मोनाले भवन बनाउन ५० लाखमा जग्गा किन्दै, १७ फेब्रुअरीमा मोना डे कार्यक्रम मनाइने

लन्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समितिले मोना भवन निर्माणका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

१७ जनवरी २०२५ का दिन संघका अध्यक्ष ददिवल खड्काको अध्यक्षतामा अनलाईन माध्यममार्फत बसेको आठौं पूर्ण बैठकले मोना भवन निर्माण तथा व्यवस्थापन उप–समितिको सिफारिसअनुरुप म्याग्दी बेनी नगरपालिका–७ मंगलाघाटमा संघका संरक्षक सुवासकुमार श्रेष्ठको स्वामित्वमा रहेको ५० लाख रुपैयाँ पर्ने कित्ता नं. ११७७, ८ आना ३ पैसा १ दाम (०–८–३–१) जग्गा उपयुक्त रहेको निष्कर्ष निकाल्दै सो जग्गा खरिदसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

‘म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तर्राष्ट्रिय कार्यकारी समिति अन्तर्गत मोना भवन निर्माण तथा व्यवस्थापन उप–समितिको सिफारिस अनुरुप मोना भवन निर्माण गर्ने सम्बन्धमा तीन वटा प्रस्तावित जग्गाहरुको विवरण विस्तृत रुपमा छलफल गरियो,’ निर्णयमा भनिएको छ, ‘प्रस्तावित तीन वटा जग्गाहरुमध्ये बेनी नगरपालिका वडा नं.–७ मंगलाघाटमा अवस्थित संघका संरक्षक श्री सुबाश कुमार श्रेष्ठज्यूको स्वामित्वमा रहेको ने.रु. ५०,००,०००।– (अक्षरुपी पचास लाख रुपैयाँ) पर्ने कित्ता नं. ११७७, ८ आना ३ पैसा १ दाम (०–८–३–१) जग्गा संघको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै उपयुक्त रहेको निष्कर्ष निकालियो र सो जग्गा खरिद सम्बन्धी प्रकृया अगाडी बढाउने निर्णय गरियो ।’

बैठकमा प्रमुख सल्लाहकार अम्मर छन्त्याल, अध्यक्ष ददिवल खड्का, उपाध्यक्षहरु सुर्जे भट्टचन, ई. नन्द गर्बुजा, उपाध्यक्ष किसान जिसी, महासचिव सुनेश केसी, सचिव हिक्मत श्रेष्ठ, प्रवक्ता लोकराज रोकामगर, कोषाध्यक्ष नरेन्द्र फगामी, युवा संयोजक सचिन श्रेष्ठ, युरोप संयोजक दिपु मगर, अमेरिका संयोजक सुवास बिक, अमेरिका उप–संयोजक प्रेम सुवेदी, मोना कुवेत अध्यक्ष दिपक छन्त्याल, मोना युके अध्यक्ष पदम गर्बुजा, मोना कतार वरिष्ठ उपाध्यक्ष बाबुराम भण्डारी, मोना दक्षिण कोरिया अध्यक्ष दुर्गा भण्डारी सहभागी हुनुहुन्थ्यो ।

यस्तै बैठकले १७ नोभेम्बर २०२४ मा बसेको सातौं पूर्ण बैठकदेखि हालसम्मका बैठक तथा विविध निर्णयहरु संघका महासचिवद्वारा प्रस्तुत गरी अनुमोदन, संघका कोषाध्यक्ष नरेन्द्र फगामीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ ।

क्षेत्रीय संयोजकहरुको प्रतिवेदन प्रस्तुत गर्ने क्रममा युरोप संयोजक दिपु मगर र अमेरिकाज संयोजक सुवास विकले संक्षिप्त विवरण प्रस्तुत गरिएको तर अन्य भूगोलका क्षेत्रीय संयोजकहरु बैठकमा अनुपस्थित भएकोले आगामी बैठकहरुमा उपस्थित भई आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्न गराउन निर्देशन दिइएको महासचिव सुनेश केसीले जानकारी दिनुभयो ।

बैठकमा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक किसान जिसीले आर्थिक श्रीवृद्धिको लागि मोना आपतकालीन राहत कोषबारे पछिल्लो जानकारी गराए भने उक्त कोषका लागि हालसम्म बोलकबोल गरिएको रकम यथाशीघ्र संघको खातामा जम्मा गरिदिन अपिल गरिएको छ ।

हालसम्म ४१ जना महानुभावहरुले आजीवन सदस्यता ग्रहण गरेको साथै अन्य अभियन्ताहरुलाई पनि यथाशीघ्र सदस्यता ग्रहण गरिदिन अनुरोध बैठकले गरेको छ । मोना कतारको १२औँ अधिवेशन तथा २२औँ वार्षिकोत्सव कार्यक्रममा विशिष्ट अतिथिको लागि निमन्त्रणा पत्र आएकोले उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न आवश्यक समन्वय तथा सहकार्य गर्ने र संघका कोषाध्यक्ष नरेन्द्र फगामीलाई संघको तर्फबाट प्रतिनिधि सिफारिस गर्ने निर्णय गरिएको छ ।

मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको स्थापनाको गौरवमय १५औँ वर्ष आगामी फागुन ५ गते तद्नुसार १७ फेब्रुअरीमा रहेको हुँदा यस सुखद् अवसरमा मोनाको स्थापनादेखि हालसम्मका उपलब्धिहरुलाई समीक्षा गर्ने तथा आगामी दिनमा संस्थालाई मार्गदर्शन तर्जुमा गर्ने र मोनाको स्थापनामा योगदान दिने सम्पूर्ण अग्रज एवं मोनालाई हालको स्थानसम्म ल्याउन अतुलनीय योगदान दिने सामाजिक अभियन्ताहरुलाई सम्मान तथा धन्यवाद दिँदै मोना डे कार्यक्रम अनलाईन माध्यमबाट आयोजना गर्ने निर्णय पनि भएको महासचिव केसीले जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री