उपनिर्वाचनले माओवादीलाई दिएको सन्देश  

लेखक सुरेन्द्र श्रेष्ठ

नेपालका विभिन्न स्थानिय निकायका ४४ स्थानमा उपनिर्वाचनको घोषणा भए लगत्तै नेपालको राजनीति तातेको थियो। हामी विदेशमा बस्नेहरू पनि द्रुत सञ्चार सम्प्रेषणको कारण झन् धेरै रुचिका साथ हेर्न थालेका थियौँ। समग्रमा पहिलो र दोस्रो कांग्रेस वा एमाले को हुने भन्ने रह्यो। तेस्रो सम्भवत स्वतन्त्रहरुले उछिन्ने र चौथोमा माओवादी हो भनेर ठोकुवा गर्नेहरु धेरै देखिए। सबैभन्दा ठूलो मानिएको कीर्तिपुरको निर्वाचनलाई त सानो जनमत संग्रहको रुपमा बुझ्न थालियो l

निर्वाचन सम्पन्न हुने बित्तिकै मैले फेसबुक वालमा लौ अनुमान गरौं किर्तिपुरमा कसले जित हासिल गर्ला भनेर लेखेँ। स्वाद अनुसारको उत्तरहरु आएपछि मैले फेरि कसले जिते हुने हैन कि कसले जित्ला भनेर अनुमान गरौं भनेर लेखेँ। प्रायजसोको चाहना स्वतन्त्रले जितिदिए हुन्थ्यो भन्ने थियो। केहीले माओवादीले जित्नुपर्छ भन्ने पनि थियो। अनुमान र कामना छाडेर ठोकुवा चाहिँ केही कांग्रेस र केही एमाले समर्थकहरूको थियो। उनीहरुले माओवादीको स्थान पनि ठोकुवासँग चौथो भन्न छुटाएनन्। दुईजना माओवादी साथीहरुले कांग्रेस र माओवादी बीच कडा टक्कर पर्ने लेखेपछि त्यसो भए हामी दोस्रो भएपनि जित मान्नुपर्छ भनेर मैले लेखेँ l नभन्दै झीनो मतले हारजित भयो। जे भएपनि परिणाम उत्साहजनक नै भयो। प्रायजसो छक्क परे।

जसले ठोकुवाका साथ माओवादी केन्द्र चौथो हुन्छ भनेका थिए। उनले माओवादीको उद्गमस्थल ध्वस्त भएको समाचार पनि सेयर गरेका थिए। रुकुम र रोल्पामा भएका दुई वडाको निर्वाचनमा माकेले हार बेहोर्नु पर्यो। रोल्पाको रुन्टीगढी ४ को वडामा माके उम्मेदवारको मात्र ७० मत पाएको चाहिँ त्यति स्वाभाविक हैन भनेर म आफैँले पनि लेखेँ। त्यहाँ कांग्रेसले ६४३ र एमालेले ५३५ मत प्राप्त गरेका थिए। तर त्यहाँ यस अगाडि पनि माकेले जितेको थिएन। त्यस्तै रुकुम पश्चिमको सानीभेरीमा यस अगाडि पनि कांग्रेसले जितेको ठाउँ हो। यसपालि त एमाले र जसपासहित मिलेर ५९० मत प्राप्त गरेका थिए भने माके एक्लैको ५३७ मत थियो यसरी लालकिल्ला तोडेको मिथ्या हल्ला फैलाइयो। केही समय त हो कि हो कि जस्तो पनि बनाए तर वास्तविकता त्यो थिएन।

यसपालि माओवादीले पहिला जितेका पाँच वडामा हार स्वीकार गर्नुपर्यो। ती स्थानहरूको अवस्था भने फरक फरक छन्। दार्चुलाको दुहुँ ५ मा यस अगाडी कांग्रेस र माकेको संयुक्त उम्मेदवारले ५५२ मत प्राप्त गरेर माकेले जित हासिल गरेको थियो। त्यहाँ एमालेले ३०२ मत प्राप्त गरेको थियो । अहिले जित्ने कांग्रेसले ३७८ र दोस्रो एमालेले ३५८ मत प्राप्त गरेका छन् माकेले मात्र ९८ मत प्राप्त गरेको कारण त्यहाँ २०७९ सालमा कांग्रेसको सहयोगले मात्र जित हासिल गरेको देखिन्छ।

कालिकोटको तिलागुफा ४ को स्थिति झन् फरक थियो। त्यतिबेला कांग्रेस र एमालेले ३ र ४ भोट मात्र पाउँदा माकेले २३४ मत प्राप्त गरेर विजय हासिल गरेको थियो। यो सायद मजदुर किसान पार्टीका उम्मेदवारलाई पराजित गर्न सबै मिलेको हुनुपर्छ भने अहिले एमालेले कांग्रेसको समर्थनमा ७८ मतमा चित्त बुझाएका छन्।

वास्तविक रूपमा पहिला र अहिले पनि छुट्टाछुट्टै लडेर हार जित भएको चाहिँ तीन स्थान देखिन्छ। हेटौँडा नगरपालिकाको वडा नम्बर १२ मा झीनो ४१ मतले कांग्रेसलाई पछाडी पारेर माकेले २०७९ मा जित हासिल पारेको थिए भने एमाले कांग्रेसभन्दा १५ मत पाएर तेश्रो भएको थियो । यसपालि यहाँ कांग्रेसले २०६३ मत ल्याएर जितेको छ भने माकेले १५६० मत ल्याएको छन्। एमालेले १३५८ पाएको छ जाजरकोटको कुशे ७ मा पनि पहिला र अहिले तिनै दलका उम्मेदवार थिए। त्यतिबेला माकेले ३८० मत प्राप्त गरेर पहिलो, ३१८ ल्याएर कांग्रेस दोस्रो र १४८ मतसहित एमाले तेश्रो भएका थिए। अहिले कांग्रेसले ३४७ मत पाएर जितेको छ भने माकेले ३३२ र एमालेले २५२ मत पाएका छन्।

महोत्तरी नगरपालिका २ मा गत निर्वाचनमा ४३३ मत ल्याएर पहिलो भएको माके अहिले ५३४ मत पाएर दोस्रो भएको छ । अहिले जित हासिल गरेको एमालेले ६३१ मत पाएको छ भने यसअघि २८७ मत पाएको थियो। कांग्रेसले यसअघि ३७५ पाएकोमा अहिले घटेर २४४ मत पाएर तेस्रो नै भएको छ ।

माओवादी केन्द्र धेरै ठाऊँमा जितको नजिक पुगेर पनि थोरै मतले दोस्रो हुन परेको छ । यसमध्ये निकै चर्चामा रहेको काठमाडौँको कीर्तिपुर नगर  र दोलखाको गौरीशंकर पालिका दुवैमा उपविजेता भएको छ । कीर्तिपुर नगर प्रमुखमा केही आशा जागेको तर गौरीशंकरमा भने जित निश्चित जस्तो नै थियो। तर गत निर्वाचनभन्दा निकै कम मतदान भएका यी दुई स्थानमा कांग्रेस एमालेले एक/एक स्थानमा विजय प्राप्त गरेका छन्। गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा यस अगाडी कांग्रेसले ४७४१ मत प्राप्त गरेर जितेको थियो भने दोस्रोमा एमालेले ३२८१ मत पाएको थियो । यसपाली भने एमालेले २८०५ मत पाएर जितेको छ भने माकेले २०५ मत कम अर्थात् २६०० मत पाएको छ । तेस्रो भएको काङ्ग्रेसले १७२७ मतमा चित्त बुझाउनु परेको छ ।

कीर्तिपुर नगरपालिका प्रमुखमा प्रायले एमालेले जित्ने पक्का गरेका थिए। त्यहाँ गत निर्वाचनमा पनि छुट्टाछुट्टै उम्मेदवार थिए। तर जसरी भएपनि एमालेलाई हराउनुपर्ने भनेर कांग्रेसको मतमध्ये केही माओवादीको पनि थियो भनिन्छ। त्यतिखेर कांग्रेस ९०४३,एमाले ५५०७ र माकेले ४०९० अनि एकीकृत समाजवादीको ११५३ मत थियो। जम्मा एक जना स्वतन्त्रले १३ मत मात्र पाएका थिए। यसपटक कांग्रेसले नै जिते पनि मतदानमा भने व्यापक परिवर्तन आएको देखिन्छ। मतदानको क्रममा जसरी भएपनि माओवादीलाई हराउनुपर्ने निर्णय अन्तिम समयतिर आएर भएको थियो भन्ने सुनिन्छ। एमाले आफूले जित्ने र कांग्रेस दोस्रो हुने कुरामा ढुक्क थिए। तर मतदानको क्रममा माओवादी अगाडी बढेको संकेत पाएपछि कांग्रेसलाई केही मत दिएको भन्ने सुनिन्छ। माओवादीले पाएको ४५५५ मतमा एकीकृत समाजवादीको पनि छ। कलम चिन्हमा केवल ५२ मत देखिनु यसको प्रमाण हो। ११ जना स्वतन्त्र उमेदवारहरुको कुल मत पनि ५०९० छ।

यस उपनिर्वाचनबाट केही सन्देशहरू स्पष्ट रुपमा दिएको छ । सरकारवादी पार्टीहरूसँग जनता अत्यन्त रुष्ट छन्। माओवादी पार्टीप्रति केही भरोसाको आशा अझै बाँकी छ। राष्ट्रिय स्वतन्त्र पार्टीले गाउँघरमा प्रभाव पार्न सकेको छैन। तराईका दलहरु तथा राप्रपाको खासै अस्तित्व देखिएन। स्वतन्त्र उम्मेदवारहरूप्रति आकर्षण बढेको छ। काठमान्डू १६ र झापाको विजय, कीर्तिपुरमा प्राप्त मत यसको प्रमाण हो। तर स्वतन्त्रहरु अन्य पार्टी भन्दा बढी उम्मेदवार हुनु एक आपसमा सहकार्य गर्न नसक्नु ठूलो समस्याको रुपमा देखिएको छ।

मुख्यत यस निर्वाचन परिणामले एमालेले ठूलो स्वरमा उठाउने गरेको दुई दलीय व्यवस्था तर्फको यात्रा चाहिँ रोकिने देखिन्छ । ठूला दुई दल मिलेर सरकार चलाउने निर्वाचन गर्ने र अन्य सबै पार्टीको अस्तित्व नामेट गर्ने मनसुवा पूरा हुने नहुने देखिएको छ। अर्कोतर्फ एमाले कांग्रेस जतिकै भ्रष्ट पार्टी माओवादी पनि हो भन्ने गलत साबित भएको छ। यी तीनै पार्टी समान हुन् भन्ने ब्याख्या गलत साबित भएको छ। तर सहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिको आकर्षण कायम नै देखिन्छ। निर्वाचन भनेको वितृष्णाको परिणाम मात्र नभई पार्टी संगठनको बलियो आधार पनि हो। यसलाई स्वतन्त्र पार्टीले बुझ्न आवश्यक छ। यसपालि ३७६ उम्मेदवार उठेका मध्ये स्वतन्त्र १०२ जना स्वतन्त्र थिए भने बाँकी २० दलका थिए।

माओवादी पार्टीले प्राप्त गरेको सम्पूर्ण क्षेत्रको मतगणना गर्दा यस उपचुनावमा प्रथम भएको देखिन्छ। जित सङ्ख्याको दृष्टिले पनि दोस्रो स्थानमा देखिन्छ। यस्तो नतिजाको आँकलन गरे पनि विश्वस्त भने थिएन नै। त्यसो त अलि थप मिहिनेत गर्न सकिएको भए सुनसरीको गढी ६ मा २२ भोट र जाजरकोटको कुशे ७ मा १५ भोट प्राप्त गर्न त्यति गाह्रो हुने थिएन होला। त्यस्तै कीर्तिपुरमा विभिन्न तहका नेताहरु अलि बढी सक्रिय भएको भए जित हासिल गर्ने सम्भावना पनि थियो।

२०७९ सालको निर्वाचनपछि गाउँघरबाट युवायुवतीहरू ठूलो सङ्ख्यामा विदेश गएको प्रमाण पनि यो निर्वाचनले छाडेको छ। त्यतिबेला ७१ प्रतिशत मतदान भएकोमा यसपटक ६२% मात्र मतदान भएको देखियो। यस्तो हुनुमा या त चुनावप्रति त्यति चाख नदिएको हुनुपर्छ या त देश बाहिर गएको हुनुपर्छ।

कोशीमा माओवादी पार्टीले विशेषरूपमा प्रगति गरेको देखिन्छ। तर पहिलादेखि राम्रो गर्दै आएको कर्णाली,सुदूरपश्चिम र लुम्बिनीका केही स्थानहरूमा अति नै न्यून मत प्राप्त गर्नु भने स्थानीय नेतृत्वको पहलकदमी नपुगेको मान्न सकिन्छ। प्रदेश अनि संघीय सांसद जित्ने तर केही वडाहरूमा १७,२६, ७० मत मात्र  प्राप्त गर्नुले त्यति राम्रो सन्देश जाँदैन। बझाङको सुमासुर्मा, डोटीको पूर्वी चौकी तथा अन्य केही स्थानमा पाएको मतले संगठन निर्माणमा ठूलो असन्तुलन भएको देखिन्छ।

जे होस् केही वर्षदेखि माओवादी पार्टीको अस्तित्व महत्व र शक्ति सकिएको अनुमान गर्नेहरु नराम्रोसँग झस्किएका छन्। लामो समयसम्म अन्य पार्टीहरुसंग पार्टी एकता अनि गठबन्धनको कारण आफ्नो पार्टीको असली शक्ति कति हो भन्न नसक्ने अवस्थामा पुगेको थियो। कहिले एमाले र कहिले कांग्रेसको वैशाखी टेकेर मात्र यति शक्ति देखिएको हो अन्यथा टर्च बालेर खोज्नुपर्ने हुन्छ भन्दै आएका थिए। अब आउने निर्वाचनमा त अस्तित्व समेत बचाउन सक्दैन भन्ने थियो तर यी सब अनुमानहरु गलत साबित भएका छन् ।

यही उपनिर्वाचनमा माकेको असली हविगत देख्न पाइने भयो भन्नेहरू थुप्रै थिए। तर यी सब अनुमानहरू गलत साबित भएका छन्। यसलाई निरन्तरता दिनु अबको मुख्य दायित्व हो। १२ वर्षमा खोला पनि फर्किन्छ भने जस्तै नेपालको राजनीतिक इतिहासमा २० वर्षमा फेरि त्यही अवस्था ल्याउन अत्यावश्यक छ। यसको लागि कामना मात्र गरेर भने पुग्दैन। इमानदारिताका साथ माथिदेखि तलसम्म चुस्त दुरुस्त संगठन बनाउन आवश्यक छ। गाउँ स्तरका नेताहरू समेत काठमाडौँमा बसोबास गर्ने परम्परालाई ध्वस्त पारिनुपर्दछ। मन्त्रालय धाएर मात्र जीवन गुजारा गर्ने प्रवृत्तिको अन्त्य गरिनुपर्दछ। अहिलेसम्म जितेका स्थानीय प्रदेश र संघीय प्रतिनिधिहरुले के कस्ता कामहरु गरिरहेका छन् । त्यसलाई निगरानी तथा निर्देशन दिनको लागि केन्द्रीय नेताहरूलाई जिम्मा दिनुपर्दछ। उनीहरू आफ्नो कार्यक्षेत्रमा धेरै बस्ने तथा स्थानीय रूपमा बढी घुलमिल हुन सक्न पर्दछ। सम्भावनाका अपार क्षेत्रहरुलाई यथार्थमा बदल्न उत्पादनमा लाग्नुपर्दछ पार्टीमार्फत विभिन्न अवसर र जिम्मेवारी पाएकाहरुबाट पनि अब पार्टी सशक्तिकरणमा योगदान पुर्याउन आवश्यक छ। अब निकटमै हुन सक्ने उपनिर्वाचन होस् वा नियमित रुपमा हुने सबै तहका निर्वाचनहरूको लागि अहिले देखि नै तयारी गर्नु पर्दछ। जो जसले थप वा नयाँ जिम्मेवारी लिन चाहन्छन् उनीहरु अहिलेदेखि नै सम्बन्धित भूगोलमा खटिनु पर्दछ। उम्मेदवारी दर्ता गर्ने समयमा मात्र केन्द्रबाट सिफारिस पाउने परम्परा हटाउनु पर्दछ। विश्वभरि छरिएका समर्थक शुभचिन्तकहरुलाई सक्रिय र एकतावद्ध गराउन सक्यो भने २०८४ को निर्वाचनमा उल्लेख्य प्रगति गर्न सकिने कुरामा दुई मत छैन।

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री