खोटाङ । बाल यौन दुरूपयोग कसुरमा दोषी ठहरिएका कृषिविज्ञ मदन राईलाई जिल्ला अदालत खोटाङले दुई वर्ष छ महिना कैद सजाय तोकेको छ । साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईलाई जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार सजाय निर्धारण गरेको हो ।
यही माघ १० गते दोषी ठहरिएका कृषिविज्ञ राईलाई दुई वर्ष छ महिना कैदका साथै एक लाख रुपैयाँ जरिवानासमेत निर्धारण भएको जिल्ला अदालत खोटाङका स्रेस्तेदार सीताराम खड्काले जानकारी दिनुभयो । यस्तै, पीडित किशोरीलाई एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन सजाय फैसला भएको अदालतले जनाएको छ ।
कृषिविज्ञ राईमाथि आफैँले सञ्चालन गरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा–मदन (शुभम्) फाउण्डेशनका किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेको थियो । बाल यौन दुरूपयोग कसुरमा अदालतले कृषिविज्ञ राईलाई माघ १० गते कसुर ठहर गरेको थियो ।