प्रदेश सांसद सरस्वती गुरुङलाई तमु समाज युकेको सम्मान

लन्डन । तमु समाज युकेले बेलायत भ्रमणमा आउनुभएकी नेपालको गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङलाई भव्य स्वागत तथा सम्मान गरेको छ।

लन्डनको वेम्बलीस्थित तमु समाज युके नेपालीज कम्युनिटी सेन्टरमा शनिबार २५ जनवरी २०२५ दिन अध्यक्ष बिन्दुकुमारी गरुङ घलेको सभापतित्वमा आयोजित कार्यक्रममा सांसद गुरुङलाई स्वागत, सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएकी सांसद गुरुङलाई अध्यक्ष घले, आमा समूहका अध्यक्ष बिमला गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले खादा, पुष्पगुच्छा, दोसल्ला ओडाई समाजको तर्फबाट मायाको चिनो प्रदान गरी स्वागत तथा सम्मान गरेका थिए । त्यसपश्चात् पूर्वअध्यक्षहरु अर्जुनकुमार गुरुङ, शिवचन्द्र गुरुङ, निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, आमा समूहका पूर्वअध्यक्ष माया गुरुङ, उपाध्यक्ष भिमबहादुर गुरुङले खादा तथा पुष्प गुच्छा, दोसल्ला ओढाई स्वागत तथा सम्मान गर्नुभयो ।

कार्यक्रम सञ्चालकसमेत रहनुभएका महासचिव घलेले प्रमुख अतिथि गुरुङको संक्षिप्त परिचय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि सांसद गुरुङले नेपालबाट ल्याउनुभएको मायाको चिनो अध्यक्ष बिन्दु कुमारी गुरुङ घले र आमा समूहका अध्यक्ष बिमला गुरुङलाई प्रदान गरी वर्तमान तथा पूर्वअध्यक्षहरुलाई, आमा समूहका वर्तमान तथा पू्र्वअध्यक्षहरुलाई, महासचिव र कोषाध्यक्षलाई उपहार स्वरुप पस्मिना तथा पछेउरी ओढाई सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्वअध्यक्षहरु अर्जुनकुमार गुरुङ, अध्यक्ष शिवचन्द्र गुरुङ, निवर्तमान शिवकुमार गुरुङ, उपाध्यक्ष भिमबहादुर गुरुङ, आमा समूहका पूर्वअध्यक्ष माया गुरुङ, सल्लाहकारहरु लेख गुरुङ, जुमबहादुर गुरुङ, पूर्वउपाध्यक्ष तथा सल्लाहकार बिजु गरुङ, निवर्तमान महासचिव तथा सल्लाहकार धरम बल गुरुङ पूर्वकोषाध्यक्ष तथा सल्लाहकार उदय गुरुङ, सल्लाहकार गोपीराम गुरुङ, युवा समूहका निवर्तमान अध्यक्ष ओमकार गुरुङ, कार्यसमितिका विभिन्न पदाधिकारीहरु, आमा समूह, आजीवन सदस्यहरु र उपस्थित सबैले सांसद गुरुङलाई खादा र पुष्पगुच्छा लगाई स्वागत तथा सम्मान गर्नुभएको थियो ।

बेलायतको राजधानी लन्डनमा तमु समाज युकेले आफ्नै सामुदायिक भवनमा आयोजना गरेको भव्य स्वागत तथा सम्मान कार्यक्रममा उपस्थित भई स्वागत तथा सम्मानित हुँदा प्रमुख अतिथि गुरुङले अत्यन्त खुसी व्यक्त गर्दै तमु समाज युकेका अध्यक्ष, संस्थापक अध्यक्षलगायत सम्पूर्ण पदाधिकारीहरु, सदस्यहरु, आमा समूहका सबै पदाधिकारी तथा आमा दिदीबहिनीहरुलाई आभारसहित कृतज्ञता व्यक्त गर्नुभएको थियो । समाजका संस्थापक अध्यक्ष बाबा चित्रबहादुर गुरुङले स्थापना गरेको संस्थाले लन्डनजस्तो ठाउँमा आफ्नै स्वामित्वमा सामुदायिक भवन गरिद गर्न सफल भएकोमा बाबा चित्रबहादुर गुरुङलगायत सम्पूर्ण सहयोगीहरुलाई बधाईसहित सम्मान व्यक्त गर्नुभयो ।

उहाँले परोपकारको क्षेत्रमा तमु समाज युकेले गरेका कार्यहरुको प्रशंसा गर्दै समाजको समृद्धि तथा उत्तरोउत्तर प्रगतिको निम्ति शुभकामना दिनुभयो । त्यस्तै बेलायतवासी इस्टमित्रहरुले मत दिन नपाए पनि यहाँहरुको आशीर्वाद र शुभकामनाले गण्डकी प्रदेशसभामा पुग्न सफल भएको उल्लेख गर्दै आशीर्वाद खेर जाना नदिने प्रतिबद्धता जनाउनुभयो । ‘प्रदेशसभाको सांसदको पदबहली गर्दा मैले गुरुङ पोसाक पहिरिएर गुरुङ भाषामै शपथ लिएको थियो । त्यसको मुख्य उद्देश्य भनेको गण्डकी प्रदेशमा सरकारी कार्यालयको कामकाजीको भाषा गुरुङ र मगर भाषामा पनि हुनु पर्छ भन्ने मेरो पहिलो मान्यता थियो, त्यो अहिले पूरा भएको सगौरव जानकारी दिन चाहन्छु,’ उहाँले भन्नुभयो ।

उहाँले गैर आवासीय नेपाली नागरिकताको व्यवस्थाबारे पनि आफूले सक्दो पहल गर्ने बताउनुभयो । यसैगरी नारी सशक्तीकरण र महिला नेतृत्वको बारेमा प्रकाश पार्दै तमु समाज युकेले महिला नेतृ चयन गर्नु भई महिलालाई सम्मान दिएकोमा धन्यवाद व्यक्त गर्दै तमु समाज युकेका अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेलाई बधाई तथा शुभकामना दिनुभयो । आफ्नो युके भ्रमणको क्रममा आफूले धेरै संघ संस्थाहरुका लब्धप्रतिष्ठित व्यक्तित्वहरुसँग भेटवार्ता तथा भलाकुसारी गर्ने अवसर मिलेको र यस अवधिमा आफूले धेरै विषय सिक्ने र जान्ने अवसर मिलेको बताउनुभयो ।

उहाँले युके भ्रमणको अवसर जुटाइदिएकोमा क्वोंने (घोताने/घोण्डे) तमु समाज युकेका अध्यक्षलगायत विभिन्न पदाधिकारीहरुलाई धन्यवादसहित आभार व्यक्त गर्नुभयो । साथै हरेक संघ संस्थाले बेलायतमा रहे तापनि आफ्नो नेपाली तथा तमु भाषा, भेषभूषा, कला, संस्कार र संस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा निरन्तर लागिरहन पनि सांसद गुरुङले सबैलाई आग्रह गर्नुभएको थियो।

औपचारिक कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति तथा अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री