लन्डन । गैर आवासीय नेपाली संघ यूकेले आउँदो २३ मार्चमा एकता महाधिवेशन तथा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।
१६ फेब्रुअरी आइतबार जुममार्फत सम्पन्न कार्यसमिति बैठकले अल्डरसटस्थित प्यालेस ब्याङक्यूटिङ हलमा एकता महाधिवेशन र साधारणसभा गर्ने निर्णय गरेको अध्यक्ष प्रेम गाहामगरले जानकारी दिनुभएको हो । उहाँका अनुसार सर्वोच्च अदालतको गत चैत २१ गतेको परमादेशअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिको निर्देशनबमोजिम बेलायत शाखाले अल्डरसटमा महाधिवेशन र साधारणसभा तय गरेको हो ।
महाधिवेशनमा एनआरएनए पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घले प्रमुख अतिथी हुने गाहामगरले जनाउनुभयो । अध्यक्ष गाहामगरले एकता महाधिवेशनमा सहभागी हुन बेलायतवासी सबै नेपालीमा अपिल गर्नुभएको छ । महाधिवेशनको मुख्य एजेन्डामा वंशजको नेपाली नागरिकता निरन्तरता र भूतपूर्व गोर्खा सम्बन्धि जारी मुद्दा छन् । यी एजेण्डा काठमाडौंमा ३ देखि ५ मे, २०२५ मा काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा एनआरएनए आइसीसीको विधानमा समेट्न छलफल र प्रस्तावका लागि एक प्रमुख विषय हुने बताइएको छ ।
बैठकले डा. भीम पुनको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरेको छ । निर्वाचन समितिमा सदस्य सचिव विश्वासदीप तिगेला छन् भने तीन सदस्यहरु पछि थपिने छ । बैठकले साधारण सभाका लागि एक मध्यस्थता टोली समेत गठन गरेको छ जसमा डा. भीम पुन (निर्वाचन आयुक्त), एनआरएनए यूके प्रमुख संरक्षक डेभिड गुरुङ, एनआरएनए यूके उपाध्यक्ष अनिल मल्ल, एनआरएनए यूके आइसीसी सदस्य ओम थापा काउचा र एनआरएनए यूके संरक्षक भरत रोका रहनुभएको छ ।
बैठकले यूके एकता महाधिवेशनका लागि सदस्यता दर्ता एवं नवीकरण समयसीमा २२ मार्च, २०२५ तोकेको छ । अन्तर्राष्ट्रिय महाधिवेशनका लागि भने ३१ मार्च २०२५ सम्म सदस्यता दर्ता गर्नुपर्ने समयसीमा छ ।