चारैजनाले पेटभरि बिहानीको खाजा टन्न खाएर पानीजहाजदेखि बाहिर जमिनमा निस्कँदा बेस्मारी पानी परिरहेकै छ । हुनत नर्वेमा पानी पर्नु भनेको कुनै नौलो कुरो त हुँदै होइन । तैपनि मलाई पानी परिरहेको बेला घुमफिर गर्न पटक्कै राम्रो लाग्दैन । यतिका धेरै पानी परेको देखेपछि कान्छी सालीले, “बाबैनी ! यस्तो पानीमा कसरी घुम्ने होला ?” अनायासै आश्चर्य प्रकट गर्छिन् । “कान्छी ! थोत्रो बर्साती ओढ्ने अनि खुरुखुरु कुहिरेलाई पछ्याउने हो नि,” भनेर उनलाई एकपटक जिस्क्याइ दिन्छु । वास्तवमा पहिले पनि यसरी नै फिरन्ते जीवन बिताउने क्रममा नर्वेको एउटा अर्को सहर बर्गन पुगेका थियौँ । तर त्यहाँ पुगेर वर्षको ३ सय ६५ दिनमा २ सय ३० दिन पानी पर्ने सहर हो यो बर्गन भनेको सुनेपछि तीन छक्क परेका थियौँ ।
खयर हामी अहिले बर्गनमा छैनौं, स्टाभाङ्गरमा छौं । र, पानीजहाजको मूल दैलो अथवा मुख्य द्वारमा नेपाली सुरक्षा अधिकृतसँग हात उठाएर बिदा भएपछि पहिले बायाँ दिशातिर घुम्छौँ । तर पानीजहाजको भूइँमा झर्ने ग्याङवेदेखि ओरालो झर्दै गर्दा जम्मै यात्रुहरु बायाँ दिशातिर घुमेर हिँडिरहेको दृश्य एकदमै रमाईलो देखिन्छ । यसरी पानीजहाज यात्रामा छँदा धेरै मानिसहरु जताजता जान्छन् उतैउतै गइयो भने राम्रो राम्रो स्थानतिर पुग्न सकिन्छ भन्ने मेरो उहिलेदेखिको मान्यता रहेको छ ।
एकछिन पछि हाम्रो अगाडी, “स्टाभाङगर ग्याल्वस्टोन, टेक्सासको सहरसँग भगिनी सहर (सिस्टर सिटी) हो,” भनेको एउटा ठूलो साइन देखापर्छ । हामीले अमेरिका र क्यानडामा गतवर्षमात्र क्रुजिङ गरेका थियौँ । तर अहिले बेलायत हुँदै नर्वेमा आएर टेक्सासको साइन देख्दा काउब्योइहरुको बेस्सरी याद दिलाइ दिन्छ । आखिर मान्छेको मन न हो । सधैँ अस्थायी हुन्छ । एकछिन कहाँ, एकछिन कहाँ पुगिरहन्छ । हुनत सफल मानिसहरु आफ्नो विचारमा अडिग हुन्छन् होला तर आफू त सफल हुन सकिएन । त्यसैले मेरो मन एकदम चुलबुले छ । किनभने मेरो विचारहरु जहिले पनि तरल छन् । त्यसैले यो मन चाहिँ घरिघरि हुरुरु उडेर बुईपा, खोटाङमा नै पुगेर ठोकिरहन्छ ।
तर अहिले एकछिन भएपनि आफ्नो मनलाई जबरजस्ती थामेर थोरै अगाडि बढ्दै गर्दा हाम्रो ठीक दाहिनेतिर एउटा सूचना केन्द्र देखापर्छ । सूचना केन्द्र देखिएपछि, “एकछिन है,” भन्छु र तिनै सूचना केन्द्रमा पुगेर एउटा स्थानिय सहर स्टाभाङ्गरको नक्सा मागेर हत्तपत्त ल्याउँछु ।
त्यसपछि सुस्तरी हिँडेर ताराको नजिक पुग्ने बितिक्कै, “आ छु छु ! हल्का जाडो पो रहेछ ?” पानीजहाजदेखि बाहिर निस्केको केहीबेरपछि तारालाई जाडो भैहाल्छ । यसरि घरि घरि घुम्न निस्कँदा तारालाई सेन्ट पिटर्सबर्गमा जाडो भेनिसमा गर्मी दुबईमा भोक बेइजिङमा प्यास र कार्ताहेना कोलम्बियामा पिसाब लागेको स्मरण गर्छु । र, उनको यो पुरानो बानी नै हो भन्छु । त्यसैले एकछिन चुपचाप हिँडिरहन्छु ।
त्यसरी म केही बोल्दै नबोली हिँडेको दुई तीन मिनेटपछि, “ह ता रहेछ त नाना ! पानीजहाज बाहिर अलिअलि जाडो नै रहेछ । सायद भरै दिउँसोतिर अलिक ठीक हुन्छ होला कि ?” उनकी बैनीले उनलाई साथ दिन्छिन् । दिदी र बैनीको कुरो सुनेर यादु र म चुपचाप अगाडी बढिरहन्छौं ।
“यसरी दिनभरि नै पानी परिरह्यो भने पुलपिट सुलपिट नजाऊँ है ? बरु स्टाभाङगर सहर घुमौं र साह्रै धेरै जाडो भयो भने एउटा भट्टी पसलमा बसेर धित मरिन्जेल जाँड पिऊँ, कि कसो ?” तारासँग पहिले पनि पुगेको हुनाले यादुलाई त्यसो भन्छु ।
“आखिर पानीले के गर्छ र ? घरि घरि नर्वे आइँदैन । जति पानी परे पनि जानु पर्छ होला ?” यादुले भित्रीमनदेखि नै जाने रहर प्रकट गर्छन् ।
उनको कुरो सुनेर, “ल ल उसो भए टिकट खोज्न थालौँ है त,” अलिक चाँडो चाँडो दुईचार कदम अगाडी हिँडदै त्यसो भन्छु ।
त्यहाँदेखि सीधै अगाडी बढ्दै जाँदा हाम्रो ठीक दाहिनेतिर स्ट्राभाङगर समुन्द्रवर्ती (मारिटायम) सङ्ग्रहालय देखा पर्छ । तर हामी सङ्ग्रहालयभन्दा पनि सबैभन्दा पहिले पुलपिट ढुङ्गा जाने पानीजहाज (फेरि) खोज्न थाल्छौं । यसरी सामुन्द्रिक तटमा हिँड्दै जाँदा हाम्रो ठीक बायाँपट्टी सयकडौँ मानिसहरु अटाउने बडेमाको पानीजहाज देखापर्छ । एकछिन पछि हामी तिनै जहाजको नजिक पुग्छौं । हामी त्यहाँ पुग्दा हुलका हुल मानिसहरु हात हातमा बोकिरहेका टिकटहरु देखाउँदै जहाजभित्र पसिरहेका दृश्य देख्न सकिन्छ ।
त्यस्तो दृश्य देखेपछि यिनीहरुले कहाँदेखि टिकट किनेको होला भनेर म एकछिन सोच्न बाध्य हुन्छु । ठीक सोही बेला मेरो बायाँपट्टी हिजो बेलुकी खाना खाने स्थानमा भेटेको म्यानचेष्टर निवासी जोन एडवार्डसँग फेरि अचानक भेट हुन्छ । उनलाई देख्ने बितिक्कै, “हे जोन ! खै जहाज चढ्ने टिकट कहाँ पाउँछ हँ ?” भनेर सोध्छु ।
“हामीले त हिजो क्रुजको एक्सकर्जनमा नै किनेको हो । यहाँ त मलाई पनि थाहा भएन,” उनले छोटकरीमा जवाफ फर्काउँछ ।
“ल ल ठीक छ,” भनेपछि उनी पानीजहाजतिर आफ्नो बाटो तताउँछ । क्रुजको एक्सकर्जन एकदमै महङ्गो पर्ने भएको हुनाले म आजभोलि कहिले पनि क्रुजको एक्सकर्जन खरिद गर्दै गर्दिनँ । पहिले पहिले नै चुक खाइसकेको भुक्तभोगी मान्छे भएको हुनाले क्रुजभित्र टिकट खरिद गरेका थिएनौं । बरु क्रुजदेखि बाहिर निस्केर यसो दायाँ बायाँ बुझ्दा जति दुःख भएतापनि एक्सकर्जनभन्दा अलिक सस्तो नै टिकटहरु मिल्ने गर्छ भन्ने कुरोमा म अति विश्वस्त छु ।
त्यहाँदेखि क्रमशः अगाडि बढ्दै जाँदा हाम्रो दाहिनेतिर तर थोरै अगाडी सडकको किनारमा सेतासेता छाना भएका तीनवटा अस्थायी तम्बुहरु देखा पर्छन् । त्यहाँ देखिएको पहिलो तम्बुभित्र सिरदेखि पाईतालासम्म रातो कपडा पहिरन गरेका दुईजना पातली नर्वेजियन छोकडीहरु देखा पर्छन् । ती आइमाईहरुले सायद नर्वेजियन सालमान माछा धेरै खाएर माछा जस्ता जीउ भाका होलान् भन्दै भन्दै म सरासर उनीहरुको नजिकै पुग्छु । म त्यता लागेपछि मेरा पछिपछि मेरा मित्रहरु पनि मलाई पछ्याउँदै पछ्याउँदै त्यतै आउँछन् । तर म त्यहाँ पुग्ने बितिक्कै,-“मलाई माफ गर्नोस् । यो जहाजको टिकट यहाँ किन्न पाइन्छ हो ?” दाहिने हातले सामुन्द्रिक तटमा रोकिरहेको जहाजतर्फ देखाउँदै त्यस्तो प्रश्न गर्छु ।
दुईजना मध्ये अलिक होची चाहिँले, “पाउन त पाइन्छ तर दुर्भाग्यवश दिउँसो २ बजेसम्मको टिकट बिक्री भैसकेको छ,” भन्छिन् ।
उनको कुरो सुनेर, “ल ल उसो भए भैगो । तैपनि धन्यवाद छ है,” भनेर उनीसँग बिदा भइहाल्छौं ।
एकछिन त्यहाँ उभिएर हेर्दा अलिक अगाडी कुनामा अर्को एउटा तम्बु पनि ठङ्ग्रङै टाँगिरहेको देखिन्छ । तर तम्बु बिल्कुल खाली छ । त्यहाँ एकजना पनि मान्छे देखिँदै नदेखिए पनि निश्चय नै यो पनि जहाजहरुको टिकट बेच्ने स्थान नै हुनुपर्छ भन्ने निर्क्यौलमा पुग्छौं । तर यादुसँग फरक कम्पनीको हुनुपर्छ होला, भन्छौँ । त्यसैले त्यहाँ पुगेपछि केहीबेर उभिएर दायाँ बायाँ हेर्न थाल्छौं । नभन्दै एकछिन पछि एकजना सिकुटे मान्छे तर जाँड पिएर मातेको जस्तो खुट्टा बाङ्गोटिङ्गो बनाएर हिँड्दै हिँडदै हाम्रो नजिक आइपुग्छ । ऊ हामी कहाँ आउने बितिक्कै, – “हाम्रो अत्याधिक गतिमा दगुर्ने डुङ्गा (स्पीड बोट) छ । एकदम चाँडो पुलपिट पुगिन्छ, के जानु हुन्छ र ?” हामीलाई हेर्दै प्रश्न गरिहाल्छ ।
उनको कुरो सुनेर, “खै खै ! डुङ्गा हेरौँ त के कस्तो रहेछ ?” सानो स्वरमा सोधिहाल्छु ।
“ऊ पर आउँदै गरेको हो,” निक्कै टाढा क्षितिजमा आउँदै गरेको स्पीड बोटलाई हातले देखाउँदै त्यसो भन्छ ।
तर उसले त्यसो भन्दाभन्दै त्यति टाढाको स्पीड बोट मिलिक्कै भरमा हाम्रो छेउमा आएर रोकिन्छ । त्यो बोटलाई देखेर ताराले, “आबुई नि ! यस्तो पानी परिरहेको समयमा यस्तो नाङ्गो डुङ्गामा कोही चढ्यो । हेर त्यो पनि त्यति बडेमाको लाईफ ज्याकेट ओढेर । हैट हुँदैन है, यसमा त । त्यो पनि कति चाँडो चलाको हो नि मुर्दारले – आम्मामा ?” धामीले जस्तै शरिर भित्रदेखि थर्थरी काम्दै काम्दै त्यति बोलिन् ।
ताराको चुकजस्तो अमिलो भनाइ सुनेपछि त्यस तम्बुलाई हामी सधैँसधैँको लागि बिदाइ गर्छौं । र, सबैभन्दा अन्तिम तम्बुमा पुगेर फेरि टक्क रोकिन्छौं । त्यहाँपनि एकजना छोरामान्छे र अर्की एकजना आइमाई मान्छेले टिकट बेचिरहेका दृश्य देख्न सकिन्छ । म केटा मानिसको नजिकै पुग्छु र कम्मरको दुवै पट्टी हात राखेर ठूलो मान्छे हुँदै, – “महाशय ! पुलपिट ढुङ्गा जान सकिन्छ कि सकिँदैन हजुर ?” हृदयभित्रदेखि उखर्माउलो हुँदै आएको प्रश्न उनलाई सोधिहाल्छु ।
उनले, “अरे ! किन नसक्नु ? सकिहालिन्छ नि । बरु यी यता आउनोस् त,” हामी सबैजनालाई उनको नजिकै बोलाउँछ । त्यसपछि एउटा सूचना दिने सूचनापाटीको नजिक उभाएर उनले मन्थन सुरु गर्छन् । “यी ल यता हेर्नुहोस् त । यो झरना पनि जान्छ । कति आकर्षक छ हगि – नर्वेजियन झरना । अनि यो ठूलो ढुङ्गाको फेदमा चरि हिँड्ने जङ्गली बाख्राहरुलाई खाना ख्वाउन यहाँ लान्छ । त्यसपछि ल्यास फियोर्डै फियोर्ड पुलपिट ढुङ्गाको फेदमा पुर्याउँछ । त्यतिमात्र होइन, हजुर । ल्यास फियोर्डको बाटोमा जाँदै गर्दा सालमान माछा खेतीको रमाईलो दृश्य पनि हेर्न पाइन्छ,” फट्ट्ट् र भट्ट्ट् अङ्ग्रेजी बोल्ने नर्वेजियन टिकट ब्यापारीले हामीलाई मज्जाले बेलिबिस्तार लगाउँछन् ।
“होइन ! केटो त एकदम कडा रहेछ ?” उनको कुरो सुनेर एक चक्कर टाउको हल्लाउँदै यादुको बोली फुट्छ ।
“कडा सडाको कुरो होइन । बरु दाम चाहिँ कति हो को नि ?” मुटु थर्थरी कमाउँदै दया बोल्छिन् ।
“यस्तो मान्छेहरुले भन्न त यस्तै भन्ने हो । त्यसैले मीठो मीठो नै भन्छ तर पैसा पो मुर्दारले कति झार्ने हो को नि ?” त्यति बोल्दा बोल्दै ताराको ओठ कलेटी पर्छ ।
“ल ल ठीक छ । फियोर्डको यात्रा एकदम रमणीय हुने रहेछ । भैगो, भैगो । बरु हामीलाई चार वटा टिकट दिइहाल्नोस् त,” बरु कार्ड लिनु हुन्छ कि नाइँ ?” टिकट ब्यापारी केटोलाई सोध्छु ।
“लिन्छौँ, लिन्छौँ । के फिकर गर्नु हुन्छ ? लण्डन छाडेदेखि भर्खर नर्वे आउनु भा छ । तपाईहरुको साथमा क्रोनर पनि छैन् होला ?” हतार हतार जवाफ फर्काइ हाल्छन् ।
“होइन बुढो ! दाम साम सोध्ने होइन र ? वा उनले चार जनाको टिकट काट्दा कतै घटाइ पनि दिन्छ कि ?” त्यति भनिसकेपछि ताराको अनुहार निन्याउरो हुन्छ ।
“माछाक्मा ! (बुढी मान्छे चाम्लिङ भाषामा) तिमी एकछिन चुप बस् न के ? बिस्टर भिलेज त घरिघरि गाकी छौ त । बिस्टर भिलेज आउटलेट दोकानमा आइमाईहरुले बोक्ने मसिना मसिना झोलाहरु जस्तैः- एलभी, प्राडा र गुच्चि खरिद गर्दा कहिले दाम सोधिन्छ र ? जुन मन पर्यो त्यो थपक्कै टिप्ने हो । त्यसपछि काउन्टरमा पुगेर पैसा तिर्ने हो अनि खुरुखुरु हिँड्ने हो । आखिर जानै पर्ने भएपछि किन पैसा सोध्ने ? क्रेडिट कार्डले पैसा तिर्ने हो । यात्राभरि खर्च गरेको अर्को महिना एकमुष्टमा बिल आइहाल्छ । पैसा सोध्यो भने के गरिब मान्छेहरु रहेछ । यति गरिब मान्छेहरु कुन देशबाट आका होलान् ? यस्तै यस्तै नानाथरी कुराहरु सोच्छन् । बरु मुख्य कुरो त हामीलाई प्याकेज मन पर्यो । अनि जानै पर्ने भएपछि दाम साम सोधेर के बिना बिच्चैमा मुख दुखाइ रहने । त्यसैले छाडिदेउ,” भन्छु ।
मेरो कुरो सुनेर तारा खिन्न हुन्छिन् । मेरो अगाडि उनको विचार मरेपछि उनको अनुहार सुस्तरी मलिन मलिन हुँदै जान्छ । तैपनि म चाहिँ गोजीदेखि स्वाट्ट मन्जो कार्ड निकालेर हतार हतार पैसा तिरिहाल्छु । के गर्नु प्रविधिको जमाना छ । मैले पैसा तिर्ने बितिक्कै प्रति व्यक्ति स्टर्लिङ ५३ पाउण्ड लाग्यो है भन्दै टिङलिङ्गै म्यासेज आउँछ । म्यासेज आउने बितिक्कै तारालाई सुनाइ हाल्छु । त्यसपछि उनको चेहरा पनि बिहानीको सूर्यको किरण धर्तीमा परेपछि परिवर्तन भएर चम्किलो हुँदै हुँदै गए जस्तै बिस्तारै चम्किदै आउँछ ।
तर केटो एकदम बाठो रहेछ । हामीलाई टिकट बेचिसकेपछि, – “ऊ त्यता माथितिर जानुहोला ? अनि त्यहाँ एउटा ठूलो खाली जमिन छ । तिनै जमिनमा आज हप्तादिने हटिया लाग्छ । केही नर्वेजियन रोटीसोटी वा सालमान माछा साछा किनेर खानु होला ? तर केही खानु भएन भने पनि ठीक्कै छ । तैपनि एकघण्टा जति समय बिताएर आउनु होला ? किनभने ११ बजेर ३० मिनेट जाँदा मात्र जहाज यहाँदेखि छुट्छ । अहिले बाटोमा आउँदै छ,” हातले हटियातिर देखाउँदै त्यसो भन्छ ।
उनको सल्लाह अनुसार हामी त्यतैतिर लाग्छौं । नभन्दै थोरै अगाडि हिँड्दै जाँदा कान्छी सालीले भने जस्तै दिन मज्जाले खुलेर आउँछ । पानी पर्न रोकिएर स्टाभाङ्गर सहरको छातीमा तिरिरी घाम लाग्न थाल्छ । तर हाम्रो ठीक पछाडी फर्केर झल्याँस्स हेर्दा घामको प्रकाशले टिलिली टल्किरहेको आइयोना क्रुजको परिदृश्य ज्यादै रमाइलो देखिन्छ ।
“वा ! पानीजहाज कति राम्रो देखिएको । खै खै ! एक/दुई तास फोटो खिचौं, खिचौं,” भित्री दिल खोलेर तारा बोल्छिन् ।
“लु लु ! समूहमा र्यान्डम उभिहालौं न त । म क्लिक क्लिक गरिहाल्छु,” संक्षिप्तमा भन्छु । त्यसपछि पानीजहाजलाई परिदृश्यमा राखेर बिहानैदेखि हातमा बोकिरहेको आइफोन फोर्टिनले दुई/चार चोटी उनीहरुको तस्वीर लिन्छु । तर मैले यसरी तस्वीर लिँदै गर्दा, –
“साँच्चै ! यहाँदेखि हेर्दा यो पानीजहाज कति ठूलो देखिएको हगि ?” यादुले पानीजहाज हेर्दै हेर्दै मलाई उनको विचारलाई समर्थन गर्नको लागि प्रस्ताव गर्छ ।
उनको कुरो सुनेपछि म एकछिन बोल्दिनँ । तर पानीजहाजलाई निक्कै लामो समयसम्म निरन्तर हेरिरहन्छु । आजभोलि यात्रुवाहक पानीजहाजहरु अथवा क्रुजहरु एकदम ठूल्ठूला बन्न थालेका छन् । आजका मितिसम्म रोयल क्यारिबियन क्रुज कम्पनीको ‘आइकन अफ द सिज’ संसारको सबैभन्दा ठूलो क्रुज हो । लगभग ७ हजार ६ सय यात्रुहरु बोक्ने क्षमता भएको उक्त्त क्रुजले जनवरी २०२४ देखि क्रमशः सेवा दिने योजना बनाएको छ । तर सन् २०२५ बाट त्योभन्दा झन ठूलो अनि सोही कम्पनीको ‘स्टार अफ द सिज’ आउँदै छ ।
विश्वमा बनेको अहिलेसम्मको सबैभन्दा ठूल्ठूला १० वटा क्रुजहरुमा यो पेनिन्सुलार एण्ड ओरिन्टियल (पिएण्डओ) क्रुज कम्पनीको ‘आरभीय’ दशौँ ठूलो क्रुजभित्रमा पर्दछ । हामी तिनै कम्पनीको आरभीय पछिको दोश्रो ठूलो क्रुज ‘आइयोना’ देखि निरन्तर दश दिनको लागि नर्वेजियन फियोर्ड यात्रामा निस्केका छौं । हुनत सन् १८२२ मा स्थापना भएको पिएण्डओको आरभिया, आइयोना, ब्रिटानिय, अजुरा, भेन्चुरा, आरकाडिय र अरोरा गरेर जम्मा ७ वटा क्रुजहरुले अहिले संसारको विभिन्न स्थानमा पुगेर क्रमशः सेवा प्रदान गरिरहेका छन् ।
यदि आकार प्रकारकै कुरा गर्नु हुन्छ भने हामीले यात्रा गरिरहेको ‘आइयोना’ क्रुज ‘आरभीय’ क्रुजभन्दा अलिकति मात्रै सानो छ । उदाहरणको लागि आरभीयको तौल १ लाख ८४ हजार ७ सय टन हो भने आइयोना १ लाख ८४ हजार ८९ टन मात्र हो । अनि आरभीय ३ सय ४५ मिटर लामो भएतापनि आइयोना आरभीयभन्दा १ मिटर मात्र छोटो छ । १९ तले ती दुवै क्रुजहरुको उचाई र तलाहरु समान रहेका छन् ।
क्रुजको विषयमा सोच्न छाडेपछि हाम्रा कदमहरु सुस्तरी हटियातर्फ अगाडी बढ्छ । तर यसरी अगाडी बढ्दै गर्दा अचानक सडक किनारको भुइँभरि हलिवुडको सडक किनारमा जस्तै नोवेल शान्ति पुरुस्कार प्राप्त गर्ने मानिसहरुका पाइतालाका छापहरु देखा पर्न सुरु गर्छन् । गत साल हलिवुड, अमेरिकामा पुगेर संसारका अति चर्चित अभिनेता तथा अभिनेत्रीहरुको पाइतालाको डोबमा धीत मरिन्जेलसम्म तस्वीर लिएको मान्छे, म । अहिले नोवेल शान्ति पुरस्कार पाउने तर हामीले नाम सुनेका मान्छेहरुका पाइतालाका डोबहरुसँग स्टाभाङ्गर नर्वे पुगेर तस्वीरहरु लिन सुरु गरिहाल्छौं ।
तर यसरी तस्वीरहरु लिँदै गर्दा मलाई नोबेल पुरस्कारको संस्थापक अल्फ्रेड नोबेलको बेस्सरी याद आउन थाल्छ । म आजभन्दा केही वर्ष अगाडी स्वेडेन पुगेको थिएँ । उनको जन्म सन् १८३३ मा स्वेडेनको राजधानी स्टकहोममा भएको थियो । अझै म हरेक वर्ष नोवेल पुरस्कार प्रदान गर्ने स्थान स्टकहोम कन्सर्ट हलको सीधा अगाडी उभिएर तस्वीर खिचेको कुरो एकछिन स्मरण गर्छु । डाइनामाइटको आविष्कार गरेपछि अल्फ्रेडले प्रशस्त पैसा कमाएका थिए । यदि तत्कालिन समयमा उनीसँग भएको त्यो पैसालाई आजकै दिनसँग तुलना गर्ने हो भने पनि लगभग ३ सय मिलियन डलर हुन आउँछ ।
तर त्यतिका धेरै पैसा कमाएर पनि उनी सन्तुष्ट नहुनको मुख्य कारण चाहिँ क्यान, फ्रान्समा उनका दाजु लुडभिग नोवेलको गिल्सिरिङ फैक्ट्री दुर्घटनामा अकस्मात मृत्यु भएको थियो । दाजुको मृत्युको समाचार फ्रान्सको पत्रपत्रिकाहरुले “महाजनको मृत्यु” भन्ने शीर्षकमा समवेदना सहित, – “पहिलेभन्दा झन् धेरै चाँडो चाँडो मानिस मार्ने उपाय पत्ता लगाएर धनी बनेका अल्फ्रेड नोबेलको आज मृत्यु भएको छ,” भनेर खबर लेखे ।
दाजुको मृत्युमा आफ्नो नाम लेखेर समाचार बनाएको प्रति अल्फ्रेड ज्यादै दुखित बने । मैले आविष्कार गरेको डाइनामाइट हतियारमा प्रयोग हुने कुरोमा म स्वयम् दुखी त यस्सै थिएँ । झन् दाजुको मृत्युलाई जोडेर मेरो मृत्यु भयो भनेर खबरकागजहरुले लेखेपछि म मर्नु न बाँच्नु भएँ । किनभने मैले कमाएको पैसाप्रति मानिसहरु बेखुसी रहेछन् भन्ने कुरो छर्लङ्गै चाल पाएँ – उनले भनेका थिए ।
त्यसपछि उनले आफ्नो पैसाको ९० प्रतिशत हिस्सा नोवेल पुरस्कार अक्षय कोषमा राखिदिएका थिए । जिन्दगीभरि विवाह नगरेर कुमार बसेका उनी ६३ वर्षसम्म बाँचेका थिए । उनले स्थापना गरेको नोवेल पुरस्कार हरेक वर्ष भौतिक शास्त्र, रसायन शास्त्र, चिकित्सा शास्त्र, शरीर विज्ञान र साहित्य लगायत विधामा दिइन्छ । जुन पुरस्कार स्वेडिस राजपरिवारको बाहुलदेखि हरेक १० डिसेम्बरको दिन स्टकहोमबाट दिने गरिन्छ । किनभने उनको मृत्यु सोही दिन भएको थियो । तर नोवेल शान्ति पुरस्कार भने नर्वेको राजधानी ओस्लोबाट प्रदान गर्ने गरिन्छ ।
यादु र म नोवेल शान्ति पुरस्कार पाउने मानिसहरुको नाम र उनीहरुले के काम गरेका थिए भनेर निक्कैबेर घोत्लिरहन्छौं । तर सोहीबेला तारा र दया स्टाभाङ्गर हटियालाई एक चक्कर मारेर फिरिसकेका थिए । हाम्रो नजिक आउनासाथ, “लु ! अब जाऊँ है, किनभने ११ पनि बजि सक्यो,” ताराले भन्छिन् । उनको कुरो सुनेर हामी सबैजना जहाज चढेर पुलपिट जाने स्थानतिर लाग्छौं ।
दश/पन्ध्र मिनेट जति हिँडेर त्यहाँ पुगेपछि हामी झण्डै त्यति नै समय त्यहाँ पुगेर खर्च गर्छौं । त्यसपछि एउटा जहाज बिस्तारै हाम्रो नजिक आएर रोकिन्छ । जहाज रोकेर ग्याङवे तयार भएपछि हातमा टिकट लिएर हामी जहाजभित्र पस्छौं । जहाजमा पस्दै गर्दा पानीजहाजका दुईजना कर्मचारीहरुले हामीलाई न्यानो स्वागत गर्छन् । लगभग २ सय जना जति यात्रु अटाउने क्षमता भएको उक्त्त जहाजभित्र पसेपछि आरामदायी कुर्सीहरु देखा पर्छन् । तर जहाजभित्र पस्ने बितिक्कै, – “ए ! यहाँ त तातो न तातो रहेछ, लु जा । जाडोले हातमा औँलाहरु सेताम्मे भइसकेका थिए,” तारा अत्तालिँदै बोल्छिन् ।
“अलिक भिटामिन खाऊँ । मीठोमीठो फलफूल खाऊँ । खाली सेन्तेरेममात्र पिउन बल गर्छौं । त्यसैले तिम्रो रगत थोरै भएर सेतो भाको होला ? सेन्तेरेम छाड्यो भने १८ वर्षे युवती जस्तै तिम्रो औँलाले रुप फेरिहाल्छ नि ?” त्यति भन्छु ।
“छया हौ, भेना ! नानालाई हुने नहुने नभन्नोस् न क्या ?,” साली भक्भकाउँछिन् ।
हाम्रो कुरो सुनेर यादु मुसुमुसु हाँस्छ । त्यसपछि लुरुलुरु हिँडदै गएर अलिक परतिर कुनामा रहेको हिटरको छेउमा पुगेर पहिले तारा बस्छिन् । अनि उनको पछिपछि गएर बायाँ छेउँमा दया पनि थपक्कै बस्छिन् । उनीहरु दुईजना बसिसकेपछि यादु र म उनीहरुको ठीक विपरीत दिशामा बस्छौँ । मचाहिँ कुर्सीमा बस्दै गर्दा अलिक पानी रह्यो भने जहाजको कौसीमा गएर ल्यास फियोर्डको धीत मरिन्जेल रमिता हेर्न पर्ला भन्ने सोच्छु । तर कुर्सीमा बसेको एक मिनेट पनि हुन पाउँदा नपाउँदै, – “खै खै तपाईको फोन । कस्तो कस्तो फोटो खिच्नु भयो छ – हेरौं हेरौं ?” अलिकति आराम पाउने बितिक्कै तारालाई छटपटी सुरु भैहाल्छ ।
“अहँ ! हुँदैन । तिमी तिम्रो हेर । म मेरो हेर्छु,” तात्तातै जवाफ फर्काइ दिन्छु ।
“दिनु न हौ भेना ! दिनु । एकछिन दिनु क्या । आखिर फोटो घट्दैन त ? पैसा भा पो घट्छ,” कान्छी सालीले आफ्नी नानालाई समर्थन गर्छिन् ।
तारालाई क्वारक्वार्ती हेर्दै, “तिमीले केही खिचेनौं ?” प्रश्न गर्छु ।
“अहँ ! खिचिनँ । म त के खिच्थेँ ? जाबो मेरो यस्तो थोत्रो फोन छ । मान्छेको अगाडी कसरी निकाल्नु हौ ? मलाई लाज हुँदैन र ? अब अर्कोपटक पानीजहाज यात्रामा जाँदा नयाँ फोन किनेर लान्छु । अनि धीत मरिन्जेल खिच्छु,” कुनापट्टी फर्केर त्यति भन्छिन् ।
“अनि त्यसो भनेको त धेरै वर्ष भैसक्यो त । ल ल भैहाल्यो । अब पछि खिचेर नै हेर्नु है। म त फेरि बाहिर गएर खिच्नु पर्ने छ । बरु गइ हालुँ कि कसो ?” भन्छु ।
“यो भेना पनि,” दुवै हात चिउँडोमा राखेर सालीले खिन्नता प्रकट गर्छिन् ।
ल्यास फियोर्डमा फेरि पानी दोहोरिएर पर्न सुरु गरिरहेको छ । यस्तो पानीमा पनि एक हुल कर्याङकुरुङहरु जस्तै देखिने जलचराहरु जहाजको अगाडी र पछाडी उडिरहेको देख्न पाउँदा मन तरङ्गित हुन्छ । हामी जहाजभित्र पसेर त्यसरी कर्याङकुरुङ गर्दागर्दै लगभग दश/बाह्र मिनेट जति समय खेर गएको पत्तै पाउँदैनौं । जहाजभित्र मानिसहरु भरिभराउ भएर आ-आफ्नो कुर्सीमा बसिसकेपछि कप्तानले ध्वनी प्रशारक यन्त्रदेखि ल्यास फियोर्ड – स्टाभाङ्गरमा पुनः एकचोटी यहाँहरुलाई न्यानो स्वागत छ, भन्छन् । उनले त्यसो भन्दै गर्दा यसो कर्के नजरले म उनलाई एकचोटी हेर्छु । मान्छे बूढो बूढो छ र उनको लामोलामो केश पाकेर सेताम्मे भएको देखिन्छ ।
हुनत गोदरेजले आफ्नो शक्त्ति प्रदर्शन नगर्ने हो भने मेरो पनि सोही हालत हुन्थ्यो होला ? तर जमाना नक्कलीको छ । यसो हेर्दा उनको सामु मेरो केश निख्खुर कालो देखिन्छ । त्यसो हुनुमा ताराको ठूलो हात छ र म त्यसैमा सन्तोष छु । तर गोदरेजको आशिर्वाद नपाउने हो भने हाम्रो हालत उस्तै उस्तै हुने रहेछ । अथवा पल्टने भाषा प्रयोग गरेर हामीलाई भन्ने हो भने उनी मेरो नम्बरी नै हुनुपर्छ जस्तो लाग्छ ।
जहाजका कप्तानले एकछिन कथन मन्चन गरेपछि हामीलाई, “अब, तपाईहरुले जहाजको दायाँ पट्टी हेर्नु होला ?” निक्कै ठूलो स्वरमा भन्छ । उनको हुकुम सुन्ने बितिक्कै सबै यात्रुहरुको मुन्टो रोबोट जस्तै सर्लक्कै दायाँतिर घुमिहाल्छ । दाहिनेतिर हेर्दा पानीमा फराकिलो जालीहरु बिछ्याएर सालमान माछाको खेती गरेको दृश्यावलोकन गर्न मिल्छ । हुनत जहाजदेखि बाहिर नजर लगाउँदा वर्षे झरी झैं झिरझिर नर्वेजियन पानी परिरहेको भएता पनि नर्वेजियन सालमान माछाको खेती अति सुन्दर देखिन्छ ।
सालमान खेतीलाई छाडेर जहाज क्रमशः अगाडी बढ्दै जाँदा फियोर्डको दायाँ र बायाँ निक्कै धेरै स-साना दीप वा टापुहरु देखा पर्न थाल्छन् । कुनै कुनै टापुहरुमा झुरुप्पै घरहरु देखिन्छ भने कुनै टापुहरुमा केवल एउटा मात्र घर देखिन्छ । अझै कुनै कुनै टापुहरु घरबिहीन पनि रहेका छन् ।
यहाँ पुगेपछि दुईतिर डाँडाको बीचमा सामुन्द्रिक पानी घुसेर निर्माण भएको फियोर्ड र सदाबहर हिऊँ जमिरहने ती रमाईला डाँडाकाँडाका टुप्पाहरुलाई सदैव नजर लगाउँदै जीन्दगी कटाउने यहाँका मानिसहरु कति भाग्यमानी होला भन्ने आभाष हुन्छ । यस्तो स्थानमा बसेपछि उनीहरुको मन कति शान्त र निश्चल होला भन्ने यस्सै यस्सै अनुभूति हुन्छ । सायद नर्वेजियनहरु त्यसैले संसारका सबैभन्दा खुसी (ह्याप्पियस्ट म्यान) भाका होलान् । तर उनीहरुको तुलनामा हामी नेपालीहरु चाहिँ ठीक उल्टो रहेछौं । किनभने हामी सधैँ पैसा खोजिरहन्छौं । नोकरी गर्न कुन देश जाने होला भनेर भौतारिरहन्छौं । र, कसैले चन्दा दिन्छ कि भनेर चन्दाको आशा गरिरहन्छौं । त्यसैले हामी संसारको सबैभन्दा बेखुसी मानिस छौँ होला कि भन्ने मलाई भित्री मनदेखि लाग्छ ।
म त्यसरी एकछिन फियोर्डको सङ्लो पानी सँगसँगै भावनामा बहिरहँदा कप्तानले तिनै टापुहरुलाई देखाउँदै, “तपाईहरुलाई थाहा छ कि छैन को नि ? अहिलेसम्मको गणना भएअनुसार नर्वेमा २ लाख ३९ हजार ५७ टापुहरु रहेका छन् । तैपनि एउटा कुरो याद गर्नोस् है त । त्यतिका धेरै टापुहरु भएर पनि नर्वे संसारको सबैभन्दा बढी टापुहरु भएको देश चाहिँ हुँदै होइन । हाम्रोभन्दा अझै धेरै टापुहरु स्वेडेनमा छ । जहाँ लगभग २ लाख ६७ हजार टापुहरु रहेका छन् ।” त्यसो भनिसकेपछि उनी केहीबेर बिसाउँछन् ।
साँच्चै ! त्यतिबेला उनको कुरो मलाई खुबै चित्त बुझ्छ । म एकचोटी नर्वेजियन क्रुजलाइनरको एउटा क्रुजदेखि स्वेडेनबाट फिनल्याण्ड गइरहेको थिएँ । त्यसबेला मैले स्वेडेनमा असंख्य टापुहरु पार गर्दे गर्दै गएको एकछिन स्मरण गर्छु । तर ती टापुहरुको कुरो सम्झेर ल्याउँदा मलाई यादुसँग एउटा कुरो बिलौना गर्न मन लाग्यो, – “अरु देशका टापुहरु यतिका धेरै धेरै छन् । तर हाम्रो देशको पनि एउटा टापु अझै प्रशान्त महासागरमा बीचैमा भैदिएको भए बाकु, अजरबैजानको जस्तै एउटा अग्लो न अग्लो झण्डा बनाएर राख्नु हुन्थ्यो होला, हगि ?”
मेरो कुरो सुनेपछि, “खै ! म के भनौं वा नभनौं । सामाजिक सँजालमा त हाम्रो देशको मान्छेहरु हाम्रो देशमात्र होइन, संसार नै जितौँला झैँ गरेर ठूल्ठूलो गरेको मात्र सुनिन्छ । अहिले त्यतिमात्र भनौँ होला ?” बितृष्णा मुद्रामा त्यति भन्छ ।
जहाजले केही समयपछि पुलपिट ढुङ्गाको फेदिमा चक्कर मार्न थाल्छ । नर्वेको एक नम्बर राम्रो मानिने पर्यटकीय स्थानमा दोश्रोचोटी दोहर्याएर पुगेता पनि मौसम एकदम बिरमाईलो छ । त्यस्तो नराम्रो मौसममा मुनि पानीदेखि पुलपिट ढुङगाको टुप्पा मुस्किल मुस्किलले देख्न सकिन्छ । किनभने ढुङ्गाको टुप्पाभन्दा ठीकमुनी गजधम्म बादलको काँट बसिरहेको छ । यतिबेला मलाई ठेक्कै म्यानहाटन, न्युयोर्क पुगेको याद आयो । न्युयोर्कमा अवस्थित एम्पायर स्टेट बिल्डिङ चढनको लागि म त्यहाँ पुगेको थिएँ । तर बिल्डिङ चढन पहिले यसो टाउको बाङ्गो हुने गरि मुनिबाट बिल्डिङको टुप्पा हेर्दा कहीँ नभएको बादलले छेकेको थियो । आज पनि ठीक त्यस्तै भयो ।
आँखाभरि परेको पानी वास्ता नगरी बडो दुःखले हामी भएको स्थानदेखि माथिमाथि उकालो हेर्छु । यहाँदेखि ढुङ्गाको टुप्पा लगभग २ हजार फिट माथि रहेको छ । अनि ढुङ्गाको टुप्पा एकदम समथर छ । पहिलोपटक पुलपिट जाँदा ढुङ्गाको टुप्पाबाट कतै लडिएला कि भनेर तारा र मैले फियोर्डको दृश्य हेर्दा भुइँमा बङ्लङ्गै घोप्टो सुतेर अनि टाउको अलिक अगाडि गरेर त्यहाँदेखि मुनिको सुन्दर दृश्यावलोकन गरेका थियौं । त्यो एक समय थियो ।
तर त्यहाँ पुगेपछि सबैभन्दा आश्चर्य चाहिँ मलाई के लागेको थियो भने त्यस्तो खतरनाक स्थानमा ‘मिसन इम्पोसिवल’ चलचित्र कसरी छायाङ्कन गरियो होला ? म अहिले पनि त्यो सम्झेर झसङ्गै हुन्छु । जुन चलचित्रमा सर्वाधिक चर्चित नायक टम क्रुजले मुख्य भूमिका निभाएका छन् । त्यस समयमा हलिवुडको प्रख्यात उक्त्त चलचित्र छायाङ्कन गरेको हेर्नको लागि २ हजार मानिसहरु ४ घण्टा हिँडेर त्यहाँ पुगेका थिए ।
पुलपिटको यात्रा सकिएपछि हामी आफ्नै पानीजहाजमा फिर्छौं । दिउँसोको ठीक ४ बजे हामी पानीजहाजमा फर्कदाँ पानी पर्न रोकिसकेको थियो । त्यसैले हाम्रा मुहारहरु थोरै परिवर्तन भएका थिए । अब बेलुकीपखको मौसम एकदम राम्रो हुन्छ होला भनेर आशाका किरणहरु पलाएका थिए ।
बन्दरगाहदेखि सरासरभित्र छिरेर पानीजहाजको चौथो तलामा प्रवेश गरेपछि, – “अब आज निक्कै थाकियो । गएर कोठामा केहीबेर आराम गरौं है दया,” थकित मुद्रामा ताराले बहिनीसँग सल्लाह माग्छिन् ।
“हुन्छ, हुन्छ नाना ! अब त्यसै गरौन त है । थाकिन्जेलसम्म रमिता हेरिहालियो,” कान्छी सालीले नानाको भनाइलाई सहयोग गरेर कुरोको बिट मारिदिन्छिन् ।
वास्तवमा कुरै गर्ने हो भने हामी बेलायततिर बरालिएको निक्कै वर्ष भैसकेको छ । ठ्याक्कै औला भाँचेर गनिदिने हो भने पनि तीन दशक त पहिले नै बितिसकेको छ । अनि यहाँहरुलाई विदितै भएको कुरो के हो भने अङ्ग्रेजहरु महिला अधिकारमा हामी नेपालीहरुभन्दा शताब्दी नै अगाडी छन् । मलाई चाहिँ महिला अधिकारको अभ्यास धेरै गरेपछि साधारणतय पुरुषहरुको अधिकार त्यसै नै कटौती भइहाल्छ जस्तो लाग्छ ।
ती सबै कुरोहरुलाई मनन गरेर होला सायद नेपालका विज्ञ नेपालीहरुले चाहिँ जस्तोसुकै परिस्थिति सिर्जना भएपनि ३३ प्रतिशतभन्दा बढी कुनै पनि स्थानमा अधिकार दिनु हुँदैन है भन्ने यदाकदा सुनेको थिएँ । सायद सत्य नहुन पनि सक्छ । किनभने नेपालीहरु त्यति साह्रै निर्दयी हुन्छन् जस्तो मलाई कदापि लाग्दैन । तर यतातिर दिदी र बैनीको कुरो सुन्दा र उनीहरुले गरेको निर्णयलाई मान्दा पुरुषहरुको भन्दा उनीहरुको नै बढी अधिकार छ भन्ने ठान्छौं । त्यसैले यादु र म चुपचाप बस्छौं र उनिहरुको विचार अनुसार हामी आ-आफ्नो कोठामा गएर आराम गर्छौं ।
पानीजहाजले बेलुकीको समय ठीक ६ बजे स्टाभाङगर सहरलाई सधैँका लागि छाड्छ । हामी त्यसबेला कोठामा नै आराम गरिरहेका हुन्छौं । अन्य समयमा हुँदो हो त सिरान तलामा गएर पानीजहाजले बन्दरगाह छाड्दै गरेको दृश्य हेर्न अति रमाईलो हुन्थ्यो, लाग्थ्यो । तर आज दिनभरि पानीले चुटेको हुनाले गलेर लखतरान भएका छौं । त्यसैले थपक्कै कोठामा आराम गरिरहेका छौँ । हामी यसरी कोठामा निक्कैबेर आराम गरेपछि बेलुकीको ठीक ८ बजे डिनरको लागि कोरल रेष्टुराँ सातौँ तलामा जाऊँ है भन्ने यादुसँग टेलिफोनमा कुरा हुन्छ ।
बेलुकीको समय ठीक ८ बज्दा तिनै रेष्टुँराको अगाडी हाम्रो भेटघाट हुन्छ । त्यसपछि पेटभरि टन्न खाना खाएपछि यहाँ चिया नपिऊँ तर चिया पिउनको लागि सोह्रौँ तलामा जाऊँ है भन्ने सल्लाह गर्छौं । अन्य समयमा खाना खाइसकेपछि पानीजहाजको मुख्य थियटर हलमा पुगेर बेलायती तरुनीहरुको नाच, तन्देरीहरुको प्रहसन, जादु र एक्रोब्याटिक्स हेर्न पुगिन्थ्यो । तर हामीले आज त्यसलाई हाप्यौँ ।
कोरल रेष्टुराँदेखि सुस्तरी हिँड्दै निस्केर नजिकै रहेको लिफ्ट प्रयोग गर्छौं र सोह्रौँ तलामा पुग्छौं । हामी त्यहाँ पुग्दा पानी जहाजको गति क्रमशः २० नट्समा अगाडि बढिरहेको हुन्छ । त्यसरी अगाडी बढ्दै जाँदा पानीजहाजले ल्यास फियोर्डलाई छाडेर उत्तरी सागरलाई भेट्छ । त्यसपछि उत्तरी सागरलाई छाडेर हामी फेरि साङ्गनेफियोर्डतर्फ हानिन्छौं । साङ्गनेफियोर्ड लगभग २ सय ४ किलोमिटर लामो छ । अथवा यसो भनौं, यो फियोर्ड नर्वेमा भएको १७ सय फियोर्डहरुमध्ये सबैभन्दा लामो र गहिरो पनि हो । हामी त्यो फियोर्ड हुँदै नर्वेको अति सुन्दर गाउँ फ्लाम पहिले नै पुगेका छौं । तर नर्वेको सबैभन्दा राम्रो फियोर्ड चाहिँ गेरान्जा फियोर्ड नै हो । जहाँ हामी यस पटकको यात्रामा पुग्ने छौं ।
हामी सोह्रौँ तलामा पुग्दा बेलुकीको समय १० बजिसकेको छ । रात झमक्कै परेर अँध्यारो भएको भए त रातको समय भन्न मिल्थ्यो होला ? तर मध्यान्हको झैँ घाम तिरिरी लागिरहेको हुनाले बेलुकीको समय भन्न नै सान्दर्भिक ठहर्छ होला भनेर यादुलाई, – “यो बेलुकी नै होला, हगि यादु ?” भन्छु ?
उनले प्रत्यूत्तरमा, – “हो हो ! बेलुकीभन्दा खास्सै फरक परेन । अझै दिउँसै जस्तो छ्याङ्ग उज्यालो छ,” भन्छ । त्यसपछि यादु हाम्रो नजिकै एक हातमा झाडुको डन्डा र अर्को हातमा बाल्टी लिएर उभिरहेकी एकजना फिलिपिनो युवती कर्मचारीसँग बात मार्न थाल्छन् । यादु पहिले नै फिलिपिन्सको राजधानी मनिला पुगिसकेको हुनाले उनलाई उतातिरको भूगोल जम्मै थाहा छ । म जाबो अहिलेसम्म फिलिपिन्समा त्यतिका धेरै टापुहरु छन् र पनि एक चपरी जमिन टेकेको छैन । तैपनि फिलिपिन्सको राजनैतिक मानचित्र चाहिँ निक्कै धेरै थाहा छ । किनभने मैले हङकङदेखि सुरु गरेर रियाद, निकोशिया, लण्डन र भ्यान्कुभरसम्म पुग्दा असंख्य फिलिपिनो साथीहरु बनाएको छु ।
सोह्रौँ तलाको होराइजन बफे रेष्टुराँ बाहिर यादु एकछिन रोकिएपनि म अगाडी अगाडी अनि मेरो ठीक पछाडी पछाडी दिदी र बैनी एक हल बहर गोरु जस्तै नारिएर सँगसँगै हिँडिरहेका छन् । हामी रेष्टुराँदेखि ठीक बाहिर निस्केपछि दिउँसोको समय झैँ टललल घाम लागिरहेको देखेर ताराले, – “मानिसले नर्वेलाई मध्यरातमा अस्ताउने सूर्यको देश त्यसै भनेका हैन रहेछन्, होइन सानी ?” आफ्नो प्यारी बैनीलाई माया गरेर एक्कासी त्यसो भन्छिन् ।
दाहिने हातमा एक कप हरियो चिया बोकेर फङ्लङ फङ्लङ जिऊ फालेर हिँडिरहेकी दयाले, – “हो, रहेछ – नाना हो । अझै त्यति मात्र कहाँ हुनु र ? ठाउँ भन्नु ठाउँ नै रहेछ, नर्वे । हेर ! कति सुन्दर हरियाली डाँडाकाँडा, छहरा, पहरा र यहाँका पातलो बस्तीहरु । यति राम्रो ठाउँ त म जिन्दगीमा पहिले कहिले पनि पुगेको थिइनँ । अब फेरि पुग्दिनँ पनि होला ? तर यो फियोर्ड भन्ने चाहिँ सायद भगवानले नै यस्तो बनाइदिएको हो कि, खै के हो ?” भित्रि दिल खोलेर खुशी प्रकट गर्दै त्यति बोल्छिन् ।
म दयाको कुरो सुनेर पहिले थोरै मुस्कुराउँछु । त्यसपछि, “कान्छी ! सालीज्यू । जिन्दगीमा केही नजाने पनि एउटा कुरा चाहिँ जानि राख्नु है । त्यो के हो भने यस धर्तीमा भगवान, धर्म र साम्यवाद चाहिँ कहीँ पनि हुँदै हुँदैन । र, तिनीहरुलाई भेट्न खोज्यो भने आफ्नो सारा समयमात्र बर्बाद हुन्छ तर कहिले भेट्न सकिँदैन् । तिमी विश्वास गर या नगर त्यो आफ्नो ठाउँमा छ । बरु उल्टै यसमा लागेपछि मान्छे वनमान्छे भइन्छ । त्यसको सट्टामा एकछिन एकान्तमा बसेर राम्ररी सोच्यौँ भने मानव जीवनको लागि सबैभन्दा ठूलो झुटको खेती भनेको यी माथि भनिएका तीनवटा कुराहरु मात्र रहेछन् भनेर बुझ्छौं,” आखिर मेरी सालीले केही बुझ्दै बुझ्दिनन् होला भनेर म पनि ठूटे नेपाली नेताहरुले झैँ छोटो भाषण गरिदिन्छु ।
“त्यसो भा के चाहिँ हुन्छ त, भेना ! लु लु भन्नोस् त सुनि हालौं ?”
“आफू सँगसँगैको मानिसले आफूभन्दा धेरै उन्नति वा प्रगति गर्यो भने इर्ष्या (जेलसी) हुन्छ । आफूले सोच्दै नसोचेको कुरो अचानक आफ्नो अगाडी धेरै पर्यो भने लोभ (ग्रिडीनेस ) हुन्छ । र, अन्तमा आफ्नोभन्दा अरुको राम्रो विचार आयो र उसको अगाडि आफ्नो विचार मर्यो भने मान्छेलाई रिस (एङ्ग्रिनेस) उठ्छ । त्यसकारण इर्ष्या, लोभ र रिसबाहेक अरु केही चिज हुँदैन । आखिर मानव जीवनमा यी तीनवटा कुरा मात्र हुन्छ । त्यो बाहेकको अन्य सबैकुरो मिथ्या हुन्,” संक्षिप्तमा त्यति भन्छु ।
त्यसपछि, क्रमशः अगाडी बढिरहेका मेरा कदमहरुलाई म अनायासै रोक्छु र एक सिरिप पियोर चिया पिएर कान्छी सालीको मुहारलाई मज्जाले नियाल्छु । त्यसबेला बूढो भेनाको कुरो सुनेर होला ? कलिलै भएपनि कान्छी सालीको निधारमा मेरो जस्तै तीन/चार धर्सा रेखाहरु देखा पर्छन् । राईकी छोरी हुन् जस्ले गर्दा उनकी पताला परेलाहरु ब्यूँझेर ठाडा ठाडा भएका देखिन्छन् । थेप्चो नाकका नरम पोराहरु तन्केर अलिक परपर पुगेको आभाष हुन्छ । दुवै पट्टीका रित्ता कानका तीन/चारवटा छेँडहरु अलिकति खुलेका जस्ता मलाई लाग्छ । उनको सुकोमल ओठहरु अचानक सुख्खा अति सुख्खा सहारा मरुभूमिमा परिणत हुन्छन् ।
अब – म फेरि फेरि दोहोर्याएर वा तेहेर्याएर मेरी सोझी सालीलाई केही भाषण शासन गर्दिनँ । केवल मध्यरातमा अस्ताउने नर्वेको सूर्यलाई निरन्तर हेरिरहन्छु, हेरिरहन्छु ।
समाप्त ।
अक्सफोर्डसायर ।
पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।