गोरखा समस्या कुटनीति पहलबाट समाधान गर्ने नयाँ राजदुतको प्रतिवद्धता

लण्डन । बेलायतका लागि नेपाली राजदुत चन्द्रकुमार घिमिरेले गोरखा भूतपूर्व सैनिकहरूको समस्या कुटनीतिक र तार्किक पहलद्वारा समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

गोरखा भूतपूर्व सैनिकहरूको संस्थाहरूको मोर्चा जी टेनका प्रतिनिधिहरूसित आज दुताबासमा भएको परिचय तथा भेटवार्तामा राजदुत घिमिरेले सो कुरा बताउनुभएको हो ।

राजदुत घिमिरेले भर्खरै बेलायत आएर कुराहरू बुझ्दै गरेको बताउँदै गोरखा भूतपूर्व सैनिकहरूको समस्या वार्ताकै माध्यमबाट समाधान गर्नुपर्ने दृढता व्यक्त गरेका थिए । वार्ताको विकल्प नरहेको र वार्तामा शिष्टता, मर्यादा र कुटनीतिक मर्म पालना गर्नुपर्ने पनि उहाँको धारणा थियो ।

गोरखाहरूको समस्याका बारेमा यसअघि आदानप्रदान भएको ३५ बुँदामा नै केन्द्रीत रहेर वार्ता अगाडी बढाउनुपर्नेमा पनि राजदुत घिमिरेले जोड दिएका थिए ।

भेटमा गोरखाहरूले गोरखाहरू विभिन्न संगठनमा आवद्ध भएपनि वार्ताबाट गोरखा समस्याको समाधान खोज्नुपर्छ र गोरखाहरूमाथिको विभेद चाँडो अन्त्य हुनुपर्छ भन्नेमा एक रहेको बताएका थिए ।

भेटमा ब्रिटिश गोरखा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवान, गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का कार्यबाहक अध्यक्ष तथा वार्ताकार धर्मबहादुर तामाङ र महासचिव नरहाङ राई, आमरण अनसन बस्ने सत्याग्राहीहरू पुष्पा राणा घले र धनबहादुर गुरुङको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री