लन्डन । बागलुङ्गे समाज युकेको अध्यक्षमा खड्क थापा सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार २२ फेब्रुअरीमा फानबोरोस्थित कम्युनिटी सभा हलमा भएको साधारणसभाबाट थापाको नेतृत्वमा २७ सदस्यीय सातौं कार्यसमितिको नामावली घोषणा गरिएको हो । कार्यसमितिको उपाध्यक्ष गुमानसिङ थापा,
महासचिव जीत पुन, सचिव राजु बोहरा, कोषाध्यक्ष लक्षुमण पुन र सहकोषाध्यक्ष जीत काउछा चयन हुनुभएको छ ।
महिला संयोजक गोमा रिजाल, महिला सहसंयोजक चन्द्रकला पुन, सांस्कृतिक सचिव लक्षु राना, सांस्कृतिक सहसचिव प्रेम छन्त्याल,सञ्चार सचिव विशन थापा, सञ्चार सहसचिव कृष्ण शर्मा, वेबमास्टर नन्दलाल पुन,
एसिस्टेन वेबमास्टर रेशम खड्का, नौमती बाजा भीम थापा, एसिस्टेन नौमती बाजा तीर्थ शाही, युवा संयोजक हरिसिङ थापा, खेलकुद संयोजक नरेश सलामी, खेलकुद सहसंयोजक पदम पुन चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी सदस्यहरुमा आश पुन,सीता थापा, सुरेशकुमार घर्ती, रन गुरुङ, तारा पुन, नरमाया पुन,देवी पुन र कृष्ण शर्मा छनोट हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष थापालगायत सम्पूर्ण पदाधिकारीहरुलाई निर्वाचन कमिटीले खादा र अबर लगाई सम्मान तथा स्वागत गरेलगत्तै निर्वाचन कमिटीकी अध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष छविमाया पुनले पद तथा गोपनियताको शपथ गराउनुभएको थियो । कार्यसमितिको कार्यकाल २०२८ सम्म हुनेछ ।
तीन सदस्यीय निर्वाचन कमिटीमा निर्वतमान अध्यक्ष तथा वर्तमान सल्लाहकार छवीमाया अध्यक्ष, सचिवमा कमल पौडेल र सदस्यमा पूर्वअध्यक्ष क्याप्टेन रिटार्यड धन कनवार रहनुभएको थियो ।
दिउँसो करिब १ बजे सुरु भएको साधारणसभा अध्यक्ष धन बुढाथोकी र निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार छविमाया पुनले पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएको थियो ।
अध्यक्ष बुढाथोकीको अध्यक्षतामा भएको साधारणसभामा वरिष्ठ उपाध्यक्ष खड्क थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम महासचिव शेर पुनले सञ्चालन गर्नुभएको थियो ।
साधारणसभामा महासचिव शेर पुन, कोषाध्यक्ष हिरा पुन र नौमती बाजा समूहका भिम थापा र मिडिया सेक्रेटरी बिशन थापाले आ-आफ्ना वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेलगत्तै सन् २०१६ मा तत्कालीन परिस्थितिलाई मध्यनजर गर्दै स्थापना गरिएको ईमर्जेन्सी रिलिफ फन्ड (ERF) लाई यथावत राख्ने वा बन्द गर्ने प्रस्ताव अध्यक्ष धन बु्ढाथोकी सभामा राख्नुभएको थियो । उक्त विषयमा व्यापक छलफल गरिएको थियो । जसमा ईआरएफ स्किमका योजनाकार, निवर्तमान कोषाध्यक्षहरु र केही प्रबुद्ध व्यक्तिहरुबाट आ-आफ्ना भनाइ राखेपछि अध्यक्ष बुढाथोकीले आजको मितिबाट उक्त फन्ड बन्द भएको घोषणा गर्नुभयो । साथै ईआरएफमा आबद्ध सदस्यहरुको सदस्यता शुल्कबापतको ५० पाउन्ड समाजलाई नै दिने या फिर्ता लैजानेबारे सक्दो छिटो कोषाध्यक्षसँग सम्पर्क राख्ने उहाँले आग्रह गर्नुभयो ।
जाजरकोट र रुकुम पश्चिममा शुक्रबार ३ नोभेम्बर २०२३ राति गएको विनासकारी भूकम्पको सहयोगार्थ उठेको रकम १ हजार ३९९ पाउन्ड नेपाल सरकारको एकद्वार प्रणाली र अन्य विविध कारण वितरण गर्न नसकिरहेको अवस्थामा त्यही भूकम्पबाट प्रभावित अत्यन्तै न्यून आय भएका परिवारका बच्चालाई पढाइदिने निर्णय भएअनुसार एकजाना नानीलाई १ कक्षासम्म पढाइदिने कार्यको सुरुआत भएको पनि उहाँले जानकारी गराउनुभयो ।
सभामा विधान प्रमुख तथा संस्थाका सल्लाहकार क्याप्टेन रिटार्यड राम पुनले समाजको विधानसम्बन्धी छलफल गराउँदै ईआरएफ खारेजीले गर्दा केही संशोधन हुने जानकारी दिनुभयो । त्यसपछि अध्यक्ष धन बुढाथोकीले आफ्नो अन्तिम भनाइ राख्दै ३ वर्षे कार्यकालमा समाजलाई सरल, सुशील र मितव्ययी रूपमा अगाडि बढाउनमा आफू र कार्यसिमितलाई पुर्याउने सम्पूर्ण कार्यसमितिका पदाधिकारी, सल्लाहकार, सदस्यहरु साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुऱ्याउने सम्पूर्णलाई धन्यवाद दिनुभयो ।
खुलासत्रको अवधिमा समाजका लागि अतुलनीय योगदान पुऱ्याउने पूर्वअध्यक्ष छवि पुन, नौमती बाजा कोओर्डिनेटर भिम थापा र हिरा पार्टेललाई समाजको तर्फबाट पूर्वअध्यक्षहरु दिपक काउछा र धन कनवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा पूर्वअध्यक्ष तथा निर्वाचन कमिटीका अध्यक्ष छवी पुनले संस्थापक अध्यक्ष राजेन मल्ल जो विशेष कारण उपस्थित नभएकाले उनकी श्रीमती सुशीला मल्ल, पूर्वअध्यक्ष दिपक काउछा, पूर्वअध्यक्ष क्याप्टेन रिटायर्ड धन कनवार, पूर्वअध्यक्ष क्याप्टेन रिटायर्ड राम पुन र हालसालै निवर्तमान अध्यक्ष भएका धन बुढाथोकीलाई लालीगुराँस अंकित फेटा लगाईदियर सम्मान गर्नुभएको थियो ।
सभामा ७० जनाभन्दा बढीको उपस्थिति थियो ।