लन्डन । नेकपा एमालेनिकट संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ यूके)का पदाधिकारीले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई स्वागत गरेको छ ।
अध्यक्ष तुंगभद्र भुसालको नेतृत्वमा सोमबार दिउँसो लन्डन दूतावास पुगेको ओएनएफ यूके प्रतिनिधिमण्डलले राजदूतसँगे भेटघाट गरेको हो । अध्यक्ष भुसालले खादा र पुष्पगुच्छासहित मञ्चका तर्फबाट राजदूत घिमिरेलाई बेलायतमा स्वागत गर्नुभयो । उहाँले घिमिरेलाई सफल कार्यकालको शुभकामना पनि दिनुभयो ।
अध्यक्ष भुसालले एनआरएनए नागरिकता, पूर्व गोर्खाका समस्यादेखि बेलायतबाट नेपालले लाभ लिन सक्ने सम्भावित क्षेत्रलगायतका विषयमा सुझाव दिनुभएको थियो । राजदूत घिमिरेले ओएनएफ यूकेले दिएको स्वागत र सुझावहरुका लागि धन्यवाद दिनुभएको थियो ।
मञ्च पूर्वअध्यक्ष एवम् एनआरएनए केन्द्रीय उपाध्यक्ष रामशरण सिम्खडा, पूर्वअध्यक्ष भक्त गुरुङ, संघसंस्था विभाग प्रमुख पशुपति पोखरेल, पूर्वअध्यक्ष दिनेश घिमिरे, पूर्वअध्यक्ष राजेन्द्र पुडासैनी, ग्लोबल कमिटी सदस्य सरस्वती केसी, एनआरएनए इंग्ल्यान्ड राज्य परिषद् अध्यक्ष शम्भुप्रसाद अर्याललगायत राजदूतावास पुग्नुभएको थियो ।