सौतिनी आमाको छोरो म – २

मैले बोकिरहेको पिठोको भात कुकुरले पनि खान नमानेपछि मलाई जिन्दगीदेखि थोरै बितृष्णा उत्पन्न भैरहेको थियो । फाटेर चिराचिरा परेका मेरो कमिज मात्र होइन चिरा चिरा परेका जीवनका जम्मै सपनाहरु बोकेर पूजास्थलदेखि हुरुरु दगुर्दै एकै सासमा म मूलबाटोमा पुग्छु । त्यसपछि तिनै हरिबिजोक मेरो अनुहारलाई उकालै उकालो चढाएर एकै छिनमा घरमा आइपुग्छु ।

हस्याङफस्याङ गरेर घरमा पुग्दा आमा आँगनको छेउमा बसेर बेलुकी खानको लागि सिस्नु केलाइरहेकी थिइन् । उहाँलाई देख्ने बितिक्कै म एकछिन मूर्ती झैँ खडा हुन्छु तर एक शब्द बोल्दै बोल्दिनँ । तर उनको शरीरलाई मज्जाले नियालेर हेर्न थाल्छु । हप्तौँ नधोएर सिङरिङ्गै भएको कपाल । अनुहारमा गन्न नसकिने गरि देखिएका चाउरी छाला । जूनीभर जुत्ता चप्पल नपरेर फाटेर धुजा धुजा भएका खुट्टाका पाइतालाहरु । मावलीबाट जडाउरी पाएकी नीलो खद्दरको चोली । शरीरको मुनि भागमा मक्किसकेको एउटा छिटको गुन्यू । अनि च्यातिएर धुजै धुजा भएको तिनै गुन्युको दारुणमय दृश्य ।

ममतामयी आमाको त्यस्तो कारुणिक अवस्था देखेपछि एक छिनसम्म त वाल्ल परिरहन्छु । त्यसपछि मनमनै,- “उनको देह अशक्त्त छ र अस्ताउन लागेकी डाँडामाथिको जूनजस्तै भएकी छिन्,” भन्छु । तर केहीबेर अगाडी पूजा स्थलदेखि बिचलित भएको मेरो मनलाई शान्त बनाउन उनको अगाडी रन्फनिँदै रन्फनिँदै कुइँकिन थाल्छु, –

“आमा ! म अबदेखि मकैको भात खान्न है ? जाबो मेरो भात त कुकुरले पनि खाँदै खाएन,” उनको मुखेन्जी छिसिक्क त्यति गुनासो पोखिसकेपछि मेरो दिलमा थोरै शान्ति छाएको आभाष हुन्छ ।  

मेरो कुरो सुनेपछि, “आफ्नो इच्छा विपरीत आएको विचारलाई विरोध होइन, स्वीकार गर्नु सक्नु पर्छ,” भन्ने आमाले सोचिन् होली ? त्यसैले एकछिन केही पनि बोलिनन् । तर त्यसपछि मुन्टो सर्लक्कै शून्य आकाशतिर फर्काइन् अनि मज्जाले गर्धन तन्काएर आकाशतिर हेर्न थालिन् । उनी माथि नीलो आकाश थियो । अनि आकाशलाई नै प्वाल पारौँला झैं गरेर वेगमा उडिरहेको एउटा ट्विनअटरको जहाज र भुइँमा छोराले मीठो खानेकुरो नपाएर रन्फनाइ रहेको दृश्य एक्कैसाथ हेरेर भनिन् ।  

“छोरा ! धानको भात खानको लागि त आफ्नो खेत पनि हुनु पर्यो नि । खेत क्या खेत । खेत खै ? एकबारको जुनीमा उभिनको लागि यस धर्तीमा एक अँजुली माटो त छैन । कहाँदेखि खेतको आशा गर्नु ? त्यसैले त्यो त धेरै टाढा सपनाको कुरो भयो । यसो यतै कतै नजिकै बिरौटे माटो खनिखोस्री गरेर गुजारा चलाउन पुग्दो पाखो जमिन भए पनि त धन्य हुन्थ्यो, धन्य । जाबो एक चपरी पाखो जमिन नहुनेले के को खेत आशा गर्नु र के को धानको भातको कुरो गर्नु ? बरु एउटा कुरा चाहिँ याद गर है । हामी असाध्यै गरिब छौं । त्यसैले अनिकालमा जन्मन्छौँ । अनिकालमा हुर्कन्छौँ । र, अनिकालमा नै मर्छौं । अँ…. अरुले मानोस् या नमानोस् । मचाहिँ त्यसै भन्छु र जुनचाहिँ ध्रुव सत्य पनि हो,” मेरो कुरोले विक्षिप्त मुद्रामा आमाले त्यति भनिन् ।  

उहाँले त्यसो भनिरहँदा म अलिक सानो नै थिएँ । त्यसैले त्यति धेरै परिपाठ लगाउन त सकिनँ । त्यहाँदेखि उसो बोल्दै नबोली मैले उहाँलाई जितें । तर कता कता आमालाई त्यति भनेर ठूलो अन्याय गरेको महसुस चाहिँ गरिरहें । आमाले त्यति भनिसकेपछि उनकी सुकोमल अनुहारमा परिवर्तन हुन्छ र तनावका लक्षणहरु देखा पर्न सुरु गर्छ । मचाहिँ उनको परिवर्तित मुहार देखेर नुन खाएको कुखुराझैँ झोक्रिएर निन्याउँरो हुँदै बसिरहन्छु ।  

वैशाखको महिना छ । मङ्सिर ‍महिनादेखि जमिनमा एकथोपा पानी परेको अभिलेख छैन । गाउँमा दिनहुँजसो कतै नभाको चैत वैसाखे हुरी चल्छ । सारा गाउँ नै उडाएर लैजाउला जस्तो गरेर हावा हुन्डरी चल्दा मनभित्र हल्का त्राश उत्पन्न हुन्छ । हरेक दिन त्यस्तो नराम्रो मौसमले गाउँको समय उराठलाग्दो भएर बितिरहेको छ ।

अर्को बिहान जमिनमा उज्यालो खस्ता नखस्दै आमाले कित्लीमा पानी तताउन थाल्छिन् । हामी उठ्न अगावै दुध र चिनी बिनाको कालो चिया आमाले पिउने गर्नु हुन्थ्यो । त्यस बिहान पनि त्यसरी नै चिया बनाएर पिइन् । त्यसपछि माटाको हाँडीमा मकै भुटेर सुन जोखेझैँ बैनी र मलाई सिलाबरे बटुकामा बराबरी राखी दिएकी थिइन् ।

पूर्व देविस्थानडाँडादेखि निस्केको सूर्यले बिहानीको आगो ओकल्न थाल्छ । सूर्यको त्यो आगोले भन्दा मैले अघिल्लो दिन गरेको कुरोले आमाको हृदय क्षतविक्षत भइरहेको मलाई त्यसबेला आभाष हुन्छ । सूर्यले धर्तीमा प्रकाश छर्दै लगेपछि म थपक्कै उठ्ने प्रयत्न गर्छु तर मलाई हरहर भोक लागिरहेको हुन्छ । हुनत लगभग १२ घण्टा जति सुतेर उठ्न खोज्दा भोक लाग्नु पनि एकदम स्वाभाविकै थियो र लागिहाल्थ्यो । किनभने बेलुकीपख खाएको खानाले समयमा नै बिदा गरिसकेको थियो । अझै एकमाना चामलको भात पकाएर चारजनाले बराबरी बाँडेर खानु पर्थ्यो । होइन भने आमाले चिन्डोमा लुकाएर राखेकी चामलको खोले खाएर रात टार्नु पर्थ्यो । तैपनि साउँ भाग खाएपछि ब्याज थपनि गर्न पाइँदैन थियो ।

अगेना छेउमा लडिरहेको ठेलुवाले जम्मै शरीर कन्याउँदै म थपक्कै उठ्छु र बटुकामा भएको मकैमा नजर डुलेपछि एक अन्जुली सोहोरेर हत्त न पत्त चपाउन थाल्छु ।

“गालाभरि सिङ्गान र मयलको माम्री बोकिरहेको छस् । अनि मुखै नधोइ खान थालिस् – अल्छी मोरो,” मैले मकै चपाएको देखेर आमा बेस्सरी कड्किन्छिन् ।

“पानी छ र ? मुख धुनु,” हतास् ठाडो जवाफ फर्काउँछु ।

“अब खाजा खाएर तुरुन्तै पानी भर्नु जा है,” नाक चेप्र्याउँदै त्यसो भन्छिन् ।

त्यसपछि म निःशब्द बस्छु । तर त्यति भनि सकेर आमा बसिरहेकी स्थानदेखि उठ्छिन् । भय र चिन्ताले जलिरहेको मुद्रामा अगेनादेखि बाहिर निस्किन्छिन् । आँगनको बायाँ कुनामा एउटा बेसहारा लौरो लडिरहेको देखिन्थ्यो । तिनै बाङ्गो लौरोलाई टिपेर ओरालै ओरालो हिँड्दै तल्लो घरतिर लाग्छिन् ।

हाम्रो घरभन्दा पाँच/सात गह्रा बारी मुन्तिर एउटा अर्को ठूलो घर छ । हो, त्यो घर मालेम्पा दाजुको घर हो । उहाँ मेरो बाबुको कान्छा भाइको एकल छोरा हुनुहुन्थ्यो । एकल छोरा भएकोले नै गर्दा उहाँको जग्गाजमिन आँखाले देखिन्जेलसम्म थिए । उहाँका एक/दुई जना छोराछोरीहरु अलिक स-साना भएतापनि धेरैजसो हुर्किसकेका थिए । अझै दाजुको कुनै कुनै बैनी र छोरीहरुले त झन् बेलायती लाहुरेहरुसँग बिहे गरेको हुनाले उहाँको परिवार अति सम्पन्न परिवार जस्तो लाग्दथ्यो ।  

त्यति कुलिन परिवारमा यदाकदा ज्वाइँहरु ससुराली आउँदा छडी पलाएको भाले काटिन्थ्यो । आगोमा भालेलाई पोल्दा निस्केको सुगन्ध उडेर हाम्रो गोठसम्म आइपुग्थ्यो र मेरो नाकमा सीधै ठोकिन्थ्यो । त्यसबेला हरहर मासु खाने तीव्र इच्छाले सताउँथ्यो । भनौं – मैले त्यस समयमा मुखदेखि र्याल र नाकदेखि सिङ्गान एकैसाथ छाड्थेँ ।

दाजुको घरमा त्यतिबेला काठमान्डूबाट ट्विनअटर (नाइन एन-एल्फा ब्राभो एक्सरे) विमानमा उडी आएका विभिन्न रङ्गका कार्पेटहरु दलानमा बिछ्याइन्थ्यो । जहाँ सिमलका भुवाझैँ मुलायम ज्वाइँहरुका खुट्टाले बिश्राम लिन्थे । त्यतिले मात्र सुन्दर पहाडे महलको शोभा पुग्दैनथ्यो । टलल रातै टल्किने गरि झिँगटीले छाएको उक्त्त घरमा बेलुकीपख घनन रेडियो नेपाल घन्किन्थ्यो । रेडियोदेखि दुर्गानाथ शर्माले स्वर खिपीखिपी देश विदेशमा घटेका विभिन्न घटनाहरुको विस्तृत समाचार पढ्दा र दाहाल यज्ञनिधिले साहित्यिक कार्यक्रम चलाउँदा ‘जदौ’ भनेको माधुर्य स्वर हाम्रो गोठसम्म सुन्न सकिन्थ्यो ।  

त्यति ठूलो घरमा झरेर मनभरि लागेका वेदनाहरु हुटहुटीका साथ आमाले भन्न थाल्छिन् । ”जेठा ! म सार्है अभागि रहेछु । हुनत यो सबै पूर्व जन्मको खेल होला ? मेरो छोराले घरमा धानको भात खान खोजिरहेको छ । सधैँ सधैँ सग्लो चामलको भात त के ख्वाउन सक्थे हुँला र ? कनिकाको भएपनि मलाई भित्रभित्रै ख्वाउने रहर लागिरहेको छ । यदि तिम्रोमा छ भने अलिकति दामे ब्याजी पैसा ऋण देऊ । अन्न ब्याज त म सक्तिनँ । किनभने मेरोमा अन्न हुँदैन । तर तिम्रोमा पैसा छैन भने अरु कसैसँग खोजी देऊ ? म आफैँ खोजुँ भने दिनभरि गाउँमा चाहार्दा पनि गरिब भएकोले मलाई कसैले पत्याउँदै पत्याउँदैनन् । त्यसैले तिमीलाई भन्न आको ।

अँ… साँच्चि अहिले यता कसैले धान बेचेको पनि सुनेको छैन । तिम्रो त भकारी खोलेको छैन होला ? धान भए धान नै दिए पनि हुन्छ । होइन भने पैसा दिए पनि हुन्छ । जे सकिन्छ त्यही दिए हुन्छ । के आखिर म त ऋण माग्ने मान्छे न परेँ ? यस पापी संसारमा हामीजस्तो गरिबको इच्छाले केही कुरो हुँदैन रहेछ । तर पैसा पाए भने दिखुवा पारि सेरा खाल्लेतिर जान्छु । त्यता पनि धान पाइनँ भने साप्सु खोला तर्छु र सापातेलतिर लाग्छु । बेसाहा खोजेर ल्याएपछि अर्खौले बजारमा लगेर चामल बेच्छु । कसैगरी दुई/तीन सय रुप्पे कष्ठ गरी देऊ है । म पछि तिमीले भनेको ब्याजसहित बुझाउँछु ।”

मुटु, कलेजो र आन्द्राभुँडी जम्मै खोलेर आमाले दाजुको सामुन्ने त्यति बिलौना पोखिन् ।   

“काइँली तुम्मा ! अहिले मसँग पैसा सैसा केही पनि छैन् । अर्को हप्तातिर भयो भने दिन्छु है,” दाजुको मुखदेखि संक्षिप्त जवाफ फर्कन्छ ।

ऋण पाउने प्रयत्न असफल भएपछि मलिन अनुहार लिएर आमा गल्लीको बाटैबाटो घर फर्कदै थिइन् । सोहीबेला डोकोमा रित्तो गाग्रो लिएर म आमालाई बाटोमा ड्याम्मै भेट्छु । आँखाभरि कचेरा बोकेर आमालाई देख्ने बितिक्कै, “आमा ! अनि पैसा पाउनु भो त ?” एकछिन् त्यतिक्कै उभिएर सोध्छु । “अशुभ साइत । अहँ ! छैन रे,” आमाको मुखदेखि गालीसहित वैरागलाग्दो उत्तर आउँछ । त्यसपछि वैभवको धनी नभएता पनि मनकी धनी मेरी आमा घरतिर लाग्नु भयो । म पसले खेततर्फ हान्निएर जान्छु । तर त्यसरी बाटोमा जाँदै गर्दा, – “पैसा मानिसहरुको जिऊ ज्यानभन्दा अझै ठूलो हुने रहेछ र हरेक मान्छेलाई पैसा निक्कै प्यारो लाग्ने रहेछ,” भन्ने मलाई त्यसबेला बोध हुन्छ ।

अँ, …हाम्रो पानी भर्ने धारो घरदेखि हिँडेर पच्चीस/तीस मिनेट जति लाग्ने स्थानमा छ । मनभरि पिरको सगरमाथा बोकेर हुरुरु म धारोमा पुग्छु । त्यहाँ पुगेपछि पहिले मुख धुन्छु । त्यसपछि आमाले भनेझैँ गालामा भएको मयलको माम्रीलाई सधैँको लागि बिदा गर्छु । अनि हात खुट्टा धोएर गाग्रोभरी पानी थाप्छु । अब ढिलो भो आमाले मार्छिन् होली भनेर हतारहतार घरतर्फ मोडिन्छु । तर पसले खेत छाडेर वारप खेतमा आएपछि डोको बोकेर हिँडने बाटो थोरै अफ्ठ्यारो पर्छ । किनभने त्यहाँ हिँड्दा खेतको आली आलीको बाटो हिँड्नु पर्छ । हिँउदको समयमा त त्यो बाटो राम्रै हुन्छ । तर बर्खाको समयमा आलीको बाटो हिँडन हम्मेहम्मे पर्थ्यो ।

हुनत तिनताका हिँउदको समय थियो । तर खेतको गर्हामा मकै छर्नको लागि अघिल्लो दिन पूरै पानी हालेर भिजाइएको रहेछ । त्यसैले खेत भिजेर गह्राभरि पानी जमिरहेको थियो । त्यो पानीले आली असाध्यै चिप्लो बनाएको रहेछ । भिजेको आली त यस्सै चिप्लो थियो । त्यै माथि मनभरि एक ‍रास पिरको व्यथा थियो । त्यसैले रुखो जिन्दगीमा हल्का तनाव उत्पन्न भैरहेको थियो । पहिले पहिले खेतको आलीमा जोगिँदै हिँडे । तर अलिकति अगाडि बढेको मात्र के थिएँ चिप्लिएर बङलङ्गै लडें र पानीमा उतानो परिहालें ।

मचाहिँ लडेर खेतमा पछारिए तर गाग्रो उछिटिएर तल्लो खण्ड झर्यो । शरीरमा छोरी टीकाले दिएकी एउटा अधर्ने जडाउरी भेष्ट उनिरहेको थिएँ । तर लडेपछि भेष्टसेष्ट पानीले निथुक्रै भिज्यो । पहिले लड्दा आइय्या भनें, त्यसपछि कसैले देख्यो कि भनेर थोरै सरम मानें । तर टाउको छाम्दै छाम्दै सुस्तरी उठें ।

म जमिनदेखि उठ्दा मेरा आँखा तिल्मिलाइ रहेका थिए । टाउको भुइँमा बज्रेको हुनाले रिङ्गटा चलिरहेको थियो । झन् उठ्ने बितिक्कै माटोको गाग्रो फुटेर टुक्रा टुक्रा भएको देख्दा मेरो होसहवास् उड्यो । पानी लगेर आमा बाबुलाई पिलाउने सपना एक्कै सासमा खरानीमा परिणत भयो । एक छिनसम्म बिस्मृतिको साथ डोकोलाई हेरिरहें । डोको खेतको कान्लामा रहेको ध्वाँरोको बुट्टामा अड्किएर मलाई जिस्क्याइ रहेको थियो । गाग्रोका चोइटाहरु बाँझो खेतमा जताततै छरपष्ट भइरहेको देख्दा रिसले अगुल्ठो भएँ ।   

तर त्यस्तो कारुणिक दृश्य देखेपछि अनायासै मेरा आँखाहरु छचल्किएर भरिन सुरु गरे । त्यसपछि कहीँ नभाको आँशु बहेर आउन थाले । गाउँमा सबैले हेप्ने सौतिनी आमाको छोरो सम्झेर आफ्नो जीवनलाई एकचोटी “थैया जिन्दगी” भनेर मनमनै धिक्कारें । न अंश, न पैसा, न खेतबारी, न स्नेह, न इज्जत, न प्रतिष्ठा, न बैभव । अरु केही नभएर जेठी आमाको सन्तान हुँदो हुँ त कमसेकम घरमा एउटा तामाको गाग्रो त हुन्थ्यो । दुर्भाग्यवश यसरी लडेता पनि गाग्रो कुचिन्थ्यो तर फुटी हाल्दैनथ्यो । आत्माहिन मुद्रामा त्यति सोचें र आफूले भोग्दै आएको गरिबीको पराकाष्ठालाई फेरि एकचोटी धिक्कारें । तर अचानक रोक्न नसकेको आँसुको बलिन्द्र धारालाई स्वस्फूर्त छाडिदिएँ र खेतको कुनामा बसेर ग्वाँ ग्वाँ रोइरहें ।  

बिहानीपखको समय थियो र वारप खेत एकदम सुनसान थियो । घुँक्क घुँक्क बाडुल्कीसहित म रोएको बाहेक वातावरण पूर्णतया शान्त थियो । त्यसबेला त्यहाँ किराफट्याङ्ग्रासम्म फिटिक्कै कराएको सुनिएको थिएन । बर्खाको समय हुँदो हो त नजिकै रहेको भष्मे खेतको उत्तिसघारीबाट झ्याउँकिरीहरुले निकालेको झ्याउँ झ्याउँ आवाजले सर्लक्क दिनै खान्थ्यो ।   

वारप खेतको पुछार गह्रा मुनी एउटा स्यानो कुलो रहेको छ । आषाढ, श्रावणमा मात्र त्यहाँ कमिलालाई कुलो तर्न पुल चाहिन्छ । नत्रभने अरुबेला कुलो सुखेर खङ्खरङ्गै परेर आराम गरिरहन्छ । श्रावणमा मात्र पानी देखा पर्ने त्यस कुलोलाई मान्छेहरुले साउने कुलो भनेर चिन्ने गरेका छन् ।

तिनै साउने कुलोको बाटैबाटो हिँड्दै आउनु भएको जुमेम्पा दाजुले खेतको कुनामा भावबिह्वल हुँदै रोइरहेको मलाई अचानक देखेपछि, – “ए ! तँलाइ के भो ? किन बिहान बिहान यसरी रुन्छस् हँ ?” भन्नुहुन्छ ।   

“दाजै ! मेरो गाग्रो फुटेर चक्नाचुर भयो,” छोटकरीमा जवाफ फर्काउँछु ।

“जाबो माटोको गाग्रो त हो । लडेपछि फुटिहाल्छ नि । लु ठीक्कै छ । नरोइ नरोइ घर जा,” कस्सेर कराएर त्यति भन्नुहुन्छ ।

म त्यस्तो बेहालतमा थिएँ । अझै त्यही जमिनमा सडेर मरूँ कि अन्त कतै भागुँ भन्ने द्विविधामा थिएँ । तर दाजुको कुरो सुनेर हुनेलाई पो माटोको गाग्रो, नहुनेलाई सुनको झैँ महत्व हुन्छ भनेर प्वाक्कै ओठे जवाफ फर्काउन मन लागेको थियो । फेरि आफूलाई भरै बेलुकीदेखि केमा पानी भरेर खाने भनेर पिरको भुमरीमा डुबिरहेको थिएँ । तैपनि दालङ्गे परिवारको सबैभन्दा आदरणीय दाजुप्रति उच्च सम्मान गर्दै मैले मेरो मुखमा मज्जाले ढकनी लगाएर बन्द गरिदिएँ ।

दाजु त्यहाँदेखि ओरालै ओरालो सुन्दरे खोल्सातिर लाग्नु भएपछि म मरितरि उठें । त्यसपछि रित्तो डोको बोकेर घरतिर हिँडे । एकछिन हिँडेपछि कमलाम्पाको घर अगाडि पुगिहालें । पानी भर्न धारा जाने बाटो ठ्याक्कै उनको घरको आँगनदेखि नै थियो । म त्यहाँ पुग्दा कमलाम्पा आँगनमा चित्रा बुन्नको लागि चोया केलाइरहेको देखिन्थे । पानी भर्न गएको मान्छे गाग्रो फुटाएर खाली डोको बोकेर फर्कदै गरेको देखेपछि, – “बाबै ! खै पानी ? लौ अब तिमीलाई बजूले मार्ने भो । यस्तै त छौ त,” भने ।

उनको कुरो सुन्दा मलाई आलो घाउमा नून छर्केको जस्तै मात्र होइन आत्मसम्मानमा गहिरो ठेस लागेको महसुस भयो । तर हाम्रो समाज नै यस्तो प्रकारले बनेको छ । अझै यसलाई ठोकुवा गरेर के भन्न सकिन्छ भने गरीबले कहिल्यै जित्दैन र कहिल्यै न्याय पाउँदैन । यो कोम्ट, वेबर, मार्क्स र डरकाइमको समाजशास्त्रको नियमभित्र त के अङ्ग्रेजी समाजशास्त्रको पिता हर्वट स्पेन्सरले पनि नबुझेको नियम हो । किनभने उनीहरु गरिब परिवारमा जन्मेर हुर्केका थिएनन् । खुकुरीको चोट त केवल अचानोलाई मात्र थाहा हुन्छ भन्ने मैले त्यसबेला बुझ्छु ।   

आखिर साइनोले भतिज पर्ने कमलाम्पाले मलाई जे सुकै भनेता पनि म उनलाई एकै शब्द खर्च गर्न उचित ठान्दिनँ । किनभने मैले बोकिरहेको खाली डोको पनि केहीदिन अगाडि उनैले बुनिदिएका थिए । बरु मनमनै उनलाई धन्यवाद दिन्छु ।

अँ…. तर यहाँनेर म मेरा पाठकहरुलाई एउटा कुरो के जानकारी गराउन चाहें भने कमलाम्पा अहिले भोइस सिजन ६ को चर्चित गायिका इन्द्रकला राईकी साख्खै बाजे हुन् ।

तर म रुँदै रुँदै घरमा जाँदा, “रुनुको मतलव यो होइन कि म ज्यादै कमजोर छु । एकदिन त कसो एक मानाको पीठो बन्दोवस्त नगरौला र” भन्ने मनमा लागिरह्यो । घर पुग्दा मेरा सारा आँसु रित्तिसकेका थिए । धूमिल आँखासहित घरमा पुग्ने बितिक्कै रुन्चे स्वरमा, “आमा ! गाग्रो त फुट्यो,” भन्ने बितिक्कै, – “मूल्याहा, जन्मेको रहेछस् । कैले जिन्दगीमा सुख देला जस्तो छैनस् । अब भरैदेखि केमा पानी बोक्छस् । तँलाई त के घिच्नु पनि दिनु । त्यतिक्कै गोठाला जा,” दोहोरो बोल्न नमिल्ने रेडियो जस्तै आमाको एकोहोरो भनाइ सुनेपछि म केही नबोली बाख्रा खोलेर बिर्लापाखा जङ्गलमा पुग्छु । त्यहाँदेखि बाख्रा हुरुरु दगुरेर नाकेडाँडा पुग्दा दिखुवा खोलाको गोगन दहमा घोप्टिएर धीत मरिन्जेल पानी पिउँछु र, पानीले भोक मेट्छु, तिर्खा मेट्छु ।

त्यसपछि दिनभरि दिलुङ्मा डाँडातिर बाख्रा गोठालो गरेर घर फिर्दा, “आज केही नखाइ गोठालो गइस् हगि” अचानक बाबुले सोध्नु भयो ।  

मैले बोल्नै नपाइ, “ठाडोसिम तिर लग्यो होला ? उतै राजधनिम्पाघर छेउको वर खाएर आयो होला नी । धेरै बर खाएर घाँटी सानो न सानो भाको देखेको छैनौ,” आमाको रिस मरिसकेको थिएन, त्यसैले निरही बोली फुट्यो ।  

आफ्नो प्यारी आमाले जेसुकै भनेता पनि अरु गाउँलेहरु जतिको सुख पाउने मेरो सपना चित्रे गोठमा दन्दनी जलिरहेको थियो । त्यसपछि गाउँमा साँझ ढल्कियो । चराचुरुङ्गीहरु बास बस्यो । सन्नाटासहित चकमन्न अँध्यारो छायो । अँध्यारो हुने बितिक्कै घर मास्तिर चुवाको हाँगामा बास बसिरहेको हुचिल करायो । चमेरा र लाटोकोसेरोहरु आँगन माथि उडे । दम्कुडाँडा जङ्गलमा स्याल करायो । तल्लो घरको कुकुरले जवाफ फर्कायो ।

अँध्यारोले गाउँलाई सर्लक्कै निल्यो । निशब्द अँध्यारो भएपछि अरुको घरमा ढिब्री बल्यो । चित्रे गोठमा मट्टितेल नभएकोले ढिब्री बल्दैन । कुपी बल्दैन । बत्ति बल्दैन । केवल अगेनामा दाउराका मुढा जल्छ । जहाँदेखि ताप र प्रकाश सँगसँगै निस्कन्छ । त्यसैले अगेना वरिपरि बसेपछि उज्यालो नै हुन्छ, देखिन्छ । हरेक बेलुकीपख बियोगान्त परिवारका चारजना सदस्यहरु थकित मुद्रामा निःशब्द त्यसरी नै बस्छौं ।    

अगेनामा मुढा आफ्नै सुरमा जलिरहन्छ । जसरी मुढा जलेर खरानी हुन्छ, त्यसरी नै जिन्दगी एकदिन खरानी हुन्छ । के सुखी हुने सपना बुन्नु हौ बिनाबिच्चमा भन्ने सोचिरहेको बेला, “लु ! सबैजना खाना खानको लागि तयार है,” आमाले अचानक उर्दी जारी गर्नुहुन्छ । दिनभरिको भोको थिएँ । खानु भनेको सुन्ने बितिक्कै म लबलब गर्न थालिहालें । “म त अघिदेखि तम्तयार थिएँ,” खुसीसाथ मै बोल्छु । सारा उमेर ढल्केर बुढेसकाल लागेको हुनाले आमाको अगाडी बाबुको अलिक शक्त्ति चल्दैन । त्यसैले उहाँ चुपचाप बस्नु भयो ।   

अगेना छेउमा भएपनि आमाको ठीक बिपरीत दिशामा थिएँ र केही खान पाउने आशामा आफ्नो अगाडी रित्तो सिलाबरे थाल थापिरहेको थिएँ । सबैभन्दा पहिले आमाले गिद्धे नजरले थाललाई हेर्नु भयो । त्यसपछि एक हात परैबाट एक रावा ढिँडो थालमा पर्ने गरि फ्यात्तै फालिदिनु भयो । भाग्यले साथ दियो नत्रभने त्यति टाढादेखि उडेर आको ढिँडो खरानीमा खसेर लुटुपुटु हुन्थ्यो । तर कतै खसेन, तातो ढिँडो थालमा चरा लिसोमा टालिएझैँ टालियो । त्यसपछि एक डाडु गुन्द्रुकको झ्याम्टाले ढिडो पुरिदिनु भयो । दिनभरिको भोकले सास चुँडिएर जानै आँटेको थियो । आफ्नो अगाडी खानेकुरो देख्नासाथ हतारहतार ढिँडोलाई निमोठनु खोजी हालें । तर तातातो ढिँडोले मेरो हातका औँलाहरुलाई बेस्सरी पोल्यो । “आथुतु,” भन्नै पाएको छैन । “एकछिन पर्खनु सक्दैनस्,” आमा कड्किई हाल्नुभयो ।      

गनगने आमाले जति हप्काए पनि आशिर्वाद ठान्थेँ । किनभने मेरो मानसपटलमा आखिर मलाई माया गरि नै हाल्नु हुन्छ भन्ने अमिट छाप बसेको थियो । त्यसरी हप्काइ खाँदै खाँदै दिन, रात र हप्ता एक रफ्तारले बित्दै गयो । तर अनिकाले परिवारमा ऋणको बोझ चाहिँ थपिँदै गइरहेको थियो । यसो सम्झ्योः- सुत्दा ऋण, उठदा ऋण, खाँदा ऋण र हिँडदा ऋण । ऋणै ऋण मात्र छ । नभन्दै अर्को हप्ता मालेम्पा दाजुले आमालाई दुईसय पचास रुप्पे ऋण दिनु भयो । ऋण पाएको भोलि बिहानै आमाले बर्कीमा अलिकति मकै भटमासको पोका बनाउनु भयो । अनि मकै भटमास सँगसँगै एउटा खाली बोरा र नाम्लो पनि तयार पार्नुभयो ।  

त्यसपछि, – “दिखुवा खोला पारि धान पाए भने रातसाँझ आजै आउँछु । तर साप्सु खोला नै तर्नु पर्यो भने भोलि मात्र आउँछु है ?” अन्योलताको सागरमा चुर्लुम्मै डुबेर आमा आफ्नो बाटो लाग्न सुरु गर्नु भयो ।

उनले भनेको सुनेको एक छिनसम्म म आमाको पुच्छर बनेर अलिक परसम्म पछ्याउँछु । त्यसपछि आमाले घर छाड्दै गरेको दृश्य पहिले टाँकी त्यसपछि अमला रुखको फेदसम्म पुगिन्जेल हेरिरहन्छु । केहीबेरपछि आमाको दुब्लो छाँया सुस्तरी सुस्तरी डाँडाबारीको क्षितिजमा पुगेर बिलय हुन्छ । त्यसपछि एकाध मनलाई नियन्त्रण गरेर बेचैन मुद्रामा म मेरै गुँडमा फिर्छु ।

ढुकुरको गुँडझैँ लिसिङपिसिङ गरेर बनाइएको टालटुले चित्रे गुँडमा त्यसबेला बैनी र म मात्र भयौं । खै कता जानु भो कुन्नि ? बिहानैदेखि बाबु घरमा हुनुहुन्थेन । उहाँ नभएपछि आमाले पकाएर राखि छाडेको बासी कोदोको खोले दुई भाग लगाउँछु । आधा म खान्छु र आधा कराही बैनीलाई दिन्छु । त्यति खाएपछि ढुक्क हुन्छ र बाख्रा खोल्छु ।   

भोक र प्यासले फुकिढल जिऊ लिएर घर फिर्छु । दिनभरि बाख्रा गोठालो गरेर घर फिर्दा बाबुले हाँडीभरि गिट्ठा भ्यागुर उसिनिरहनु भएको थियो । ढाँडे खोला, बिजुवा खोला र दम्कु खोलाको किनारमा मात्र होइन । ठाडोपाखा वनमा पनि पाइने गिट्ठा भ्यागुरलाई चाम्लिङहरुले “खालो” भनेर चिन्ने गरेका छन् । मैले म मान्छे हुँ भन्ने चाल पाएको दिनदेखि जहिले पनि अनिकालको भुमरीभित्र हुन्थ्यौँ । र, घरमा अन्नपात केही नहुँदा खरानीमा भुल्भुली उसिनेर हामी तिनै खालो खान्थ्यौं ।

पक्कापक्की भन्ने हो भने बुईपा छिप्तीमा खालोले हाम्रो ज्यान बचाइरहेको थियो । त्यसैले हामी खालो खाएर बाँचेका जीवित इतिहास थियौं । हुनत खालोबाहेक वन तरुल, निगुरो, कुकुर दाहिने, जोगिसे, कटुस, अमला, पानी अमला, टाँकी, बकैना र वरको फलमात्र होइन अनिकालको बेला जिऊ जोगाउन विभिन्न थरिका वर्षे च्याऊ र जङ्गली च्याऊ दुवै थरी खान बाबुले सिकाउनु भएको थियो ।  

क्रमशः

प्रतिक्रिया

सम्बन्धित सामाग्री