मगर संघ यूकेले मनायो ४३ औं मगर दिवस

लन्डन । मगर संघ यूकेले विभिन्न कार्यक्रम गरी ४३ औं मगर दिवस मनाएको छ ।

शनिबार २२ फेब्रुअरी २०२५ का दिन अल्डरसटस्थित एम्पाएर हलमा विभिन्न झाँकी प्रदर्शन, व्यक्ति सम्मानलगायत कार्यक्रम गरी मगर दिवस मनाइएको हो । कार्यक्रम संघकी अध्यक्ष सीता पुनमगर र प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमको प्रारम्भिक चरणमा नेपाल मगर संघका संस्थापक स्व हेमबहादुर पुन, प्रथम सहिद लखन थापा र पूर्वमन्त्री स्व.गोरेबहादुर खपाङ्गीको तस्बिरमा खादा अर्पण गरिएको थियो ।

दिवसका अवसरमा मगर संघ यूकेका विभिन्न शाखा, संघ संस्थाका अगुवाहरुलाई सम्मान र पुरस्कार प्रदान गरियो । कार्यक्रममा प्रमुख अतिथिबाट कानुन लांघा पुस्तक विमोचन गरिएको थियो । कार्यक्रममा मगर संघ यूकेका शाखाहरु लन्डन, रेडिङ, वेम्बली, केन्ट, यूएचएसबी, स्वीइडन, वेल्स, प्लमस्टिड, वेस्ट लन्डन, क्याट्रिकलगायतबाट मगर समुदायको विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । यस्तै पुनमगर समाज यूके, खामभाषी समाज यूके, मगर बुद्धिस्ट सोसाइटी, मगर महिला संघ, मगर आर्चरी एसोसिएसन यूकेले पनि झाँकी प्रस्तुत गरेका थिए भने मगर संघ केन्द्रले हुर्रा नृत्य देखाएको थियो ।

मगर युवा र एएसएसबी युथले मगर फेसन शो गरेका थिए । मगर महिलाको नेतृत्वमा राफल ड्र खेलाइएको थियो भने सांस्कृतिक सचिव तेन्याङ राना (सरु)को नेतृत्वमा मनोरन्जनात्मक कार्यक्रम भएको थियो । नेपालबाट आएका चर्चित लोक तथा दोहोरी कलाकारहरु देवी आलेमगर र प्रसाद खप्तरी मगरले मञ्च तताउनुभएको थियो ।

‍औपचारिक कार्यक्रमको अन्त्यमा अध्यक्ष सीता पुनमगर कार्यक्रम सफल पार्न उपस्थित सम्पूर्ण अतिथिहरु, कार्यसमितिका सबैजनालाई आभार र तयारीमा जुटेका कार्यसमिति, शुभचिन्तकहरुमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली दूतावास लन्डनका तृतीय सचिव झुपलाल पुनमगर, अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष बिरमान घर्तीमगर थिए । यस्तै अन्य अतिथिहरूमा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष मेजर योगेश कोयी राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष बोम सूर्यवंशी थापामगर, नेपाल आदिवासी जनजाति महिला महासंघ युके, अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष बिरमान घर्तिमगर, मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगर, मगर संघ नेडरल्याण्डका अध्यक्ष नेत्र राना, मगर संघ पोर्चुगलका अध्यक्ष कमल पुन मगर, मगर संघ क्यानडाका अध्यक्ष चन्दा पुन मगर, बेलायतमा स्थापित सम्पूर्ण जातीय संघ संगठनलगायत अन्य क्षेत्रीय संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री