बेलायतमा हुने तमु ल्होछारका लागि आइपुगे कलाकार, लामागुरु र अतिथि

लन्डन । बेलायतमा विभिन्न संघ संस्थाले आयोजना गर्ने तमु ल्होछार कार्यक्रमका लागि लामागुरु, कलाकारसहितका अतिथिहरु आइपुगेका छन् ।

तमु धीं यूके, गोरखा जिल्ला गुरुङ समाज यूके, बीसीसी यूके, तमु प्ये ल्हु संघ यूकेलगायतले आयोजना गरेको कार्यक्रमका लागि अतिथि, कलाकार र लामा गुरु बेलायत आएका हुन् ।

तमु धीं यूकेले २८ डिसेम्बर २०२४ मा ह्यारो लेजर सेन्टरमा आयोजना गरेको रजत महोत्सव तथा ल्होछार कार्यक्रमका लागि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र तमु धीं जापानका उपाध्यक्ष अर्मन गुरुङ बेलायत आइपुग्नु भएको छ । उहाँहरु बुधबार राति २५ डिसेम्बर २०२४ मा लन्डनको हिथ्रो एयरपोर्ट उत्रिनुभएको हो ।

उहाँहरुको स्वागतका लागि तमु धीं यूकेका वर्तमान अध्यक्ष जुमकाजी गुरुङ, निवर्तमान अध्यक्ष हरि गुरुङ. पूर्वअध्यक्ष ज्ञाम गुरुङ, उपाध्यक्ष तथा ल्होछार कार्यक्रम संयोजक कमल गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङले लगायत एयरपोर्ट पुग्नुभएको थियो ।

हुमबहादुर र अर्मनले विश्वभरिमा उदाहरणीय बनेको तमु धीं यूकेजस्तो संस्थाले आफ्नो रजत महोत्सव ल्होछार समारोहमा आफूहरुलाई निमन्त्रणा गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँहरुले सप्री ल्होको अवसरमा हुने कार्यक्रम सफलताको शुभकामना दिँदै उपस्थितिका लागि आग्रह गर्नुभयो ।

तमु धिं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङले पनि पाहुनालाई स्वागत गर्दै २८ तारिखमा क्राइस्टचर्च एभिन्यू, ह्यारो लेजर सेन्टरमा हुने सांगीतिक कार्यक्रमसहितको ल्होछार र रजत महोत्स्वमा उपस्थितिका आग्रह गर्नुभयो ।

तमु धीं यूकेको सोही कार्यक्रममा प्रस्तुति दिन लोकप्रिय लोक पप गायिका तृष्णा गुरुङ र उहाँको ‘द कोल्याब ब्यान्ड’ एक हप्ता अघि नै बेलायत यसअघि लन्डन आइसक्नुभएको छ ।

कार्यक्रमको तयारी तीव्र पारिएको तमु धींले जनाएको छ ।यस्तै गोरखा जिल्ला गुरुङ समाज यूकेले शनिबार २८ डिसेम्बरमा फोल्क्टोन, केन्टमा गर्ने सप्ह्री ल्हो ल्होछार सांस्कृतिक कार्यक्रमका लागि चर्चित गायक शितल गुरुङ, गायिका हरिमाया गुरुङ र बिमला गुरुङ बुधबार राति बेलायत आइपुग्नुभएको छ । उहाँहरुको स्वागतका लागि गोरखा गुरुङ समाजका अध्यक्ष टेकमान गुरुङ, उपाध्यक्ष राजकुमार गुरुङ, सल्लाहकारहरु टकमान गुरुङ, धनबहादुर गुरुङ, बलराम गुरुङ, गणेश गुरुङ, दिनेश गुरुङ, निवर्तमान उपाध्यक्ष मिनकुमार गुरुङ, समाजका मिडियाकर्मी मनिराज गुरुङ र समाजका आजीबन सदस्यहरु हिथ्रो एयरपोर्ट पुग्नुभएको थियो ।

केन्टस्थित हकिङ कम्युनिटी हल हेरोनमा हुने कार्यक्रममा लोक तथा दोहोरी गायिका रेजिना परियारको समेत प्रस्तुति रहनेछ । रेजिना केही महिनादेखि नै बेलायतको सांगीतिक भ्रमणमा हुनुहुन्छ ।

कार्यक्रम दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि निर्धारण गरिएको छ । कार्यक्रममा सहभागी हुन वयस्कलाई २५ पाउन्ड, ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई १२ पाउन्ड शुल्क तोकिएको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

यसैगरी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले आयोजना गर्न लागेको तमु ल्होछार पर्वका लागि पोखराका वरिष्ठ बौद्ध धर्म गुरु गुप्ती गुरुङ बेलायत आइपुग्नुभएको छ । मंगलबार २४ डिसेम्बर राति लण्डन आइपुग्नुभएका लामा गुरु गुप्तीलाई स्वागत गर्न बीसीसी युकेका उपाध्यक्ष एवं तमु ल्होछार संयोजक क्याप्टेन देब घले, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, सल्लाहकार कमल गुरुङ, आमा उपप्रमुख शारदा गुरुङ, आमा समूहकी सदस्य प्रेमा गुरुङलगायत सदस्यहरु हिथ्रो एयरपोर्ट पुग्नुभएको थियो ।

त्यस्तै, तमुधिं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ, घान्द्रुक समाज युकेका निवर्तमान अध्यक्ष नारायणसिंह गुरुङ, पूर्वअध्यक्ष अर्जुन गुरुङ, घान्द्रुक काम्चे कोन्मय खलक युकेका अध्यक्ष क्या. चन्द्रबहादुर गुरुङलगायत आफन्तजन, शुभचिन्तक र भक्तजनहरु हिथ्रो पुगी खादा लगाई स्वागत गर्नुभएको थियो ।

बीसीसी युकेले आउने सोमबार ३० डिसेम्बरका दिन अल्डरसटस्थित गुम्बामा तमु ल्होछारको अवसरमा आयोजना गर्न लागेको विशेष पूजापाठमा वरिष्ठ लामा गुप्ती गुरुङलाई निमन्त्रणा गरिएको हो । उहाँ घ्यासी पूजा, आयु पूजा, महाकाला पूजा, दिप प्रज्ज्वलन, साङ पूजालगायतका पूजाहरुमा सहभागी हुने बीसीसी यूकेले जनाएको छ ।

मितिका आधारमा पुस १५ मा मनाइने तमु ल्होछार देश विदेशमा मुख्य दिनको अघि पछि पनि हुने गरेको छ । तमु (गुरुङ) समुदायले यस वर्ष मुप्रि ल्हो (गिद्द वर्ग) को बिदाइ र सप्ह्री ल्हो (सर्प वर्ग) ल्हो को स्वागत गरी ल्होछार मनाउँदै छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री