काठमाडौँ । नेपालका लागि बेलायती राजदूत रब फेन र उहाँकी धर्मपत्नी जुलिया फेनले जनकपुरधाममा २२औँ वैवाहिक वर्षगाँठ मनाउनुभएको छ ।
मैथिली परम्परा अनुसार मालाफेर र सिन्दूर लगाएर फेन दम्पतीले वर्षगाँठ मनाउनुभएको हो । फेनकी धर्मपत्नी जुलियाले मिथिलामा दुल्हनले सौभाग्यका लागि पहिरिने रातो सारी र चुनरी पहिरिनुभएको थियो ।
बेहुला र बेहुलीले लगनगाँठो कसेझैँ जानकी मन्दिरका सहायक महन्त रामरोशन दासलाई साक्षी राखेर उहाँहरूले जानकी मन्दिरमा दर्शन पनि गर्नुभयो ।
त्रेतायुगमा भगवान् रामले विवाह गरेको स्थान जनकपुरधाममा आफ्नो वैवाहिक वर्षगाँठ मनाउन पाएकोमा खुसी लागेको राजदूत फेनले बताउनुभयो ।