लन्डनमा कांग्रेस नेता डा कोइरालासँग दोहोरो नागरिकताबारे विज्ञहरुको अन्तरक्रिया

लन्डन । बेलायतमा कार्यरत विज्ञ तथा पेशाकर्मीहरुले प्रवासी नेपालीलाई दोहोरो नागरिकता दिँदा नेपाललाई नै फाइदा हुने जनाएका छन् ।

हाल बेलायतको भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालासँगको अन्तरक्रियामा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स (एसओएनपी) युकेसँग आबद्ध विज्ञहरुले त्यस्तो बताएका हुन् । आइतबार दक्षिण पूर्वी लन्डनमा आयोजित एक अन्तरक्रियामा एक प्रस्तुति दिँदै नेपालको सन्दर्भमा दोहोरो नागरिकताको औचित्यको अध्ययन गर्न एसओएनपी युकेद्वारा गठित विज्ञ समितिका लिड डा ओमप्रसाद गौतमले अहिले संसारका झन्डै आधी मुलुकहरुले आफ्ना प्रवासी नागरिकहरुका लागि दोहोरो नागरिकताको व्यवस्था गरेको जनाउनुभयो । उहाँले ७८% रास्ट्रहरुले आप्रवासी र प्रवासीहरुलाई कुनै न कुनै रुपमा आफ्नो नागरिकको रुपमा ग्रहण गरेको तर २२% देशहरुले पूर्ण रुपमा अस्वीकार गरेको जनाउनुभयो । एशियाका ४८ मध्ये २०, यूरोपेली संघका २७ मध्ये २३ ओटा, अमेरिका महादेशका ९८% देशहरुले साथै अफ्रिकाका अधिकांश देशहरुले दोहोरो नागरिकता प्रदान गरेको उहाँले जानकारी दिनुभयो । सोमालिया, केन्या, घाना, दक्षिण कोरियाजस्ता देशहरुको उदाहरण दिँदै उहाँले दोहोरो नागरिकता मुलुकको सामाजिक तथा आर्थिक प्रगतिका लागि फाइदाजनक रहेको दावी गर्नुभयो ।

सोसाईटी अफ नेप्लिज प्रोफेसनल्स युकेका अध्यक्ष गजेन कटुवालले नेपालले अहिले सम्म लगानी र आर्थिक कुरामा मात्रै जोड दिँदै आएको बताउँदै अब प्रवासमा रहेको मानव पूँजीको उपयोगको बारेमा पनि सोच्न आग्रह गर्नुभयो । ‘हामीसँग भएको विज्ञता नेपालको हितमा प्रयोग गर्न हामी लालायित छौं,’ उहाँले भन्नुभयो । उहाँले दोहोरो नागरिकता सम्बन्धी विश्वव्यापी अभ्यासको बारेमा अध्ययन गरेर सुझाव दिन संस्थाले एउटा स्वतन्त्र ‘सिस्टमेटिक रिभ्यु’ गर्न लागेको जानकारी दिनुभयो ।

अध्ययन कार्यदलमा डा ओम गौतम (संयोजक), प्रा तेजेन्द्र फेराली, डा नारायण भट्टराई, डा रामजी पौडेल, डा बिदुर घिमिरे, डा बच्चु कैलाश कैनी, अध्यक्ष कटुवाल तथा पूर्व अध्यक्षहरु इ बिष्णु न्यौपाने तथा यादव श्रेष्ठ रहनुभएको छ । त्यस्तै रिभ्युअरमा प्रा डा सूर्य सुवेदी, डा राघव धिताल तथा कुल आचार्य रहनुभएको छ ।

वरिष्ठ कांग्रेस नेता डा कोइरालाले विभिन्न क्षेत्रका विद्वानहरु एकै संस्थामा आएर नेपालको हितमा अध्ययन अन्सुन्धान गरि रहेको थाहा पाउँदा आफुलाई खुसी लागेको बताउनुभयो । उहाँले दोहोरो नागरिकता सम्बन्धमा सोसाईटी अफ नेप्लिज प्रोफेसनल्स युकेले स्वतन्त्र ‘सिस्टमेटिक रिभ्यु’ गर्न लागेको एकदमै राम्रो काम भएको बताउंदै यसको निष्कर्ष आफूहरु लाई उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले ग्लोबल मात्रै हैन मध्य पूर्व र युरोपबाट नेपाल जाने रेमिट्यान्सको डेटा पनि छुट्टा छुट्टै रुपमा हेर्न आग्रह गर्नुभयो । उहाँले नेपालको संविधानले गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरेको भएता पनि त्यसलाई समयमै कार्यान्वयन नगरिएकाले विभिन्न समस्या हरु आएको जनाउनुभयो ।

“दोहोरो नागरिकतालाई म ठिक पनि भन्दिनँ, बेठिक पनि भन्दिनँ । तर यसको लागि प्रमाण तयार गर्दै गर्नुस, त्यो जरुरी छ,” कोइरालाले भन्नुभयो । उहाँले दुई विशाल शक्ति राष्ट्रहरु, भारत र चीनसँग सीमा जोडिएकाले दोहोरो नागरिकताको विषय संवेदन शील बन्न पुगेको जनाउनुभयो । यसबारे थप अध्ययन गर्न पनि उहाँले आग्रह गर्नुभयो । “नेपालको समृद्धिमा तपाईंहरुको विज्ञता जरुरी छ । सहयोग जारी राख्नु होला,” उहाँले भन्नुभयो ।

रोयल बरो अफ ग्रिनिचका मेयर जित रानाभाटले कमनवेल्थ राष्ट्रमा अन्य मुलुकले पनि सदस्यता लिन सक्ने भएकाले पर्यवेक्षक वा कुनै रुपमा जोडिन नेपाल लाई फाइदाजनक हुने सुझाव दिनुभयो । कार्यक्रममा सहभागीहरुले संविधानले एनआरएन नागरिकता दिइसकेपछि भिसा लिन लगाउने नियम ठीक नभएको धारणा राख्नुभएको थियो । उनीहरुले तेश्रो पुस्ता पछि एनआरएन नागरिकता के हुन्छ ? भन्ने प्रश्न पनि गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका महासचिव डा बिदुर घिमिरेले स्वागत गर्दै कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमको सभापतित्व तथा सहजीकरण अध्यक्ष गजेन कटुवालले गर्नुभएको थियो उपाध्यक्ष डा रामजी पौडेलले प्रमुख अतिथिलगायत सबै सहभागीलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री