बेलायतका तीन राता मानक

टेलिफोन बुथ

बेलायतभरि देखिने रातो फोन बुथ यहाँको एक चिनारी हो । मोवाइल फोनको सर्वाधिक प्रयोग पछि अब यस्तो पे फोनको खासै आवश्यकता रहेन । अहिले जताततै देखिने ती फोन बुथहरु ब्रिटिश टेलिकम(बिटी)को सम्पत्ति भएको तर प्रयोगमा नरहेको कारण त्यस्को हिफाजत वा संरक्षण हुन सकेको छैन । त्यसलाई बेलायतको एक आकर्षणको रुपमा कायम राख्न बिटीले स्थानिय रुपमा त्यस्को स्वामित्व हस्तान्तरण गर्ने योजना पनि संचालनमा ल्याएको छ । एक पाउण्डमा त्यस्ता बुथहरु स्थानिय समूह, काउन्सिल, व्यक्ति तथा संरक्षण संगठनहरुले यस्को स्वामित्व लिने क्रम जारी छ । बिटीबाट स्वामित्व लिएपछि कतै सानो पुस्तकालय, कसैले आर्ट ग्यालरी, कसैले स्थानिय उत्पादन प्रदर्शन गर्ने गरिएको देखिन्छ भने प्रायजसोले यसलाई स्थानियहरुको स्वास्थ्य उपचारको लागी अति आवश्यक प्रमाणित भएको ए.ई.डि. (अटोमेटेड एक्सटर्नल डेफिब्रिल्याटर) मेशीन राख्ने गरेको देखिन्छ । 

यो रातो टेलिफोन बक्सलाई आधिकारिक रुपमा के सिरिज भनिन्छ । सन् १९२१ मा पहिलो पटक जनरल पोष्ट अफिसले स्थापना गरेको फोन बुथको आवश्यकता भएको कारण यसको व्यापकता हुन थाल्यो । सन् १९२४ यस्को रुपमा पनि परिमार्जन भयो । यसको डिजाइन तत्कालका वरिष्ट डिजाइनर सर गिल्स गिल्वर्टले गरेका थिए । उनले लिभरपुलको क्याथेड्रल तथा व्याटरसी पावर स्टेशन बनाएर नाम कमाएका थिए । महँगो लागतको कारण प्राय लण्डन शहरमा मात्र सीमित थियो । तर सन् १९३५ मा राजा जर्ज पाँचौको साशनकालको रजतजयन्ति मनाउने क्रममा “के सिक्स ” को निर्माण गरी केही वर्षभित्र देशभरि साठी हजारभन्दा बढी फोन बुथहरु स्थापना भए । यसको प्रयोगका दृष्टीले महत्व त हुने नै भयो । शहरदेखि गाउँ गाउँसम्म छरिएको यो रातो बुथ बेलायतको एक विशेष चिनारीको रुपमा विकसित भयो । सन् १९६० सम्म आइपुग्दा त यो घरमा फोन नहुनेहरुको लागि मुख्य सम्पर्कको साधन बन्न पुग्यो । फोन गर्न आउनेहरु बीच सम्पर्क तथा समाचारहरु आदानप्रदान गर्ने स्थल पनि बन्यो । त्यति मात्र हैन पानी परेको बेला छाता नहुनेहरु एकछिन भित्र बसेर वर्षा, हुरी बतास छेल्ने काम पनि गर्न थाल्यो । 

सन् १९८० ताका यस्ता फोन बुथहरुबाट वार्षिक रुपमा करिब बीस करोड पटक फोन गरिन्थ्यो । जुन सन् २००० सम्म आइपुग्दा निकै तल झरेर दिनको एक कल नहुने बुथहरु पनि भए । आधुनिकीकरण सँगसँगै यी बुथहरु सीसा र स्टिलका मात्र पनि बन्न थाले । रंगमा पनि केही सेतो, हरियो, नीलो, कालो खालका पनि बनेका थिए । त्यतिबेला सम्म करिब ७५ हजार फोन बुथहरु बनेका थिए । प्रयोगमा अति नै कमी भए पछि सन् २००८ मा ब्रिटिश टेलिकमले एडप्ट अ कियोष्क परियोजना ल्याएअनुसार करिब सात हजार बुथहरु एक पाउण्डमा स्थानियहरुको स्वामित्वमा गयो । अहिले लगभग २१ हजार बाँकी रहेका छन् । करिब २ हजार ४०० जति बुथलाई सरकारले पुरातात्विक महत्वको स्थानको रुपमा घोषणा गरी संरक्षण गरिएको छ ।

बेलायतबाट शुरु भएको रातो फोन बुथ यस्को साशन विस्तार तथा विशेष सम्बन्धको साथसाथै अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानाडा, अमेरिका, माल्टा,जिब्राल्टर, बर्मुडा, दक्षिण अफ्रिका, फोकल्याण्ड, हङकङ, साईप्रससम्म पनि पुगेका छन् । वर्तमानमा यसको प्रयोग त्यति नभए पनि गीत, संगीत, फिल्महरुमा प्रशस्त रुपमा छायाकंन गरिएका यी राता बुथहरु जुग जुगसम्म बेलायती इतिहासको रुपमा ज्यूँदो रहने छन् ।

लेखक सुरेन्द्र श्रेष्ठ

पत्र मन्जुषा

सम्पर्ककै अर्को माध्यम हुलाकको स्थापना र विकासको लागी बेलायत संसारमा प्रशिद्ध मानिन्छ । सन् १२०० तिर नै सरकार र राजा बीचको सम्पर्कको आधार पत्र हुने चलन चल्यो । आवश्यकता अनुसार यस्तो पत्र ओहोरदोहोर गर्ने मानिस खोजिन्थ्यो । राजा हेनरी पहिलोको पालादेखि भने दरबारको छुट्टै हल्काराहरुको स्थायी व्यवस्था गरियो । उनीहरु पैदल नै पत्र लिएर जाने गर्दथे । एडवार्ड चौथोको पालामा स्कटल्याण्डसंग भएको युद्धमा छिटोछिटो पत्राचार गर्न हुलाकीलाई घोडा दिन थालियो । ठाउँ ठाउँमा उनीहरुलाई आराम गर्ने स्थानको पनि व्यवस्था मिलायो । सन् १५१६ मा पहिलो पटक ब्रायन टुकलाइ माष्टर अफ द पोष्टको पद दिएर राजदरबारको सम्पूर्ण पत्राचारको जिम्मा दिइयो । सन् १६६५ मा राजा चार्ल्स पहिलोले “रोयल मेल” को स्थापना गरी सर्वसाधारणहरुको लागि पनि सेवा उपलब्ध गराएका थिए । निश्चित स्थानहरुमा मात्र यो सेवा संचालनमा आयो । पछि सन् १६६० मा राजा चार्ल्स दोस्रोको पालामा “द जेनेरल पोष्ट अफिस” को स्थापना गरी सेवामा व्यापकता ल्याइयो । सन् १७८४ मा पहिलोपटक बसबाट पत्र वितरण गर्ने व्यवस्था भयो । सन् १८३० मा लिभरपुल र म्यानचेष्टरमा संचालित रेलवे सेवाले डाँकको काम शुरु गर्यो । संसारमा नै पहिलोपटक सन् १८४० मा रोल्याण्ड हिलको योजनाअनुसार पत्रमा टिकट टाँस्ने चलन चल्यो । एक सेन्टको भाउ राखिएको उक्त टिकटलाई “पेनी ब्ल्याक” नामाकरण गरिएको थियो । एउटा टिकट राखेपछि देशभरि जति टाढा पनि पत्राचार हुने भयो ।

अहिले करिब एक लाख पचास हजार कामदार रहेको पोष्ट अफिस र रोयल मेल सन् २०१३ मा सरकारले निजीकरणको नीति ल्याउनु अगाडी नै दुवै छुट्टाछुट्टै व्यवस्थापनमा गएका थिए । सन् २००६ सम्म देशमा रोयल मेलको मात्र एकाधिकार बजार थियो । अहिले अन्य थुप्रै ठूला साना ठूला कम्पनीहरु यस क्षेत्रमा कार्यरत छन् । पोष्ट अफिस सरकारको नियन्त्रणमा रहेको छ । रोयल मेल पब्लिक लिमिटेड कम्पनीअन्तर्गत संचालित छ । सन् २००० मा सरकारले ल्याएको पोष्टल सर्भिसेस एक्टअनुसार पोष्ट अफिसले आर्थिक कारोबार तथा सामान्य सेवा प्रदान गर्न थालेको थियो भने रोयल मेलले चिठ्ठी पत्र र सर सामानहरु ओसार्नमा केन्द्रित रहयो । सन् २०१२ मा रोयल मेल पूर्ण रुपमा पोष्ट अफिसबाट छुट्यो । सरकारको प्रत्यक्ष रेखदेखमा देशभरी झण्डै ११ हजार शाखाहरु कार्यरत थियो । कोभिड पछि प्राय धेरैले अनलाईनबाट सामान मगाउने भएको हुँदा आम्दानी पनि बढेको छ । अहिले बेलायतमा वार्षिक ५ अर्ब पार्सलहरु ओसारपसार हुने गरेको देखिन्छ भने त्यसमध्ये झण्डै आधा व्यवसाय रोयल मेलको छ । अहिले यस कम्पनीको नाम इन्टरनेसनल डिस्ट्रिब्यूशन सर्भिसेस रहेको र यसको सबभन्दा ठूलो हिस्सा चेक अर्बपति डेनियल क्रेटिन्स्कीको इ पी समूहको रहेको छ। 

विशेषत पत्राचारमा सहजता र सरलता प्रदान गर्न समय संगसंगै विभिन्न प्रयासहरु भएका छन् । यसमध्ये सबैभन्दा महत्वपूर्ण सबैको पहुँचमा पत्र मन्जुषाको स्थापना गरिनुलाई मानिन्छ । दुरदराजदेखि शहर बजारसम्म यस्ता पत्र मन्जुषाहरु राख्ने शुरुवात सन् १८५२ बाट भएको थियो । पहिलो पटक जर्सी  टापुमा स्थापना गरिएको पत्र मन्जुसा वातावरण मैत्री रंग भनेर हरियो बनाइएको थियो । त्यसको एक वर्षपछि लण्डन तथा लिभर पुलमा पनि प्रयोगमा आयो । सन् १८७४ पछि भने टाढाबाट पनि देखियोस् भनेर रातो रंगको बनाउने निर्णय गरेअनुसार सन् १८८० सम्म सम्पूर्ण बक्सहरु रातो रंगमा परिवर्तन गरियो ।

यसको व्यापकता भए पछि छुट्टै स्थानमा ठूलो बक्सा बनाउने गरेकोमा ठाउँ कम खाने र स-साना स्थानमा पनि राख्न मिल्ने गरी भित्तामा र बिजुलीको पोलमा समेत राख्न थालियो । प्रत्येक आधा माईलमा एउटा पोष्ट बक्स हुनपर्ने बुझाइ रहेकोले हालसम्म पनि देशभर करिब १ लाख १५ हजार पत्र मन्जुषा रहेका छन् । स्थानिय बासिन्दाहरुको संख्याअनुसार पत्र संकलन गर्ने समय निर्धारण गरिएको हुन्छ । अहिले देशभर पत्र र सामान ओसारप्रसार गर्न रातो रंगकै ठूला साना गरी करिब पचास हजार सवारी साधनहरु प्रयोगमा छन् । वस्तुकाल तथा ऐतिहासिक महत्वको दृष्टिले अहिले २०० भन्दा बढी यस्ता पत्र मन्जुषाहरुलाई सरकारले विशेष महत्वका साथ पुरातात्विक रुपमा संरक्षण गरिएका छन् । राता पोष्ट बक्सहरु बेलायती समाजको प्रतीकका रुपमा देशभर रहेका छन् ।

रातो बस

बेलायत त्यस्मा पनि लण्डनका राता बसहरु यहाँको सभ्यताको एक अर्को महत्वपूर्ण परिचयको रुपमा अहिले पनि गुडिरहेका छन् । अन्य ठूला शहरहरुमा पनि शहर परिक्रमा गर्ने यस्तो खालको सुविधा रहेको छ । बग्गी तथा टाँगाको रुपमा विकसित भएको सवारी साधनको इतिहासको शुरुवात लामो भए पनि सार्वजनिक रुपमा एक ठाउँबाट अर्को ठाउँमा जानको लागी भने लण्डनमा सन् १८२९ देखि मात्र शुरु भएको देखिन्छ । त्यति बेलाको सार्वजनिक यातायात घोडाले तान्ने टाँगा थियो तर यसभन्दा धेरै अगाडी सन् १६६२ मा फ्रान्सको राजधानी पेरिसमा टाँगा प्रयोगमा ल्याइएको थियो । त्यतिबेलाको समाजको आवश्यकतामा नपरेकोले बससेवा केही समयमा नै बन्द भयो । त्यसपछि सन् १८२३ मा फ्रान्सकै नानटेस भन्ने शहरमा स्टानिसलास बाउड्रीले “बाउड्रीज सर्भिस” भनेर स्थापना गरेको थियो । विस्तारै यसले व्यापकता लियो । बेलायतबाट पेरिस घुम्न गएका जोर्ज सिलिवियरलाई यो सेवा राम्रो लाग्यो । उनले त्यसको सिको गरेर लण्डनको प्याडिङगटनदेखि ब्याङ्कसम्म टाँगा सेवा प्रदान गर्न शुरु गरेका थिए । घोडाले तान्ने यी टाँगाको विकसित रुपले भाडाको “बस” कसरी भयो होला भन्ने तथ्य यसबाट उजागर हुन जाने रहेछ ।

घरानियाँ तथा धनी मानिसहरुले मात्र एक ठाउँबाट अर्को ठाउँमा जान यस्तो सेवा प्रयोग गर्दै आएकोमा यसलाई सार्वजनिक सेवामा प्रयोग गर्नको लागि यस्को नामाकरण ओम्नी बस राखिएको थियो । यो ल्याटिन शब्द ओम्निसबाट आएको थियो जसको अर्थ सबै अर्थात सबैका लागि भन्ने बुझिन्छ । यही ओम्नीबसलाई कालान्तरमा बस मात्र भन्न थालियो । २२ जनालाई ओसारपसार गर्न सकिने लण्डनको ओम्नीबसले छोटो समयमा नै व्यापकता पायो र इन्जिनवाला बस नआएसम्म सार्वजनिक यातायातको मुख्य माध्यम बन्यो । यो बसको व्यापकता पेरिस, लण्डन अनी यूरोपका विभिन्न देशहरु हुँदै अमेरिकासम्म नै पुग्यो ।

सन् १८९९ मा लण्डनमा पहिलो इन्धनवाला बस सन्चालनमा आयो । यसको साथै बस संचालन गर्ने कम्पनीहरु थपिन थाल्यो । सन् १९०७ मा लण्डन जेनेरल ओम्नीबस कम्पनीले आफ्ना गाडीहरु अरुभन्दा पृथक र सबैले पहिचान गर्न सजिलो होस् भनेर रातो रंग मात्र लगाउन थाल्यो । यसको सेवा र प्रचार प्रसारका कारण सन् १९१२ सम्म आउदा यो कम्पनीको एकाधिकार जस्तै बजार बन्न पुग्यो ।

समय संगसंगै बेलायतको बस सेवामा विभिन्न परिवर्तनहरु आए । सन् १९५४ मा यसलाई रुटमाष्टर बस नामाकरण गरियो । सन् १९८६ मा सरकाले ट्रान्सपोर्ट एक्ट १९८५ पास गरेर देशभर विभिन्न नीजि कम्पनीहरुले बस संचालन गर्न सक्ने भए पनि लण्डनमा भने रातो बसहरुकै बर्चस्व रह्यो । सन् २००५ पछि आएका नयाँ स्टायलका बसहरु पनि रातो रंगमा नै चलाउन थालियो । सन् २०१२ मा फेरि न्यु रुट माष्टर नामाकरण गरियो । यसलाई बोरिस बस पनि भन्ने गरिन्छ । त्यसबेला लण्डनको मेयर बोरिस भएकोले त्यसो भनिएको थियो । एक तले, दुई तले, अपाङ्ग मैत्री व्याट्री र तेल दुवैले चल्ने आधुनिक बसहरु अहिले ट्रान्सपोर्ट फर लण्डनले व्यवस्थापन गर्दछन् ।

इतिहासमा फोन बुथ, पत्र मन्जुषा तथा बसहरु र त्यस्मा लगाइएको रातो रंगले एक विशेष स्थान ग्रहण गरेको छ । यी विषयहरुमा थुप्रै जनचासोका विषयहरु बेलायतको इतिहासमा लेखिएका छन् । यी तीन राता विशेषताहरुले संसारभर बेलायतलाई चिनाएको छ ।

सुरेन्द्र नेपाल श्रेष्ठ

बेलायतमा बसोबासरत अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ विविध विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री