भक्तपुर । नेपाल भ्रमणमा रहनुभएकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीले आज भक्तपुर अस्पतालको अवलोकन गर्नुभएको छ । उहाँले भक्तपुर अस्पतालको प्रसूति कक्ष (गाइनो वार्ड) को अवलोकन गर्नुभएको हो ।
अवलोकनका क्रममा अधिराजकुमारी सोफीले प्रसूति सेवाबारे विस्तुत रूपमा जानकारी लिनुभएको थियो । उहाँले अस्पतालको प्रसूति कक्षमा रहेका सुत्केरी र नवजात शिशुको स्वास्थ्य अवस्था, उपचार विधिलगायत विविध पक्षका बारेमा जानकारी दिनुभएको थियो ।
प्रसूति कक्षमा भर्ना भएका नवजात शिशुलाई बोकेर उहाँले अस्पतालले दिएको सेवा प्रशंसनीय रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । यौन दुव्र्यवहार र हिंसामा परेका महिलाका बारेमा चासो लिँदै उहाँले हिंसा पीडित महिलाको व्यवस्थापन, पारिवारिक मिलन, सामाजिक पुनःस्थापनालगायत पक्षका बारेमा छलफल गर्नुभएको थियो ।
अधिराजकुमारी सोफीले बिना पारिश्रमिक महिला स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्याइरहेको योगदानको प्रसंशा गर्दै मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवामा अस्पतालले दिँदै आएको सेवा र योगदानप्रति खुसी व्यक्त गर्नुभयो । प्रसूति सेवामा भएको विकास र अस्पतालले प्रयोगमा ल्याएको आधुनिक प्रविधि र उपकरणका बारेमा जिज्ञासा राख्नुका साथै अधिराजकुमारी सोफीले बेलायत सरकारको सहयोगमा निर्माण भएको नयाँ भवन र स्तरोन्नति ‘रेक्टोफिटिङ्ग’ गरिएको भवनको समेत अवलोकन गर्नुभयो ।
अवलोकनपछि छलफलका क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशका १३ वटै अस्पतालमा प्रसूति कक्षलाई आवश्यक जनशक्ति, उपकरण र भौतिक संरचनाका लागि काम भइरहेको बताउनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष शशीजङ्ग थापाले भक्तपुर अस्पतालले भक्तपुरका मात्रै नभई पूर्वदेखिका बिरामीलाई सेवा दिइरहेको बताउँदै अस्पतालले एमआरआई, सिटी स्क्यान, डायलोसिस उपकरण सञ्चालनमा ल्याउन सके उपचारमा सहजता हुने बताउनुभयो । अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टले सोफीलाई अस्पतालले प्रजनन् स्वास्थ्यमा पुर्याउँदै आएको सेवा र अवस्थाका बारेमा जानकारी दिनुभयो । उहाँले यौन तथा लैङ्गिक हिंसामा परेका महिलाको स्वास्थ्य परीक्षण र उपचार गरी सुरक्षित घर (सेभहाउस) मा पठाउने, मनोपरामर्श दिने, परिवार र समाजमा पुनःस्थापना गराउनेलगायत कार्य गर्दै आएको बताउनुभयो ।
अधिराजकुमारी सोफीले भक्तपुर अस्पतालको सेवाका बारेमा जानकारी लिँदै बिरामीसँग कुराकानी गर्नुभयो । सोफीसँगै बेलायत राजदूतावासका स्वास्थ्य सल्लाहकार डिएगो मोरोसो, दूतावासका समन्वयकर्ता दीपक कार्कीलगायत टोलीले अस्पतालको अवलोकन गर्नुभएकोछ ।
यसैबीच अधिराजकुमारी डचेस सोफी आजै कीर्तिपुरस्थित ‘कीर्तिपुर आँखा अस्पताल’ जानु भई अस्पतालबाट प्रदान भइरहेका सेवा एवं सेवाग्राहीसँग भेटघाट गर्नुभएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित सो अस्पतालले विसं २०७४ देखि सेवा सुरुआत गरेको थियो । अस्पतालले बेलायतको विकास साझेदार संस्था ‘रिड्ली आइ फाउण्डेसन’का सहयोगमा नेपालका विकट उच्च पहाडी क्षेत्रमा निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेको छ ।
अधिराजकुमारी सोफी ‘द इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी)’ को ‘ग्लोबल एम्बेस्डर’ (विश्व सद्भावनादूत) हुनुहुन्छ । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्ड र अधिराजकुमारी डचेस सोफी मंगलबार नेपाल भ्रमणका आउनुभएको थियो ।