काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका–५, कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा बुधबार दुई विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ । दुर्घटनामा ४० जना घाइते भएका छन् ।
पिक्निकबाट फर्कंदै गरेको एसएस एकेडेमी चाबहिलको विद्यार्थी बोकेको बस ब्रेक फेल भई दुर्घटना हुँदा शिक्षक सुरेश तामाङ र विद्यार्थीहरु क्रिसल पुरी र शुशांका डोटेलको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
कपन बस्ने ११ वर्षका मोरङका पुरीको त्रिवि शिक्षण अस्पतालमा र भिम्सेनगोला बस्ने १४ वर्षका सिन्धुपाल्चोका डोटेलको शंखरापुर अस्पतालमा मृत्यु भएको हो । चाबहिल बस्ने २४ वर्षका सिन्धुपाल्चोकका शिक्षक तामाङको नेपाल मेडिकल कलेजमा मृत्यु भएको थियो ।
विद्यार्थी बोकेको सुन्दरीमाइ यातायातको बा २ ख ७९५८ नम्बरको बस बुधबार दिउँसो पिक्निकबाट फर्कने क्रममा ४:५० बजेको समयमा दुर्घटनाको भएको थियो । घाइतेहरुको शंखरापुरस्थित पिपुल्स लाइफ केयर अस्पताल, जोरपाटीस्थित नेपाल मेडिकल कलेज र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।