नेपाल प्रतिभा प्रतिष्ठान बेलायतद्वारा थापालाई सम्मान र सुब्बालाई पुरस्कार प्रदान

काठमाडौँ । नेपाल प्रतिभा प्रतिष्ठान, बेलायतले यसवर्षको प्रतिभा सम्मान राजेश्वर थापा र प्रतिभा पुरस्कार सन्ध्या सुब्बा सिङ्जाङ्गोलाई प्रदान गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण एवं ग्रन्थ लोकार्पण कार्यक्रम’मा साहित्य तथा खोज अन्वेषणका माध्यामबाट भाषा, संस्कृतिको प्रवर्द्धनमा उहाँहरूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान र पुरस्कार प्रदान गरिएको हो । सम्मानित थापा लिम्बु संस्कृति, ताप्लेजुङका बारेमा अध्ययन, अनुसन्धान गर्नुका साथै दर्जनौँ पुस्तकका लेखक पनि हुनुहुन्छ भने पुरस्कृत सुब्बा इतिहासकार तथा मुन्धुम अध्येता हुनुहुन्छ ।

सोही कार्यक्रममा ‘बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’ पनि लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलबिक्रम नेम्वाङ (बैरागी काइँला)लाई दुई वर्षअघि नागरिक अभिनन्दन गरिएको थियो । अभिनन्दनका क्रममा बैरागी काइँलाका बारेमा विभिन्न वक्ताले राख्नुभएका धारणा, उहाँका कृतिमाथिको समालोचना, मुन्धुम अध्ययन तथा प्रवर्द्धनमा उहाँको भूमिकालगायत विषयवस्तु ग्रन्थमा समेटिएका छन् ।

कार्यक्रममा बैरागी काइँलाले २०४६/४७ पछि नेपालमा रैथाने आन्दोलन तथा भाषाभाषी आन्दोलन सुरु भएको र युवा पुस्तालाई त्यसले आफ्नो धर्म, संस्कृति, भाषालगायत विषयमा जागरुक बनाएको धारणा राख्नुभयो । आफ्नो जातिय पहिचान तथा इतिहासबारे अध्ययन, अनुसन्धान हुनु सकारात्मक विषय रहेको पनि उहाँको भनाइ छ ।

प्रा डा अभि सुवेदीले आयामेली चिन्तन भेटिने बैरागी काइँलाका कृतिमा भिन्न दर्शन भेटिने बताउनुभयो । त्यस्तै, प्रा डा गोविन्दराज भट्टराईले प्रतिष्ठानसँग जोडिएका साहित्यकार तथा सर्जकले युद्ध साहित्य, मुन्धुम साहित्य, डायस्पोरालगायत विषयलाई प्रोत्साहन दिइरहेको टिप्पणी गर्नुभयो ।

सम्मानित सर्जक थापाले नेपालमा अधिकांश लेखक तथा अनुसन्धानकर्मीले आर्थिक अभाव खेप्ने गरेको दुःखद् अनुभव सुनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री