाई थाहा भएन ? तैपनि एकछिन सिरान तलादेखि स्टाभाङ्गरमा देखिएको रङ्गीचङ्गी घरहरुको रातो छानामा टलल पानी टल्किरहेको दृश्य हेर्छु ।
त्यस्तो रमणीय दृश्य हेर्दै गर्दा, – “आ… जाबो म पनि थोरै भाग्यमानी नै रहेछु । एकबारको जिन्दगीमा यस्तो ठाउँमा दुई-दुईचोटी आइपुग्न सकियो,” मनमनै भन्छु ।
एकछिनपछि बायाँतिर मोडिन्छु । तर मेरो सीधै अगाडी भीमकाय होराइजन बफे रेष्टुराँ देखा पर्छ । रेष्टुराँको स्वचालित दैलो मानिसहरुभित्र पस्दा र निस्कँदा सरर आफैँ खोलिरहन्छ । तर त्यसरी ढोका खोलिँदा टोष्टरमा डढेको पाउरोटीको बासना मेरो नाकसम्म आएर ठोकिन्छ । त्यसै त रोटी डढेको बासना अति मन पराउने मान्छे । त्यसपछि सारा संसार भुलेर सरासर त्यहिँभित्र छिर्छु । रेष्टुराँभित्र एकजना फिलिपिनो युवतीले ट्रलीभरि चिया र कफी घचेट्दै हिँडिरहेको रमाईलो दृश्य देखिन्छ । तर उनी त्यसरी हिँडदै गर्दा, - “चिया कि कफी ? चिया कि कफी ?” भन्दै कराएकी पनि निक्कै टाढासम्म सुनिन्छ । खै किन हो किन ? उनको स्वरले मलाई बेस्सरी आकर्षित गर्छ । त्यसैले म उनको नजिकै पुगेर, “खै ! मलाई पनि एक कप चिया यता दिनुहोस् त,” भन्छु ।
मेरो कुरो सुनेपछि पहिले, “मागान्दाङ उमागा – गुड मर्निङ सर,” भन्छिन् । त्यसपछि, “यी लिनुहोस् त,” भनेर मीठो मुस्कानसहित चिया दिन्छिन् । चिया हातमा परेपछि, “धन्यवाद छ,” भन्छु । तर उनीसँग छुटिइहाल्छु ।
दाहिने हातमा चिया बोकेर फेरि रेष्टुँरादेखि बाहिर निस्कन्छु । अनि तिनै सोह्रौँ तल्लामा भएको पौडी पोखरीको छेउमा बसेर सहरको रमिता हेर्दै हेर्दै चिया पिउन थाल्छु । म जस्तै चाँडो चाँडो उठेर यहाँ आउने अन्य अङ्ग्रेज बुढाबुढीहरु बिहानीको खाजा खाने स्थान ब्रेकफास्ट रुमभित्र पस्दै निस्कँदै गरेको देखिए पनि म चाहिँ त्यहाँ एक्लै बसिरहन्छु । तर त्यसरी स्टाभाङ्गरको बिहानीको दृश्य हेर्न छाडेर पुनः आफ्नो कोठामा झर्छु ।
कोठामा झरेर कोठाको दैलो खोल्ने बितिक्कै ताराको मुखदेखि निस्केको पहिलो वाक्यांश, “राजा ! म त तयार भैसकेकी हो,” भन्ने सुनिन्छ । उनी उठेर बिहानीको नास्ताको लागि तयार भइसकेको चाल पाउँदा म प्रफुल्ल मुद्रामा हुन्छु । नत्रभने यता उता जाने समयमा जहिले पनि उनलाई घण्टौँ पर्खेर बस्नु पर्थ्यो ।
“ए ! त्यसो भए जाती भो छ – कान्छी । खै खै यादुहरुलाई फोन गरि हालौं,” हतार हतार फोनको रिसिभर उठाएर फोन गर्न थाल्छु । “लु ! हामी ब्रेकफास्टको लागि तयार भइसकेका छौं,” हाम्रो कोठाको तारदेखि यादुको कोठासम्म खबर पुगिहाल्छ ।
प्रत्यूत्तरमा, “हुन्छ, हुन्छ । लु माथि खाजा खाने स्थानमा नै भेटौँ है,” यादुले जवाफ फर्काइ हाल्छ ।
क्रमशः
पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।