सौतिनी आमाको छोरो म

जीवन / अनुभूति

मैले यस धर्तीमा पाइताला टेक्नु अगाडि मेरो बाबुको पाँच भाइ छोराहरु र पाँच बैनी छोरीहरु जन्मेका थिए । माइला छोराको अल्प आयुमा मृत्यु भएको थियो । त्यसकारण मेरो उहाँसँग प्रत्यक्ष भेटघाट हुन सकेन । बाँकी अन्य सबैजना जीवितै हुनुहुन्थ्यो । त्यसैले मैले उहाँहरु सबैजनालाई भेटें । दाजुहरुमध्ये कान्छा दाजुको चाहिँ बिहे भएको थिएन । त्यसैले हामी दाजुसँग एकै परिवारमा बस्दथ्यौं । बिहे भएका दाजुहरु चाहिँ छुट्टिएर आ-आफ्नै घरमा बस्नु हुन्थ्यो । झन् दिदीहरुको त के कुरा गर्नु र ? बिहे भएपछि आ-आफ्नो घरबार सम्हाल्न गइसक्नु भएको थियो ।

बाबुको उमेर झण्डै ५७ वर्ष पुग्नै आँटेको थियो । त्यति रमाईलो परिवारमा एकदिन अचानक एउटा यस्तो घटना घट्छ । दैव पनि कति पापी हुने रहेछ । ठूली आमाको अचानक मृत्यु भयो । यो संसारमा मृत्युमात्र एउटा यस्तो चिज हो जो आफ्नो इच्छाभन्दा निक्कै टाढा हुन्छ । उनको मृत्यु भएपछि बाबु सांसारिक मायाजालबाट टाढिन खोज्नु भयो र एकदिन भौँतारिएर गाउँलाई चट्टै छाडेर मुग्लान भासिनु भयो । त्यसपछि दार्जिलिङ्, सिक्किम र भोटाङतिर लगभग दुई वर्ष जति आरा काटेर वा सुन्तला बोकेर पुनः गाउँ फर्किनु भयो ।  

बाबु गाउँ फर्किनु भएपछि ठूल्दाजुले, – “अब, यसरी बिरक्तिएर हुन्छ, बाबु ? बरु बिहे गर्नु पर्छ । म हजुरको लागि सानी आमा खोजिदिन्छु,” भन्नुभयो । दाजुको कुरो सुनेर बाबुले लगभग ५९ वर्षको उमेरमा मेरी आमालाई बिहे गर्नु भएको थियो । त्यसपछि एकजना बैनी र मेरो जन्म भएको थियो ।

बाबुसँग लगभग ६० वर्षको फरक उमेरमा जन्मेपछि मेरो कालखण्ड सुरु हुन थालेको थियो । किनभने बाबुको ६० वर्षे एकल ज्यानबाहेक अन्य केही श्रीसम्पत्ति थिएन । जग्गा जमिन जे जति थियो त्यो सबै दाजुहरुलाई अंशबण्डा गरिदिनु भएको थियो ।

“अब मलाई केही चाहिँदैन । एकदम सरल जीवन यापन गर्छु । अलिकति जिउनी सिमखेत राख्छु,” भनेर अरु केही राख्नु भएको थिएन ।    

हुन त म त्यसबेला अलिक सानो नै थिएँ । त्यति धेरै कुरो बुझ्ने त भइसकेको थिइनँ । तर पनि अन्न खान मिल्छ र त्यसलाई उब्जाउनको लागि जमिन चाहिन्छ भन्नेसम्म बुझ्न थालेको थिएँ । त्यसरी अलिअलि कुरो बुझ्न थाल्ने भएपछि बाबुको सादगी जीवनले मलाई मस्तिष्कमा निक्कै चोट पार्न थालिसकेको थियो । किनभने मेरो नाममा एक चपरी जग्गा जमिन थिएन । हामीले जे जति कमाइ रहेका थियौँ त्यो सबै कान्छा दाजुको अंशमा परेको थियो ।

दिनपछि रात र रातपछि दिन हुँदै गाउँका मेरा पाँच/छ हिउँदहरु आमासँग बाख्रा गोठालो गरेर नै बिते । वास्तवमा ती बाख्राहरु पनि आमाले आफ्नी माइतघरबाट ल्याएकी थिइन् । आमाको माइतीघर हाम्रो घर बुईपा छिप्तीबाट निक्कै टाढा पर्छ, हलेसी – रातमाटे । मलाई थाहा भएसम्म हरेक दशैँमा आमा, बैनी र म मावलीघर जान्थ्यौं । बैनी र म स-साना थियौँ र हामीलाई मावलीघर जानु असाध्यै मन पर्थ्यो । मावली पुगेपछि असाध्यै खुशी हुन्थ्यौं । तर त्यहाँ जानको लागि त्यति सजिलो भने छँदै थिएन । बिहानको झुल्के घाममा थपक्कै उठेर हिँड्दा बेलुकीपख बास बस्न मात्र पुग्दथ्यौं ।

मेरो मावलीमा आमालाई असाध्यै माया गर्ने उहाँको एकजना दाजु हुनुहुन्थ्यो । दाजुले बैनीलाई देख्ने बितिक्कै खुट्टा छोएर ‘पके’ भनेर बोलाएको म अहिले पनि झल्झली स्मरण गर्छु । दुर्भाग्य नै भन्नुपर्छ, उहाँहरु दुवैजना अहिले यस लोकमा हुनुहुन्न । तर मेरो दिमागमा उहाँहरुको सम्झना अझैसम्म ताजै रहेको छ । अँ… पके भनेको चाहिँ चाम्लिङ भाषामा माइली बैनी हो ।

आमाको दाजुलाई चाहिँ हामीले दिकु भन्नु पर्थ्यो । खास खासमा मेरो दिकुको नाम चन्द्रबहादुर राई हो । तर रातमाटेका मानिसहरुले उहाँलाई उनन्चास (४९) भनेर बोलाउने गर्नु हुन्थ्यो । जुन नम्बर इस्ट इन्डिया कम्पनीमा कार्यरत हुँदा उहाँले पाउनु भएको थियो । त्यस प्रकारको सैनिक रेजिमेन्टल नम्बर हरेक बेलायती गोर्खा सिपाहीहरुले पाउने गर्छ र त्यो नम्बर आठ वटा हुन्छ । उक्त्त नम्बरको अन्तिम दुई नम्बर उनन्चास हो । त्यसैले अधिकतम गोर्खा सैनिकहरुले तिनै अन्तिम नम्बरको प्रयोग गर्ने गर्छन् । तर दोश्रो विश्वयुध्दको अन्त भएपछि, – “अब हामीलाई तिम्रो आवश्यक्ता छैन । घर फर्केर जाऊँ है,” भनेर दिकुलाई खाली खुट्टा घर पठाएका थिए । उहाँ सेनाबाट त्यसरी फिर्ता (रिडन्डेन्सी) भएर आउनु भएपछि आफ्नो गाउँ हलेसीमा खेतिपाती गरेर बस्नु भएको थियो ।

कुरो २०२७ सालको हो । हिन्दु धर्माबलम्वीहरुको महान चाड बडादशैँ सकिएपछि बुईपा, खोटाङमा फेरि हिउँद लाग्न सुरु गर्यो । तर मध्ये हिउँदको उत्कर्षले बुईपालाई छुन पाउँदा नपाउँदै कान्छा दाजुले गाउँकै एकजना दुलही घरमा भित्र्याउनु भयो । त्यसरी दाजुले घरमा भाउज्यू ल्याउनु भएको एक/दुई महिनासम्म सबैकुरो ठीकठाक चलिरहेको थियो । त्यसपछि परिवारमा सानातिना खटपटहरु सुरु हुन थाल्यो । अझै कुनैबेला उहाँहरुले गल्याङमल्याङ गर्दै निकाल्नु भएका ठूल्ठूला आवाजहरु अहिलेसम्म पनि मेरो कानमा मज्जाले गुन्जिरहेकै छ ।

अरु दाजुहरुसँग अंश नमिलेको विषयमा बाबु र कान्छा दाजुको घरझगडा दिनानुदिन बढ्दै गयो । दिन दुई गुना रात चार गुना हुँदै सबै गाउँलेहरुले चाल पाउँदै गए । अन्तत बाबुछोराको झगडा नमिलेपछि हामी घरबाट छुट्टिएर मतान (टहरो) मा सर्न बाध्य भयौं । मतान त्यति टाढा थिएन । भनौँ – घर र मतानको आँगन भने एउटै थियो । हामी त्यसरी छुट्टिएर मतानमा सरे पनि दाजु भाउज्यूसँग हाम्रो सामाजिक दुरी त्यति टाढा भएका थिएन । केवल खान र सुत्नको लागि मात्र छुट्टिएको जस्तो आभाष भइरहेको थियो ।

ढुङ्गा र माटोको गाह्रो र फुसको छानोले बनेको मतान बिल्कुल सानो र एकतले थियो । मतानको तलामाथि हामी बस्थ्यौँ र मुनितलामा बाख्रा खोर राखेका थियौं । तर हामी त्यहाँ बसेको पनि दाजु र भाउज्यूले अलिक मन पराउनु भएन छ क्यारे । त्यसैले झगडा साम्य भइसकेको थिएन । हुन पनि हामी त्यहाँ बस्न उचित हुँदैन रहेछ । किनभने त्यो घरबारी उनै कान्छा दाजुको अंशमा परेको भन्ने मैले पछि गएर चाल पाएँ ।   

गाउँमा पुस महिना जानै लागेको थियो । माघ महिना सुरु हुन अगावै अचानक जाडो ह्वात्तै बढेको थियो । पुसको अन्तिम सप्ताहन्तमा रातभरि परेको तुषारोले बारीमा काटिएका कोदोका नलका डाँठहरु सीसाझैँ कडाकडा भएका थिए । तिनै नलबारीमा नाङ्गो खुट्टाले टेक्त्ता निस्केका चुरुमचुरुम आवाजसहित जुमेम्पा दाजु अचानक हाम्रो घरको आँगनमा झुल्कन्छन् । त्यसपछि ख्वाक्क एकचोटी खोकेर घाँटी सफा गरेपछि हामी बसिरहेको मतानको तला माथि चढ्नु हुन्छ ।  

म त्यतिखेर भर्खरभर्खर उठेको थिएँ र बिहानी पखको जाडो धपाउन अगेना छेउमा बसेर आगो तापिरहेको थिएँ । अझै आमाले कतिबेला खाजा खान दिन्छिन् होली भनेर भुल्भुली उम्लिरहेको कोदोको खोलेको रमिता हेरिरहेको थिएँ । तर एक्कासी हाम्रोसामू दाजु झुल्किनु भएपछि मेरो ध्यान उहाँतर्फ केन्द्रित हुन्छ । उहाँ आइपुग्ने बितिक्कै भुइँमा पलेटी मारेर बसिरहेको बाबुलाई, –  

“बाबै ! होइन, के गर्दैछौ ?” एकपटक बाबुतिर हेर्दै सोध्नु हुन्छ । (बाबै भनेको चाम्लिङ भाषामा काकालाई भन्ने गरिन्छ) त्यसपछि नजिकै रहेको काठेपिरा तानेर थपक्कै बस्नुहुन्छ ।   

“जेठा ! केही छैन । जे जे जिन्दगीमा गर्नु थियो । त्यो सबै गरियो । अहिले काल पर्खेर बसेको छु । तर के गर्नु भगवानको कृपाले दिएको हात थाप्नै पर्यो । यी अहिले दुईजना भाल्टाङभुल्टुङ जन्मेमा छन् । अब यिनीहरुले के गरेर खान्छन् होला भनेर हल्का पिरमा छु,” फुलेर सेताम्मे भएका तर पातला जुङ्गा हल्लिँदै बाबुको मुखबाट जवाफ फर्किन्छ ।

“तिमीहरु बाबु-छोरा धेरै बाझ्यौ । म तिमीलाई मेरो पुर्खेम्पा बारीको एक गह्रा बारी दिन्छु । त्यो बारी नजिकको दुई-चार घना बाँस र पाँच/छ पात भकारी पनि दिन्छु । एउटा गोठ बनाएर बस् । जम्माजम्मी ६ सय रुप्पे दाम भयो । जुन बेला सक्छौ सोहीबेला देऊ । मेरो बाबुको काइँला भाइ हौ । के गर्नु ? तिम्रो समयमा बुद्धि पुगेन, बाबै । अहिले आएर बुढेसकालमा दुःख पायौ,” जुमेम्पा दाजुले सरर त्यति भन्नु हुन्छ । अब ऋणमा भएपनि गोठ बनाएर बस्ने स्थान दिन्छु भनेको सुन्दा उहाँको बोली बाबुलाई अमृतवाण जस्तो लाग्छ ।  

“हुन त हो, तर म तिम्रो ऋण त के तिर्न सक्छु होला र ? तैपनि बुढेसकालमा यो एउटा छोरो जन्मेको छ । वा कतै भाग्यमानी पो छ कि ? पछि ठूलो भएर कतै भर्ती गयो भने त तिम्रो ६ सय रुप्पेको दोब्बर १२ सय पनि तिर्न सक्छ,” भन्दै तीन चाउरी परेको बाबुको अनुहारमा थोरै प्रशन्नता छाउँछ ।

“जुमेम्पा ! तिमीले कति मीठो कुरो गर्यौ । गोठमा नै भएपनि अब हामीले बस्ने ठाउँ त पायौ नि, हगि । तिमी त साइनोले हाम्रो भतिजो भएपनि हाम्रो लागि भगवान सरह नै भयौ । तिमीलाई धेरै धैरै आशिर्वाद छ,” गहभरि भरिएको हर्षको आँशु छचल्किएर आमाको बर्कीमा पोखिन्छ । त्यसपछि मन शान्त बनाउन आमा एकछिन मतानको भित्तातिर फर्केर हेर्नुहुन्छ ।

“छ्या हौ आमा ! नरुनु न । किन रुनुहुन्छ ?” आफ्नै अगाडि त्यसरी आमा रोएको देख्दा मलाई नरमाईलो लाग्छ । हरेक बच्चाहरुको लागि आमाभन्दा ठूलो यस संसारमा अरु कुनै चिज हुँदै हुँदैनन । हो, त्यसैले म आमालाई असाध्यै माया गर्दथेँ । तर त्यसबेला स्नेहको साथ म आमालाई त्यतिसम्म सोध्छु । अनि बढेर ठूलो भएपछि आमाको आँखाबाट एक थोपा आँशु झर्न दिने छैन भनेर मनमनै प्रण गर्छु ।

“छोरा ! तिमी अहिले अलिक सानो नै छौ । त्यसैले धेरै कुरो बुझ्दैनौ । पछि ठूलो भएपछि सबै कुरो बुझ्छौ,” सिलाबरे डाडुले एकपटक खोले चलाउँदै चलाउँदै आमा त्यति भन्नुहुन्छ ।

“लु बाबै ! भोलि पर्सितिर पुर्खालाई एकदिन सघाइ देऊ भनेर खेताला माग्छु । ऊ फुर्सत भएन भने एकजना साथी खोजेर ल्याउँछु । दुई/तीन दिन जतिमा त जाबो एउटा सानो गोठ बनिहाल्छ नि । गोठ बनेपछि अर्को हप्तातिर सर्नु पर्छ । अहिले म गएँ है,” भन्दै दाजु बसिरहेको स्थानदेखि बिस्तारै उठछन् ।

“जुमेम्पा ! जाँड खान्थ्यौ होला ? तर हाम्रोमा जाँड छैन । हुनत हामी ज्यादै गरिब छौँ भनेर तिमीलाई थाहा भएकै कुरा हो । साँच्चै साँच्चै भन्ने हो भने अहिले हाम्रोमा मान्छेहरुलाई खान दिनको लागि केही पनि छँदै छैन । यी अलिकति कोदो थियो । त्यो पनि हिजो पल्लोघरको जाँतोमा पिसेर ल्याएको छु । त्यसैको अहिले नानीहरुलाई खोले बनाइ दिइरहेको छु । हुनत के नै पो थ्यो र ? जाबो जम्मा चार पाथी कोदो त भागमा परेको थियो । तर केही फिकर छैन । पछि जुन बेला सक्छु । त्यो बेला जाँड पकाएर खान बोलाउँला नि है,” बसिरहेको स्थानदेखि उठेर हिँड्दै गरेको दाजुलाई आमाले त्यति भन्नु हुन्छ ।

“हुन्छ, हुन्छ । पछि खाउँला नि । अहिले मलाई अलिक हतार पनि छ । गोठमा गाईवस्तुलाई घाँसपात गरेर सीधै यता आको,” भन्दै उहाँ आफ्नो बाटो लाग्नुभयो ।    

ती दाजुको असली नाम लगनध्वज राई हो । तर उहाँको जेठी छोरीको नाम जम्मासरी हो । चाम्लिङ राईहरु गाउँघरमा बोलिचालीको भाषामा जम्मासरीको बाबुलाई जुम्मेम्पा भन्ने गर्छन् । यस अर्थमा (जुम्मा ‌+ उम्पा) भन्नाले जुम्माको बाबु भन्ने बुझाउँछ । अँ, खास खासमा भन्नु पर्दा उहाँ मेरो बाबुको जेठा दाइको एकल छोरा हुन । उहाँ एक्लो भएकै कारण प्रशस्तै जग्गा जमिनहरु थिए । अब उनैको कृपाले ऋणमा भएपनि हामीले स्वाधीनताका साथ आफ्नो खुट्टा टेक्ने स्थान अलिकति जमिन पाउन लागेका थियौं । त्यसैले उहाँको कुरो सुनेर हाम्रो परिवारमा अति खुशी छाएको थियो ।         

जुमेम्पा दाजु जानु भएपछि आमाले हामीलाई कोदोको खोले पस्काएर दिनु हुन्छ । “कोदोको भन्दा त चामलको खोले नै मीठो हुन्छ हगि, दाइ ?” अगेनाको छेउमा बसेर तात्तातो खोले होब्द्याउँदै अचानक बैनीको मुख खोलिन्छ ।  

“छोरी ! भान्सामा जे पाक्छ । त्यही खाने हो । यदि चामल भए त, खोले होइन – भातै पकाइ दिन्थेँ । छैन र नबनाएको । अनि एउटा कुरो याद गर । हरेक आमाहरुको रहर आफ्नो सन्तानहरुका खुशीको लागि हुन्छ । भविष्यमा तिमी पनि एकदिन आमा बन्ने छौं । कुनैपनि आमाले आफ्नो छोराछोरीले नमीठो खावस् वा नराम्रो लावस् भनेर भन्दै भन्दैन – सोच्तै सोच्तैन । तर यस संसारमा भएका हरेक आमाहरु त्यति भाग्यमानी पनि कहाँ छन् र ? अनि तिनै अभागी आमाहरु मध्येको म एउटा आमा हुँ,” थरर ओठ काम्दै काम्दै आमाको मुखदेखि निस्केको उक्त शब्दहरुले मेरो त्यतिबेला हृदय जलिरहेको आभाष हुन्छ ।  

त्यसदिन नाकेडाँडा जङ्गलमा बाख्रा गोठाला गर्न जाँदा आमासँग दुःखको कुरोहरु बिलौना गरेर नै बित्छ । आमासँग गोठालो गरेर फिर्दा दम्कु खोला किनारमा रहेको वाचिप्पा खेत नजिकै वनमारा, तितेपाती र सिस्नुका झ्याङहरु हलक्क बढेका देखिन्छन् । त्यो देखेपछि, “तँ ! बाख्रा धपाउँदै गर है,” भनेर भनेपछि आमाले बेलुकी हामीलाई खानको लागि आधी डोको जति सिस्नु र आधी डोको जति वनमाराका घाँसहरु एकै छिनमा काटेर ल्याउनु हुन्छ । त्यसरी हल्हली बढेको सिस्नु दम्कु खोलाको किनारमा सितैमा पाइने हुनाले मलाई पनि सिस्नु खान औधी मन पर्थ्यो । सिस्नुबाहेक जे खाँदा पनि गाउँमा किन्नु पर्थ्यो । र, केही किन्ने पैसा नभएपछि ऋणको भार थपिँदै जान्थ्यो ।

त्यसको भोलिपल्ट घर सर्नको लागि आमाले मतानमा भएका सरसमानहरु कुम्लो कुटुरोमा बाँध्न थाल्नु हुन्छ । हुनत हामीसँग त्यति धेरै सर सामान पनि छँदै थिएनन् । जे जति थियो । त्यो सबै तयार गर्दै लानु भयो । म अलिक सानो भएता पनि आमाको हरेक कदममा सहयोग गर्दै आएको थिएँ । तर किन हो किन ? घरदेखि मतान र मतानदेखि गोठमा सर्न लाग्दा मेरो मन बिछट्टै दुःखी भइरहेको थियो । भित्री आत्मा धर्धरी रोइरहेको थियो ।  

एक दिन, दुई दिन, तीन दिन भनेर घर सर्ने दिन हिसाब गर्दा गर्दै जाँदा समय चाँडै बितेको महसुस हुन्छ । एक बेलुकीपख खाना खाने बेलामा बाबुले गोठ लगभग तयार हुन लागेको शुभ समाचार सुनाउनु हुन्छ । त्यसपछि खाना खान्छौं तर खाना खाँदै गर्दा मेरो जिऊ असाध्यै चिलाएर आउँछ । म मेरो नजिकै रहेको आगो फुक्ने ढुङ्ग्रो (ठेलुवा) ले ढाड कन्याउन थाल्छु ।

बाबुले ढाड कन्याएको देख्नु भएपछि, “ए ! यस्लाई त जुम्राले खाएर मार्ने बेला भयो कि के हो ? खै खै भोटो खोल त,” भन्नु हुन्छ । उहाँको भनाइ सुन्ने बितिक्कै जिऊमा उनिरहेको थोत्रो भोटो खोलेर बाबुलाई दिन्छु । बाबुले हुरहुर बलिरहेको आगोमा भोटोलाई तताएर जुम्रा डढाउँदै आगोमा झार्नुहुन्छ । त्यसपछि आगोले तातिएको भोटो लाउँछु । माघको महिना छ । त्यसैले अगेना छेऊमा सुत्दा तातो हुन्छ भनेर आमाले एउटा जुटको बोरा फ्यास्सै भुइँमा बिछ्याइँ दिनुहुन्छ । आखिर सानो मान्छे त थिएँ । त्यसपछि कुकुरको पुच्छर झैँ कुङलिङगै बाङ्गो परेर म त्यहीँ सुत्छु ।   

तर त्यसरी आराम गरेर सुत्दै गर्दा हामी सर्ने नयाँ गोठ/घर कस्तो होला भनेर मन उथलपुथल भइरहन्छ । भोलि बिहान जमिनमा मिरमिरे उज्यालो खस्ने बितिक्कै, – “अब ! उठ है,” भनेर आमाले होहल्ला गरिहाल्नु हुन्छ । आमाको हल्ला सुनेर म बिहानै उठछु । बेलुकीपख अगेनामा जोडेको मूढो राति नै जलेर खरानी भइसकेको हुन्छ । बिहान उठ्ता मेरो शरीर माघे जाडोले थरर कामिरहेको थियो । तर बैनी अलिक सानै थिइन् त्यसैले उनले ओढ्नको लागि मावलीदेखि ल्याएको एउटा खास्टो पाएकी थिई । त्यसैले तातो मानी मानी अगेनाको कुनामा अलिक अबेलासम्म सुतिरहिन् ।  

मझुवागढीदेखि निस्केको घाम एक टाङ्गोमाथि आएपछि डोकोभरि सामान बोकेर आमा हाम्रो अगाडि अगाडि हिँड्न थाल्नु हुन्छ । त्यसपछि आमाको ठीक पछाडि म छु र मैले खाडीको बर्कीमा दुई थान सिलाबरे थाल, एउटा कराही, एउटा डाडु, एउटा काठको दाबिलो, एउटा काठे पिरा र एक दुई माना पाक्ने दुईवटा माटाका भाँडा (बुछालु) हरु बोकिरहेको थिएँ ।

परिवारमा हामी जम्मा चार जना सदस्य थियौं तर हामीसँग दुईवटा मात्र सिलाबरे थालहरु थिए । “छोरा ! तिमीले खाना खाइसकेपछि म तिम्रो थालमा खाना खान्छु । त्यसैले तिमी अलिक चाडै खाऊँ है । बैनी अलिक सानी नै छे, त्यसैले उनी अलिक ढिलो गरेर खान्छिन् । आमाले त के कराहीमा खाँदा पनि भइहाल्छ,” हरेक बेलुकी खाना खाने बेलामा थरर ओठ काम्दै बाबुले भनेको उक्त्त कुराहरु सुन्दा त्यो भन्दा धेरै दुःख त सायद कुनै पनि मानिसले पाउँदैन होला भन्ने मनमनै सोचिरहेको हुन्थें ।  

घरदेखि निस्केर एकछिन हिँडेपछि हामी शिकारी थानलाई बिदाइ गर्छौ । हरेक उधौली र उभौलीमा त्यहाँ बाबुले किराँती पुर्खाहरुको सम्मानको लागि शिकारीको पूजा गर्नु हुन्थ्यो र त्यहाँ पूजा गर्दा गाउँभरिको कुखुराका भालेहरुको शिरच्छेदन हुन्थ्यो । यसरी पूजा गरेको समयमा ठूल्ठूला दाजुहरुले कुखुराको खुट्टा पखेटा पोलेर हामीलाई बाँडी दिनु हुन्थ्यो । हामी केटाकेटीहरू शिकारी थान नजिकै रहेको बकैना रुखको फेदमा टुक्रुक्कै बसेर छिपिएका कुखुराको खुट्टा टोक्थ्यौं – पखेटा लुछ्थ्यौं । गाउँमा त्यति धेरै माछामासु खान त पाइँदैनथ्यो । त्यसैले जिन्दगीमा आक्कलझुक्कल मासु खाने अवसर पाउँदा खुशीको सीमा रहँदैनथ्यो ।   

शिकारी थानको सीधा अगाडी एक झ्याङ ठूलो आँपको रुख छ । संभवत त्यो आँप हाम्रो हजुर बाबु निर्धक्क राईले रोपेको हुनुपर्छ । हुनत उहाँलाई मैले यस जुनीमा प्रत्यक्ष भेटन सकिनँ । तर आँपलाई भने अहिलेसम्म भेटिरहेको छु – देखिरहेको छु । अहिले पनि त्यो आँप हरेक हिउँद र बर्षाहरुमा म जस्तै घरिघरि मर्दै बाँच्दै गरिरहेको छ । आँप कुनै वर्ष फल्छ अनि कुनै वर्ष फल्न बिर्सन्छ । तिनै दुःखी आँपको छहारीलाई बिदाइ गर्दै गर्दै क्रमशः अगाडी बढ्छौं । तर आँपको रुखमुनि खेलिरहेका तीन/चार जना केटाकेटीहरु मध्ये एकजनाले, –

“बिचरा बजू ! यति बुढी हुनुहुन्छ । माछाक्मा भइसक्नु भएको छ । अब कहाँ गएर बाँकी जिन्दगी बिताउनु हुन्छ, होला ?” सानो स्वरमा तर पेचिलो प्रश्न गर्छिन् ।    

नातिनीको मुखदेखि अकस्मात् आएको त्यो प्रश्नले एकसुरमा अगाडि बढिरहेको आमाको पाइतालाहरु गल्लीको दर्शन ढुङ्गामा ठोक्किएर रोकिन्छ । उनको कुरो सुनेपनि असिनपसिन हुँदै एक डोको समान बोकिरहेकी आमाको मुख एकछिन् खोल्दै खोलिन्न । हुनत हामी त्यसबेला न कुनै बिहेको जन्ती वा कुनै लासको मलामी गइरहेको थियौं । केवल यस धर्तीमा कतै बास बस्ने स्थान नपाएपछि एकजना बेसहारा आमा, छोरा र छोरी पङ्क्तिवद्ध भएर अनिश्चित स्थानतिर बसाई सरिरहेका थियौं ।

एक छिनपछि खरबारीको भित्तामा डोको अड्याएर आमा पहिले एकचोटी खुइत्त गर्छिन् । अनि, “खै ! नातिमा यो भाग्यले जहाँसम्म डोर्याएर लान्छ । त्यहीँसम्म जाने हो । आखिर हामीले हाम्रो इच्छा अनुसार जिन्दगी जिउन कहाँ पाएको छौँ र ?” कम्मरमा बाँधिरहेकी पटुकाले एकचोटी अनुहारको पसिना स्वाट्टै पुछेर त्यतिसम्म भन्छिन् ।   

आमाले त्यति भन्नु भएपछि हाम्रो यात्रा पुनः आरम्भ हुन्छ । हुनत हाम्रो यात्राको गन्तब्य अनिश्चित मात्र होइन । अनिश्चित भविष्य पनि थियो । वास्तवमा मानव जीवनले यात्राको विषयमा अति गहिरिएर सोच्ने हो भने – “अनिश्चित यात्राले मानिसलाई कहीँ कतै पुर्याउँदैन ।” तर के गर्ने र ? आफ्नो स्वेच्छाले मात्र हरेक मानिसको जिन्दगी नचल्ने रहेछ । त्यसकारण कुनै कुनै समयमा आफ्नो इच्छाविरुद्ध पनि काम गर्न पर्ने रहेछ, मेरो हृदयले त्यहीँ भनिरहेको थियो ।

त्यसरी फेरि हिँड्न थालेको केहीबेरपछि हामी थाकेर लखतरान हुन्छौँ । तर नयाँ उमङ्गको साथ नयाँ गोठमा पुग्छौं । त्यहाँ पुग्ने बितिक्कै झिसमिसे बिहानीदेखि एक्लै काम गरेर झन् हामीभन्दा धेरै थकित हुनु भएको बाबुलाई देख्दा मेरो दिलमा आँधीबेहरी आउन थाल्छ । तर हामीलाई नयाँ स्थानमा देखेपछि बाबुको मुहार सुस्तरी परिवर्तन हुँदै जान्छ, –

“बिहानदेखि काम गरेको हुनाले भोकले हुरुक्कै भएको छु । यसो केही खानेकुरो ल्यायौ कि बुढिया ?” आमातिर हेर्दै बाबुको मुखदेखि मसिनो स्वर निस्कन्छ ।  

“हनँ के भन्नु हुन्छ ? घरमा के हुनु र ल्याउनु हौ । हिजो बेलुकी पिसेको अलिकति मकैको सातु छ । त्यही लिएर आकी छु,” छोटो जवाफ फर्किन्छ ।

“त्यै भए पनि खाऊँ न । तर कतै घाँटीमा अड्किन्छ होला कि ? अनि पानी पनि ल्याएकी छौ ?” दुवै हातभरि लागेको धुलो टक्टक्याउँदै बाबु थपक्कै भुइँमा बस्नुहुन्छ ।

उहाँको भनाइ सकिएपछि म बाबुको नजिकै पुगेर बस्छु र क्वारक्वार्ती उहाँको अनुहारलाई हेर्न थाल्छु । मलाई त्यसबेला पसिनै पसिना भएको उहाँको अनुहारभन्दा रक्त्तिम आँखाहरु सरर रसाएको महसुस हुन्छ । अझै समय समयमा बन्द हुँदै खोलिँदै गरेका उहाँका नयनहरु प्रति मेरो नजर गहिरिएर जान्छ । “बाबु यति बुढो हुनहुन्छ र म यति कलिलो छु । कतै भाग्य चम्केर मैले सुख पाए भने पनि म बाबुलाई कति समय सुख दिन सकौला र ?” मनमनै कल्पना गर्छु ।

अग्लो कदको शरीरमा आधा च्यातिएर जीर्ण भएको खाडीको दौरा, बाहिरी भाग फाटेर भित्रीभाग देखिन सुरु गरेको मैलो भोटो, दुईपट्टी घुँडा फाटेर आमाले घरीघरी टालिदिनु भएको सुरुवाल, पूरै घेरो च्यातिएर अनुहार परिवर्तन भइसकेको कटनको सेतो टोपी उहाँको शरीरमा छ । टोपीमा बसेको मैलो कालो कत्लामात्र नभएर लगभग सात दशकसम्म जुत्ता चप्पल नपरेर चिरैचिरा भएको खाली खुट्टा देख्दा जो कोही मानवको हृदय सहजै जल्न सक्छ । म त झन् उहाँको छोरा न परें । मेरो मन कति जलिरह्यो होला ? अहिले पनि कल्पना गर्न सक्त्तै सक्त्तिनँ ।   

मनमनै यस्तो लाग्छ, – “बाबुको शरीर ढाकिरहेको पहिरन नै गरिबीको यथेष्ठ प्रमाण हुन्,” मानव जीवनले यस धर्तीमा यो भन्दा बढी दुर्दशा अझै के भोग्नु पर्छ र ? यिनै शब्दहरु मेरो मस्तिष्कको हरेक नशा नशामा अभिलेख तयार भइरहेको हुन्छ । तैपनि उहाँको यस्तो दुःखद परिस्थितिको रमिता हेर्न सिवाय म के नै पो गर्न सक्थेँ र ? एकजना अबोध बालक थिएँ र टुलुटुलु आफ्नो दुःखी बाबुको रमिता हेरिरहें ।  

एकछिनपछि बाबुले खाजा खाइसक्नु भयो । गोठ बाहिर निस्केर डोकोले छोपिरहेको एउटा सानो कुखुराको चल्ला ल्याउनु भयो । आमाले बुकी फूलबाट बनाएकी झुलो र दल्छिन ढुङ्गामा ठ्यास्सै चकमक ठोसेर चुल्हामा आगो बाल्न थाल्नु भयो । म चुल्हाको छेउमा बसेर रमिता हेर्न थाल्छु । दाह्री जुङ्गामात्र होइन आँखीभौंसम्म फूलेर पूरै सेताम्मे भएको बाबुले चुल्हाको पूजा गर्न थाल्नु हुन्छ । उहाँको त्यो कार्य म निशब्द भएर हेरिरहन्छु ।

“प्रकृति प्रेमी किराँतीहरु आफू मरेर गएतापनि आफ्नो आत्मा यिनै चुल्हामा गएर बास बस्छ,” भन्ने विश्वास गर्ने गर्छन् । त्यसैले हरेक वर्षको दुई पटक यिनै चुल्हाको अगाडि चुल्हामा बास बसेका पुर्खाहरुको नाम पुकार्ने गरिन्छ । बाबुले कुखुराको चल्ला काटेर पहिले पापालुङ (आपा) मामालुङ (आमा) र रामीलुङ (समाज) तीन चुल्हालाई भोग दिनुहुन्छ । आमाले भने डोकोदेखि सानो माटोको गाग्रो निकालेर चुल्हाको कुनामा बुढीबजू है भनेर (माछाक्मा) को पूजा गर्नु हुन्छ । अन्य जातिले छुन नमिल्ने त्यो माछाक्माको गाग्रो (लुम्बु) राखेको स्थानलाई चाम्लिङहरुले पवित्र स्थान मान्ने गर्दछन् । 

नयाँ गोठमा सरेको पूजा सकिएपछि दिन हप्ता र महिना बित्न थाल्छ । तर दुई महिनापछि अचानक लालेम्पा दाजु हाम्रो घरमा आउनु हुन्छ र भन्नु हुन्छ, – “काइँला बाबै ! अब गाउँको सबै केटाहरुलाई स्कूल पठाउनु पर्छ । यो केटो पनि स्कूल जान सुरु गरोस् है,” मलाई देखाउँदै बाबुलाई त्यस्तो सल्लाह दिनुहुन्छ ।

लालेम्पा दाजु हाम्रो बाबुको साइँला दाजुको दुई भाइ छोराहरुमध्ये कान्छा छोरा हुन् । दाजु गाउँमा समाजसेवा र राजनीतिप्रति एकदम बढी चासो राख्नुहुन्थ्यो । त्यसैले पन्चायतकालमा बुईपाको प्रधानपन्चसम्म हुनु भएको उहाँको आफ्नो इतिहास थियो ।

“होइन, तैँले पण्डित डिल्लीराम ढकालले भनेको कुरो सुनेको छैनस् र – कान्छा ?” बाबुले भारतमा गएर पण्डित भएर आएको ढकालगाउँको डिल्लीरामको कुरो सम्झँदै त्यसो भन्नुहुन्छ ।  

“पण्डित बाजेले के भन्थ्यो र बाबै ?” उत्सुकताका साथ दाजुले दाहिनेतिरको कान थापेर सुन्नुहुन्छ ।  

“अना काइँला ! पढी गुनी के काम, हलो जोति माम । त्यसो पो भन्थ्यो त – बुढाले,” जिन्दगीभरि आफू निरक्षर बन्नु भएको बाबुले पण्डितले भनेको कुरो सम्झेर त्यति भन्नु हुन्छ । हुन पनि हाम्री ठूली आमाबाट जन्मेका दश-दश जना बाबुको छोराछोरीहरु थिए र उनीहरु कसैले स्कूलको अनुहार देख्न पाउनु भएको थिएन । उनीहरु सबैजनालाई सम्झेर दाजु एकचोटी फिसिक्कै हाँस्नुहुन्छ ।

“बाबै ! पण्डित आफू चाहिँ पढेर पण्डित हुने, आफ्ना भाइ भतिजाहरुलाई शास्त्री र गुरु बनाउने । अनि हामीलाई पढ्न हुँदैन भन्नेको कुरो कतै सुनेर हुन्छ ?” दिखुवा खोलापारिको गाउँ बाम्राङ सिरिसेको हाम्रै दाजुभाइ आदिमसिंह काकाले आफ्नो छोरालाई पढ्नको लागि काठमाण्डौ पठाउनु भएको कुरा स्मरण गर्दै त्यति जवाफ फर्काउनु हुन्छ ।   

“हो हो ! कान्छाको कुरो एकदम सही छ । अलिअलि अक्षरमात्र चिन्यो भने पनि छोरो कतै लाहुर गइहाल्थ्यो कि ? त्यसैले अब छोरा स्कूल जान थालोस् । बरु बैनीले बाख्रा गोठाला सुरु गर्छ । यति ठूली भाकी छे । गोठाला गर्न सक्छे के सक्दिन र ?” गर्विलो मुद्रामा दुई जनाको अगाडि आमाले प्रस्ताव राख्छिन् ।  

दाजुको सल्लाह सुनेर म अर्को हप्तादेखि स्कूल जान सुरु गर्छु । स्कूल ठ्याक्कै घरदेखि नजिकै मूलबाटोमा रहेको पीपलको फेदमा थियो । लगभग सयकडौँ वर्ष बाँचेको र अहिलेसम्म बाँचिरहेको त्यो पिपलको रुख दिखुवा खोलादेखि बुईपा बजारसम्म जाने मूलबाटोको लगभग बिच भागमा अवस्थित छ ।

बरकौले ढुङ्गाघारीले बनेको भएता पनि त्यो मूलबाटोको आफ्नो छुट्टै पहिचान छ । तिनै मूलबाटो भएर राजा महेन्द्रले २०१३ सालमा पूर्वी नेपालको राजकीय भ्रमण सम्पन्न गरेका थिए । खार्पाली पोखरेलहरुबाट बिर्ता उन्मुलन गरी पाऊँ भनेर तिनै मूलबाटोमा बुईपाली राईहरुले राजा महेन्द्रको तारेघोडा समातेर जबरजस्ती राजालाई बास बस्न लगाएको जिउँदो इतिहास अहिले पनि बुईपाका बुढापाकाहरुले यदाकदा सुनाउने गर्छन् ।    

त्यतिबेला पिपले स्कूलमा एक जनामात्र मास्टर थिएँ । तर हामी विद्यार्थीहरु चाहिँ झन्डै १०-१२ जना जति थियौं । कति जना विद्यार्थी हो भनेर ठ्याक्कै कसैले भन्न सक्दैनथे । किनभने अहिले जस्तो हाजिर गर्ने चलन थिएन । कुनै विद्यार्थीहरु कुनै दिन आउथे । कुनै दिन कोही आउँदैनथे । स्कूलको चलन त्यस्तै यस्तै थियो । झन् मास्टर पनि के कमी थिए र ? मन परेको बेला स्कूल आउनु हुन्थ्यो । गाउँमा बिहे, छेवरपास्नी र काजकिरिया भएको बेला आउनु हुँदैनथ्यो । कुनै कुनैबेला गाउँमा भैसी काटिन्थ्यो । त्यसदिन पनि स्कूल बिदा हुन्थ्यो ।

बिदा थाहा नभएर स्कूल नलागेको बेला पनि हामी स्कूलमा भेला हुन्थ्यौ । र, दिनभरि गल्लीमा ढुङ्गाको घर बनाइ रहन्थ्यौँ । नत्रभने मूलबाटोको नजिकै सियाली झ्याङहरुको घारी थियो । तिनै सियालीको हाङ्गा समाएर दिनभरि पिङ खेलिरहन्थ्यौं । तर पिपलको ठीक मास्तिर पुर्खा दाजुको सानो घर थियो । मैले दाजुको श्रीमतीलाई पूर्खिमा नाना भन्थे । तिनै नानाले बाटोमा आएर, – “लु ! यहाँ धेरै खेल्यौ । अब आ-आफ्नो घर जाऊ,” भनेपछि ‍हाम्रो स्कूल छुट्टी भयो भन्थ्यौँ र हुरुरु दगुरेर आ-आफ्ना घरतिर सुइँकुच्चा ठोक्थ्यौं ।  

स्कूले जिन्दगी त्यसरी चलिरहेको थियो । तीनताका हिउँदको समय थियो । म तीन/चार हप्ता जति स्कूले भइ टोपलेको थिएँ । अझै थोत्रो भोटोको गोजीमा बासी ढिँडो बोकेर भोक लागेको बेला टोक्दै टोक्दै स्कूलको चिसो ढुङ्गामा बसिरहेको हुन्थेँ । तर खै के भयो हो कुन्नि ? अर्को हप्तादेखि सबै शरीर सुनिएर आउन थाल्यो । खोकेर अहिले नै मरिहाल्छु कि जस्तो भयो । खोक्दै खोक्दै बेलुकीपख घर पुगें । घर पुग्ने बितिक्कै आमाले, “बिमारी मात्र हुन्छस् रहेछ । अबदेखि उसो भए स्कुल नजा । पछि ठूलो भएर हामीलाई पाल्छस् कि भनेको उल्टो तँलाई पो पाल्नु पर्ला जस्तो भो । अहिले नै मरिहालिस् भने त हामी बुढेसकालमा बिजोक हुन्छौं,” त्यसो भन्नुभयो । त्यसपछि आमाको कुरो सुनेर मैले सधै सधैँको लागि स्कूल जान छाडिदिएँ ।

अर्को वर्ष लालेम्पा दाजुले केटाहरु चिसो ढुङ्गामा बस्दा धेरै बिमारी भएका हुन् । अब स्कूल सारिदिन्छु भनेर बुङ्सेम्पा बारीको कटहर फेदमा पुर्याउनु भयो । त्यहाँ दुई/चार पात भकारी र दुई/तीनवटा फल्याक बिछ्याएर स्कूल बनाइ दिनु भएको थियो । तर म चाहिँ बिमारी हुन्छु होला भनेर बिच्किसकेको थिएँ । तिनै भयले बरु स्कूलको सट्टा बाख्रा गोठाला नै जान थालें । 

तीन/चार महिनापछि अफ्ठ्यारो ठाउँमा स्कूल भयो, कोही पढन आउँदै आएनन् भनेर गाउँका मानिसहरुले विचार गरेपछि पुर्खा दाजुको घर छेऊ मूलबाटोमा नै स्कूल सारियो । त्यसबेला स्कूलको लागि पहिलेभन्दा निक्कै राम्रो गोठ बनाइएको थियो । त्यसपछि लालेम्पा दाजुले फेरि आमालाई, – “अब कुनै बच्चा बिमारी हुँदैनन् – मामकाइँली,” भनेर शुभ-समाचार दिनुभएपछि म पुनः दोश्रोचोटी स्कूल जान थालें ।

स्कूल त जान थालियो तर स्कूल जाँदा धेरैजसो विद्यार्थीहरुको कापी र किताबहरु हुँदैनथ्यो । झन् गाउँमा सबैभन्दा आर्थिक अवस्था गएगुज्रेको मान्छेको उदाहरण म मात्र थिएँ । त्यसैले मेरो त के नै पो हुन्थे र ? अझै स्कूलमा रमाइलो त के भइरहेको थियो भने हलेसेटोलको एकजना विद्यार्थी थिए । उनले चिउरी पाक्ने समयमा दुई पाना कापीमा छवटा चिउरीका दानाहरु साटेर दिन्थे । कापी हुनेले च्यात्दै च्यात्दै चिउँरी साटेर खान्थे । म चिउरी क्रेता र बिक्रेताको रमाइलो खेल हेरेर थुक निल्दै निल्दै बसिरहन्थेँ ।    

मूलबाटोमा स्कूल सरेपछि नयाँ ‍सर आउनु भएको थियो । खास खासमा उहाँको नाम शुभशेर राई हो । तैपनि मानिसहरुले बोलिचालीको भाषामा उहाँलाई देबेम्पा सर भन्थे । देबेम्पा सरले एकदिन, – “खै ! तिम्रो कापी कलम केही छैन् ?” मलाई कानमा आएर सुटुक्कै सोधे । “अहँ ! मेरो त केही पनि छैन सर न किताप न कापी न कलम,” थुरुरु काम्दै काम्दै जवाफ फर्काएँ । “अनि अब के पढ्छौ त ?” फेरि सोध्छन् । “खै केही थाहा छैन् सर ?” दोश्रोचोटी डराउँदै डराउँदै उत्तर फर्काउँछु । सरले मेरो नाजुक हालत देखेर चिउरी ब्यापारी विद्यार्थीदेखि दुई पाना कापी मागी दिनु भयो र तिनै कापीमा क ख ग लेखी दिनुभयो । त्यसपछि हरेक दिन मेहनेत गरेर तिनै अक्षरहरु पढन थालें । 

स्कूल जान थालेको लगभग वर्ष दिन भएको थियो । पहिलोचोटी वार्षिक परीक्षा भयो । सरले दुई दिनपछि ज-जस्ले आफ्नो कापी नहेरी क ख ग भन्यो । त्यो सबैजनाले एक कक्षा पास गरेको नतिजा सुनाइ दिनु भयो । तर कक्षा चढ्नको लागि परीक्षा शुल्कवापत एक/एक सुक्का पैसा सबै विद्यार्थीले स्कूलमा बुझाउनु पर्ने नियम छ, भन्नुभयो ।

म घरमा पुगेर बेलुकीपख आमालाई पैसाको कुरा गरें । आमाले, – “छोरा ! पैसा सैसा केही पनि छैन । पैसा नतिरी जति कक्षामा पढन पाइन्छ । त्यतिमै पढ्नु नि है,” भनेर सल्लाह दिनु भयो । आमाको भनाइलाई सकारात्मक मानेर हुन्छ हुन्छ त्यसै गर्छु भनें । त्यसपछि म दोश्रो वर्ष पनि एक कक्षामा नै पढ्न थालें । फेरि अर्को वर्ष परीक्षा भयो । तर यस पटक परीक्षा शुल्क सुक्काको होइन, झन् मोहरको कुरो भयो । घरमा आम्दानीको श्रोत केही थिएन । त्यसैले पैसाको कुरो गरिनँ । बरु शुल्क तिर्न नसकेपछि कक्षा चढ्दिनँ भनें र सोही कक्षामा बसें ।   आफू सँगसँगै पढेका साथीहरु कोही दुई र कोही तीन कक्षामा पुगिसकेका थिए । म चाहिँ जहाँको त्यहीँ थिएँ । एकदिन लालेम्पा दाजु घुम्दै घुम्दै स्कूलमा आउनु भयो । उहाँले म जहिले पनि एक कक्षामा पढेको देखेपछि, – “होइन केटा ! यसरी त तँ जीवनभरि एक कक्षामात्र पढने रहेछस् । के भो ? फेल भइस् । म देबेम्पा ज्वाइँलाई भनिदिन्छु,” भन्नु भयो । “दाजै ! फेल भाको छैन् । फिस नतिरेर हो,” सानो स्वरमा भने ।

त्यसदिन अचानक मेरो भाग्य चम्क्यो । साइनोमा उहाँको ज्वाइँ पर्ने देबेम्पा सरलाई, – “केटो ! अति बिपन्न परिवारको हो । दाजुहरुको अंशबण्डापछि जन्मेको सौतिनी आमाको छोरो भएको हुनाले यस्को केही पनि छैन । केटा जेहेन्दार पनि छ । हुनत बच्चाको भविष्य कस्ले देखेको हुन्छ र ? वा भोलिपर्सि मिहिनेत गरेर राम्रै मान्छे पो हुन्छ कि ? त्यसकारण यसलाई छात्रवृत्ति नै भयो । केटालाई कक्षा चढाइदिनु ज्वाइँ,” भनेपछि म सर्लक्कै दुई कक्षामा पुगिहालें ।

श्री सहयोगी प्राथमिक विद्यालय, बुईपा छिप्तीको दुई कक्षामा पुगेपछि मेरो मन सिमलको भुवाझैँ फुरुङ्गै भएर उडिरहेका थिए । जुन स्कूल समेम्पा काकाको घर नजिकै पर्दथ्यो – पर्छ । काका गाउँको सबैभन्दा ठूलो धामी हुनुहुन्थ्यो – बिजुवा धामी । उहाँ गाउँमा धामी बस्नको लागि यता उता जानु हुँदा एक्ले पिपलको फेदमा रन्काएर ढोल बजाइन्थ्यो । दुईजना ढोलेहरुले भाका फेरि फेरि ढोल बजाउँदा दिखुवा खोला पारीको रातोडाँडासम्म थर्किन्थ्यो । ती ढोल बजाउने सहयोगीहरुलाई चाम्लिङ भाषामा कछारिपा भन्नुपर्छ ।

रातभरि धामी बस्दा कछारिपाहरुले धामी जति नभएपनि अलिक थोरै पैसा पाउँथे । मानिसहरुको मृत्यु हुँदा गरिने ठूलो चिन्ताको आधिकारिक रात्रीकालिन कार्यक्रम सकिएपछि कछारिपाहरु धामीको घरमा फिर्थे । त्यसपछि उनीहरु सँगसँगै ल्याएको जाँड पिउँथे – रक्सी पिउँथे । धामीको शिर उभ्याउनको लागि राखि दिएको सुङ्गुर पाठोको टाउको (शाहम) ल्याउँथे । अनि त्यसलाई आँगनमा पर्रर भुटेर खान्थे । त्यसपछि कोही आराम गर्थे तर कोही तास खेल्थे ।

हामी पनि स्कूल छाडेर समय समयमा ढोल बजाएको हेर्न धामीको घरमा जान्थ्यौं । त्यहाँ पुगेर सैनिकको कवाज खेल्न मैदानमा मिलाएर राखिएका सिपाहीहरु जस्तै बारीको डिलमा लहरै बस्थ्यौं । र, कछारिपाहरुले मासु खाएको मज्जाले हेर्थ्यौँ । उनीहरुलाई देख्दा मलाई पनि मासु खान भित्रैदेखि रहर लागेर आउँथ्यो । तर मलाई यतिबेला यस्तो लाग्छ । “सायद भोको पेटले विज्ञानको विषयमा सोच्न सक्त्तैन, केवल खानाको विषयमा मात्र सोच्न सक्ने रहेछ ।”

तर कछारिपाहरु त्यति नराम्रा थिएनन् । हामीलाई पनि दुनामा अलिअलि मासु राखेर चाख्न दिन्थे । मासु र रक्सी खाइसकेपछि उनीहरु तास खेल्दा सानोतिनो झगडा गर्थे । त्यसपछि रिसको झोकमा तास च्यात्थे । कसैले आफ्नो पटुकामा घुसारेर राखिरहेको खुकुरी थुतेर तासलाई टुक्रा टुक्रा बनाउथे । हामी च्यातिएको तिनै तासहरु बटुल्थ्यौ । त्यसपछि ढ्यामको जुटपत्ती खेल्थ्यौं । जस्ले चाँडो तीन जुट बनाउन सक्थ्यो उसले अरुको ढाडमा सकुन्जेल हिर्काउन पाउँथ्यौं ।  

एकदिन यस्तो भयो । हामी आँगनको कुनामा बसेर तास खेलिरहेका थियौं । अचानक मेरी आमाले मलाई तास खेलेको देख्नु भयो । त्यसपछि आमाले घरमा बोलाउनु भयो । बेलुकीपख खानको लागि ल्याउनु भएको सिस्नु पानीमा भिजाउँदै, “तेरो तास खेल्ने हात यही हो ?” भनेर सिस्नुपानी लगाउनु भयो । “हाम्रो भविष्य भनेर माया गरेर हुर्काएको । तीन तासे हुन थालिस् । अबदेखि स्कूल सिस्कूल जान पर्दैन,” भनेर बेस्सरी चुट्नु भयो ।  

म पिटाईको अत्याधिक पीडा सहन नसकेर बेलुकी अबेलासम्म रोइरहें । आमाले मलाई हिर्काउनु भएको देखेर, – “हलेसिनी आईमाईहरुको रिस कडा हुन्छ भन्ने सुनेको थिएँ, हो रहेछ । तर मार्न त मार्दैन होला ?” बाबुले भनेको उक्त्त कुरा निक्कै बेरसम्म सम्झिरहें । त्यसपछि मलाई घरदेखि सधैँ सधैँको लागि स्कूल जान निषेध गरियो ।  

स्कूल जान छाडेको एक महिना जति भएको थियो । एकदिन गाउँमा संसारीमाईको पूजा गर्ने सल्लाह भए छ । हामी अन्य मानिसहरु जस्तै घरमा बस्दैनथ्यौं । सानो गोठमा बस्थ्यौँ । त्यसैले पूजा गर्ने खबर अरुभन्दा निक्कै ढिलो पायौं । कतिपय समाचारहरु घरघरमा चाँडो पुग्थ्यो । घरको तुलनामा गोठमा समाचार आइपुग्दैनथ्यो । तर त्यसबेला ढिलै भएपनि खबर पाएपछि आमाले मलाई पूजामा जा है भन्नुभयो ।

मेरो गाउँ बुईपा, छिप्तीमा ठाँटीडाँडाभन्दा थोरै परतिर अलिकति फराकिलो फाँट रहेको छ । त्यहाँदेखि लेक्पा र टारीगाउँहरुको सुन्दर दृश्यहरु दृश्यावलोकन गर्न मिल्छ । तिनै स्थानमा बिहानको ठीक १० बजे जल्पाइँ काकाले संसारीमाईको पूजा गर्न थाल्नु भयो । पूजामा शीर पलाएका एकजोडी ठूल्ठूला भालेहरु काटिए । केहीबेरपछि जुमेम्पा दाजुले कराहीमा पर्पर भालेका मासु भुटनु भयो र अन्तमा झोल लगाउनु भयो । हामी गाउँका केटाकेटीहरु पूजामा एक हुल गएका थियौं र सबैजनाले थुक निल्दै निल्दै भालेको मासु पकाएको हेरिरहेका थियौं ।

एकछिनपछि पूजामा आउने सबैजनालाई खाना खानको लागि बस्नु भन्ने दाजुले उर्दी जारी गर्नु भयो । संसारीमाई पूजा गरेको स्थानमा भात पाक्दैनथ्यो । केवल भालेको मासुको तरकारीमात्र पाक्थ्यो । जसले गर्दा सबैजनाले आ-आफ्ना घरदेखि बासीभात लगेर जानु पर्थ्यो । जम्मै केटाकेटीहरु हार मिलेर बसिसकेपछि दाजुले पल्लो छेऊदेखि सबैलाई आ-आफ्नो भागमा डाडुले मासु पस्काउँदै आउनु भयो । मेरो अगाडि आइपुग्नु भएपछि, –

“ए ! तैँले त मकैको भात पो ल्याइछस्, केटा ! पूजामा त मासुसँग धानको भात पो खानुपर्छ । यी म मेरो भागको आधा भाग तँलाइ खान दिन्छु । मीठो मानेर खा है,” भन्नुभयो । हाम्रो सन्तानको सबैभन्दा जेठा दाजुले दिनु भएको धानको भात सहर्षको साथ स्वीकार गर्छु । तर त्यति भनिसकेपछि उहाँले मेरो टपरीको भात नजिकै रहेको कुकुरलाई फ्यात्तै फालि दिनुभयो । कुकुरले मेरो भात पहिले एकचोटी सुङ्यो । त्यसपछि ख्याङ्ग ख्याङ्ग भुक्यो तर पटक्कै खान मानेन ।

“छया ! यस्ले ल्याएको भात त कुकुरले पनि खाँदै खाएन । होइन ! यस्ले के खान्थ्यो रहेछ ?” दोश्रोचोटी जेठो दाजुको मुखदेखि मप्रति बिष वमन हुन्छ ।

कुकुरले पनि खान मन नपराउने खाना खाएर बाँचेको मान्छे म । आखिर दाजुलाई के नै पो भन्न सक्थेँ र ? त्यसै त गाउँमा म सबैको लागि एकजना सौतिनी आमाको छोरो थिएँ । केवल टुलुटुलु रमितामात्र हेरिरहें तर मेरो मुखदेखि एक शब्द निस्कन सक्दै सकेन । अन्य समयमा मलाई अन्नको अनिकाल लागिरहन्थ्यो । तर त्यतिबेला जीवनमा पहिलोचोटी शब्दहरुको अनिकाल लागिरहेको थियो ।  

अक्सफोर्ड । ११ जनवरी २०२५

भीम राई

पूर्व सैनिक भीम राई यात्रा साहित्यमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री