पोखरा । कास्कीको पोखरा महानगरपालिका-९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा सहारा युकेले पुस्तकालय हस्तान्तरण गरेको छ ।
तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोगमा विद्यालयमा फर्निचर र पुस्तकहरु सहितको लाइब्रेरी स्थापना गरी मंगलबार हस्तान्तरण गरिएको हो ।सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ (कृष) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमा विद्यालयका प्रधानाध्यपाक लोचनाकुमारी अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
मन्तव्यका क्रममा प्रअ अधिकारीले विद्यालयको समग्र अवस्थिति, वर्तमान समिति अध्यक्ष विक्रम थकालीको उपस्थितिले विद्यालयमा भएका सकारात्मक परिवर्तनहरुको जानकारी प्रदान गर्दै उपस्थित दाताहरु, अतिथिहरुलाई स्वागत व्यक्त गर्नुभयो ।
कार्यक्रममा तमु धीं युकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ र खेलकुद पत्रकार मञ्च गण्डकीका नवनिर्वाचित अध्यक्ष एमवी आस्थालाई विद्यालयका अध्यक्ष र प्रधानाध्यापकले सामूहिक रुपमा स्वागत तथा बधाई व्यक्त गर्नुभएको थियो ।
सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले कार्यक्रममा बोल्दै रिडिङ कल्चर विकासका लागि सहारा युकेले गरेको पुस्तकालय निकै सराहनीय कार्य रहेको बताउनुभयो । सोही क्रममा पुस्तकालय खोजमूलक कार्यका लागि शिक्षक र विद्यार्थीहरुका लागि उपयोगी हुनेमा खुशी व्यक्त गर्दै दाताहरुप्रति धन्यवाद व्यक्त गरिएको थियो ।
कार्यक्रमका वक्ता एवम् विशेष अतिथि तमु धीं युकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङले सिकारूलाई स्थानले फरक नपार्ने हुँदा सफल हुने लगनशील र मिहिनेती हुनुपर्नेमा बालबालिकाहरुलाई अपिल गर्दै आफू पनि सोही विद्यालयको नजिक रहेको पुरानो एयरपोर्टमा जन्मिएको हुँदा यस स्थानमा सबैले माया र ममता राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी दिनमा सहयोगका साथ जोडिने प्रतिबद्धता मेत व्यक्त गर्नुभयो ।
पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सहारा युकेले निर्माण गरेको पुस्तकालयमा थप सहायता प्रदान गर्न स्थानीय तह विशेषगरी वडा कार्यालय हरबखत तयार रहेको बताउनुभयो । उहाँले दाताहरुले स्वदेशप्रति माया र सद्भाव प्रकट गरी पोखरा ९ मा रहेको झण्डा पार्क, सार्वजनिक शौचालय स्थापनामा पुर्याएको योगदानलाई पनि स्मरण गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् सहारा युकेका अध्यक्ष कृष्ण गुरुङले विद्यालयमा सहयोग प्रदान गर्न पाउँदा खुशी व्यक्त गर्दै यस कार्यक्रमलाई पूर्णता दिन सहयोग प्रदान गर्ने सम्पूर्ण दाताहरुलाई धन्यवाद दिनुभयो । विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुहुँदै अध्यक्ष गुरुङले विद्यालयका अध्यक्ष विक्रम थकालीको कार्यशैलीको खुलेरै प्रशंशा गर्नुभयो ।
विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रमको समापनका क्रममा विद्यालयका अध्यक्ष एवम् कार्यक्रमका सभापति विक्रम थकालीले आफ्नो कार्यकालमा भएका कामहरु र सो कामहरुलाई पूर्णता दिन सहायत प्रदान गर्ने दातारुलाई धन्यवाद दिनुभएको थियो ।
सहारा युकेले आफू र विद्यालयप्रति पूर्ण विश्वास गरी पुस्तकालय स्थापना गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै उहाँले बालबालिका र शिक्षकहरुले सन्दर्भ सामग्री, मनोरञ्जन सामग्रीलगायत जानकारीमूलक किताबहरु अध्ययन गर्न पाउनेमा विश्वास व्यक्त गर्नुभयो ।
उहाँले उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, कार्यक्रमका कोअर्डिनेटे सहारा युकेका उपाध्यक्ष शारदाप्रसाद गुरुङ, सहारा युकेका पूर्वअध्यक्ष, सल्लाहकारहरु, कार्यसमिति पदाधिकारीहरु, तमु धिं यूकेका अध्यक्ष, पूर्वअध्यक्ष, कार्यसमिति पदाधिकारीहरु, सहारा क्लब पोखराका पूर्वअध्यक्ष, मानार्थ सदस्य, सल्लाहकारहरु, कार्यसमिति पदाधिकारीहरु, सहयोगी दाताहरु, विद्यालयका सल्लाहकारहरु, समिति सदस्यहरु, पत्रकार, शिक्षक, विद्यार्थीहरुलाई धन्यवाद दिनुभयो ।