काठमाडौँ । गोर्खाज् इन्टेक १९८५ ले शनिबार नेपालमा ४०औँ वार्षिकोत्सव धूमधामका साथ मनाएको छ ।
काठमाडौँको सोल्टी होटलमा भव्य समारोह आयोजना गरी गोर्खाज् इन्टेक १९८५ ले वार्षिकोत्सव मनाएको हो । अध्यक्ष लालबहादुर लिम्बु र कार्यक्रमका मुख्य संयोजक शेरबहादुर सुनारले दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गर्नुभयो । मुख्य संयोजक सुनार र अध्यक्ष लिम्बूले केक काट्दा वार्षिकोत्सवको सेलेब्रेसन गरिएको थियो ।
महासचिव विजय गुरुङ र सञ्चारकर्मी शोभा त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्य र सुरक्षाबारे उपाध्यक्ष सूर्य गुरुङले जानकारी गराएपछि अध्यक्ष लालबहादुर लिम्बू र स्वागत मन्तव्य नारायण भण्डारी एमभीओले राख्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार सहासंघ यूकेकी उपाध्यक्ष तथा नम्बर्नी प्रमिला लाबुङ राईले ४०औं वार्षिकोत्सवको अवसरमा जारी गरिएको प्रेस विज्ञप्ति वाचन गरेर सुनाउनुभएको थियो । विज्ञप्तिमा आजीवन नेपाली नागरिकता त्याग गर्नुपर्ने विभेदको अन्त्य गर्न माग गरिएको छ ।
‘हामी मातृभूमिलाई त्याग्न चाहँदैनौँ । त्यसैले नेपाल सरकारले ब्रिटिस गोर्खा सैनिकहरू र हाम्रा परिवारलाई गैरआवासीय नागरिक नबनाओस् भन्ने आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘बेलायत र नेपाल सरकारबीच दुई पक्षीय सम्झौता गरी हाम्रो भावनाको कदर गर्दै आजीवन नेपाली नागरिकता त्याग गर्नुपर्ने विभेदको अन्त्य गरियोस् भन्ने माग दोहोर्याउन चाहन्छौँ ।’
कार्यक्रममा संस्थाको आठौँ कार्यसमितिलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने कार्यक्रम सफल पार्न आर्थिक सहयोग गर्नेहरूलाई पनि प्रमाणपत्र र खादाले सम्मान गरिएको थियो ।
अध्यक्ष लिम्बूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने र उपस्थित सबैलाई धन्यवाद दिनुभयो । अध्यक्ष लिम्बूको अध्यक्षतामा भएको औपचारिक कार्यक्रम समापनपछि उपस्थित सबैजना खाना खान लागेका थिए । त्यसपछि सहभागी राति अबेरसम्म चर्चित कलाकारहरुको प्रस्तुतिमा झुमेका थिए ।
चर्चित गायक आनन्द कार्की, गायिका सहिमा श्रेष्ठ, पवित्र गुरुङ, निर्जला गुरुङ, पृथ्वी गुरुङ, रिना थापा मगरलगायत कलाकारले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । इभेन्ट टिममा मुख्य संयोजक शेरबहादुर सुनार तथा संयोजकहरूमा नेपालधन राई, राजनकुमार क्षत्री, नारायण भण्डारी एमभीओ, सूर्य गुरुङ, दीपक घले र मीन बगाले थापा रहनुभएको थियो ।
सन् १९८५ को जनवरीमा बेलायतकी महारानी स्व. एलिजाबेथ द्वितीयको शपथ लिँदै गोर्खा इन्टेक १९८५ को ४८२ जना भर्ती भएका थिए । मातृभूमिदेखि एकै साइत बनाएर सुरु गरेको सैनिक यात्रामा नोकरीदेखि हालसम्म १३ जना नम्बरीहरूको मृत्यु भइसकेको छ । बाँकी नम्बरीहरू सेवा निवृत्त भएर विभिन्न देशमा बस्दै आएका छन् ।
तस्बिरहरू : प्रमिला लाबुङ राई